संगठन विधि र पद्धतिले चल्छ

0
1855
विमल पोखरेल, केन्द्रीय अध्यक्ष, अखिल (छैठौं)
  • विमल पोखरेल, केन्द्रीय अध्यक्ष, अखिल (छैठौं)

सर्वप्रथम तः अखिल (छैठौं)को २१औं राष्ट्रिय सम्मेलनबाट पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ, बधाई छ ।

मैले सबै प्रतिनिधि, पर्यवेक्षक, समर्थक, शुभचिन्तक र संगठनका सबै साथीहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । तपाईंलाई पनि धन्यवाद ।

अखिल (छैठौं)को २१औं राष्ट्रिय सम्मेलन कस्तो रह्यो ?

– ऐतिहासिक रुपमा सम्मेलन सम्पन्न भयो । इतिहासमै हामीले पूर्वी क्षेत्रमा राष्ट्रिय भेला वा सम्मेलनहरु गर्न सकेका थिएनौं । यसपटक गर्न सकिन्छ भनेर म आफै तयारीको लागि खटिए“ र भव्य रुपमा सम्पन्न गर्न सकियो पनि । पूर्वी क्षेत्रमा हाम्रा थोरै साथीहरु हुनुहुन्छ । उहाँहरु दिनरात खटिनुभयो । झापामा हुने सम्मेलन सफल पार्न देशभरका साथीहरु तयारीका साथ जानुभयो । त्यसबाहेक रक्तिम सांस्कृतिक अभियानका कलाकार साथीहरु स्वयंसेवककै रुपमा पनि खटिनुभयो । अन्य स्वयंसेवक साथीहरुले पनि दिलो ज्यानले काम गर्नुभयो । उहाँहरुले आफ्नो जिल्ला वा क्षेत्रमा राम्रो काम गर्नुभयो । चुनौतीका बीचबाटै सम्मेलन सम्पन्न भयो ।

अध्यक्षमा पुनः निर्वाचित हुनु अवसर कि चुनौती कसरी लिनु भएको छ ?

– चुनौती नै धेरै छन् । मैले सानैदेखि नै संगठनमा काम गर्दै आएँ । २०६३ सालदेखि अखिल (छैठौं) केन्द्रीय समितिका विभिन्न जिम्मेवारीमा रहेर काम गरेको छु । सबै जिम्मेवारीहरुलाई कुशलतापूर्वक सम्पन्न गरेको छु भन्ने लाग्छ । सबै जिम्मेवारीहरुलाई पूरा गरेकै कारण मेरो जिम्मेवारी लगातार बढ्दै पनि गयो । जसले मलाई विद्यार्थी संगठनमा बसेर काम गर्ने अवसर प्राप्त भयो । मैले सबै चुनौतीहरुलाई सामना गर्न सकेकै कारणले संगठनलेफेरि पनि काम गर्ने अवसर दियो ।

अवसर कुन अर्थमा र चुनौती कुन अर्थमा ?

– अवसरको रुपमा भन्नुपर्दा त संगठनको काठमाडौं जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष, महासचिव हुँदै अध्यक्षको जिम्मेवारी सम्हालेको हुँ । सबै पदका जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भयो । धेरै चुनौतीहरु पार गर्दै आएँ । पहिले संगठनको कामको सिलसिलामा काठमाडौंमा बसेर जिम्मेवारी सम्हालिरहेको मान्छे उपत्यका बाहिर सगरमाथा जनकपुर क्षेत्रमा २ वर्ष इन्चार्जको भूमिका निर्वाह गरें । राप्तीलुम्बिनी क्षेत्रमा २ वर्ष इन्चार्ज भएँ । संगठनले सञ्चालन गरेका विभिन्न सांगठनिक अभियानहरु सफल पार्न संगठनले जहाँ खटायो, त्यहीं पुगेर भूमिका निर्वाह गरें । हिमाल पहाड तराई जोडौं अभियानको सुदुरपश्चिम टोलीको नेतृत्व गरेर ९ वटा जिल्ला पार गर्दै दार्चुलासम्म पुग्यौं । लागु औषध दुव्र्यसनीविरुद्ध अभियानका क्रममा पूर्वाञ्चलका १२ जिल्ला पुग्यौं । सीमा बचाऔं अभियानमा नवलपरासीदेखि इलामसम्म १४ जिल्ला पुग्यौं । ३५ दिनसम्म कर्णालीमा संगठनात्मक अभियान सञ्चालनको नेतृत्व लिएरै काम गरें । संगठनकै कामका सिलसिलामा देशका ६२ जिल्ला पुगेको छु ।

मैले साथीहरुको सल्लाह लिएर हरेक आन्दोलनको कार्यक्रम बनाउने, नेतृत्व गर्ने र सहभागी हुने गरेको छु । आन्दोलन नै संगठन निर्माणको आधार हो । धेरै चुनौती त मैले पार गरिसकेको छु । यस पटक अगाडि आएका चुनौती त सजिलै सामना गर्न सकिन्छ । ती मेरो लागि अनुभवका नयाँ संस्करण मात्रै हुनेछन् ।

सम्मेलनको समापनस“गै कतिपय प्रतिनिधिहरुले नेतृत्व अधिनायकवादी भएको आरोप लगाए, के साँच्चै तपाईहरुले अधिनाकवाद लाद्नु भएकै हो?

– राष्ट्रिय सम्मेलन अधिनायकवाद लाद्ने ठाउँ होइन । जनवाद प्रयोग गर्ने ठाउँ हो । प्रतिनिधिहरुले व्यापक मात्रामा जनवादको प्रयोग गरेका छन् । धेरै भन्दा धेरै साथीहरुले छलफलमा भाग लिएका छन् । कसले किन अधिनायकवादीको आरोप लगाएका छन्, त्यो मलाई थाहा भएन । राजनीतिक तथा सांगठनिक प्रतिवेदन, विशेष प्रस्ताव, विधान संशोधन केन्द्रीय समिति र राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत रुपले पारित भएको थियो । केन्द्रीय कार्यसमिति र पदीय विभाजन पनि सर्वसम्मत रुपमा निर्वाचन भएको हो । त्यहाँ कुनै प्रकारको मतभेद नै भएको होइन ।

विमल पोखरेल, केन्द्रीय अध्यक्ष, अखिल (छैठौं)

सम्मेलन भव्यतापूर्वक सम्पन्न भयो । त्यसमा केही व्यक्तिहरुको टाउको दुखेको थियो । एक दुई जना त उद्घाटनसत्र असफल पार्न लागेका थिए । कलाकारहरुलाई जान नदिने धेरै ठूलो प्रयत्न गरियो । केही पार नलागेपछि लाजले पनि एक दुई जना केन्द्रीय समितिमा बस्न मानेनन् । एक दुई जना घलेगाउँको राष्ट्रिय परिषद् नै असफल पार्न लागि परेका थिए । त्यो प्रवृत्ति सम्मेलनमा कहींकतै देखा परेन वा पर्न दिइएन पनि । हामीले सम्मेलनमा कौशलता प्रदर्शन ग¥यौं । जसले गर्दा सम्मेलनमा धेरै भन्दा धेरै साथीहरुले छलफलमा भाग लिए, छलफल गरे । केहीलाई लागेको थियो होला, सम्मेलनमै अराजकता मच्याउन पाइन्छ भनेर । तर तिनीहरुले अराजकता मच्याउने अवसर पाएनन् ।

अखिल (छैठौं)को राष्ट्रिय सम्मेलनलाई देखाएर मोहनविक्रम सिंह, चित्रबहादुर केसी र दुर्गा पौडेलका विरुद्धसमेत फेसबुकमा हल्ला पिटिएको छ । संगठन विरोधीले के के लेख्छन् भन्ने कुरा हेर्ने फुर्सद पनि खासै छैन आजकल । जसले संगठनका नियम, पद्धति मानेर काम गर्छ, उसलाई संगठनले जिम्मेवारी पनि दिन्छ, दिएकै छ । जसले संगठनमा बसेर संगठन विरोधी काम गर्छ, त्यस्तालाई वास्ता नै गरिंदैन । संगठन विरोधीलाई वास्ता नगर्नु अधिनायकवाद होइन । उनीहरुलाई हामीले जिम्मेवारी पनि दिएका छैनौं, कारवाही पनि गरेका छैनौं । तिनीहरुका फेसबुक हामीले बन्द गर्ने कुरा भएन । नहुने र नभएका कुराहरु लेख्दालेख्दै थाक्छन् । फेरि अर्काेथरी लेख्न थाल्छन् । केही व्यक्तिको त काम नै त्यही छ ।

संगठन निर्माणमा सून्य, व्यक्तिवादी, प्राधिकारसम्पन्न जस्तो कार्यशैली, संगठनात्मक नियमको उल्लंघन लगायतका विषयलाई राष्ट्रिय सम्मेलनले हल गरेन भनिएको छ त ?

– पूर्वमा धेरै नै कमजोर संगठन भएको ठाउँमा सबैजसो जिल्लामा सम्मेलन वा भेला सम्पन्न भए । त्यही संगठनले सम्मेलनको उद्घाटनसत्रमा व्यापक जनसहभागिता गरायो । झापामा भव्य जुलुस गर्नु सजिलो कुरा थिएन । कतिपय ठाउँमा अखिल(छैठौं) नयाँ थियो । तर पनि हामीले मेहनत ग¥यौं । सून्य संगठन निर्माण भएको भए त्यति ठूलो जुलुस कहाँबाट भयो त ? आँखामा पट्टी नबाँधे पनि तिनीहरुले दिमागमा पट्टी बाँधेका कारण संगठन देख्दैनन् । पूर्वमा धेरै राम्रो संगठन निर्माण भएको छ । अब हामीले त्यसलाई निरन्तरता दिनुपर्दछ ।

अध्यक्ष प्राधिकार होइन, अधिकार सम्पन्न हुन्छ । विधानले नै धेरै अधिकार दिएको छ । लामो समयको संगठनात्मक अभ्यास पनि छ । विधानले दिएका अधिकार प्रयोग गरिन्छन् । संगठनको अध्यक्ष भनेको ठड्याउने मूर्ति होइन । विधानले दिएका अधिकार र संगठनले दिएका जिम्मेवारी दृढतापूर्वक पालना गरिन्छन् । मैले पनि त्यही गरेको छु ।

केन्द्रीय समितिमा एक दुई जना यस्ता व्यक्ति थिए, जसले एउटा इकाइ समिति पनि बनाएनन् । केन्द्रीय समितिको बैठकमा आउँथे, उग्र कुरा गरेर फर्कन्थे । आफूले जिम्मेवारी लिएको जिल्लामा पुगेनन् । राष्ट्रिय सम्मेलनको सन्दर्भमा तिनीहरुको जिम्मा रहेको जिल्लामा भेला समेत गर्न सकेनन् । तिनीहरुले केन्द्रीय समितिमा ठूलठूला कुरा गर्थे । तिनीहरुलाई संगठनमा बस्न लाज लागेर होला, आफै बस्दैनौं भने । हामीले संगै काम गरौं भन्यौं, तर उनीहरु तयार भएनन् । सम्मेलनले केही साथीहरुलाई विदा गरेको छ । जो मोर्चाका अध्यक्ष वा अन्य जिम्मेवारी वा आफ्नो बेग्लै पेशामा रहनुभएको छ । उहाँहरुलाई हामीले सम्मानपूर्वक विदाइ गरेका छौं । काम नगरेर विदा भएकाहरु फेसबुकमा उटपट्याङ कुरा लेख्दै बसिरहेका छन् । संगठनको अन्य जिम्मेवारी, पेशा वा व्यवसायका कारण संगठनबाट विदा लिनुभएका साथीहरुबाट धेरै ठूलो सहयोग प्राप्त भयो । हामी उहाँहरुलाई सम्मान व्यक्त गर्न चाहन्छौं ।

किन त्यस्तो भयो त ? काम नगर्नुको पनि कारण त होला ।

– केही मान्छे कस्ता थिए भने मेरो काम गराइप्रति रिस गर्थे । मैले यतिका वर्षसम्म संगठनले दिएको जिम्मेवारी पूरा नगरेको कुनै प्रमाण नै छैन । तिनीहरु मैले काम नगरे हुन्थ्यो भन्थे । मैले काम गरिन भने आलोचना गर्न पाइन्छ भनेर ढुकेर बसेका हुन्थे । तर तिनीहरुले आलोचना गर्ने कुनै ठाउँ भेट्दैनथे । काम नगर्ने, संगठनले दिएको जिम्मेवारी पूरा नगर्ने, पार्टी नेताहरुको बद्नाम गर्ने, संगठनको विरोध गर्ने व्यक्तिहरु त मेरो छायाँ देखे पनि तर्सिन्छन् । किनभने मैले दृढतापूर्वक त्यस्ता प्रवृत्तिहरुलाई निस्तेज पार्ने प्रयत्न गर्छु । मेरो संगठनका कुनै पनि व्यक्तिहरुप्रति आग्रह वा पूर्वाग्रह थिएन र छैन । तर गलत प्रवृत्तिका विरुद्ध त लड्नैपर्छ । म एक्लै होइन, हामीले सामूहिक रुपमै गलत प्रवृत्तिका विरुद्ध लडिरहेका छौं । हामीले सामूहिक कार्यप्रणालीमा विश्वास गर्छाैं । हामी जे गर्छौं, त्यो सामूहिक रुपमै गर्छाैं । त्यसैले मलाई काम गर्न धेरै सजिलो पनि भएको छ ।

 बाग्लुङले त केन्द्रसंग सम्बन्ध विच्छेद गरेको वक्तव्य नै निकाल्यो ?

– जसले वक्तव्य निकाले, तिनले संगठन छोडेर गए । कता गए थाहा भएन । तिनको पछि लागेर एक जनाले पनि संगठन छोडेका छैनन् । कुनै पनि जिल्लाले केन्द्रसंग सम्बन्ध विच्छेद गर्न सक्दैन । जसले वक्तव्य निकालेका छन्, तिनले नै त्यो वक्तव्य लेखेको कुरामा शंका छ । अरुले भरिदिएको बुद्धिले जति काम गर्न सक्थ्यो त्यति गरिसकेको छ, अब त्यो बुद्धिले त्यो भन्दा धेरै गर्न सक्दैन । अरुले भरिदिएको बुद्धिले कति नै काम गर्न सक्छ र ? त्यो त कुबुद्धिमा परिणत हुन्छ । भयो पनि त्यस्तै । कुनै एक जनाले वक्तव्य निकालेर संगठन छोड्यो भन्दैमा सम्बन्ध विच्छेद गरेको हुँदैन ।

पहिलेका सम्मेलनमा पनि बेलाबेलामा यस्तो हुने गर्दथ्यो । चितवनको १७औं राष्ट्रिय सम्मेलनबाट २, ४ जना बन्दसत्र छोडेर हिंडेका थिए । काठमाडौंको २०औं सम्मेलनमा कुर्सी पनि उचालियो । पोखराको १९औं सम्मेलनमा पनि एक दुई जना होहल्ला गर्ने व्यक्तिहरु थिए । घलेगाउँको परिषद् भेलाको अन्तिममा केहीले बहिस्कार गरे । तिनीहरु त सम्मेलनमा आउँदै आएनन् । फरक के छ भने ती सबै घटनाहरु सम्मेलनको हलभित्रै हुन्थे । अहिले २१औं सम्मेलन सकिएपछि वक्तव्य निकालेर हल्ला गरियो । राष्ट्रिय सम्मेलनको पद्धति र पक्रिया मिच्न नसकेपछि फेसबुकमा संगठन छोडेको वक्तव्य निकालेछन् ।

सामाजिक सञ्जालमा यसलाई यो पद दिनुपथ्र्याे, त्यसलाई त्यो पद दिनुपथ्र्याे भनेर चर्चा भइरहेको छ । त्यो जिल्लाबाट यति जना राख्नुपथ्र्याे भनेर लेखिएको छ । केही इमान्दार साथीहरु पनि लौ फेसबुकमा यस्तो लेखिएको छ भनेर त्यसैको पछि दौडिएका छन् । तर हाम्रो संगठन दृढतापूर्वक प्रक्रिया र पद्धतिले चल्छ । फेसबुक र ट्वीटरमा पद बाँडेर हुने भए राष्ट्रिय भेला वा सम्मेलन किन गर्नुपर्यो ? फेसबुक र ट्वीटरबाट संगठन हुने भए स्कुल, कलेज, गाउँगाउँ किन जानुपर्यो ? जसले फेसबुकमा विषवमन गरिरहेका छन्, ती सबै संगठनविरोधी व्यक्तिहरु हुन् । तिनीहरु छैठौं हुँ भन्छन्, छैठौंलाई कमजोर पार्नको लागि नानाथरी लेख्छन् ।

विमल पोखरेल, केन्द्रीय अध्यक्ष, अखिल (छैठौं)

केन्द्रीय समितिमा बाग्लुङबाट कोही पनि राखिएन भन्ने कुरा पनि त आयो नि ?

– कुनै समय यस्तो पनि थियो, केन्द्रीय समितिमा धेरै पदाधिकारी नै बाग्लुङबाट हुनुहन्थ्यो । अन्यत्र जिल्लामा को कहाँको हो भनेर त्यसको खासै चर्चा हुँदैनथ्यो । उहाँहरु बाग्लुङको भएको कारणले होइन कि कार्यकुशलताको आधारमा नेतृत्वमा आउनुभएको थियो । कृष्ण अधिकारी, राजेन्द्र ढुंगाना, दुर्गा शर्मा त अध्यक्ष नै हुनुभयो । पछि अन्य जिल्लाका साथीहरुले नेतृत्वमा निखारता ल्याउनुभयो र नेतृत्वमा आउनुभयो । त्यसैले यो जिल्ला र उ जिल्ला भन्ने कुरा रहँदैन । जिम्मेवारी जसले निर्वाह गर्दै जान्छ, उ नेतृत्वमा आउँछ । भर्खरै निर्वाचित बाग्लुङ जिल्ला अध्यक्षले संगठन छोडेको वक्तव्य निकाले । उनलाई ल्याउने कुरा भएन । जिल्ला तहका अरु साथीहरुले नेतृत्व विकास गर्दै छन् । उपयुक्त समयमा उनीहरु केन्द्रीय समितिमा आइहाल्छन् । त्यो त्यति ठूलो कुरा होइन । हामीले को कहाँको भनेर हिसावकिताब गर्दैनौं । संगठनमा कसले कति काम गरेको छ, जिम्मेवारी पूरा गरेको छ, योगदान गरेको छ भन्ने आधारमा मूल्यांकन गर्छाैं । र त्यही आधारमा जिम्मेवारी दिन्छौं । हाम्रो संगठनको प्रक्रिया र पद्धति पनि त्यही हो ।

तपाई सत्तामुखी हुनुभयो, विद्यार्थी आन्दोलन अगाडि बढाउनु भएन पनि भन्छन् किन त ?

– मेरो व्यक्तिगत जीवन नै सधैं आन्दोलनसित जोडिएको छ । अहिले हाम्रो पार्टी सरकारमा गएकै छैन त कसरी सत्तामुखी हुने हो र । मैले मन्त्री, सचिव, उपकुलपतिहरुसंग तथ्यसहित विद्यार्र्थी आन्दोलनका एजेण्डा पेश गर्ने गर्दछु । सडक आन्दोलनमा म सधैं अग्रपंक्तिमै रहेको छु । विद्यार्थी आन्दोलन आफैमा प्रतीपक्षी आन्दोलन हो । सरकारले गरेका गलत क्रियाकलापको विरोधमा सबैभन्दा पहिले सडकमा आउने तागत राख्ने भनेको विद्यार्थीले नै हो । अखिल (छैठौं)ले विद्यार्थी आन्दोलनको नेतृत्व गरेको छ । राष्ट्रघाती संविधान संशोधन, संघीयता, महंगी, भ्रष्टाचार, सीमा अतिक्रमण, साम्राज्यवादी देशहरुले विभिन्न देशमाथि गरेका आक्रमणका विरोधमा हामी आन्दोलित भएका छौं । शिक्षाको व्यापारीकरण, माफियाकरण, योग्य उम्मेदवारलाई शिक्षक हुनबाट बञ्चित गराउने षड्यन्त्रका विरुद्ध लगातार आन्दोलन भएका छन् । चर्काे शुल्क असुल्ने, राज्यका नियमकानुन नमान्ने, निर्देशनहरु नमान्ने, पाठ्यपुस्तक र शैक्षिक सामग्रीको व्यापार गर्ने निजी विद्यालयका संगठनहरु खारेजीको माग उठाएका छौं । त्यस्तो त अरु कसैले भनेको छैन, तिनै संगठन छोडेर जाने व्यक्तिले भने होलान् ।

तपाईहरुले जनवादी शिक्षाको नारा लगाउने तर जनवादी शिक्षा प्राप्तिका लागि ठोस आन्दोलन नउठाएको भन्ने आरोप पनि छ नि ?

– जनवादी शिक्षा हाम्रो रणनीतिक नारा हो । हाम्रो पार्टीले सत्ता कब्जा गरेपछि नै जनवादी शिक्षा लागु गर्न सकिन्छ । जनवादी शिक्षा प्राप्तीको आधार तयार गर्नको लागि शिक्षामा भइरहेको व्यापारीकरण, माफियाकरण रोक्नुपर्दछ । अवैज्ञानिक प्रणालीलाई वैज्ञानिक बनाउँदै लैजानुपर्दछ । शिक्षा सैद्धान्तिक, सीपमूलक, रोजगारमूलक र उत्पादनमूलक हुनुपर्दछ । त्यसको लागि हामीले निरन्तर संघर्ष गरिरहेका छौं ।

वर्तमान देशको राजनीतिक अवस्थामा विद्यार्थी आन्दोलनलाई कसरी अगाडि बढाउने योजना छ ?

–संघीयता खारेजीको आन्दोलनलाई नै प्राथमिकताका साथ अगाडि बढाउँछौं । संघीयताले देशको साधारण खर्च व्यापक बृद्धि भएको छ । जसका कारण शिक्षाको बजेट पनि कटौती भएको छ । सीमा अतिक्रमण, वैदेशिक हस्तक्षेप, महंगी भ्रष्टाचार जस्ता विकराल समस्याहरु छन्, तिनलाई हल गर्नको लागि सम्पूर्ण विद्यार्थीलाई संगठित र आन्दोलित गरेर अगाडि बढ्छौं ।

संयुक्त विद्यार्थी आन्दोलनमा कतिपय समस्या देखिएका छन् । पार्टी सरकारमा हुँदा सत्ताको ताबेदारी गर्ने प्रवृत्ति पनि देखिएको छ । त्यसलाई छिचोलेर अगाडि बढ्नको लागि अखिल (छैठौं)ले निरन्तर पहल गर्नेछ ।

देशमा गणतन्त्र आए तापनि जनताका समस्या झन्पछि झन् जटिल बन्दै गएका छन् । यसको समाधान के देख्नु हुन्छ ?

–निरंकुश वा वैधानिक राजतन्त्रका तुलनामा गणतन्त्र प्रगतिशील शासन व्यवस्था हो । जनताको मतबाट राष्ट्रप्रमुख चुनिने व्यवस्था छ । गणतन्त्रले मात्रै जनताका समस्या समाधान हुने होइनन् । त्यसको लागि त समाजवादी व्यवस्था नै आउनुपर्दछ । समाजवादी व्यवस्था आइसकेपछि पनि त्यसभित्र हुने संक्रमणलाई रोक्न सक्नुपर्दछ । किनभने समाजवाद आएका देशहरु पनि पुँजीवादमा फर्किएका उदाहरण छन् । हामीले जनताका विरुद्धमा हुने सबै निर्णयहरु, गतिविधिहरु रोक्नुपर्दछ । महंगी, भ्रष्टाचार, अनियमितता, कुशासन, अशान्तिको विरुद्ध लगातार संघर्ष गर्दै जानुपर्दछ ।

अन्तमाःतपाईले भन्नै पर्ने विषय छुट्यो कि ?

तपाईंले सोधेका प्रश्न र विषयवस्तुको जवाफ त्यत्ति नै हो जस्तो लाग्छ ।

प्रस्तुती : धनवीर पुन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here