समाजमा शिक्षा र श्रमको महत्त्व

0
184

-गौरीलाल कार्की

कुनै पनि देशको सर्वाङ्ग विकासको लागि त्यहाँको समाजमा शिक्षा र श्रमको अन्तरसम्बन्धले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । विकासको लागि शिक्षा मेरुदण्ड हो भने दक्ष जनशक्ति र श्रम महत्वपुर्ण आधार हो । दक्ष जनशक्ति उचित शिक्षाले नै उत्पादन गर्दछ र दक्ष जनशक्तिको सीप र श्रमले नै विकासको आधार निर्माण गर्दछ । मार्क्सवादी सिद्धान्त अनुसार प्रकृतिमा उपलब्ध भएका विभिन्न पदार्थलाई मानव जगतको उपयोगको लागि विभिन्न आवश्यक बस्तुहरु उत्पादन गर्न मानव श्रमको अनिवार्य खपत हुनैपर्छ । मानव श्रम विना कुनै पनि बस्तु वा समग्रमा संस्कृतिको निर्माण असम्भव हुन्छ । कुनैपनी बस्तुको उपयोग मुल्य तब निर्धारण हुन्छ जब त्यस पदार्थमा मानव श्रमको मिश्रण हुन्छ । त्यसकारण श्रमको उपयुक्त प्रयोग सीप र शिक्षाले नै पुरा गर्दछ । हामीले श्रम भन्नाले मानसिक र शारीरिक दुबै प्रकारका श्रममा भाग लिने कुरामा उत्तिकै महत्व दिनु जरुरी छ । पढेलेखेका र सीप भएकाले शारीरिक श्रम गर्नुहुन्न भन्ने गलत संस्कारलाई हटाउने प्रयत्न गर्नुपर्छ । यस कुरामा सफलता हासिल गर्न, आफ्नो देश र समाज अनुसार दक्ष जनशक्तिको उत्पादन गर्न कुन प्रकारको शिक्षा प्रणाली अपनाउनु पर्छ र कस्तो शिक्षा नीति अवलम्बन गरिनुपर्छ भन्ने कुराले नै यसमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।

दार्शनिक कन्फ्युसियसले भनेका छन् “मानिसहरु प्राकृतिक रुपमा समान हुन्छन्, तिनीहरुको एकनास रुपमा सम्मान गर्नु पर्ने हुन्छ । समान अवसर प्रदान गर्नु पर्दछ । सबैमा राम्रो र नराम्रो बारे अध्ययन गर्ने क्षमता हुने हुनाले शिक्षामा वर्गीय विविधता हुनु हुदैंन ।” यस विचारबाट के कुरा प्रष्ट हुन्छ भने जबसम्म समाजमा शिक्षाका लागि समान अवसरहरु सबैका लागि प्राप्त हुदैंनन् तबसम्म कुनै पनि समाजको विकास र विस्तार हुदैंन । अर्का जर्मनी दार्शनिक हुमवोल्टरले भनेका छन् “शिक्षाले व्यक्तिलाई समाजमा समाहित गराउन सक्नु पर्दछ र बृहत समाजमा उसको सम्बन्ध स्थापित गराउनु पर्दछ ।” यस विचारबाट के कुरा प्रष्ट हुन्छ भने चाहे त्यो विद्यालय तहको शिक्षा होस् वा उच्च शिक्षा सबैको मुख्य लक्ष्य मानिसलाई समाजमा योगदान गर्नका लागि सक्षम बनाउनु पर्दछ भन्ने बुझ्नु पर्दछ ।

शिक्षा आर्जन गरेको व्यक्तिले शिक्षाबाट प्राप्त ज्ञानलाई आफैंले आफ्नो व्यक्तित्व र सकारात्मक सोच विकास गर्न प्रयोग गर्न सक्नुपर्छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने आज हाम्रो शिक्षा नीति र नेपाली समाज माथि उल्लेखित दुबै दार्शनिकका विचार भित्र अट्न सकेको छैन । समाज, श्रम र शिक्षाको सम्बन्ध त्रिकोणात्मक हुनु पर्नेमा आज त्यसो हुन सकेको छैन । शिक्षा र श्रम अर्थात शिक्षित र परिश्रमी मान्छे एउटै हुन सक्दैंन भन्ने मान्यता हाम्रो समाजमा स्थापित भएको छ । माथि उल्लेखित विचारहरुलाई राम्ररी केलाउने हो भने शिक्षा र यसका सिद्धान्तहरु कुन उद्देश्यबाट प्रेरित हुनु पर्दछ भन्ने कुरा सहजै बुझ्नसकिन्छ । देशमा रहेका विद्यालय र विश्वविद्यालयहरु समाजलाई रुपान्तर गर्दै विकासको बाटोमा अग्रसर गराउन सक्ने माध्यमका रुपमा लिइन्छ, तर विद्यालय तहदेखि बजारमुखी शिक्षा नीति लिन खोज्दा समाजका अन्य क्षेत्रमा यसको महत्व र प्रभावलाई पुर्‍याउन सकिएको छैन । एउटा विद्यार्थीले आज अध्ययन गरेको शिक्षा, सिद्धान्त र विचारहरु पचासौं वर्षसम्म उसले आफ्नो र समाजको कल्याणका लागि प्रयोग गर्न सक्दछ । त्यसबाट मानिसले जीवनकाल र पर्यन्त समेत समाज विकासका लागि योगदान दिन सक्दछ तर हाम्रो शिक्षा त्यस्तो हुन सकेन । पहिलो कुरा हालको शिक्षा नीति सबैको पहुँचमा छैन सिमित हुनेखानेहरुको पहुँचमा छ, दोस्रो यो शिक्षा नितिले उत्पादन हुने जनशक्ति हाम्रो देशको आवश्यकता अनुरुपको लागि उपयुक्त छैन । तेस्रो केहि उपयुक्त जनशक्ति निर्माण भएपनि त्यो जनशक्ति देशमा बस्दैन विदेश पलायन हुन्छ । यस प्रकारका समस्याले हाम्रो देश जकडिएको छ ।

समाजको माग र आवश्यकता एकातिर छ, शिक्षा नीति अर्कातिर छ । नेपाल कृषि प्रधान देश, हरियो वन, नेपालको धन, हिमाल, पहाड, तराई, खोला नाला, जल र जमिनमा धनी देश हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो । हाम्रो देशको आफ्नै प्रकारको विशिष्ट पहिचान छ तर शिक्षा नीति त्यस अनुसारको छैन । हाम्रो शिक्षाले आदर्श सिकाउँछ, सिक्छौं । दर्शन सिकाउँछ, सिक्छौं । आडम्वर सिकाउँछ, सिकेका छौं र त्यहीँ सिकाउँछौ । जस्तै पढेका मान्छेले खेती गर्नु हुदैंन, गर्दैनौं । गाईवस्तुको गोवर सोहोर्नु हुदैंन । पानी बोक्नु हुदैंन । घाँस दाउराको भारी र मलको भारी बोक्नु हुदैन । हामी बोक्दैनौं । हाम्रो शिक्षाले हामीलाई समाज भन्दा माथि उठ्न सिकाउँछ । माथि उढ्न पंखेटा लगाई दिन्छ । हामी उढ्छौं । अनि उठ्न नसक्ने गरी सदाका लागि पछारिन्छौं । जुन ज्ञान हामीलाई हाम्रो शिक्षाले दिनुपर्ने थियो त्यो दिएन र हामीले लिएनौं । हाम्रो शिक्षाले समाज अनुकुल र भुगोल अनुकुल समाजमा समायोजन हुन सिकाउँदैन । आफू र आफ्नो धरातल नचिन्ने शिक्षाबाट शिक्षित हुन्छौं । यस प्रकारको शिक्षाले हामी शिक्षित कहलिन्छौं । पदक र प्रमाणपत्रले सु सज्जित हुन्छौं तर हामी चिया पकाएर खान जान्दैनौं । गफ चौरासी व्यञ्जनको गफ गर्छौं । स्वाद थाहा पाउँछौं । हामी सुन्दरताको गफ गर्छौ तर फूलबारीमा गुलाव रोप्न जान्दैनौं, सक्दैनौं । घरको छतमा भुत भगाउन गमलामा सिउँडी रोप्छौं । टेबुलमा विदेशबाट आयात गरिएका प्लास्टिकको फूल सजाउँछौं । हाम्रो शिक्षाले यही सिकाउँछ अनि सिकेका छौं । बुबा, आमा र गुरुको आदर गर्नु पर्छ, आदर्श सिकेका छौं र गर्छौं । तर बुबाले समाएको कोदालो र हलोको अनौ समाउनु हुदैंन भन्ने खालका हामी पढा लेखा हौं किनभने समाज र शिक्षाले हामिलाई त्यही सिकाएको छ । कोर्स पुरा गर्‍यो तर सीप छैन, सीप नभएकोले रोजगार पाउन मुस्किल हुन्छ । एकातिर शैक्षिक बेरोजगारी बढेको छ अर्कोतिर दक्ष जनशक्तिको अभाव छ । यस प्रकारको अन्तरविरोध स्पष्ट रूपमा देखा परेको छ ।

एउटा भनाइ छ, “अलिअलि पढ्यो हलो छोड्यो अलिक धेरै पढ्यो थलो छोड्यो ।” हाम्रो अवस्था ठिक यस्तै छ । बा हजुरबाले पनि जानी नजानी पढेका छोराले हलो जोत्नु हुदैन नानी भनेर सिकाउनु भयो । अहिले राम्रोसँग पढ्न सकिनस् भने हलि बन्छस् भनेर सम्झाउनु भयो वा हकार्नु भो तर धेरै पढेलेखेर नयाँ तरिकाले कृषि उत्पादन गर्नुपर्छ, हलो त जोत्नै पर्छ, माटोसँग नखेलेर उत्पादन हुनै सक्तैन भनेर कहिल्यै भन्नु भएन । आमाले समाएको जाँताको हातो छोरीले समाउनु हुदैन भनियो । सदियौं पुरानो छोरीले पढ्नु हुदैंन भन्ने कुसंस्कार र अन्धविश्वास तोडेर आज छोरीले पनि छोरा सरह शिक्षा आर्जन गरेका छौं तर सबैको अवस्था एउटै छ । पढ्ने लेख्ने भनेकै जागीरे हुनलाई मात्रै हो भन्ने बुझाई आम रूपमा रहेको छ । नेपाली शिक्षा र समाजमा यस प्रकारको विरोधाभाषको अवस्था रहेको छ ।

शिक्षाले समाज परिवर्तन गराउन सक्नु पर्ने हो । भूगोल सुहाउँदो जनशक्ति उत्पादन गर्नु पर्ने हो । समाजको आवश्यकता र रोजगारीको आधारमा शिक्षा प्रदान गर्नु पर्ने हो । समाजले मागेको जनशक्ति उत्पादन गर्नु पर्ने हो । तर त्यसो हुन सकिरहेको छैन । हाम्रो शिक्षा नीति र संस्कारले विकसित मुलुकलाई चाहिने अर्धशिक्षित श्रमिक उत्पादन गरेको छ र उत्पादन भयौं । नेपालको परिवेशमा हेर्दा उत्पादित जनशक्ति खपत हुने अर्थात रोजगारी पाउने स्थान भने कै समाज हो । अहिले स्कुल स्तरमा सकभर फेल नगर्ने शिक्षा नीति रहेको छ । देशमा साक्षरताको प्रतिशत बढाउने उद्देश्य रहेको छ तर प्राथमिक तह देखि नै दक्ष जनशक्ति उत्पादनमा ध्यान दिइएको छैन । दस कक्षा सम्म सकभर फेल गर्न नहुने नितिले शिक्षाको प्रारम्भिक जग नै अत्यन्तै कमजोर बन्दै गइरहेको छ ।

हामी वर्ष भरी पढाउँछौं, पढ्छौं । बर्षभरी पढ्ने भनेको ज्ञान हासिल गर्न र दक्ष बन्न नै हो तर त्यसमा ध्यान दिदैनौं, अनि जम्मा ३ घण्टा चोरी चकारी लेखेर ३२ प्रतिसत ल्याएर पास हुन्छौं । प्रमाण पत्रधारी शिक्षित बन्छौं । जागिर खोज्न शहर तिर भौंतारिन्छौं ।हाम्रो शिक्षा परीक्षामूखी छ । परीक्षामा लेख्नको लागि मात्र जाने पुग्छ । जीवन उपयोगीता बारे सिक्ने चलन नै छैन । हामी त्यसै गर्छौ, गराउँछौं । यही मान्यता स्थापित छ । परीक्षाको लागि मात्र आर्जन गरेको शिक्षा परीक्षा सकिएको भोलि पल्ट मन मस्तिष्कबाट बाहिरी सकेको हुन्छ । सवारी साधन चलाउनु पर्‍यो भने छुट्टै सिक्नुपर्ने । कुखुरा पालन वा अन्डा उत्पादन गर्नुपर्‍यो भने कक्षाको कोर्सले काम गर्दैन, छुट्टै तालीम लिनुपर्ने । कुनै निर्माण वा व्यवसायीक काम, बैज्ञानिक कृषि, पर्यटन, होटल, स्वास्थ्य हरेक क्षेत्रको बारे सीप सिक्न पुनः छुट्टै पढ्नुपर्ने अत्यन्तै महंगो शुल्कमा । तर जुन आम सार्बजनिक शिक्षा प्रणाली हो त्यो व्यवहारिक सीप नसिकाउने र तर्क पूर्ण बौद्धिकताको विकास नगर्ने प्रकारको शिक्षा प्रणाली अवलम्बन गरिएको छ । यस किसिमको शिक्षाले शिक्षित वेरोजगारीको सूचाङ्क बृद्धि गर्ने काम मात्र गर्दछ । हो त्यसै गरेको छ हाम्रो शिक्षाले । शिक्षाको काम मान्छेलाई अर्कैले थालमा पस्किएको विविध व्यञ्जन र परिकारयुक्त खाना खान सिकाउने होइन । यस्ता परिकारयुक्त खानाका स्रोतहरुको खोजी गर्ने, तिनलाई प्रशोधन गर्ने र खानाका रुपमा तयार गर्ने कला सिकाउनु हो । हामीसँग प्रशस्त प्राकृति सम्पदाहरु छन् । तर, तिनको प्रयोग गर्न सकिरहेका छैनौं । तल नदी बगी रहेको छ । ठूल्ठुला ताल तलैयामा पानी जमी रहेको छ । तर, नजिकैका खेतबारीहरु उजाड छन । मरुभूमी तुल्यछन् । सिंचाईका अभावले रातोदिन किसानहरु अनुत्पादनको सिकार भइरहेका छन् । सधैं अनिकाल वेहोर्न वाध्य छन् । अब भन्नुहोस् हाम्रो शिक्षाले देश कसरी बन्छ ।

हाम्रो तथाकथित शिक्षित जनशक्ति भने नदीखोला, ताल तलैयामा रहेको जलशक्तिको प्रयोग उजाड खेत बारीलाई हराभरा, उर्बर र सिञ्चित बनाउने कार्यमा पूर्णतः उदासिन छ । बेखबर छ । उपायहीन छ । यो त एउटा सानो उदाहरण मात्र हो । यस्ता सयौं उदाहरणहरु छन् । युवा वर्ग अर्थात कार्य सामर्थ्य राख्ने, श्रम गर्न सक्ने तप्का आज भौंतारिदैं छ । चाहे शिक्षित वेरोजगार होस् वा अशिक्षित । हाम्रो राज्य व्यवस्थाका कारण भनौं या परम्परागत रुपमा चल्दै आएको विद्यमान शिक्षा नीतिका कारण स्नातक र स्नातकोत्तर उपाधि प्राप्त गरेका प्रमाण पत्रधारी शिक्षित युवाहरु मासिक १६ / १७ सय जना विदेश जाने क्रम बढिरहेको छ । यसको मुल कारण भने कै शिक्षा समाज सुहाउँदो नभएर हो । श्रम, शिक्षा र समाजलाई जोड्न नसकेर हो । व्यवसायीक शिक्षाको अभाव । प्राविधिक शिक्षा जनताको पहुँच भन्दा महँगो हुनु । देश भित्र रोजगारी सिर्जनाको दिशामा राज्यले केही निकास दिन नसक्नु । आर्थिक अभाव र जीवन शैलीमा आएको परिर्वतन, पाश्चात्य शैलीको प्रभाव, दैनिक जीवनमा झेल्नु पर्ने कष्ट, महँगो उपचार, जस्ता विषय जनताको क्रयशक्तिको पहुँच भन्दा बाहिर रहेको छ । यो आज युवा जनशक्ति विदेश पलायन हुनुको मुख्य कारण भएको छ ।

हरेक आमा बाबुको आकाङ्क्षा शिक्षित छोराछोरी भएपछि सामाजिक, आर्थिक जीवन राम्रो हुने अपेक्षाका साथ शिक्षामा ठूलो लगानी गरेका हुन्छन् । तर, यसको परिणाम निराशा, कुण्ठा र आर्थिक बोझको रुपमा देखा पर्दछ । एउटा शैक्षिक चेतनाले भरिएको अपाङ्ग मस्तिष्क बोकेको मानिस जसले आफ्नो जीवनको भविष्य आफूले १९ / २० वर्ष लगानी गरेको ठाउँमा नभेटेर फेरि शारीरिक श्रम बेच्न विदेश पलायन हुनु पर्ने वाध्यता छ । यो परिस्थिति हेर्दा प्रश्न जन्मन्छ कि नेपालको औपचारिक शिक्षा के का लागि ? गरिब तथा विकासोन्मुख देशको शिक्षा प्रणाली र विकसित मुलुकको शिक्षा प्रणालीमा के भिन्नता हुनु पर्दछ ?, समाजलाई कस्तो जनशक्तिको खाँचो छ ? प्रविधिक जनशक्ति कति उत्पादन गर्ने ? यी विषयहरुको तथ्याङ्क सहितका योजनाहरुको अध्ययन साथ साथै जनशक्ति उत्पादनको अधिकतम वा न्यूनतम लक्ष्य निर्धारण गर्नु पर्ने हुन्छ । समाज, श्रम र शिक्षा अभिन्न विषयवस्तु हुन भन्ने कुरा ज्ञान गर्न शिक्षालाई समाजबाट पुस्तकसम्म, पुस्तकबाट चेतनासम्म, चेतनाबाट व्यवहारसम्म र व्यवहारबाट व्यवसायीक आत्मनिर्भर जीवन यापन गर्न सक्ने समाजसम्म रुपान्तरण गर्नु जरुरी छ । यसरी शिक्षा समाज देखि समाजसम्म लागू गरिनु आजको प्रमुख आवश्यकता हो । यसको मुख्य दोषी राज्य व्यवस्था नै हो । राज्य व्यवस्था भनेको कुनै एउटा सरकार मात्रै होईन । सम्पुर्ण प्रणाली नै दोषी छ । हाम्रो गलत संस्कार र संरचना दोषी छन् । यो सम्पुर्ण आमूल परिवर्तन गर्न जरुरी छ ।

हामी ठुला ठुला सिद्धान्त र समाज परिवर्तनका कुरा गर्दछौं तर व्यबहारमा हामी सबै यति तुच्छ छौं जसले आफ्नो मात्रै हित, आफ्नो मात्रै भलाइ कसरी हुन्छ त्यहीँ गरिरहेका हुन्छौं । हामी मंचमा सिद्धान्त, समानता र स्वतन्त्रताको कुरा गर्छौ मंच बाट ओर्लिनु सँगै व्यबहार ठिक उल्टो अपनाउन पुग्छौं । जस्तै कुनै राजनीतिक दलको आफ्ना नेता कार्यकर्ता र सम्पुर्ण जनतालाई श्रमजीवी बनाउनेतर्फ उसको सिद्धान्त र मन्तव्य हुन्छ तर उसको कार्यकर्ता नै अरुको श्रम शोषण गरिरहेको हुन्छ, दिनभर हल्लिरहेको हुन्छ, उ कुनै श्रममा भाग लिइरहेको हुँदैन । चन्दा र सहयोगमुखी जीवनयापन गरिरहेको हुन्छ । उसले जनतालाई श्रममा भाग लिनुपर्छ भनेर प्रशिक्षण कसरी दिनसक्छ जसले कहिल्यै श्रम गर्दैन र सत्ताको आडमा मस्त भएको हुन्छ । राज्यका सेवा सुविधा कुम्ल्याएको हुन्छ । सोर्स फोर्स र पावरले एकैपटक सिडि चढेर टुप्पोमा पुग्छ अनि त्यसले के परिवर्तन गर्ने हो नि, केही पनि गर्दैन । जसले आफुलाई मान्यो, उसैलाई अगाडि बढाउने होडबाजीले गुटको जन्म दिन्छ । त्यसको परिणाम आज देश हाक्ने प्रमुख राजनैतिक दल भित्र कैयौं गुट उपगुटको अवस्था रहेको छ । यस प्रकारको वर्गीकरणयुक्त र वर्गीय राज्य व्यवस्थाले शिक्षामा मात्रै होइन कुनै कुरामा पनि परिवर्तन गर्न सक्दैन ।

शिक्षा निशुल्क हुनुपर्छ । शिक्षा बैज्ञानिक, व्यवसायीक, उत्पादन मुलक र सिपमुलक हुनुपर्छ । समाज विकास पैसाको प्रतिस्पर्धाले होइन योग्यताको प्रतिस्पर्धाले हुने राज्यव्यवस्थाको स्थापना हुनुपर्छ त्यो समाजवादी व्यवस्थाको कुरा भयो । तर अहिलेको पुँजीवादी व्यवस्था अनुरुपको शिक्षा प्रणाली पनि लागु भएको छैन । हामीले हाम्रो जिवन उपयोगी शिक्षा पाएका छैनौं कसैको गुलामी बन्ने प्रकारको शिक्षा पाएका छौं यो लोकतान्त्रिक पुँजीवादी व्यवस्था अनुरुपको शिक्षा जत्तिकै पनि भएन । यसबारे अहिलेको अवस्थामा जति सकिन्छ परिमार्जन गरेर समाजमा शिक्षा र श्रमलाई जोड्ने प्रकारको शिक्षा प्रणालीको विकास गर्ने प्रयत्न गर्नुपर्छ । श्रम र श्रमजीवीहरुको सम्मान गरिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here