शिर कसरी ठाडो पार्ने ?

0
271

– रवि मिश्र
प्रधानमन्त्रीज्यू !
खास कुरो तपाईं भारत गएको कुरा सुनेर हामी मर्माहत भा’छम् । नेपालको इतिहासमा कहिल्यै नभएको घटना प्रधानमन्त्री भारत जाने कुरोले हामीलाई आश्चर्जेले उल्का भएको छ । प्रधानमन्त्री त हामी पनि भा’थेम् तर हामी कहिल्यै भारत गा’थेनम् । भन्नुहोला, “खुब गा’थेन !”
हामी गा’को त इन्डिया हो । हिन्दुस्तान हो ।

ल ठीक छ, हामी भारतै गएछम् रे ! हामी जाँदैमा तपाईं जानुपर्छ ? हामी जहाँ गयो, त्यहीँ जानुपर्छ ? लंका गा’को भए पनि त हुन्थ्यो । भुटान, बर्मुडा, मोजाम्बिक गा’को भए पनि हुन्थ्यो । जान्ने हुनुपर्ने तपाईंलाई ! उम्रिँदै तीनपात के ! प्रधानमन्त्री बन्या दुई महिना भा’छैन, भारत जानुपर्ने ? सम्झिँदा नि मुंग्रो रिस उठेर आम्च । तपाईं भारत जान लाग्या चैं किन के ? नचाइँदो स्वाङ ! चुपो लागेर कुर्सीमा बसे हुन्न ?

तपाईंको त अन्वार देख्दा नि रिस उठेर आम्च । गठबन्धन गर्या छ, चुनाव जित्या छ, बहुमत पुर्या छ, सरकार बना’छ, शपथ खा’छ, मन्त्री बना’छ । फेरि मन्त्रीलाई नि शपथ खुवा’छ, बालुवाटार बस्या छ, सिंहदरबार पस्या छ, अनेक निर्देशन द्या छ । यो अर्चु र ऊ अर्चु भन्या छ, बतासे गफ चुट्या छ, सरकार चला’छ, धूलो उडा’छ ।

यो होइन नि त लाइन । सोमत भन्ने दुई पैसाको नि छैन है तपाईंको ? कहीँ नभा’को ! अझ भारत जानु पर्ने रे ! मान्छेका कुरा सुन्दा नि … !

एक महिना त भारत जानकै तयारी । कोट सिला’छ, दौरामा इस्त्री गर्या छ, ऐना हेर्या छ, ह्याऽऽऽ सुहाएन भन्या छ, फेरि पोशाक फेर्या छ, फेरि ऐना हेर्या छ, दाह्री खौर्या छ, फेरिन हेन्सिम दल्या छ, मुसुमुसु हाँस्या छ । घरि राष्ट्रवाद घोक्या छ, घरि भजन रट्या छ । यो उल्का नाटक त खुद भगवान नाट्यश्वरले गर्न सक्दैनन् होला, जति तपाईं गर्नुन्च ।

जाँदाको अलमल बेग्लै । फर्केपछिको ‘ऐतिहासिक सफलता पाइयो’ भन्ने चुदुरबुदुरले एक महिना खतम् । मुलुकमा रेल ल्याउने कुरा छ । यत्रो समयमा प्राक्टिस गर्ने हो भने रेल सिकिवरि, ट्रायल दिएर पास गरीवरि, यातायात विभागमा कुरिवरि लाइसेन्सै पाइसकिन्थ्यो । अब मुलुकमा रेल ल्याएसी नरेन्दरदाश दामोदर मोदीले चलाइदिन्छन् ?

ल भैगो ! जे हुनु भैहाल्यो । अब भारत जाने भैहाल्नुभो । ठीकै छ । राष्ट्रहितविपरीत कुनै सम्झौता र काम नगर्नू । शिर भन्ने कुरा झुकाउँदै नझुकाउनू । दिल्ली पुग्नासाथ आकाशतिर हेरेर हिँड्नू । जिमिनमा हेर्दै नहेर्नू । जिमिनमा हेर्यो भने शिर निहुरिन्छ । भारतीय भूमिमा शिर निहुरायो भने नेपालको राष्ट्रिय स्वाभिमान झुक्छ ।

यसै पनि शिर लास्टै घाँडो जिनिस हो । टोक्र्याक्कै जहिल्यै शरीरको माथि बस्नुपर्ने । २–३ किलोको यो डल्लो जहिल्यै बोकेर हिँड्नुपर्ने । कहिल्यै रित्तै हिँड्न नपाइने । हेर्ने आँखा, सुन्ने कान, सुँघ्ने नाकदेखि खाने र अर्ती–उपदेश दिने मुखधरि उसैलाई चाहिने । जेनलाई यता लाग र उता लाग भनेर आदेश दिने नि उही । मान्छेलाई त दासै बनाएको छ नि । त्यसमाथि हामी नेपालीको शिर त नकुरागरम् । कम्ता गोता दिएको छैन यसले । हाम्रा पुर्खाले पुर्खाले यो जिनिसलाई जहिल्यै ठड्याउनुपर्ने चलन चलाए । कहिल्यै झुकाउन नहुने रीति बनाए । बिस्केटको लिंगोसरि शिर ठड्या छ, ठड्या छ । झुकायो कि इज्यत जाने रे !

झुक्यो कि इज्जत गयो । लाग्छ— हाम्रो आधा दिमाग त जीवनभर घनटाउकोलाई ठड्याउँदै जान्छ । बाँकी आधा दिमागले कसरी प्रतिस्पर्धा गर्नु विश्वसँग ? धन्न यही शिरै ठड्याउने प्रतिस्पर्धामा चैं हामी खरै उत्रिन सकिरहेका छम् । तपाईं उधुमै राष्ट्रवादी प्रधानमन्त्री भएकाले यो प्रतिस्पर्धामा अझै खरो उत्रिन शिर ठाडो पार्ने केही टेक्निकहरू सुझाउँदै छम् ।

भारतीय प्रधानमन्त्रीसँग हात मिलाउँदा ख्याल गर्नू । हात मिलाउँदा झुकिएला फेरि । सकेसम्म मोदीजीलाई कुनै टुल अथवा टेबलमा उभ्याएर हात मिलाम्नू । यसो गर्दा तपाईंले माथि हेर्नु पर्छ र नेपाली प्रधानमन्त्रीको शिर ठाडो हुन्छ । मोदी निहुरिन पर्ने हुँदा उनको शिर झुक्छ ।

सोफामा बस्दा नि सिलिङतिर हेरेर बस्नुहोला । केही गरी तलतिर हेर्नुभो भने बर्बाद हुन्छ । शिर झुक्छ । यस क्रममा चेस्मा लगाउन नभुल्नू । खाली आँखा बस्दा सिलिङबाट धूलो झ¥यो भने आँखामा पर्न सक्छ । आँखामा धूलो पर्यो भने ‘मेरी आम्मै नि’ भनी आँखा मिच्दाहुँदी शिर झुक्न सक्छ ।

रात्रिभोजमा दारु मनग्गे खानुहोला । दारु खाएसी ठूला कुरा गर्ने आँट आउँछ । तर, गिलासाँ नखानुहोला । गिलासाँ खादा टाउको निहुराउनु पर्ने हुन्छ । करुवामा खानु होला । करुवामा कोक्ल्याक कोक्ल्याक रुद्रघण्टी बजाउँदै खाँदा टाउको माथितिर फर्काउनु पर्ने हुन्छ । यसो गर्दा शिर ठाडो हुन्छ ।

तुना भएको जुत्ता नलगाउनुहोला । तुना बाँध्दा निहुरिन पर्ने हुन्छ । निहुँरिदा शिर झुक्छ । सुत्दा २–३ वटा तकिया राखेर सुत्नुहोला ताकि सुत्दा नि शिर ठाडै होस् ।

दिल्ली र काठमाडौंको मौसम फरक छ । मौसम फेरिँदा रुघाखोकी लाग्न सक्छ । के भो भनेर सोध्लान् । सीधै कि टीबी कि त क्यान्सर लागेको भन्नू । सानोतिनो रोग लाग्यो भन्यो भने मुलुकको इज्यत जान्छ ।

तपाईंको सम्मानमा गार्ड अफ अनर दिन खोज्लान् । तपाईं गार्ड अफ अनर हैन, ‘गार्ड अफ हनर’ देऊ भन्नुस् । एच–ओ–एन–ओ–यू–आर पनि अनर हुन्छ ? हनर पो हुन्छ । तिनीहरूले के–ए ‘क’, के–एच–ए ‘ख’ नै पढेका छैनन् कि क्या हो ? हामी वीर नेपाली अंग्रेजलाई हराएका मान्छे हम् । त्यो अंग्रेजले छोडेको अनरमा सम्मान किन खाने ? हनरमै खाने हो । यसरी भारतीयलाई अंग्रेजले छोडेको अंग्रेजीमै हराइसकेसी हाम्रो शिर कम्ता ठाडो हुन्न ।

अझ सकिन्छ भने त घाँटीदेखि ढाडसम्म बलियो भाटो बाँध्नु राम्रो । यसो गर्दा घाँटी लच्किने सम्भावना हुन्न । घाँटी नलच्केसी शिर झुक्दै झुक्दैन । तर, घाँटीमा बाँधेको भाटो भने देखाउनु हुन्न । घाँटीको भाटो के रच भनेर ट्वाँ परेर हेर्नेहुँदी उनीहरू तपैंभन्दा होचा रै’छन् भने उनीहरूको शिर ठाडो हुन सक्छ ।

मुलुकको हित नगर्ने सम्झौता नगर्नुहोला । उनेर्ले चिया खाम् भने भने तपाईंले ‘होइन कफी खाम्’ भन्नू । मिल्क कफी मोदीजीले मागे भने तपाईं ‘होइन ब्ल्याक कफी’ भन्नुस् । भारतले भनेको खुरुखुरु नमान्नुस् । यसरी भारत जाँदा मुलुकको हितमा निर्णय लिनोस् । शिर झुक्ने काम नगर्नुस् ।
हस्त धन्यवाद !
भ्रमण सफलताको कामनासहित,
पूर्वप्रधानमन्त्रीहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here