सचते महिलाहरु संगठीत हुने आवश्यकता

0
354
दुर्गानाथ खरेल

नेपालको कुल जनसंख्याको आधाभन्दा बढी संख्या महिलाहरुको छ । अझै नेपालमा रोजगारीको व्यवस्था हुन नसकेर धेरै पुरुषहरु विदेशमा रोजगारीको लागि जाने मात्र नभई भारत र वृटिश सरकारले नेपाली युवकहरुलाई आफ्नो सेनामा भर्ति गर्ने कारण समेतले गर्दा नेपालमा बस्ने नेपालीहरुको संख्यामा अत्याधिक संख्या महिलाहरुको नै छ । यो देशको आर्थिक, सामाजिक र राजनैतिक कारणले महिलाहरुको संख्या नै त्यो अत्याधिक संख्या हो जो उत्पीडित वर्ग भित्र पर्दछ । सम्पत्तिमा महिलाहरुको समान अधिकार छैन । निजामति, प्रहरी र सेनामा महिलाहरुको नियुक्ति अत्यन्त कम छ । चेतनाको हिसाबले महिलाहरु पीछडीएको स्तरमा छन् र राजनैतिक संगठनहरुमा तथा सामाजिक संगठनहरुमा समेत महिलाहरुको सहभागिता अत्यन्त न्यून छ । देशको उन्नतीको लागि महिला सहभागिता बढाउन आवश्यक त अवश्य नै छ त्यसको साथै महिला मुक्तिको लागि पनि महिलाहरु सचेत र संगठीत हुन अत्यन्तै महत्वपूर्ण र आवश्यकता छ ।

महिलाहरुको चेतनाको स्तर पीछडिएको छ । त्यसैले उनीहरुको बीच संगठनको स्तर पनि अत्यन्त कमजोर छ । प्राकृतिक रुपमा सन्तान जन्माउने र हुर्काउने सवालमा महिलाहरुको जिम्मेवारी बढी छ । त्यसैको लागि उनीहरु कडा शारीरिक श्रम गर्न असमर्थ हुन्छन् । प्रत्येक महिना महिनावारीको समयमा पौष्टिक आहारको बढी आवश्यकता पर्छ । ९ महिनासम्म पेटमा र दुई वर्षसम्म काखमा राखेर बच्चा हुर्काउनु पर्दा अरु कडा मेहनत गर्न असुविधा हुन्छ । यही असक्त अवस्थालाई ध्यानमा राखेर पुरुषहरुले महिलाहरुबाट नेतृत्व आफ्नो हातमा लिने र महिलाहरुलाई कडा निगरानीका साथ उत्पीडन लाद्नको लागि उनीहरुलाई अधिकार विहिन बनाएका छन् । हजारौं वर्षको अधिकार विहिन र दमनको यातना सहन बाध्य बनाइएका महिलाहरु आफ्नो अधिकार पुनःस्थापना गर्ने कुरा त कता हो कता आफनो सामान्य मौलिक हक अधिकार बाहाल गर्नको लागि समेत सचेत र संगठीत हुन सकिरहेका छैनन् । महिलाहरु सचेत र संगठीत हुन नसकेको हुनाले महिलाहरुलाई मात्र होइन पुरै समाजलाई उन्नती र प्रगतिको बाटोमा अघि बढ्न अप्ठ्यारो परिरहेको छ ।

जुन कारणले समस्या उब्जेको हो । त्यही कारणको पहिचान गर्ने र त्यही कारण निदान गर्नको लागि पहल शुरु गरेर कमी कमजोरी हटाउँदै अगाडि बढ्ने नगरेसम्म कुनै समस्या पनि समाधान गर्न सकिन्न । महिलाहरुले बढी उत्पीडन व्यहोर्नु पर्ने कारण पहिलो प्राकृतिक जिम्मेवारी हो । त्यो जिम्मेवारीबाट पन्छिन मिल्दैन । किन भने जीवित वस्तुको मुख्य काम आफू जस्तै सन्तान जन्माउने हुर्काउने गरेर नयाँ पुस्ता तैयार पार्ने हो । त्यसैले मान्छेको उत्तराधिकारी बनाउने पनि अरु जीवको जस्तै घटि भन्दा घटि जिम्मा पूरा गर्नै पर्छ । बरु त्यस जिम्मालाई पनि सचेत र संगठीत भै पुरुषको सहभागिता पनि नभै नहुने हुनाले त्यसको हिस्सामा पर्ने जिम्मेवारी पुरुषलाई पनि व्यहोर्न अनिवार्य बनाउनु पर्छ । त्यो काम सचेत र संगठीत शक्तिको बलमा मात्रै पूरा गर्न र गराउन सकिन्छ । पचासौं पुस्ता लागेर बनेका नियम कानून शोषण दमन र उत्पीडनका तरीकाहरु निदान गर्नको लागि मान्छे बुद्धिमान प्राणी भएका कारणले छिटो समाधान गर्न सक्यो भने पनि दशौं पुस्ता लाग्न सक्छ तर त्यस दिशातिर सचेत र संगठित भै अगाडि बढ्न शुरु गरियो भने मात्र । सचेत र संगठीत हुने दिशातिर अहिले देखि नै लागेनौ भने त्यो अवधि बढेर जाने कुरा अवश्यम्भावी छ ।

पुरुषहरुले महिलाहरु माथि अधिपत्य लागू गर्ने सिलसिलामा सति प्रथा लागू गरेका थिए । त्यतिखेर नियम, कानून नैतिकता अनुसार सबैका दृष्टिले महिलाहरुलाई आफ्नो लोग्नेको चितामा हाम फालेर मर्न अनिवार्य बनाइएको थियो । महिलाहरु त्यसैको सिकार बन्दै गएर त्यसैमा अभ्यस्त भएका थिए । महिला पक्षबाट नै त्यसको औचित्यताका पक्षमा वकालत गरी त्यो अन्यायपूर्ण दमनको अवधि लामो बनाउने काम गरे । तर विकासको क्रममा त्यो अन्यायपूर्ण काम हो भन्ने चेतना र त्यसको विपक्षमा संगठनको विस्तार नभै छाडेन । समय बित्दै जाँदा अहिले संसारको कुनै भागमा पनि सति प्रथा कायम छैन । सत्रौ सताब्दीको मध्यावधि देखि खुला पुँजीवादको उपभोग गर्दै आएका पश्चिमा मुलुकहरुमा बाबु आमाको स्थाई सम्पत्तिबाट छोरा र छोरीलाई बराबरी अंश दिने गरेको भएता पनि नेपालमा त्यो प्रथा अझै लागू भएको छैन । त्यसो त संसारका धेरै देशहरुमा एकपटक महिलाहरुले मतदान गर्न नपाउने नियम थियो । तर अहिले महिलाहरुले प्रतिनिधि चुन्ने मतदान गर्ने अधिकार पाएका छन् । २०५३/२०५४ साल तिर अखिल नेपाल महिला संघले महिला अधिकार पत्र तैयार पारी महिलाहरुले पैत्रिक सम्पत्तिमा छोरा सरह छोरीले पनि अधिकार पाउनु पर्छ भनेर राष्ट्रव्यापी रुपमा आन्दोलन संचालन गरेका थिए । राज्यका तर्फबाट मात्र नभै कतिपय महिला संगठनहरुले समेत ऐक्यबद्धता जनाउन सकेनन् । त्यसो गर्दा गर्दै पनि राष्ट्रव्यापी संगठीत विरोधको कारणले संसदबाट छोरीले छोराले सरह अंश पाउने तर विवाह भएपछि सबै अंश बुवालाई जिम्मा लगाई लोग्नेको अंश खान जानु पर्ने विधेयक पास भएको थियो ।

कुनै पनि व्यवस्था नियम–कानून लागू गर्दा खेरी पनि शुरुमा बिस्तारै–बिस्तारै हल्का तरिकाबाट शुरु गरिन्छ जनमत तैयार पार्दै गइन्छ र क्रमशः सशक्त पार्दै लगिन्छ । त्यसको खराबी थाहा पाए पछि त्यसको विरोध पनि विस्तारै संगठीतरुपमा सशक्त पार्दै लैजानु पर्छ । जनमत तैयार गर्दै पुरानो स्थापित व्यवस्था, नियम कानून आदिलाई प्रतिरोध गर्न बाध्य बनाउँदै आफ्नो सही नीतिलाई प्रमाण सहित अगाडि बढाउँदै लगेर मात्र सही कुरा पनि समाजमा स्थापित गराउन बाध्य बनाउनु पर्दछ । त्यसको लागि सचेत पक्षले महसुस गर्नुपर्छ । त्यसको पक्षमा प्रमाण जुटाउनु पर्छ । विरोधमा खडा भएर संगठीत शक्ति स्थापना गर्दै अगाडि बढ्नु पर्दछ । प्रचलित नियम कानूनलाई प्रतिरोध गर्न अप्ठ्यारो र बाध्य पारिनु पर्छ । प्रतिरोध गर्न नसक्ने बनाए पछि अथवा संघर्षमा आफू विजयी भएपछि आफ्नो अस्तित्व खडा गरेर विरोधीको अस्तित्व समाप्त गर्नुपर्छ । त्यसो गर्दा आफू सहि भएको प्रमाणीत गर्दै खरावी हटाउदै जानुको साथै आफूले उदाउँदो शक्तिको प्रतिनिधित्व गर्न सक्नु पर्दछ । आफू भन्दा उच्च स्तरको प्रगतिशील शक्ति छ भने विना संकोच आफू त्यसैमा जानु वा त्यो शक्तिलाई अनुकूल हुने गरी आफू आफ्ना कमजोरीबाट मुक्त हुँदै जानुपर्छ ।

हरेक व्यक्ति आफू एक्लै अन्याय, अत्याचार, शोषण, दमनबाट मुक्त हुन सक्दैन । त्यतिमात्र होइन आफ्ना खाने लाउने बस्ने शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता समस्याहरु एक्लैको प्रयत्नबाट समाधान हुन सक्दैनन् । त्यसैले महिलाहरु पनि आफू मुक्त हुनको लागि पहिला सचेत हुनुपर्छ र संगठीत हुनुपर्छ । संगठन बनाउँदा राजनैतिक कार्यक्रमको आधारमा संगठीत हुनुपर्छ । किनभने राजनीतिक संगठनको आधारमा नियम कानून निर्माण गरिएको हुन्छ र त्यही व्यवस्था अन्तर्गतका नियम कानूनले गर्दा महिलाहरुलाई अन्याय अत्याचार थोपरेर मान्न वा स्वीकार गर्न बाध्य बनाएको हुन्छ । त्यसैले त्यस्तो नियम कानून बनाउने संस्थाको विरुद्ध सहि नियम कानून बनाउने र लागू गर्ने संस्था निर्माण गर्नुपर्छ । संगठनको केन्द्रीय स्वरुप कहाँबाट संचालन भएको छ । कस्ता स्वभाव चरित्र र आर्थिक अवस्था भएका मान्छेहरुले नियम कानून बनाउने र लागू गर्ने गर्दछन् । नियम बनाउने र लागू गर्नेहरुका बीच मेल वा एकरुपता छ कि छैन । यी सबै कुरालाई ध्यानमा राखेर मात्र सबै भन्दा उत्तम नीति कार्यक्रम भएको राजनैतिक संगठनमा समावेश हुने गर्नुपर्छ । सबभन्दा पहिले नीति कार्यक्रम असल भएको पार्टी छनोट गरे पछि त्यस अनुसारको संगठनात्मक स्वरुप छ कि छैन जाँच्नु पर्दछ । यसको अर्थ सिद्धान्त र व्यवहारमा एक रुपता छ कि छैन त्यो पनि जाँच गर्नुपर्छ । छ भने ठीक छ छैन भने आफूले त्यस्तो केन्द्र स्थापना गर्न सकिन्छ कि सकिन्न ? त्यो कुरालाई पनि ध्यानमा राखेर तुलनात्मक रुपले जुन ठीक छ त्यसैमा आफू संगठीत हुने गर्नुपर्छ ।

संगठनको केन्द्र नै खराब भए अथवा नीतिहरुको सिद्धान्त नै खराब भए नीतिहरुबाट अथवा त्यो संगठनबाट आफूले बढी आशा गरियो भने हामी धोका पाएको महसुस गर्न बाध्य हुनेछौ र विचलनमा पर्नुपर्छ । त्यसैले धोकामा पर्नबाट जोगिनको लागि कुन संगठनको इतिहास कहिले देखि शुरु भयो । उसले कुन कुन अवस्थामा के के निर्णय ग¥यो ? आफ्नो निर्णयलाई व्यवहारमा कति लागू ग¥यो ? कस्ता चरित्र र आर्थिक स्तर भएका नेता र कार्यकर्ता त्यो संगठनमा सामेल छन् ? आदि कुराहरुमा ध्यान दिएर समर्थन या विरोध गर्नुपर्छ । धेरै जसो महिलाहरुले स्थानीय स्तरको सबै दोष मुक्त भएको संगठन निर्माण गरेर आफ्ना समस्याहरुबाट मुक्त हुने उद्देश्यका साथ संगठित हुने गर्दछन् । उनीहरु उछार पाएर वा नपाएर पनि कुनै न कुनै केन्द्रीय संगठनबाट बारम्बार धोकामा पर्ने र उपयोग हुन बाध्य हुनेछन् । त्यसैले केन्द्रको मार्फत नै संगठन निर्माण गर्नुपर्दछ । मुख्य श्रोत नै बेठीक भए त्यसको मातहतमा ठीक हुने आशा गर्नु गलत हो ।
धेरै जसो सर्वसाधारण जनताले राज्य सत्ता संचालन गर्ने शासक वर्गको सिद्धान्त, कार्यक्रम, नियम र कानूनलाई आफ्नै नीति कार्यक्रम र सिद्धान्त मानेर त्यसैको पक्षमा वकालत गर्ने गर्दछन् । त्यसो गर्दा आफ्नो मुक्ति हुन नसक्ने सम्भावना बढी हुन्छ । त्यसैले सरकारको स्वरुप बारे राम्ररी अध्ययन गरेर मात्रै समर्थन या विरोध गर्न आवश्यक हुन्छ । फेरी सरकारको विरोध गर्नेका नाममा आफ्नो गलत कार्यक्रम लागू गर्ने उद्देश्यले पनि धेरै जसो संगठनले सरकारको विरोध गर्ने गर्दछन् । यति सम्मकी सरकारकै पक्षधरहरुले समेत सरकारको विरोध गरेर सर्वसाधारण जनतालाई आफ्नो पक्षमा गोलबन्द गर्ने र सरकारी प्रतिनिधिसंग सम्झौता गरेर आफ्नो स्वार्थ सिद्धि गर्दछन् । यसो गर्नाले जनता धोकामा पर्दछन् त्यसैले सरकारको विरोध वा समर्थन जे गरेपनि उसको व्यक्तिगत हैसियत के हो ? उसको सिद्धान्त र संगठन कुन हो ? बुझेर मात्र त्यसको वर्गीय आधार कुन हो ? पत्ता लगाएर मात्र समर्थन या विरोध गर्ने बानीको विकास गर्नुपर्दछ ।

आफ्नो स्थिति, आफू संलग्न हुने संगठन सिद्धान्त र नीति कार्यक्रमको निश्चित भएपछि मात्र आफ्नो संगठनात्मक क्रियाकलाप शुरु गर्नुपर्दछ । त्यो गर्नको लागि सर्वप्रथम आफू आफ्नो आधारमा उभिने र मुक्त हुने प्रयत्न गर्नु पर्दछ र आफू रहेको संगठनको र समाजको स्तर कहाँ छ ? उनीहरुको साथमा आफ्नो अगुवाइमा संगठीत समूहलाई मुक्त गर्ने प्रयत्न शुरु गर्नु पर्दछ । शुरु गर्ने आफ्नो समाजको विकास र समस्याको स्तरबाट र उद्देश्य राख्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय संगठनको स्तरबाट मुक्ति पाउने स्तर र अवधिसम्म डटेर लाग्ने गर्नुपर्दछ । किन भने स्यालको शिकार गर्न बाघको खजाना लिएर जानु पर्दछ । आफ्नो् समाजका महिलाहरुले सुत्केरी हुँदा सुडेनीको सुविधा पाएका छैनन भने आफूले सुडेनीको प्राविधिक सुविधा उपलब्ध गराउने कामबाट संगठन शुरु गर्नुपर्छ र त्यसैमा आधारित रहेर चेतनाको स्तर संगठीत रुपले बढाउदै आवश्यकता महसुस गराउँदै त्यसको समाधान गर्दै उच्चस्तरको सुविधा उपलब्ध गराउदै जानुपर्छ । यसरी बढ्दै जाँदा आफ्नो क्षमताको विकास गर्दै जानु पर्छ तर जनताको भूमिकालाई मुख्य मान्नु पर्दछ । किन भने महिलाहरु अहिलेको पुरुषको स्तरभन्दा २–४ पुस्ता पछि छन् । उनीहरुको चिन्तनको स्तर पुरुषको सरह बनाउनको लागि निरन्तर लागि पर्न र पछि परेको महसुस गराई संगठीतरुपले संघर्षमा जुट्न सक्ने बनाउन पनि धेरै समय लाग्छ । सचेत महिला संगठनले पैतृक सम्पत्तिमा समान अधिकार पाउनु पर्छ भन्ने अभियान चलाउँदा महिलाहरुले समेत समर्थन र सहयोग नगरेकै कारणले मात्र पूरा नभएको हो । फेरी एउटा मात्र आवश्यकता पूर्ति गर्ने माग मात्र उच्च स्तरमा पूर्ति हुन सक्दैन । समानुपातिक रुपमा धेरै आवश्यकताहरु क्रमशः पूर्ति हुँदै जानु पर्दछ । तिनीहरु मध्ये प्राथमिक आवश्यकता खाने लाउने र बस्ने समस्या प्रमुख हुन् । त्यस्तै शिक्षा स्वास्थ्य र रोजगार पनि साथ साथै आवश्यक छन् ।

समस्या बुझ्न, संगठन गर्न र मुक्तिको लागि संघर्ष गर्न उच्च बौद्धिक क्षमताको साथमा नेतृत्व कलाको पनि जरुरत पर्दछ । आफूले जुन काम गर्न सक्दैन त्यसलाई सिकाउने अधिकार हुन्न । आफूले जानेको र गर्न सक्ने काम बारे मात्र अरु न जानेकाहरुलाई सिकाउनु पर्दछ । हाम्रो समाजमा आफूले गर्न नसक्ने काम गर्न अरुलाई सिकाउने गर्दछन् त्यही हो सिद्धान्त र व्यवहारमा भएको फरक । विश्वासको साथमा प्रमाण खोज्नु पर्ने आवश्यकता पनि त्यसैले हो । शहरमा ठूला महलमा बसेर पनि धेरै जसो महिलाहरु ग्रामीण क्षेत्रका महिलाभन्दा बढी (परजीवी) अरुका भरमा बाँच्न बाध्य हुन्छन् । उनीहरु आफै मुक्त हुन सकेका हुन्नन् । अरुको मुक्ति गर्ने कुरा त धेरै टाढाको हुन्छ । त्यसैले शहरका अथवा गाउँका जुन क्षेत्रका भए पनि सचेत महिलाहरु पहिले आफू संगठीत हुनुपर्दछ र संगठीत भै सामूहिक मुक्तिको लागि प्रयत्न अगाडि बढाउनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here