- दुर्गानाथ खरेल
आफैले परिश्रम गरेर आफ्नो पारिश्रमिकबाट उत्पादन गरेबापत् पाउँने ज्यालाबाट आफ्ना आवश्यकता पूरा गर्ने मान्छे मजदुर हो । मजदुरले उत्पादनको काम गर्छ । उद्योगधन्दाको विकास भएपछि औद्योगिक मजदुरको विकास हुन्छ । त्यो भन्दा पहिले कृषक, शिल्पकार, दस्तकार उत्पादक श्रमजीवी हुन्छन् । उनीहरूले पनि पिछडिएकै अवस्थामा भएपनि उत्पादन गर्दछन् । उत्पादनमा लागेका विभिन्न किसिमका श्रमिकहरूको सामुहिक प्रत्यत्नबाट मान्छेका विभिन्न किसिमका आवश्यकताको पुर्ति हुन्छ । अहिलेको अवस्थामा एउटाको प्रयत्नबाट धेरै आवश्यकता पुरा गर्न सकिन्न । मानव समाजको प्रारम्भिक अवस्थामा समेत सामुहिक प्रयत्नबाट मात्र आवश्यकता पुरा हुने गर्दथ्यो । सामुहिक प्रयत्नबाट उत्पादन भएका वस्तुहरूबाट विभिन्न आवश्यकताको पुर्ति हुन्छ । आफ्नो प्रयत्नबाट कति उत्पादन भएको छ र आफूले उपभोग गर्दा कति खर्च भएको छ भन्ने वास्तविक तथ्याङ्कको हिसाबकिताब थाहा पाउँने मजदुर हुनु भनेको गौरवको कुरा हो । यस किसिमको चेतना भएपछि दुईवटा पे्ररणा मिल्दछ: एउटा- श्रम अनिवार्य गर्नुपर्छ भन्ने दोस्रो- अरु श्रमिकहरूसँग पनि सद्भाव राख्ने । त्यसैले श्रम नगरिकन उच्च सुविधा लिनेहरूका विरुद्ध सङ्घर्ष गर्न र श्रम गरेर पनि अभावकोेेेेेे पीडा खप्न परेकाहरूसँग एकता गर्नमा यो चेतनाले बाटो सोझाइदिन्छ ।
श्रम गर्नुको साथै बढी-भन्दा-बढी उत्पादन गर्ने सिपको विकास गर्ने, औजार र उत्पादनको वस्तुमा सुधार गर्ने मजदुरको प्रारम्भिक काम हो भने मजदुरले उत्पादन गरेका वस्तु वितरणको जिम्मा लिएकाहरूले श्रमको आधारमा सही तरिकाले अथवा गलत तरिकाले वितरण गरेका छन् ? यो थाहा पाउँनु दोस्रो पक्ष हो । वितरकले गलत तरिकाले वितरण गरेको जानकारी भएपछि त्यो समस्याको समाधान गर्न आफ्नो भूमिकालाई जिम्मेवार तरिकाले निर्वाह गर्नु महत्वपूर्ण काम हो । थाहा नपाउँनु कमजोरी हो र थाहा पाएर पनि त्यस दिशातर्फ आफूले जिम्मेवारीसहित भूमिका निर्वाह नगर्नु त्योभन्दा ठूलो गल्ती हो । त्यसैले थाहा पाउँन स्कूल, कलेज, सिद्धान्त, दर्शन, सङ्गठन, राज्यसत्ताका साथै विभिन्न क्षेत्रमा गरिएका वैज्ञानिक प्रयोगको अध्ययन र तिनीहरूलाई व्यवहारमा प्रयोग आदि विभिन्न उपायको साधना गर्नुपर्दछ । त्यतिमात्र होइन, आफ्नौ दैनिक व्यावहारिक जीवनसँग सम्बन्धित कामको सिलसिलामा भएका कमी-कमजोरीलाई सुधार्ने सिलसिलामा समेत हामीले धेरै सिक्न सक्छौँ र योग्यताको विकास गर्न सक्छौँ ।
आफ्नो योग्यताको मूल्याङ्कन अरुले पनि गर्दछन् तर आफूले नै सही मूल्याङ्कन गर्नु मुख्य पक्ष हो । आफ्नो अध्ययन र कामको सिलसिलामा कति प्रगति भयो र मेरा प्रतियोगी को हुन् भन्नुका साथै अब कोबाट सिक्ने र कसलाई सिकाउने हो ? मेरो परिश्रमले कसलाई फाइदा पुगेको छ ? सहयोग भएको छ र फाइदा पुर्याउँनुपर्ने कसलाई थियो ? आदि प्रश्नको जवाफ आफैले दिन सक्नुपर्दछ । यसरी प्रश्नको जवाफ तैयार गर्ने सिलसिलामा मेरो श्रमबाट भएको उत्पादन र मेरा आवश्यकता पूरा गर्न भएको खर्चमा सन्तुलन छ अथवा बढी-घटी छ ? थाहा पाएर आफ्नो वर्गविश्लेषण आफै गर्न सक्नुपर्दछ । व्यक्तिगत विश्लेषण गरेर मित्र वर्गलाई सहयोग र शत्रु वर्गलाई अवरोध खडा गर्न लागेपछि मात्रै हामी सचेत मजदुर बन्न सक्छौँ र वर्गीय सङ्घर्षमा सामेल भै राजनैतिक कार्यकर्ताको हैसियत राख्न सक्छौँ ।
राजनीति मानव समाजमा गरिने काम हो । मानिस सबैभन्दा विकसित र उच्च जीव भएको हुनाले राजनीति अन्य सबै पेशाभन्दा उच्च पेशा हो । मानव समाजका विभिन्न क्षेत्रमा काम गर्ने मान्छेहरू- मजदुरमाथि नै भर पर्नुपर्दछ । सबै क्षेत्रका मान्छेका आवश्यकता मजदुरहरूको श्रमबाट उत्पादित भएका पदार्थबाट पूरा हुने हुनाले मजदुरी मुख्य पेशा र मजदुर मुख्य व्यक्ति हुन् । माक्र्सले भन्नुभएको छ- ”सबै मान्छेलाई आफूले गरेको कामको पारिश्रमिक लिने अधिकार छ र नाफा लिने अधिकार कसैलाई छैन ।“ पारिश्रमिक कति हुन्छ भन्ने कुरा समाजका सबै क्षेत्रमा काम गर्ने मान्छेको तुलना गरेर निश्चित गर्नुपर्छ । बढी योग्यताको प्रयोग गर्ने र बढी समय खट्नेको पारिश्रमिक बढी र कम काम गर्नेका पारिश्रमिक कम हुनुपर्दछ तर समाजमा त्यो मापदण्ड अपनाउने गरिन्न । सम्पत्तिका मालिकले कम परिश्रम गर्दछन्, बढी सुविधा उपयोग गर्दछन् तर व्यक्तिगत सम्पत्ति नहुनेले बढी मेहनत गर्नुपर्छ र कम सुविधा उपयोग गर्न पाउँछन् । त्यसैले समाजमा परस्पर विरोधी वर्ग हुन्छन् । कम मेहनत गर्ने र बढी सुविधा उपयोग गर्ने शोषक वर्ग र बढी मेहनत गरी कम सुविधा उपयोग गर्ने शोषित वर्ग हुन् । यी वर्गहरू रहेसम्म वर्गसङ्घर्ष रहिरहन्छ र वर्ग समाप्त भएपछि मात्र वर्गसङ्घर्ष समाप्त हुन्छ ।
आफ्नो वर्गीय स्थितिको जानकारी भएपछि आफ्ना वर्गीय मित्र र वर्गीय शत्रुको पहिचान गर्न सक्नुपर्छ । मित्र र शत्रुको बारेमा जानकारी लिनुपर्दछ किनभने शत्रुलाई बदलेर मित्र वर्गमा परिणत गराउँनुपर्छ साथै मित्र वर्गको परिश्रमलाई बदलेर बढी उत्पादनशील श्रम बनाउँनुपर्छ । त्यसका लागि आफ्नो सांस्कृतिक स्तर उचा बनाउँन र अरुलाई बदलेर आफ्नो पङ्क्तिमा सामेल गराउँनका लागि हाम्रो मेहनत खर्च गर्नुपर्छ । धेरै मान्छेले नजानेर श्रमिकलाई शोषण गर्ने र आफूले समेत अनुत्पादक श्रम गर्ने अथवा आफ्नो श्रमबाट बढी पारिश्रमिक आउँने अथवा बढी उत्पादन गर्न सक्ने काम गर्नमा लगातार ध्यान दिनुपर्दछ । त्यसको साथै मेहनतकस वर्गको सुविधा थप्ने कुरामा सधै सङ्घर्ष गर्नुपर्दछ । कम मेहनत गरेर उच्च सुविधा उपयोग गर्नेका विरुद्ध र बढी मेहनत गरेर पनि कम सुविधा उपभोग गर्नेको साथमा आफू पनि सधै एकाकार हुनुपर्दछ ।
मजदुरले सधै आफ्नो परिश्रमले विरोधी वर्गका मान्छेलाई फाइदा दिनेमा होइन कि आफ्नो वर्गका मान्छेलाई सहयोग पुग्नेगरी आफ्नो श्रमको लगानी गर्नुपर्छ । आफूले गरेको कामले विरोधी वर्गलाई फाइदा पुर्याएको थाहा पाएपछि छिटो-भन्दा-छिटो आफ्नो वर्गलाई फाइदा हुनेमा आफ्नो श्रम खर्च गर्न सिक्नुपर्छ । मित्र पक्षका श्रमिकहरू मिलेर सामुहिक श्रम गर्ने र शत्रु पक्षका मान्छेका विरुद्ध सामुहिकरुपले सङ्घर्ष गर्ने कुरामा जहिलेसुकै ध्यान दिनुपर्छ । उत्पादनमा सामुहिक श्रमको आवश्यकता पर्ने तर वितरणमा व्यक्तिगत मालिकत्व स्थापित गर्ने व्यवस्था भएको कारणले धेरै पुस्तादेखि शोषणयुक्त व्यवस्था कायम रहेको हो । शोषित वर्गका मेहनतकस जनता र खासगरी सचेत मजदुरहरू आपसमा मिलेर आफूहरूको श्रमलाई सामुहिकता दिने र आफ्ना आवश्यकता पनि सामुहिकरुपले नै समाधान गर्न प्रयत्न गर्नुपर्छ । आजको विश्वमा सबैभन्दा धेरैको सङ्ख्यामा रहेका मजदुरहरू सामुहिक हितको लागि सचेत र सङ्गठित हुन नसकेको कारण मजदुरका विरोधी शक्तिले शासन चलाएका छन् र मजदुरलाई सधै अभाव र गरिबीको मार खप्न बाध्य बनाएका छन् । पहिलो कर्तव्य यो स्थितिलाई बुझ्ने हो र बुझेपछि यो स्थितिलाई बदल्न प्रयत्न गर्ने हो । सामुहिक श्रमको शोषण भएकोमा सामुहिकरुपले सङ्घर्ष गर्ने एउटा पक्ष हो । त्योभन्दा महत्वपूर्ण पक्ष आफूले बुझेपछि आफ्नो भूमिका श्रमिकको पक्षमा योगदान पुर्याउनेमा सहयोगी बनाउँने हो । आफ्नो परिश्रमले शोषक वर्गलाई फाइदा पुर्याउने तर अरुलाई विरोध गर्नुपर्छ भन्ने गर्नु सही होइन । आफूले जुनसुकै तरिकाले भएपनि श्रमजीवी वर्गलाई फाइदा पुग्ने काममा ध्यान दिनुपर्दछ ।
हामीले श्रमजीवी वर्गलाई फाइदा पुर्याउनका लागि सबभन्दा पहिले राजनीतिक कार्यक्रममा ध्यान दिनुपर्दछ । हामीले जहिलेसुकै राजनीतिक कार्यक्रमकेा आधारमा सङ्गठित हुनुपर्छ । हाम्रो राजनीतिक उद्देश्य गलत भयो भने हाम्रो सम्पूर्ण लगानी खराब दिशातिर सोझिन्छ । त्यसैले आफू सङ्गठित हुनका लागि राजनीति बुझ्नुपर्छ वा राजनीतिक उद्देश्य बुझ्नुपर्छ । राजनीतिक उद्देश्य पूरा गर्नका लागि सहभागी भएका नेता, कार्यकर्ताको बारेमा जानकारी हुनु दोस्रो पक्ष हो । सिद्धान्त र व्यवहारबीच एकता छ कि छैन ? सिद्धान्तका ठूला-ठूला आडम्बर हाँक्ने तर व्यवहारमा शत्रु पक्षलाई फाइदा पुग्ने काम गरिरहँने भयो भने र त्यसैमा हाम्रो पनि सहभागिता र सहयोग पुग्दै गएमा हाम्रो मेहनतको दुरुपयोग हुन्छ । त्यसैले सिद्धान्त र व्यवहारबीच एकता भएका सङ्गठित समूह भएमात्र आफ्नो पनि योगदान मिसाउनुपर्छ । अवसरवादी नेत्तृत्व र कार्यकर्ताको समूहले सही उद्देश्य पूरा गर्न सक्दैन । त्यसैले आफू संलग्न हुने सङ्गठनका क्रियाकलापबारे जानकारी हुनुपर्दछ । अरुसँग तुलना गर्नुपर्छ र तुलना गर्दा सिद्धान्त र व्यवहारबीच, जसको नजिकको एकता छ, उसलाई मात्र आफ्नो सहभागिता र सहयोग पुर्याउँनुपर्छ । त्यसपछि तेस्रो पक्ष हो- काम गर्ने तरिकाको स्पष्टता । आफूले कसरी काम गर्दा सामुहिक श्रमको उपयोग हुने र शत्रु पक्षलाई अवरोध पुग्ने उद्देश्य पूरा हुनसक्छ । त्यस कुरामा ध्यान दिनुपर्छ । सङ्गठनमा गर्ने काम छोँटो समयको लागि होइन, लामो समयसम्म र धेरै पुस्तासम्ममा हाम्रो उद्देश्य पूरा हुने भएपनि त्यो उद्देश्यमा अगाडि बढिराखेको हुनुपर्दछ । लामो अवधीको कार्यक्रम पूरा गर्न दिन-दिनैको काम सहयोगी बनाउँनुपर्छ । हाम्रो दैनिक कामले लामो समयसम्म प्राप्त हुने उद्देश्यलाई बाधा पार्नेखालको हुनुहुन्न । बाधा पार्ने कामको तरिका अपनाइएको छ भने काम गर्ने तरिका बदल्नुपर्छ । मजदुर वर्गको हित हुँने काम गर्दै भविष्यको उद्देश्य पूरा हुने तरिकाले काम गर्नुपर्छ । चैथो र अन्तिम पक्ष आफ्नो मूल्याङ्कन हो । आफूले सङ्गठनमा लागेपछि आफ्नो योग्यता र चरित्रमा कत्तिको विकास भयो ? बेला-बेलामा मूल्याङ्कन गर्दै अगाडि बढ्नुपर्छ । मूल्याङ्कनमा उद्देश्य पूरा गर्नमा नजिक पुगेको नतिजा आउँदै गर्दासम्म अगाडि बढ्नुपर्छ । खराबी भए सुधार गर्दै अगाडि बढ्नु र कमी-कमजोरी पत्ता लगाउँने गर्नुपर्छ । हाम्रो लगानी दुरुपयोग हुनुहुन्न किनभने हाम्रो आयु निश्चित छ ।
मजदुर वर्ग र मेहनतकस वर्ग मानव सामजका मुख्य र अभिन्न अङ्ग हुन् । मजदुर सचेत हुनुपर्छ र सङ्गठित हुनुपर्छ । मुख्य र आधारभूत शक्ति सचेत भएन भने समाजको विकासमा बाधा पर्दछ र ढिलो हुन्छ । त्यसैले मजदुर सचेत हुनुपर्छ । मजदुर हुनु र सचेत हुनु गौरवको कुरा हो । यो शक्तिले सचेत भएर काम गर्न सक्यो भने मात्र अल्पसङ्ख्यामा रहेको विरोधी शक्तिले लामो समयसम्म मजदुरविरोधी गतिविधि सचालन गर्न सक्ने छैनन् । हाम्रो काम गर्ने दिशा सोझियो भने संसारभरका मजदुर एक हुन सक्नेछौँ ।