सङ्घीयताकै कारण कर आतङ्क : पौडेल

0
260
काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं प्रवक्ता तथा सांसद दुर्गा पौडेलले अहिले देशमा चलिरहेको ‘कर आतङ्क’ को मुख्य कारण सङ्घीयता रहेको बताउनु भएको छ ।
“यो कुनै लुकेको कुरा होइन, अहिले देशमा जुन कर आतङ्क चलिरहेको छ, यसको मुख्य कारण सङ्घीयता नै हो” २०७५ भाद्र ४ गते बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले भन्नु भयो– “अहिले सङ्घीय प्रणालीले ल्याएको प्रादेशिक संरचनाका कारण स्थानीय तहको बजेटमा व्यापक कटौती गरिएको छ र स्थानीय तहलाई आफ्नो प्रशासनिक खर्च धान्न पनि मुश्किल परिरहेको छ । त्यसैकारण स्थानीय तहले मनोमानी तरिकाले कर उठाइरहेका छन् ।” सांसद पौडेलले संसद बैठकको विशेष समयमा बोल्ने क्रममा अव्यावहारिक र अवैज्ञानिक तवरबाट लगाइएको कर नतिर्न पनि जनतालाई आह्वान गर्नु भएको छ ।
“राज्यले जनताका आधारभूत आवश्यकता पुरा गरेको हुनु पर्छ । राज्यले शिक्षा, स्वास्थ्य जस्ता कुराहरू जनतालाई नि:शुल्क गर्नु पर्छ” प्रवक्ता पौडेलले भन्नु भयो– “राज्य जनताप्रति उत्तरदायी नहुने भएपछि अनावश्यक, अव्यावहारिक र अवैज्ञानिक तवरबाट लगाइएको कर तिर्न जनतालाई जरुरी हुँदैन ।” स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रूपमा गलत नभए पनि दायित्वबोध बिना, पद्धतिभन्दा बाहिर गएर जथाभावी कर उठाउन नहुने उहाँको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here