संस्मरणः एक रातको काठमाण्डौं बसाई

0
19
दिल प्रसाद पौडेल
गण्डकी , बागलुङ ।
काठमाडौ:- मैले कल्पना गरेको भन्दा धेरै फरक रहेछ । वास्तविकता भन्दा पनि अलि पर काल्पनिक संसारमा चुर्लुम्म डुबेर सोचें वरिपरि डांडैडांडाले गजधुम्म परेर जिस्काईरहेको छ । स्वयम्भू, चोभार अनि नागार्जुनको टुप्पोबाट देखिने दर्जनौ मन्दिरका थुम्काहरुले लालायित बनेर तिनै डांडाहरुसंग प्रेम प्रस्तावको बेला लजाए झै  एकतमासले हेरिरहेका छन । चन्द्रागिरी को केबुलकारमा शयर गर्दा लाग्छ आकाशको माथी माथी बादलभित्र हराए जस्तै आभाष  हुदो रहेछ । नैरस्यताको भावाबेशमा खिन्नताका ठुटाहरु तेर्सिएर जिवनको बाटोमा तगारो बनिरहेपनी एकैछिन बिर्साईदिने वातावरण वाह हाम्रो काठमाडौ । विभिन्न रंग भरिएका घरहरुमा फूलका बुटाहरु अनि उत्तिकै लाम लागेर जन्ती र मलामी जस्तै गाडीका लाईनहरु , मान्छेको घना बस्तीले ढाकीएको शहर ।

म मेरो कुनै काम बिशेष ले काठमान्डू आएको पहिलो रात बाग्लुङ बाट काठमाडौ आईपुग्दा झमक्कै सांझ परिसकेको थियो । बसपार्क मा होटेलमा काम गर्नेहरु भन्दै थिए दाईलाई होटेल चाहिएको हो ? प्रती प्रश्न गर्दै मैले भने भाइ म सादा खाना खान्छु मलाई कमन बेडरुम भएपनी हुन्छ त्यो कहाँ छ भनेर भनेपछी एउटा अन्दाजी चौध पन्ध्र बर्षको जस्तै देखिने भाईले हाम्रो होटेलमा जाऔ भन्यो म त्यतै तिर लागे दिनभरीको बसको यात्रा निकै थकानको महशुस भएको मलाई चार पाँच जना सुत्ने हलमा ओछ्यान मिल्यो । राजमार्ग कै छेउ मा होटेल म आफ्नो झोला थन्क्याएर तल झरें एकैछिन समाचार हेर्न टेलिभिजनको अगाडि गएर रिमोट अन गरें बेलुका नौ बजेको समाचार हेर्दै गर्दा देशभित्र राजनैतिक उथलपुथल, प्रतिनिधि सभाको सभामुख को बिषयलाई लिएर एक अर्कामा आरोप प्रत्यारोप, अमेरिकाले नेपाललाई गुलामी बनाउन लागेको प्रसंग , नदी उत्खनन् रोक्न बिरोध गर्ने युवालाई क्रेसर ब्यबसायीहरुकै ट्रीपरले किचेर निर्मम हत्या, विभिन्न जिल्लाहरुमा बालिकाहरु अपहरण र बलत्कार त्यसपछी हत्या , काठमाडौ मा फोहोर ब्यवस्थापनमा चुनौती, घाम लाग्दा धुलै धुलोको शहर अनि पानी पर्दा हिलै हिलोको शहर काठमाडौ जस्ता समाचारहरुले मन खिन्न बनायो । हाम्रो देशमा राम्रो काम गर्छु भन्ने मान्छे कि मर्छ कि मारिन्छ । सत्य र निष्ठाको राजनिती र काम गर्ने कोहि हुँदो हो त आज देशको यो अवश्था पक्कै हुदैनथ्यो होला । उच्च तहमा रहेकाहरु कोहि बलात्कार प्रयासमा गिरफ्तार पछि थुनामा छन, कोहि इट्टाभट्टामा मान्छेलाई जिउदै जलाएर पनि उन्मुक्ती पाईरहेका छन, कोहि हत्या अभियोगमा फसेका छन, कोहि तस्कर संग मिलेर चोरी निकासीमा संलग्न छन भने कोहि भ्रष्टाचार को मझेरीबाट खुलेलाम घुस खाईरहेका छन यस्तै यस्तै मनभित्र अनेकन तरंगका छालहरु संगै म खाना खान लागें ।
खाना खाईसके पछि रातको झण्डै दस बजिसकेको थियो म सुत्नको लागि कोठातिर लागें ।  अपसोच त्यो दिन कोठामा म मात्रै थिए । सडक कै छेउमा होटेल त्यो पनि सडककै छेउ तिरको म सुत्ने कोठा सवारी साधनका चर्को आवाजमा बज्ने हर्न अनि काठमान्डौ का घर घरमा पालीने उन्नत जातका कुकुर र सडक पेटीमा एकतमासले भुकीरहने कुकुरहरुको  भुकाइ ले गर्दा पटक्कै निद्रा लाग्ने कुरै भएन । बागलुङ को एकान्त अनि सुनसान र स्वच्छ हावा खांदै सधै लुपुक्क निदाउने म रातभर कुकुर हरुकै कारण अनिदो भए र दिनभरीको यात्रा, धुलो र अनिद्राले सुन्निएका आँखा मिच्दै आफ्नै मनले त्यही मनसंग गुनासो गरें कुकुरहरुको शहर रहेछ काठमाण्डु ।।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here