कविता
-प्रकाश थापा मगर
जब आउँछ भूकम्पजस्ता विपत्ति
छोड्छन् मान्छेहरू काठमाडौँ
जब आउँछ चाडपर्व
छोड्छन् मान्छेहरू काठमाडौँ
जब आउँछ महामारीका हल्ला मात्र
छोड्छन् मान्छेहरू काठमाडौँ
स्थार्थी– काठमाडौँ कि मान्छे ?
गर्मी भए काठमाडौँमै बस्ने
जाडो भए तराई झर्ने
फलफूल चाहिए मोफसल ताक्ने
अन्न चाहिए फाँटतिर हेर्ने
अनि काठमाडौँका
उब्जाउ जमिन मासी घर बनाउने
स्थार्थी– काठमाडौँ कि मान्छे ?
कपडा चाहिए विदेश हेर्ने
पैदल हिँड्नै नखोज्ने
बाइक र चिल्लाकार खोज्ने
त्यो पनि विदेशी मोडेलकै
पैदल हिँड्नेलाई
फोहर उठाउनेलाई
धुलोको पर्वाह नगरी सडकमा
रातदिन पसिना बगाउनेलाई
खाते भन्ने
स्वार्थी– काठमाडौँ कि मान्छे ?
सुखजतिको नक्कल गर्ने
सुविधाजति आयात गर्न खोज्ने
वैभव र इतिहास बिर्सेर
पाटन, भादगाउँ र कीर्तिपुरको
आफूलाई शहरिया ठान्ने
र, ठान्ने आधुनिक
आफूलाई बनाउँदै परनिर्भर
लिइरहने आत्मरति
युगौँयुग रुमल्लिइरहने पराधीनतामा
ए मेरो काठमाडौँ र काठमाडौँवासी
स्थार्थी– काठमाडौँ कि मान्छे ?