सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ- पौडेल

0
269

(अखिल नेपाल महिला संङकाे सातौं राष्ट्रिय सम्मेलनकाे सेराेफेराेमा रहेर संघकी  महासचिव सरस्वती पाैडेलसंग ई-मिसनखवरले गरेकाे कुराकानीकाे सारसंक्षेपः)

अहिले के गर्दै हुनुहुन्छ ?
अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय राष्ट्रिय सम्मेलन आगामी फागुन २ र ३ गते बुटवलमा सम्पन्न हुँदैछ ।
सातौं राष्ट्रिय सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न सम्मेलन स्थलमा खटेका छौं ।
सम्मेलन स्थल बुटवललाई नै किन रोज्नु भयो ?
सम्मेलनमा आउन सबैलाई सजिलो हुने गरी पायक पर्ने ठाउँ, जनआधार, कार्यकर्ता परिचालन गर्न सजिलो पर्ने ठाउँ, सबै कुरालाई विचार गरेर हामीले बुटवललाई नै सातौ राष्ट्रिय सम्मेलनको ठाउँ ठेगान गरेका हो ।
सम्मेलनको  तयारी कस्ताे छ ?
सम्मेलनकाे तयारी पूरा भएकाे छ । देशैभरी विभिन्न जिल्लाबाट सम्मेलनकाे उत्साहजनक तयारी भएकाे खवर प्राप्त भएको छ । हामीलाई विश्वास छ सम्मेलन भव्य एवं सानदाररूपमा सफल हुनेछ । सम्मेलन स्थलमा पनि लगभग सम्पूर्ण तयारी पूरा भएकाे छ ।
सम्मेलनको मूल नारा के हो ?
हामीले सातौं राष्ट्रिय सम्मेलनका लागि मूल नारा तय गरेका छौं । “महिलाको समान अधिकार र राष्ट्रियताको रक्षाको लागि हाम्रो आन्दोलन ! महिला हिंसा विरुद्ध सातौं राष्ट्रिय सम्मेलन !!”
यो मूल नारा नि तय गर्नु भयो? थप प्रष्ट गरिदिनु न ?
हामीले यस सम्मेलनमा महिलाका लागि समान अधिकार, राष्ट्रियता र महिला हिंसाको मुद्दालाई विशेष रुपमा महत्व दिएर उठाएका छौं । राष्ट्रियता झनपछि झन खतरामा पर्दै गइरहेको छ । सरकारको विदेशी अगाडि घुँडा टेकुवा नीति र साम्राज्यवादी देशहरुको नेपालमाथि आफ्नो स्वार्थ थोपर्ने उत्पीडनकारी नीति झन झन बढ्दै गएकाले देशको राष्ट्रियता संकटमा पर्दै गएको छ । राष्ट्रघाती नागरिकता विधेयक संसदबाट पारित गर्ने कोशिस भइरहेको छ । लिम्पियाधुरा, कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा राखेर प्रकाशन गरेको छ । राष्ट्रघाती एमसीसी सम्झौताको कार्यान्वयन गर्ने कोशिस गरिरहेको छ । संविधानले महिलाहरुलाई समान अधिकार दिएर पनि राजनीति, प्रशासनिक, सम्पत्तिको हक सबै क्षेत्रमा महिलाहरुले समान अधिकार पाउन सकेका छैनन् । देशमा गणतन्त्र आइसक्यो तर महिला हिंसाका घटनाहरु रोकिएका छैनन् । राष्ट्रियता र महिलाको वर्तमान अवस्थालाई हेरेर हामीले त्यो मूल नारा तय गरेका हौं ।
तपाईहरुले जति सुकै विरोध गरे पनि कालापनीबाट भारतीय सेना हटेन । राष्ट्रघाती नागरिकता विधेयक र एमसीसी सम्झौतालाई यसै संसद अधिवेशनबाट पारित गर्ने तयारी हुँदैछ नि ?
– कालापानीबाट भारतीय सेना नहटी सुखै छैन । १८१६ को सुगौली सन्धि, विभिन्न पत्राचार, ऐतिहासिक नक्साहरु जस्ता अकाट्य प्रमाणपत्रका आधारमा एक दिन भारतीय सेना त्यहाँबाट हट्नै पर्ने छ । दुःखको कुरा सरकारले दृढतापूर्वक भारतसित कुरा गर्न सकेको छैन । विदेशी अगाडि सरकारको घुँडा टेकुवा नीति नेपालको राष्ट्रियताको संरक्षणका लागि व्यवधान भइरहेको छ । राष्ट्रघाती नागरिकता विधेयक र एमसीसी सम्झौता संसदबाट पारित गरिनु हुन्न । यदि पारित भयो भने देशभक्त जनताले त्यसको प्रतिवादन गर्ने छन् ।
सम्मेलनले आगामी कार्यक्रम पनि निश्चित गर्छ कि ?
हजुर, छ । आगामी चैत्र महिनामा महिला हिंसाका विरुद्ध कार्यक्रम संचालन गरिनेछ ।
तर महिला हिंसा विरुद्ध जति कार्यक्रम गरे पनि बढेको बढै छ नि ?
महिला हिंसा बढिरहेको छ । निर्मला हत्या प्रकरण जस्ता कैयौं महिला हत्या, हिंसाका घटनाहरु समाजमा बढिरहेका छन् । अपराधीहरुलाई सरकारले संरक्षण गरेको छ । महिला हिंसा र महिला अधिकार सम्बन्धी कार्यक्रमले समाजमा चेतना जगाउछ र त्यसमा अपराधिक घटनाहरुलाई निरुत्साहित गर्न टेवा पु¥याउँछ । घटना रोकिएको छैन भनेर कार्यक्रम गर्न छाडनु हुँदैन ।
नेपाली महिलाहरुको वर्तमान अवस्थाको मूल्यांकन कसरी गर्नुहुन्छ ?
नयाँ संविधानबाट महिलालार्ई केही अधिकार प्राप्त भएको छ । तर त्यसलाई उचित ढंगले लागु गर्ने काम भएको छैन । हुने खाने धनाढयहरुले केही हदसम्म संविधान र कानुनले दिएका अधिकारको लाभ लिएका छन् । गरिब, दलित, पिछडिएका जाति, क्षेत्रका महिलाहरु प्राप्त अधिकारबारे पहिलो कुरा त अनभिज्ञ छन् । दोस्रो कुरा, जानकारी भए पनि अधिकार प्रयोगको क्षमता उनीहरुले राख्दैनन् । महिला अधिकारका कुरा, गरिब महिलाहरुलाई कागलाई बेल पाक्यो हर्ष न विस्मात् जस्तो भएको छ । वर्गीय मुक्तिबाट नै शोषित पीडित महिलाहरुको वास्तविक मुक्ति हुनेछ ।
सुदूरपश्चिममा सरकारले छाउगोठ भत्काउँदा महिलाहरु नै विरोधमा उत्रिएको देखियो नि ?
त्यो घटनाले कानुनले मात्र कुसंस्कार बदल्न सकिंदैन । कुसंस्कारलाई बदल्ने स्थायी उपाय भनेको मानिसको चेतना हो भन्ने पाठ सिकाएको छ । त्यसैले काुननी र चेतनाको विकास दुवै कुराको सँगसँगै अगाडि बढाएर छाउपडी प्रथा जस्ता कुसंस्कालाई अन्त्य गर्न सकिन्छ ।
पुरुषवाद र नारीवादमा के फरक छ ?
पुरुषवादले नारीलाई भन्दा पुरुषलाई श्रेष्ठ ठान्छ र नारीलाई नारी समस्याका सम्पूर्ण स्रोत पुरुषको शोषण, दमनलाई मात्र देख्छ । नारी शोषणका मुख्य स्रोत वर्गीय उत्पीडन हो भन्ने कुरा नारीवादले मान्दैन । यी दुवै गलत विचार हुन् ।
अबको महिला आन्दोलनको दिशा के हो ?
सामन्ती शोषण र पुँजीवादी शोषणका विरुद्धमा महिलाहरुलाई संगठित गर्दै महिला पुरुष समानताको समाज निर्माण गर्न संघर्ष गर्नु अहिलेको आन्दोलनको दिशा हुनु पर्दछ । साम्राज्यवादीहरुले महिलाहरुलाई उपभोग्य वस्तु बनाएका छन् । संसारभरिका शोषित पीडित महिलाको संघर्षमा एक अर्कोलाइ सहयोग गर्ने तथा साझा मुद्दालाई एकीकृतरुपमा आउने गरी कार्यक्रमहरु बनाउनु पर्दछ । देशभित्र पनि महिला अधिकार, महिला हिंसा, सम्पत्तिमा समान अधिकार लगायतका मुद्दाहरुमा संयुक्त आन्दोलन उठाउने प्रयास गर्नु पर्दछ । एकल संघर्षमा पनि हाम्रो लगातार प्रयत्न हुनुपर्दछ ।
वर्तमान महिला आन्दोलनका विषयहरू के के हुन् ?
महिला र पुरुषमा सम्पत्ति माथि समान अधिकार कार्यान्वयन गर्नु, महिलाहरुको लागि समानुपातिक र समावेशी अधिकार कार्यान्वयन गर्नु, समान कामको समान ज्याला लागु गर्नु, शोषित–पीडित महिलाहरूको समाजिक स्तर उठाउन जोड दिनु, महिलाहरूको अधिकार सुनिश्चित गर्नु, चेलीबेटी बेचबिखन रोक्नु, बेचिएका चेलीहरुको उद्दार गर्नु, बाल विवाह बोक्सी–प्रथा, दाइजो प्रथा, छाउपडी प्रथा जस्ता कुप्रथाहरुको अन्त्य गर्नु, महिला हिंसाको अन्त्य गर्नु, महिलाहरु माथिका सम्पूर्ण विभेदहरूको अन्त्य गर्नु लगायतका मुद्दाहरू वर्तमान महिला आन्दोलनका मुद्दाहरू हुन् । यस बाहेक महिलाहरूले राष्ट्रियता र मजदुर किसानका अधिकारको पक्षमा पनि संघर्ष गर्नु पर्ने आवश्यकता छ ।
संयुक्त महिला आन्दोलनको अवस्था के छ ? 
साझा मुद्दाहरूमा संयुक्त महिला आन्दोलन हुने गरेका छन् । विशेषता महिला हिंसाका घटनाहरुको सम्बन्धमा बेलाबखतमा संयुक्त महिला आन्दोलन हुने गरेका छन् । व्यवस्थितमा संयुक्त महिला आन्दोलन भए पनि बढ्न सकेको छैन ।
सातौं राष्ट्रिय सम्मेलनको अन्तिम तयारी कस्तो छ ?
विधान संशोधन, सांगठनिक प्रतिवेदन लगायतका दस्ताबेजहरूको तयारी, प्रतिनिधि, पर्यवक्षहरूको छनौट, अतिथिहरूको व्यवस्थापन, उद्घाटन पूर्व जुलुसको तयारी, जस्ता सम्मेलनको आवश्यक तयारी पूरा भएको छ ।
कति जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षकहरू सम्मेलनमा सहभागी हुँदै हुनुहुन्छ ?
सात वटै प्रदेशबाट धेरै भन्दा धेरै जिल्लाका प्रतिनिधिहरू उपस्थित गराउन हामीले प्रयत्न गरेका छौं ।
अन्त्यमा केही भन्नु छ कि ? 
विचार सम्प्रेसनका लागि ई-मिसन खबरलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here