अखिल (छैठौं)ले संघीयता विरुद्ध काठमाडौं मार्च गर्ने

0
63

काठमाडौँ/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं)ले आगामी चैत्र १देखि ५ गते सम्म संघीयता विरुद्ध काठमाडौं मार्च संचालन गर्ने भएको छ । यूनियनको पौष १५ गते बुटवलमा सम्पन्न भयो बैठकले उक्त निर्णय गरेको अध्यक्ष विमल पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संघीयताले देशलाई धेरै कमजोर बनाउँदै लगेको र संघीयता खारेजी आजको प्राथमिक आवश्यकता भएको भन्दै “संघीयताविरुद्ध काठमाडौं मार्च” सञ्चालन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

वक्तव्यको पूर्ण पाठ- “अखिल (छैठौं) केन्द्रीय समितिको छैटौं पूर्ण बैठक २०७६ पुस १५ गते बुटवलमा सम्पन्न भयो । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नको लागि यो वक्तव्य जारी गरिएको छ ।
१. संघीयताले देशलाई धेरै कमजोर बनाउँदै लगेको छ । संघीयता खारेजी आजको प्राथमिक आवश्यकता हो । संघीयता खारेजीको आन्दोलनलाई अझै उचाइमा पुर्याउनुपर्ने आवश्यकता छ । अखिल (छैठौं)ले २०७६ चैत १ गतेदेखि ५ गतेसम्म “संघीयताविरुद्ध काठमाडौं मार्च” सञ्चालन गर्ने निर्णय गरेको छ । संगठनको सम्पूर्ण शक्ति काठमाडौं मार्चको तयारीमा लाग्ने निर्णय भएको छ । प्रदेश नं. १, २, ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका जिल्लास्तरीय तयारी भेलाहरु सम्पन्न भइसकेका छन् । छिटै ३ नम्बर र गण्डकी प्रदेशका तयारी भेलाहरु सम्पन्न गर्ने निर्णय भएको छ ।
२. “संघीयताविरुद्ध काठमाडौं मार्च”को लागि पर्चा, पोष्टरहरु तयार गर्ने, भित्ते लेखन गर्ने, स्कुल, क्याम्पस, विश्वविद्यालय, गाउँपालिका, वडास्तरसम्म तयारी समिति गठन गर्ने र प्रचारप्रसारलाई व्यापक बनाउने निर्णय भएको छ । सम्पूर्ण विद्यार्थी र जनसमुदायलाई काठमाडौं मार्चमा सहयोगको लागि आह्वान गर्दछौं ।
३. स्ववियु निर्वाचन २०७६ फागुन १४ मै गर्न अखिल (छैठौं)ले जोड दिन चाहन्छ । स्ववियु निर्वाचनलाई शैक्षिक निजीकरण, व्यापारीकरण र संघीयताका विरुद्धको संघर्षको लागि उपयोग गर्ने निर्णय भएको छ । स्ववियु निर्वाचनमा जातिवादी, क्षेत्रीयतावादी, राजावादीबाहेक अन्य विद्यार्थी संगठनसंग तालमेल गरेर जान सकिनेछ ।
४. “संघीयताविरुद्ध काठमाडौं मार्च” तयारीको लागि कर्णाली प्रदेश इन्चार्जमा हरि बुढालाई जिम्मा दिइएको छ । केन्द्रीय सदस्य लक्ष्मी बेलबासेले दिनुभएको राजीनामा स्वीकृत गरी रिक्त केन्द्रीय सदस्यमा इन्द्रमणि पाण्डे (बाग्लुङ)लाई नियुक्ति गरिएको छ ।
५. भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र समेटेर जाली नक्सा प्रकाशित गरेको छ । अखिल (छैठौं) उक्त जाली नक्सा खारेज गर्न, नेपाली भूमिबाट भारतीय सेना फिर्ता गर्न र मिचिएको सम्पूर्ण जमीन फिर्ता गर्न माग गर्दछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here