धनगढी । सुदूर पश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ बहादुर सोडारी बर्खास्तमा परेका छन् । २०७५ कार्तिक २७ गते मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सोडारीलाई पदमुक्त गरेका हुन् ।
सोडारीमाथि प्रहरी प्रशासनमा हस्तक्षेप गरेको, कार्यसम्पादन राम्रोसँग गर्न नसकेको र भ्रष्टचार गरेको आरोप यस अघि नै लगाइएको थियो । सोडारी माधव नेपाल लाइनका भएका कारण उनलाई पहिले नै हटाउन खोजिएको र नेता भीम रावलले उनलाई संरक्षण चर्चा गरेको थियो । बर्खास्तीमा परेका मन्त्री सोडारीले आफू गुटबन्दी परेका कारण पदबाट हटाइएको बताए । सोडारीले आफू तत्कालिन एमालेको कैलाली जिल्ला अध्यक्ष भएदेखि नै पार्टीको एक खेमालाई चित्त नबुझेको र मन्त्री बनेपछि उनीहरुले साना साना कुराहरुलाई इस्यु बनाउँदै लबिङ गरेको बताए ।
मन्त्री सोडारीमाथि पदीय मर्यादा दुरुपयोग गरेको आरोप पटक पटक नेकपाभित्रकै नेताले लगाउँदै आएका थिए । आफ्नो स्थानमा आउने सुवेदीलाई आफूले पूर्ण रुपमा सहयोग गर्ने सोडारीले बताए । आफ्नो नौ महिने कार्यकालको समिक्षा गर्दै सोडारीले आफूले प्रदेश सरकारले ल्याएका योजना कार्यान्वयनमा शतप्रतिशत दिएको दाबी गर्दै आगामी दिनमा आफूले ल्याएका कार्यक्रमलाई नयाँ मन्त्रीले पनि निरन्तरता दिने बताए ।
सोडारी प्रदेश सरकारबाट बर्खास्तमा पर्ने दोस्रो मन्त्री बनेका छन् । यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित बर्खास्तमा परेका थिए । बर्खास्त गरिएका सुदूर पश्चिम प्रदेशको सामाजिक विकास मन्त्री दीर्घ सोडारीको स्थानमा कृष्णराज सुवेदीलाई मङ्गलबार पद तथा गोपनीयताको सपथग्रहण गरिएको छ ।