हेर्नै पर्ने ‘चौकिनीको कथा’

0
232
विद्या चापागाई

अघिल्लो साता हामी काठमाडौंमै थियौं । शहरमा नारी दिवसको रमझम थियो । मान्छेहरु महिलाका अधिकारबारे आफ्ना बेजोड धारणाले सामाजिक सन्जालका भित्ताहरु रङ्गीन बनाइरहेका थिए । ‘भजाइना मोनोलोग’ जस्ता नवीन विषयहरुले नारी दिवसका एजेन्डाहरुलाई थप रोमान्चित बनाएको थियो । हामी भने ढोरपाटनमा भेटिएका चौकिनीहरुको कथाका पानाहरु पल्टाउँदै सम्पादनको चरणमा थियौं ।

बोवाङ

ढोरपाटन जाँदा हामी बोवाङमा बास बस्यौं । बाक्लो बस्ति थियो । अँध्यारो हुनै लाग्दा पुगेका थियौं हामी । होटलहरु बिरलै रहेछन् ।

‘यहाँ होटलको समस्या छ । एउटा घरमा खाने बस्ने व्यवस्था मिलाएका छौं’
वडा अध्यक्ष दीपक थापाले सहयोग गरे । एउटा घरमा पुर्याएर हामीलाई छोडिदए ।

अँगेना वरिपरि एक आमा र दुई छोरी बसेका थिए । आफूहरुको लागि बेलुकाको खाना पकाइसकेका उनीहरुलाई हामीले बोझ थपिदियौंको भनेर अफ्ठ्यारो लाग्यो । उनीहरुले अफ्ठ्यारोलाई छिनभरमै दूर गरिदिए ।

११ पढ्ने जेठी छोरी प्रमिला । १० मा पढ्ने शर्मिला र ८ मा पढ्ने कान्छो छोरो । कान्छो भर्खर किताब कापी च्यापेर ट्युशनबाट फर्केको थियो । भान्छाको गुन्द्री ओछ्याइएको खाटमा किताब थन्क्याएर उ आमा र दिदीहरुलाई सघाउन भिड्यो ।

प्रमिला चाहिँ शिकार आरक्षभित्र काम पनि गर्दिरहिछन् । उनी कार्यलयमै बस्छिन् । छुट्टि पारेर आमा भेट्न आएकी । भोलि उनको फर्कने दिन रहेछ । भोलि विहानै ढोरपाटन तिर उकालो लाग्दा उनी हाम्री सहयात्री हुने भइन् । हामी दङ्ग पर्यौं ।

आमा चाहिँ ढोरपाटनको गाउँमा एक्लै बस्छिन् । अहिले जाडो छल्न बोवाङ आएकी सारा गाउँसँगै ओरालो लागेर । फागुन अन्तिम साता उनी पनि ढोरपाटन जान्छिन् । बोवाङको घरमा चाहिँ १० मा पढ्ने माइली छोरी र ८ मा पढ्ने कान्छो छोरो बस्छन् प्राय । किनभने ढोरपाटनमा हाइस्कूल छैन । उनीहरु पढ्नको लागि बोवाङ बस्नुपर्छ ।

हामी जस्ता पाहुनाहरु बेला बेला आइरहँदा रहेछन् । प्राय अचानक यस्तै साँझमा आइपुग्ने पाउनाहरुलाई बस्ने खाने सप्पै व्यवस्था यी ८ कक्षामा र १० कक्षामा पढ्ने दिदी भाइले गर्दा रहेछन् ।

भाइ भित्र बाहिर गरिरहन्थ्यो । कहिले गाग्रीभरि पानी बोकेर ल्याउँथ्यो । कहिले जुठा भाँडा उठाएर बाहिर लगिहाल्थ्यो । आमा छोराछोरीलाई यसो गर उसो गर भनिरहन्थिन् । मैले शहरतिर देखिने भेटिने उही उमेरका केटाकेटीहरुलाई मनमनै सम्झिएँ र उही उमेरका आमाहरुलाई पनि सम्झिएँ ।

यी केटकेटी सानै हुँदा बुबाले हेला गरेर अर्को बिहे गरेर पाखा लागेछन् । बुबाको माया विरानो भयो । आमाले दुःख जिलो गरेर तीन जना केटकेटी हुर्काइन् । यसै पनि बिरानो भइसकेका बुबा एकदिन बितेछन् । उनीहरुले खबर मात्र पाए । तर खम्बा झैं आमाको स्कूलिङ पाएका उनीहरु विचलित भएनन् ।

भोलिपल्ट विहानै आमा छोराले मकै भुटेर फिक्का चिया पकाइसकेछन् । हामीले त्यो खायौं र हिँड्ने सुरसार गर्यौं ।

बोवाङमा बिस्तारै न्याना दिनहरु आउने बेला भएको थियो । अब बोइलर हुर्किन्छन् । माइली छोरी विहानै बोइलरको चल्ला लिन बुर्तिबाङ जाने सल्लाह अघिल्लो साँझ नै भएको थियो ।

‘यो लुगा लाएर जाँदा हुन्छ?’
शर्मिलाले दिदी प्रमिलालाई सोधिन् ।

‘जाडो होला ज्याकेट पनि लगा कान्छी’

कान्छीले ज्याकेट लगाएर आइन् । आमाले बोइलरका चल्ला किन्ने पैसा दिँदै छोरीलाई सम्झाइन्:
‘हिसाबकिताब राम्ररी गर्नु’
‘राम्रा चल्ला छान्नु ठूला टाउका भएका’
‘ध्यान दिनु’
‘धेरै अबेर नगर्नु’

आमाका सल्लाह सुनेर माइली ३ घन्टा टाढाको बुर्तिबाङतिर पैदलै ओरालो लागिन् । हामी मोटर चढेर ढोरपाटनतिर उकालो लाग्यौं ।

ढोरपाटन

थुप्रै डाँडा काँडा काटियो । कहिले खोला कहिले जंगल । कुहिरो लागेको धमिलो मौसम थियो बाटोभरि । अचानक देउरालीबाट ढोरपाटन देखियो । ओहो कति सफा आकाश । कति राम्रा जंगल । हामीलाई के गरौं कसो गरौं भयो । न धुँवा धुलो । न हल्लाखल्ला । जाडोले खाएका ढोरपाटनका फाँटहरु पराल जस्तो देखिएका थिए । पाटनको बिचबाट सानो खोला बगेका थियो । ठाउँठाउँमा घरहरु थिए । पर पर घोडाहरु चरिरहेका थिए ।

हामी केही दिन अघि परेका हिउँ कुल्चँदं पाटन झरेर ढोरका गाउँ छिर्यौं । गाउँमा त कोही पनि छैन । प्राय घर ताल्चा लागेका । हामीले थाहा पाइसकेका थियौं । ढोरपाटन जाडोभरि बोवाङ झर्छ र न्यानो लागेपछि फेरि यतै फर्किन्छ भनेर ।

‘गाउँ रेखदेख चाहिँ कसले गर्छ?’

फाट्फुट्ट भेटिएका गाउँलेले सुनाए ‘चौकिनीले’

अनि हाम्रो कथाको विषय तिनै चौकिनी बने ।

उनीहरुको जीवनकालमै ढोरपाटन ७० पटक औलमा झरिसक्यो । उनीहरु यहिँका सुख्खा माटोमै रमाएर बसेका रहेछन् ।

कलिमा बिक र उनकी सौता अहिले चौकिनी रहेछन् । विहान बेलुकी सारा गाउँ डुलेर रेखदेख गर्ने उनीहरु नै ।

दाँतहरु झरेर एक दुइटा मात्र बाँकि थिए कलिमाका तर उनको जति हक्की आवाज मैले बिरलै सुनेकी थिएँ । गालाहरु चाउरी परेर ढोरपाटनका फाँटहरु जस्तै भइसकेका थिए । तर उनको जस्तो मीठो मुस्कान बिरलै देखेकी थिएँ मैले ।

ओहो यी बुढी आमैहरु सारा बलियाहरुलाई बेँसी पठाएर गाउँ कुरेर बसेका रहेछन् । चोर आयो भने समातेर लठ्ठीले हान्छु भन्छन् ।

ओहो यी बुढी आमैहरु कति एक्ला छन् । साथमा परिवार पनि छैन गाउँले पनि छैनन् । तर यहाँका खोला नाला र वन जंगलसँग कस्तो प्रेम उनीहरुको । जिन्दगी प्रति कुनै गुनासो नि छैन । अधिकार र मागका केही कुरा नि गर्न परेका छैन । राज्यले यो दिएन र त्यो दिएन भन्न सिकाउन पनि कोही आएको छैन ।

उनीहरु सुखी हुन् कि दुःखी ? शायद यो प्रश्न उनीहरुको मनमा कहिले नि आउँदैन।

चौकिनीहरुलाई भेट्दा त एउटा ध्यान शिविरमा गएर आएजस्तै भयो । साँच्चै आनन्द लाग्यो मनभित्र ।

फेरि बोवाङ

साँझ अबेर आएर शर्मिलाकै घरमा बास बस्यौं । भोलिपल्ट विहान उठेर हिँड्ने बेला कलिलो घाम लागिसकेको थियो । शर्मिला हिजो बुर्तिबाङबाट ल्याएका चल्लालाई घाम तपाउँदै थिइन् ।

पोष्ट पाटीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here