सर्वहाराकरण निरन्तर चल्ने प्रक्रिया

0
282

विश्व दृष्टिकोणको सन्दर्भमा अन्तमा एउटा कुरा स्पष्ट हुनु आवश्यक छ । त्यो के हो भने पार्टी सदस्यहरूको दृष्टिकोण, चिन्तन वा चरित्रको सर्वहाराकरण तथा माक्र्सवादी–लेनिनवादी चेतनाको विकासको कार्य एउटा लामो, दीर्घकालीन, जटिल प्रक्रिया हो । साथै त्यो कुरालाई हामीले पूर्ण वा निरपेक्ष अर्थमा नबुझेर सापेक्ष अर्थमा बुझ्नुपर्दछ । सर्वहाराकरण एउटा निरन्तर विकास भइरहने र गर्नुपर्ने कुरा हो र प्रत्येक सदस्यमा, त्यसका साथै पूरै पार्टीमा बढीभन्दा बढी सर्वहाराकरणका लागि प्रयत्न गर्नुपर्दछ र जसमा त्यो कुरा मात्रामा र उच्च स्तरमा हुनेछ, उसमा त्यत्ति नै बढी पार्टी र क्रान्तिका कामहरूप्रति स्पष्टता, दृढता, स्थायित्व र निरन्तरता आउनेछ, पार्टी र क्रान्ति प्रतिको आस्था दृढ हुँदै जानेछ, दुश्मन र अवसरवादीहरूबाट हुने खतरासित जुध्ने र प्रतिरोध गर्ने क्षमताको विकास हुँदै जानेछ, उसमा अनुशासन र जिम्मेवारीको भावना बढ्दै जानेछ : जस्तै त्याग र बलिदानको स्पिरिटको विकास हुँदै जानेछ । त्यसरी कसैको दृष्टिकोण वा चिन्तन वा चरित्रमा कति सर्वहाराकरण भएको छ ? त्यो कुरा अन्तमा व्यवहारमा नै स्पष्ट हुँदै जानेछ ।

सर्वहारावर्गको पार्टीको जिम्मेवारी निम्न–पूँजीवादी पार्टीले पूरा गर्न सक्दैन :

कामरेड्स, आज वास्तवमा उपरोक्त समस्या हाम्रा अगाडि गम्भीर भएर उभिएको छ । त्यो वास्तविकतालाई हामीले स्वीकार गर्नैपर्छ । सर्वहारावर्गको पार्टीले खालि सर्वहारा दृष्टिकोणले लैस भएर नै आफ्नो क्रान्तिकारी जिम्मेवारी पूरा गर्न र भूमिका खेल्न सक्दछ । त्यस प्रकारको एउटा सर्वहारावर्गको जिम्मेवारी पूरा गर्नु कुनै निम्न–पूँजीवादी र गैर–क्रान्तिकारी पार्टीका लागि सम्भव छैन । सम्पूर्ण विश्वको र स्वयं हाम्रो देशको कम्युनिस्ट आन्दोलनको इतिहासले यो राम्ररी प्रमाणित गरेको छ – एउटा कम्युनिस्ट पार्टीले आफ्नो चरित्र, चिन्तन वा दृष्टिकोणलाई त्यसरीमाथि उठाउन सक्दैन वा पार्टी सदस्यहरूको विश्व दृष्टिकोणलाई सर्वहारा विश्व दृष्टिकोण अनुरूप बदल्न सक्दैन भने यी दुईवटा बाहेक अरू परिणामहरू हुन सक्दैनन् या त त्यो पार्टीको आधार, सङ्गठन झन्पछि झन् कम हुँदै जानेछ र, त्यसरी त्यसको अस्तित्व नै समाप्त हुने खतरा हुनेछ या सैद्धान्तिक वा राजनैतिक रूपमा त्यसको वामपन्थी क्रान्तिकारी स्वरूप समाप्त हुँदै जानेछ । त्यो अवस्थामा त्यस्तो पार्टीको आधार वा सङ्गठन अपेक्षाकृत लामो समयसम्म रहन सक्नेछ तर त्यसको माक्र्सवादी–लेनिनवादी र वामपन्थी चरित्र समाप्त हुनेछ । आज हाम्रो पार्टीले त्यो संसारमा आफ्नो क्रान्तिकारी अस्तित्व बचाउनका लागि सङ्घर्ष गरिरहेको छ, जुन संसारमा क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा कम्युनिस्ट राजनैतिक चरित्रलाई तिलाञ्जलि दिएर आफ्नो अस्तित्वलाई बचाउने विश्वव्यापी ज्वारभाटा आइरहेको छ । त्यसप्रकारको प्रतिगामी ज्वारभाटाका अगाडि पहिलेका क्रान्तिकारी पार्टीहरू नष्ट हुँदै गइरहेका छन् । उनीहरूको क्रान्तिकारी चरित्र नष्ट हुँदै गइरहेको छ । तर क्रान्तिकारी पार्टीले त्यस प्रकारको ज्वारभाटाका विरुद्ध लडेर आफ्नो क्रान्तिकारी चरित्रलाई बचाउने प्रयत्न गर्दछ र हाम्रो पार्टीले त्यही गर्दै आइरहेको छ । यो महाधिवेशनले पनि त्यही निर्णय गर्नुपर्दछ । तर त्यसप्रकारको सङ्कल्प जतिसुकै उच्च, पवित्र र क्रान्तिकारी किन नहोस्, भावनाले मात्र हामीले आफ्नो क्रान्तिकारी चरित्र र आन्दोलनलाई बचाउन सक्दैन । त्यसका लागि निर्णयात्मक शर्त हो हामीले पार्टीभित्र विद्यमान अवसरवादका स्रोतका विरुद्ध सङ्घर्ष गर्नुपर्दछ र गर्न सक्नुपर्दछ । त्यसको अर्थ हुन्छ निम्न पूँजीवादी चिन्तन प्रणालीका विरुद्ध सङ्घर्ष, जो एउटा निरन्तर चल्ने र चलाइरहनुपर्ने प्रक्रिया हो । त्यसबारे यो महाधिवेशनमा हामीले कुन प्रकारको निर्णय गर्दछौँ ? त्यो कुराले पार्टीको भविष्यलाई निर्धारित गर्नेछ । ने.क.पा (मसाल) एउटा सच्चा क्रान्तिकारी सर्वहारावर्गको पार्टीका रूपमा देशको एउटा निर्णयात्मक राजनैतिक शक्ति बन्नेछ वा त्यो झन्पछि झन् सानो र सङ्कीर्ण बन्दै गएर सानो गुटमा बद्लिने र विघटनको स्थितिमा पुग्ने वा सङ्गठनात्मक अवस्थामा रहे पनि पूरै नै दक्षिणपन्थी, अवसरवादी र गद्दार बन्नेछ ? त्यो कुराको फैसला गर्नेछ, हामीले के कामना र आशा गर्दछौँ ? त्यो कुराले होइन, तर कुन प्रकारको व्यवहार गर्दछौं ? त्यो कुराले हाम्रो भविष्यको रूप र परिणामलाई निर्धारित गर्छ । अन्तमा निर्णयात्मक कुरा लेनिनले भने झै नियत होइन, परिणाम हुन्छ । त्यो कुरा हाम्रो पार्टीको सन्दर्भमा पनि सत्य हो ।

आत्मालोचनाको अर्थ निराशा होइन, तर कमजोरीका विरुद्धको सङ्घर्षको सङ्कल्प :

माथि हामीले पार्टी र त्यसका अगाडि उपस्थित खतरा यहाँसम्म कि पार्टीको विसर्जन र विघटनकोसम्म जुन चर्चा ग¥र्यौ, त्यसले पार्टी र क्रान्तिको भविष्यप्रति हाम्रो निराशालाई होइन, तर पार्टीका अगाडि उपस्थित खतराका विरुद्ध जुझ्ने, त्यसमाथि विजय प्राप्त गर्ने र त्यो प्रतिकूल स्थितिलाई अनुकूल स्थितिमा बदल्ने दृढ सङ्कल्पलाई नै बताउँछ । त्यसको विपरीत हाम्रा अगाडि आज उपस्थित खतरालाई ग्रहण गर्न अस्वीकार, अर्थात् पार्टी जुन प्रकारको खतराको मुखमा आएर उभिएको छ, त्यसलाई अस्वीकार गर्नु र सन्तोष गरेर बस्नु, त्यसका विरुद्ध जुध्नुपर्ने आवश्यकतालाई अस्वीकार गर्नु नै हो र हुन्छ । त्यसप्रकारको सोचाइले हामीमा पार्टीका अगाडि गम्भीर रूपमा उपस्थित खतरा विरुद्ध जुझ्ने संकल्प र आँटको कमीलाई बताउँछ, जो स्पष्टतः पलायनवाद हो । कुरा त्योभन्दा गम्भीर छ । यदि हामीले पार्टीको वर्तमान अवस्थालाई सामान्य वा सन्तोषजनक ठान्दछौं भने त्यसको अर्थ हामीमा पार्टीको सङ्गठन वा आन्दोलनलाई अरू उच्च र क्रान्तिकारी रूपमा उठाउने तीब्र आकांक्षाको अभाव नै बुझिन्छ । यसप्रकारका गलत धारणाहरूलाई साफ गरेर नै, अर्थात् आज पार्टीका अगाडि उपस्थित खतरालाई ठीक अर्थमा बुझेर त्यसका विरुद्ध सङ्घर्षको ठोस समझदारी र कार्यक्रमको निर्माण गरेर नै हामीले पार्टीलाई सशक्त र क्रान्तिकारी धरातलमा स्थापित गर्न सक्नेछौं ।

कम्युनिस्ट पार्टीको विकासमा आत्मगत र सचेत पक्षको भूमिका :

एउटा कुराबारे हामी एकदम स्पष्ट हुनुपर्दछ । त्यो के हो भने संसार र नेपालको पनि क्रान्तिकारी आन्दोलनलाई दुनियाँको कुनै शक्तिले सधैँका लागि दबाउन र नष्ट गर्न सक्दैन । कतिपय विघ्न–बाधा, असफलताहरू, गत्यावरोध वा असफलताहरुका बावजुद कम्युनिस्ट आन्दोलन अगाडि बढिरहन्छ । तर त्यही कुरा पार्टी सङ्गठनबारे सत्य होइन । दुनियाँ र स्वयं नेपालको कम्युनिस्ट आन्दोलनमा पनि कैयौँ वामपन्थी सङ्गठनहरू एक वा अर्को प्रकारले यसरी अस्तित्व समाप्त भएका थुप्रै उदारहणहरू छन् र हाम्रो पार्टीमा पनि त्यसप्रकारका अवगसरवादी पार्टीहरूलाई नै सच्चा माक्र्सवादी–लेनिनवादी पार्टी सम्झेर उनीहरू सरहको स्थितिलाई कम्युनिस्ट पार्टीको सच्चा रूप ठान्ने र त्यसरी हाम्रो पार्टीलाई पनि त्यही रूपमा लैजाने सोचाइहरू पनि प्रायशः देखा परिरहन्छन् । हामी यसबारे एकदम स्पष्ट हुनुपर्ने आवश्यकता छ कि आखिर कुनै कम्युनिस्ट पार्टीले कहाँसम्म क्रान्तिकारी भूमिका खेल्न र आफ्नो निरन्तरता कायम राख्न सक्दछ त्यो स्वतः स्वीकृत कुरा होइन, अनि आत्मगत सचेत प्रयत्नमाथि निर्भर हुने कुरा हो । यदि त्यसो नभएको भए रूस वा कुनै देशमा एकपल्ट कम्युनिस्ट पार्टीको स्थापना भएपछि सधैँका लागि स्वतः कम्युनिस्ट पार्टी बनिरहन्थे । यदि यी सबै कुरामाथि हामीले राम्रोसित ध्यान दिएर आज कमजोरीहरूलाई बदल्न ठोस कदम उठाउन नसकेर आजको गैर–क्रान्तिकारी अवस्थालाई बदल्न नसके दुनियाँ र नेपालमा पनि पतनको बाटो समातेका कैयौँ माक्र्सवादी–लेनिनवादी सङ्गठनहरूजस्तै हाम्रो पार्टीको पनि या त क्रान्तिकारी चरित्र समाप्त हुनेछ या त्यो एउटा सानो गुटमा बदलिनेछ र अन्तमा त्यसको विघटन र विसर्जन हुनेछ । तर हामीले निश्चय गर्नुपर्दछ कि हामीले त्यस्तो हुन दिनेछैनौँ र ने.क.पा. (मसाल)को क्रान्तिकारी चरित्र, सङ्गठन र आन्दोलनलाई अरू उच्च तथा क्रान्तिकारी रूपमा माथि उठाउँदै जाने छौँ । तर त्यस्तो निश्चय शब्दमा र दस्तावेजमा मात्र गरेर पुग्दैन, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सक्नुपर्दछ । त्यसले नै हाम्रो भविष्यको स्वरूपलाई निर्धारित गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here