-सरोज न्यौपाने
हाम्रो असल छिमेकी देश चीन अहिले कोरोना भाइरसका कारण संकटमा छ । कोरोनाका कारण चीनसँगै उसँग सीमा जोडिएका मुलुकहरू पनि यसबाट प्रभावित छन् । संकटको घडीमा रहेकोे चीनप्रति विश्व समुदायले सहानुभूति व्यक्त गरिरहेको छ ।
यसैबीच The Kathmandu Post संचार संस्थानले बुधबार आफ्नो पृष्ठमा चीनका सर्वोच्च नेता माओको फोटो गलत अर्थ लाग्नेगरी अस्वभाविक फोटोसप गरेर सार्वजनिक गर्यो । जुन निकै विवादित र आलोचित बनिरहेको छ ।
हामीलाई थाहा छ चिनियाँहरु आफ्नो राष्ट्रपिता -जनवादी गणतन्त्र चीनका संस्थापक एवं साम्यवादी दलका सर्वोच्च नेता माओ त्से तुङलाई उच्च श्रद्धा गर्छन्, हुनान् प्रान्त (जहाँ माओको जन्म भयो) मा सबैको घरअघि माओका सालिकहरु निर्माण गरिएका छन् । चिनियाँ तथा संसारभरका श्रमजीवी जनताको आस्था माथी मजाक गर्नु आपत्तिजनक र भत्सर्नायोग्य छ ।
नोवेल कोरोना भाइरसको संकटसँग जुधिरहेको चिनियाँ समवेदनामाथी मजाक र व्यंग्य व्यक्त गर्ने हाम्रा मिडिया साच्चै नै असहिष्णु र अराजक बनेकै हुन् । र यो विषय नेपाली संचार संस्थाले गिज्याउने र व्यंग्य गर्ने विषय होइन । देशको स्वास्थ्य संकटप्रति चिनियाँहरु गम्भीर र सचेत छन् । हामीले गर्न सक्ने र मिल्ने भनेको सहानुभूति व्यक्त गर्ने मात्रै हो । यसतर्फ आफ्नो सीमा भुलेर अति प्रेस स्वतन्त्रताका नाउँमा बढ्ता चासो राख्नु त्रुटिपूर्ण छ ।
नेपालस्थित चिनियाँ मिडिया ग्रुपकि पत्रकार, कुटनैतिक नियोगका अधिकारीहरुले आफ्ना राष्ट्रपिता मार्फत चिनियाँ मनोविज्ञानमाथी गरिएको प्रेस हमला/हस्तक्षेपको भत्सर्ना गर्छन् र चेतावनी दिए । यसलाई केही मिडिया र सम्पादकहरुले आफ्नो प्रेस माथि कुटनैतिक सीमा नाघेर हस्तक्षेप गरेको जिकिर समेत गर्न भ्याए । यस्ता जिकिरहरु स्वतः विवादास्पद र लज्जास्पद छन् । यो यिनै अपरिपक्व र असहिष्णु सम्पादक र मिडिया हाउसले निम्ताएको समस्या हो ।
हाम्रो पत्रकारिता र हाम्रा संचार संस्थानको चरित्रका कारण कैयौंपटक विवादहरु सिर्जना नभएका भने होइनन् । तर यो जटिल र चिनियाँ समवेदना र मनोविज्ञानमाथी लक्षित हुँदा निम्नस्तरको चेतावनी सहनुपर्यो । जसमा नेपालस्थित चिनियाँ पत्रकार वर्षाले माओ नभएर आफ्नो माक्र्स लगाएको तस्बिर सहितको भिडियो सन्देश जारी गरिन् ।
हाम्रो संविधानले ग्यारेन्टी गरेको पुर्ण प्रेस स्वतन्त्रताको दुरुपयोग गर्दै त्यसलाई भजाएर अराजकता सिर्जना गर्ने सम्पादकहरुका कारण समग्र पत्रकारिता क्षेत्रले अपमान सहनुपर्ने स्थिति उत्पन्न भयो । यो निकै गम्भीर र विचारणीय विषय हो । हामीले अरुको स्वाधीनता र राष्ट्रिय परिस्थितिमाथी लेख्दा र छाप्दा संयमता गुमाउनु हुँदैन । चिनियाँ मनोविज्ञान माथि नजरअन्दाज गर्ने र व्यंग्य गर्यौँ भने अन्ततोगत्वा त्यो हानिकारक सिद्ध हुनसक्छ । यसमा मिडिया जगत सचेत र चनाखो होस् ।
हामीले बुझ्नुपर्छ चिनियाँहरु संयम छन् तर कायर छैनन् । हुन् पनि कसरी यदि महामानव गौतम बुद्धको फोटोलाई हुम्ला र कालिकोटमा महामारीका रूपमा चल्ने झाडापखालासँग मिल्दो फोटो छापे भने ? सहन्छौँ, किमार्थ सहदैनौं ।