स-साना खुद्रा मसिना कुराहरूमा हैन सिङ्गो व्यवस्थामाथि प्रश्न गर !

0
349
  • बालाराम तिमिलसिना

अहिलेको व्यवस्था कमरेड लेनिनले भनेजस्तै- ‘खसीको टाउको देखाएर कुकुरको मासु वेच्ने व्यवस्था’ हो । यो व्यवस्थालाई ठीक छ भन्नेहरूले आफ्नै विवेकमाथि प्रश्न गर ।

यदि तिमी लेनिनका चेला हौ भने यो लुटेरा व्यवस्थाभित्र सरकार परिवर्तन गरेर श्रमजीविले मुक्ति पाउँछन भन्ने भ्रमका विरुध्द प्रश्न गर । हैन ख्रुश्चेभका चेला हौ भने समृध्दिको भ्रम छर र जनतालाई लुट ।

विरालो कालो हुनु र सेतो हुनुले मुसालाई खास फरक पर्दैन । विरालोको काम मुसा मार्ने हो र मुसाले विरालोको आहारा हुनु पर्ने हो । नेपाली काङ्ग्रेसको चार तारे झण्डाले बढाएको महङ्गीले बढी पोल्ने र नेकपाको हसिया हथौडाले बढाएको महङ्गीले सित्तल हुने होइन । काङ्ग्रेसले कोशी गण्डकी बेच्दा राष्ट्रघात हुने र कम्युनिष्ट भन्नेले अरुण बेच्दा महादान हुने हुने होइन ।

विदेशीहरूको अघि प्रजातान्त्रिक भनिनेहरू झुक्दा लम्पसार परेको हुने र वामपन्थी भनिने झुक्दा सतिसाल बन्ने होइन । यौटै व्यवस्थालाई स्विकार गरेका दलहरू सारमा यौटै हुन र व्यवस्थाको चरित्र र सीमा अनुसार तिनीहरूले काम गर्ने हुन । कम्तिमा पचासको दशककोजस्तो स्थिति हुन्थ्यो भने अरुण तेश्रोमाजस्तो राष्ट्रघात हुदा युवा विद्यार्थीहरू सडकमा निस्कन्थे । कैयन दिन सडक जाम हुन्थ्यो र महिनौं सदन अवरुध्द हुन्थ्यो ।अहिले त सभासदले अपराध गरे पनि कार्यवाही नगर्ने कुरामा सत्ता पक्ष र प्रतिपक्ष मिल्छन् । सत्ता पक्ष अरुण बेच्छ , प्रतिपक्ष अर्कोले कमिशन उम्कायो भनेर थुक निल्छ । सत्तापक्ष महङ्गी बढाउँछ , सत्ता पक्ष हेरेर चुपचाप बस्छ । यस्तो लाग्छ- लगातार सरकार चलाएको कारणले नेपाली काङ्ग्रेसले आफूलाई प्रतिपक्ष हुँ भन्ने पनि बिर्सन्छ र सरकार पक्षको व्यवहार गर्छ ।

हुन पनि के सही हो भने – नेकपा सत्ता पक्ष र काङ्ग्रेस विपक्ष भन्ने कुरा नै गलत हो । वर्तमान व्यवस्थालाई आदर्श मान्नेहरू सवै नै सत्ता पक्ष हुन ।विपक्ष भन्ने कुरा संसदीय व्यवस्थाभित्र जनतालाई उल्लु बनाउँन रचिएको खेल मात्र हो ।सत्ता पक्षको उल्टो भनेको विद्रोही भन्ने हुन्छ र काङ्ग्रेस विद्रोही नभएर नेकपाभन्दा पुरानो सत्तापक्ष हो ।त्यही भएर काङ्ग्रेस सत्ता पक्षकै भूमिका निर्वाह गरिरहेको छ ।

नेपालमा मार्क्सवादको नाममा संसोधनवाद लागु भैरहेको छ। संसोधनवाद भनेको सारमा पूँजीवाद नै हो र पूँजीवाद भनेको साम्राज्यवाद हो ।अहिले आफूलाई एशियाको सवैभन्दा ठूलो कम्युनिष्ट पार्टी हौं भन्नेहरू यथार्थमा संसोधनवादी= पूँजीवादी= साम्राज्यवादी नै हुन । मार्क्सवादको यो आधारभूत सिध्दान्तलाई पक्रेर विश्लेषण गर्यो भने सही ठाममा पुगिन्छ ।त्यसो नगरेर अंश अंशमा यही व्यवस्था र यही व्यवस्था बचाउन लागेका पार्टीहरूलाई – यसो गरे राम्रो हुन्छ , उसो गरे राम्रो हुन्छ भनेर सुझाव दिनु भनेको संसोधनवादी नै हुनु हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here