हार्दिक श्रद्धा सुमन ! सहिद मित्रमणी आचार्य

0
234

– सिंजाली माइलो
हार्दिक श्रद्धा सुमन ! सहिद मित्रमणी आचार्य,
तिम्रो सपना अधुरो हुन दिने छैनौं ।
जबसम्म समाजमा शोषण रहिरहन्छ,
तबसम्म हामी विश्राम रत्तिभर लिने छैनौं ।
तिम्रो हिमाल पहाड र तराई रूपी आँगनमा,
स्वाभिमान र समानताको दियो बालेरै छोड्छौं ।

हार्दिक श्रद्धाञ्जली ! सहिद मित्रमणी आचार्य,
तिम्रो आस्था कत्ति पनि डग्न दिने छैनौं ।
आज राजनीति कमाइ खाने भाडो बन्दैछ,
हामी त्यसको धुरन्धर विरोध गरिरहे छौं ।
आज सत्ता चम्किलो अनि संघर्ष धुमिल हुँदैछ,
हामी संघर्ष अझै तेजिलो पार्न लडिरहे छौं ।

हार्दिक श्रद्धा सुमन ! सहिद मित्रमणी आचार्य,
तिम्रो अन्तिम अडान कत्ति झुक्न दिने छैनौं ।
आज कैयौं सत्ताधारी फेरबदल भइ रहन्छन्,
तर फेरिन पर्ने राज्यसत्ता, आचरण दुरुस्तै छ ।
आज पनि तिम्रो आँगनमा नवसामन्त नाच्दैछ,
तिम्रो कसम सायद अब अन्तिम युद्ध हुनुपर्छ ।

हार्दिक श्रद्धाञ्जली ! सहिद मित्रमणी आचार्य,
तिमी छैनौं, तिम्रो विचार ढकमक्क फुलेकै छ ।
अनेक स्वार्थ भ्रम जाल चिर्नु त सजिलो छैन,
तैपनि बाटोमा हजारौं योद्धा लामबद्ध गर्दैछौं ।
समरका यात्रीहरु रत्तिभर थाक्ने झुक्ने छैनन्,
हामी विश्वस्तछौं तिम्रो सुन्दर सपना पुरा गर्दैछौं ।

हार्दिक श्रद्धासुम ! सहिद मित्रमणी आचार्य,
तिम्रो सपना अधुरो हुन दिने छैनौं ।
जबसम्म समाजमा शोषण रहिरहन्छ,
तबसम्म हामी विश्राम रत्तिभर लिने छैनौं ।
नौलो जनवादी क्रान्ति – जिन्दावाद भन्दैछौं,
सुन्दर समाजवादी क्रान्ति – जिन्दावाद भन्नेछौं ।
हार्दिक श्रद्धाञ्जली…………………

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here