पोखरा । यही वैशाख २८ देखि ३० गतेसम्म पोखरामा हुने भनिएको अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलनको व्यापक तयारी भएको बताइएको छ ।
अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्ष विक्रम थापाले सम्मेलनको तयारी तीव्र रुपमा बढिरहेको जानकारी दिए । थापाका अनुसार सम्मेलनमा देशभरबाट ६०० जनासम्म प्रतिनिधि आउने छन् ।
सम्मेलनका सम्बन्धमा जानकारी दिन आज यहा“ आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष तीलक थापाले “राष्ट्रिय स्वाधीनताका लागि आमूल परिवर्तन, युवा अधिकार र जनतन्त्रको पक्षमा सातौं राष्ट्रिय सम्मेलन” भन्ने मूल नाराका साथ हुन लागेको राष्ट्रिय सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्ने जानकारी दिए ।
सम्मेलनमा नेपाली जनताको संघर्षबाट गणतन्त्र प्राप्त भएर पनि जनताका आधारभूत आवश्यकता पूरा हुन नसकेको, सामन्ती प्रवृत्तिले जरा गाड्नुका साथै वैदेशिक हस्तक्षेप बढिरहेको लगायतका विषयमा गम्भीर छलफल हुने जानकारी थापा दिए । युवा जनशक्तिको स्वदेशमा नै परिचालन जस्ता विषय सम्मेलनमा विशेष प्रस्तावका रुपमा पारित गरिने अध्यक्ष थापाले जानकारी दिए ।
स्मरण रहोस् संघको संस्थापक अध्यक्ष पुष्पकमल दाहल (क. प्रचण्ड) हुन् ।