सिमा अतिक्रमणकाे करिव ३२ देशका जनसम्पर्क समितिहरूद्वारा विराेध

0
32

बार्सिलाेना । भारतले नेपालकाे भुमि अतिक्रमण गरेर चिन जाेड्ने सडक निर्माण विषयलाई लिएर विभिन्न देशमा रहेका जनसम्पर्क समितिहरू विराेध जनाएका छन् ।

भारत, खाडी मुलुक, अमेरीका, युराेप लगाएत  विश्वका करिव ३२ देशका नेपाली काँग्रेस निकटका जनसम्पर्क समितीहरूले संयुक्त रूपमा वक्तव्य जारी गर्दै विराेध जनाएका हुन । उनीहरूले सिमा समस्यालाई तत्काल कुटनीतिक वार्ता र छलफलकाका माध्यमबाट समाधान गर्नकाे लागि नेपाल वक्तव्य मार्फत सरकारकाे ध्यानाकर्षण गराउँदै समस्याकाे समाधान खाेज्न अनुराेध गरेकछन् ।

वक्तव्यमा भनिएकाे छ-”भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको छ । सीमा जस्तो संवेदनशील विषयमा जुन किसिमको हस्तक्षेप भएको छ त्यसको हामी विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरू घोर निन्दा र भर्त्सना गर्दछौँ । साथै सीमा अतिक्रमणका विषयमा नेपाल सरकारले तत्काल कूटनीतिक वार्ता र छलफल गरी पहल गर्नुपर्नेमा विज्ञप्ति मात्र जारी गर्नुले समस्याको समाधान नहुने तथ्यतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै जिम्मेवार ढङ्गले यो विषयको समाधान खोज्न अनुरोध पनि गर्दछौँ ।

विश्वका जुनसुकै कुनामा बसे पनि मूलतः हामी नेपाली हौँ र नेपाल भूमि हाम्रो आत्मा हो । नेपाली भूमिमाथि हुने जुन कुनै अतिक्रमण पनि हाम्रो आत्मामाथि प्रहार हो । हामी हाम्रो आत्माको रक्षाका लागि देश विदेशमा रहनु भएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अपिल गर्दछौँ ।

एक स्वाधीन र सार्वभौम राष्ट्रका लागि आफ्नो सीमामाथि बलमिच्याई भइरहँदा टुलुटुलु हेरेर बस्न सकिन्न । ऐतिहासिक दस्ताबेज,सन्धी र प्रमाणहरूका आधारमा पनि लिपुलेक नेपाली भूमि हो भन्ने प्रस्ट छ । तसर्थ अहिले जे जसरी सीमा मिच्ने र सार्वभौम राष्ट्रको हाम्रो भूगोलमा हस्तक्षेप गर्ने काम भएको छ यसको हामी राष्ट्र,राष्ट्रियता र लोकतन्त्र पक्षधर नेपाली जनसम्पर्क समितिका सबै सदस्यको तर्फबाट घोर निन्दा र भर्त्सना गर्दछौँ ।

सीमाको विषय अति संवेदनशील छ । यो विषयमा कूटनीतिक र राजनीतिक नेतृत्व तहमा तत्काल कुराकानी गर्नु नेपाल सरकारको प्रमुख दायित्व हो । तर राष्ट्रवादको चर्को नारा लगाएर सत्ताको कुर्सीमा विराजमान वर्तमान कम्युनिस्ट सरकारको असली राष्ट्रवादको अनुहार यति बेला उदाङ्गो भएको छ । सरकारको निकम्मापन यो बेला अझ बढी देखियो । यसबाट थप पुष्टि हुन्छ कि वर्तमान सरकारले शासन गर्ने नैतिक र राजनीतिक अधिकार गुमाउँदै गएको छ । देशको सीमामाथि यसरी नाङ्गो हस्तक्षेप र आक्रमण हुँदा समेत बोल्न नसक्ने सरकारका प्रतिसमेत खेद व्यक्त गर्दछौँ ।

नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढङ्गले रहनु पर्ने विषयमा सरकारले गम्भीर कूटनैतिक पहलकदमी मार्फत समाधान खोज्न तत्काल अग्रसरता लिनुपर्दछ भन्दै पुनः एक पटक सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।

नेपाली भूमिमाथिको यो हस्तक्षेप र आक्रमणका विरुद्ध सबैले विरोध गरौँ । हामी हाम्रो मातृभूमि नेपालको एक इन्च भूमि पनि कसैले मिच्न पाइनेछैन भन्नेमा खबरदारी गर्न चाहन्छौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here