सांसद दुर्गा पौडेल हैदरावाद आउँदै

0
1845

मञ्जु पौडेल र विक्रम केसी बीच प्रगतिशिल विवाह हुँदै

हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा प्यूठानबाट विजयी सांसद एवं राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल हैदरावाद आउँने समाचार प्राप्त भएको छ ।

राष्ट्रिय जनमोर्चा निकट भारत प्रवासमा रहेको संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसीका छोरा र सचिव प्रेम पौडेलकी छोरी बीच सम्पन्न हुन गइरहेको प्रगतिशिल विवाहको सन्दर्भमा सांसद पौडेलको उपस्थिति हुने निकट श्रोतले बताएको छ ।

सो विवाहमा रक्तिम साँस्कृतिक परिवारका अध्यक्ष तथा जनगायक जीवन शर्माको पनि उपस्थिति रहने समाचार छ । त्यस्तै पूर्व सांसद हरि आचार्य, वामपन्थी नेता कृष्ण पौडेल, जिल्ला विकास समिति बाग्लुङका सभापति राजेन्द्र ढुंगाना, बाग्लुङ बरेङ गापा प्रमुख कृष्ण पौडेल, गुल्मी कालिगण्डकी गापा उपप्रमुख तारा थापा क्षेत्रीले पनि सो विवाह समारोहमा उपस्थिति जनाउने बताइएको छ ।

एकता समाजका महासचिव खगेश्वर शर्मा, उपाध्यक्षहरु क्रमश: कपिल खनाल, देव बहादुर लामिछाने, हिरासिंह चन्द, तात्कालिन अखिल भारत नेपाली एकता समाजका संस्थापक उपसभापति रामचन्द्र पौडेल, एकता समाजका पूर्व सभापति तथा हाल नेकपा माओवादी केन्द्रका वैकल्पिक पिविएम गिरधारीलाल न्यौंपाने, हाँक साप्ताहिकका कार्यकारी सम्पादक नारायण शर्मा लगायत अन्य विभिन्न गन्यमान्य व्यक्तित्वहरुको उपस्थिति रहने वैवाहिक पारिवारिक श्रोतले जानएको छ ।

वधुकी बुवा प्रेम पौडेलले भन्नु भयो– “मैले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई फोन तथा कार्डमार्फत निमन्त्रणा गरेको छु । यहाँ स्थानीय रुपमा नगर, एरिया, टोल समितिसम्मका साथीहरुलाई निम्तो पठाएको छु । आशा छ, मेरो निम्तामा सम्पूर्ण साथीहरुको उपस्थिति रहने छ ।” विवाह समारोहमा समाजको मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत नगर, एरिया एवं टोलसम्मका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने वहाँले बताउनु भयो ।

विद्यमान समाजमा रहेको वुर्जुवा संस्कारलाई चुनौती दिंदै प्रगतिशिल विवाह सम्पन्न गर्न लागि रहेको यो वैवाहिक कार्यक्रम एक प्रकारले आमसभा कै रुपमा सम्पन्न हुने आंकलन गरिएको छ ।

समाजमा बढ्दै गइरहेको दाइजो प्रथा, गोडा धोएर जल खाने तथा कन्या दान गर्ने पुरानो कुशंस्कारको विरुद्ध आफुहरुले आफ्ना छोरा–छोरीको विवाह प्रगतिशिल रुपमा गर्न लागेको दुर्गाबहादुर केसीले बताउनु भयो ।

“यदि कुनै कार्यकर्ता तथा शुभचिन्तकहरुलाई निमन्त्रणा पुगेको छैन भने पनि यसै समाचारलाई निमन्त्रणा मानेर मेरी छोरी मञ्जु पौडेलको विवाहमा उपस्थित हुनका लागि हार्दिक अनुरोध गर्दछु” बधुकी आमा तथा एकता समाजकी केन्द्रीय सल्लाहकार फूलविना पौडेलले भन्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here