सिमा अतिक्रमण र एमसीसी विरूद्ध उपत्यकाका तिनवटै शहरमा विराेध प्रदर्शन

0
108

ललितपुर । राष्ट्रिय जनमोर्चा सहितका नौ राजनीतिक दलको आयोजना आज देशका विभिन्न जिल्लाहरुमा विरोध कार्यक्रम सम्पन्न भएका छन् । त्यहि सिलशिलामा ललितपुर जिल्लाको लगनखेलबाट जुलुस सुरु भइ बजार परिक्रमा गरि जुलुस सहित विरोध सभा सम्पन्न भएको छ । भारतद्वारा गरिएको सिमा कब्जाको विरोध तथा एमसिसि सम्झौता खारेजीका लागि आयोजित सभालाई नौ राजनीतिक दलका नेताहरुले सम्बोधन गर्नु भएको थियो ।

बिरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य घनश्याम न्यौपानेले एमसिसि सम्झौतालाई तत्काल खारेज गर्नुपर्ने बताउनुभयो । उहाँले एमसिसि सम्झौता हिन्द प्रशान्त रणनीतिकै अँग भएको उल्लेख गर्दै चीनलाई घेर्ने रणनीतिकासाथ नेपालमा सैन्य अखडा स्थापना गर्ने उद्देश्यसहित आएकाले यसलाई नेपालमा कार्यान्वय गर्न नहुने उहाँको तर्क थियो । वर्तमान सरकार र प्रमुख प्रतिपक्ष नेपाली काँगे्रसले यो सम्झौता जसरी पनि पारित गर्न लागि पर्नुको पछाडिको कारण के हो भन्दै प्रश्न उठाउनु भयो । नेता न्यौपानेले सम्झौता लागु भएमा नेपाल अमेरिकी सामराज्यवादको सैन्य अखडामा परिणत हुने चेतावनी दिनुभयो । नेपालको राष्ट्रियता र स्वाधिनतामाथि नै गम्भीर आँच पुर्याउने यो  राष्ट्रघाती सम्झौता दृढतपूर्वक अस्वीकार गर्नुपर्ने विचार व्यक्त गर्दै न्यौपानेले भारतीय सामराज्यवादद्वारा नेपालको सिमा अतिक्रमण हुदाँपनि वर्तमान सरकारले ठोस कदम नचालेकोप्रति खेद प्रकट गर्नु भयो ।

उक्त विरोध सभालाई सम्बोधन गर्दै नेकपा (मसाल)का प्रतिनिधि निलगोविन्द महर्जनले ५५ अरव रुपैयासँग नेपालको राष्ट्रियतालाई सौदावाजी गर्न नमिल्ने बताउनु भयो । कार्यक्रमका बक्ताहरुले भारतीय सामराज्यवादद्वारा गरिएको सिमा कब्जाको विरोध तथा एमसिसिको सम्झौताको खारेजीमा जोड दिएका थिए । कार्यक्रममा नेकपा (माले) मोहनराज शाक्य,  नेकपा (क्रान्तिकारी माओवादी) का श्याम केसी, नेकपा (माओवादी केन्द्र)का राजन तिमिल्सेना, नेकपाका महेन्द्र जोशी, जनसमाजवादी पार्टीका अशिम लिम्बुले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमका सञ्चालन देशभक्त जनगणतान्त्रिक मोर्चाका इन्द्रिरा ज्ञावलीले गर्नु भएको थियो ।
काठमाडौं ।
काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेकपा (मसाल)का जिल्ला प्रवक्ता जगत रेग्मीले देशलाई बन्धकी राखेर एमसीसी पास गर्न पाईंदैन भन्दै पश्चिमा साम्राज्यवादप्रति सरकार लाचार बनेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापाले भारतीय साम्राज्यवादले गरिरहेको सीमा अतिक्रण प्रति पनि सरकारले कुरा मात्रै गरेको तर प्रभावकारी कदम उठाउन नसकेको आरोप लगाउनुभयो ।
कार्यक्रमलाई नेकपा (माले) का स्थायी समिति सदस्य सुरेन्द्र ढकाल, जनसमाजवादी पार्टीका उपमहासचिव डम्बर विक्रम कार्की, राष्ट्रिय जागरण परिषदका सचिव हेमन्त सेढाई, नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य आलोक रायमाझी, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष बन्धुदेव पाण्डे, नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला इन्चार्ज शारदा महत र नेकपाका बाग्मती प्रदेश सचिव अर्जुन कार्कीले सम्बोधन गर्नुभएको थियो । राष्ट्रिय जनमोर्चाका नेता छवि खनालले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता नेकपा (माले) का नेता सिद्धिलाल महर्जनले गर्नुभएको थियो ।
भक्तपुर ।
शनिबार भक्तपुरको सुर्य्विनायक चोकमा सोही विषयमा विरोध सभा सम्पन्न भएको छ । सभालाई राष्ट्रिय जनमोर्चाका तर्फबाट अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले सम्बोधन गर्नुभयो । कार्यक्रममा माओवादी केन्द्रका तिलक थापा, क्रान्तिकारी माओवादीका सोमानसिंह तामाङ, मालेका दिनेश खाती, जनसमाजवादीका गोविन्द बहादुर बुढा, देजमोका श्रीकृष्ण सुलु र नेकपाका प्रविन जोशीले सम्बोधन गर्नुभएको भक्तपुरबाट राजमो नेता शिवहरी फुयाँलले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here