विश्व प्रसिद्ध अजम्बरी उपन्यास ‘आमा’

0
403

गिरिप्रसाद बुढा मगर

रुसीहरूको माझमा जन्मेर विश्व साहित्यको एक अमर तारा बन्न सफल गोर्कीको विश्व प्रसिद्ध उपन्यास ‘आमा’ हामी नेपाली पाठकहरूका निम्ति पनि अत्यन्तै सान्दर्भिक र महत्वपूर्ण उपन्यास हो । १९०५ को क्रान्ति पूर्वको रुसी मजदुरहरूको जीवन र सङ्घर्षको प्रतिविम्ब उतारिएको यस उपन्यासमा तिनै मजदुरहरूको माझमा बाँचिरहेकी एक साधारण मजदुर नारीलाई आमाको रूपमा प्रस्तुत गर्दै गोर्कीले उपन्यासमा महान् नारी नायिकाको जन्मदिन सफल भएका छन् ।

रक्सीले मात्तिएका श्रीमानहरूबाट गालीगलौज र मारपिट सहेर जीवन गुजार्दै आएका सयौँ मजदुर नारीहरू जस्तै दुःखको जीवन जिउँदै आएकी ती महान् नारी नायिकाको लोग्नेको मृत्युपश्चात् उनका छोरा पाभेल भ्लासोभले मजदुर बस्तीका बहुसङ्ख्यक मजदुरहरूले अपनाउँदै आउको खराब जीवन पद्धतिलाई छाडेर क्रान्तिकारी जीवन पद्धति अँगाल्न थालेपछि उनी पनि आफ्नै छोरासँग काँधमा काँध मिलाएर उभिन्छिन् । क्रान्तिकारी सङ्घर्षको सिलसिलामा पुलिसहरूद्वारा गरिएको मारपिट जस्तो असह्य यातनाको बीचबाट पनि जीवनको सच्चाइ बताइरहेकी महान् आमाको महान् छोरा पाभेल भ्लासोभ जेल जीवनपश्चात् प्रतिक्रियावादी अदालतको फैसला वमोजिम हजारौँ किलोमिटर टाढा सधैका लागि साइबेरिया निर्वासित हुन्छ । यसरी निर्वासित हुने सक्रिय मजदुर पात्र पाभेल भ्लासोभले नै ‘आमा’ उपन्यासको मुख्य पात्र बनेर भूमिका निर्वाह गरेको छ । 

उपन्यासको कथा अनुसार पाभेल जन्मेको समाजमा मजदुरहरूको एउटा यस्तो मर्मस्पर्शी जीवन कहानी हुन्छ कि जहाँ एउटा व्यक्ति जन्मिसकेपछि फैक्ट्रीमा भर्ना हुन्छ । ऊ रात–दिन फैक्ट्रीको मेसिनसँग पौठेजोरी खेल्छ । उसको शरीरको सम्पूर्ण रगत, पसिना र शक्ति त्यसै फैक्ट्रीमा खर्च गर्छ । विदाको समयमा ऊ रक्सी पिउँछ । होसहवास गुमाएर झाडी नजिक अथवा भट्टीमा पल्टिन्छ । कहिलेकाँही ऊ आफ्ना साथीभाइसँग झगडा गर्नाले उसका लुगाहरू च्यातिएका हुन्छन् । माटो र हिलो लागेर उसको शरीर फोहर र घिनलाग्दो भएको हुन्छ । ऊ कहिले आफ्नो साथीलाई पिटेर डिङ हाँक्दै हिँड्छ भने कहिले आफ्नै साथीको कुटाइबाट अनुहारभरि घाउ नै घाउ लिएर अपमानले पिरोलिँदै रुएको हुन्छ । देशमा स्वास्नी, छोराछोरीहरूसँगको उसको व्यवहार पनि यस्तै अत्यन्तै दयनीय, दुखद र घृणास्पद हुन्छ । स्वास्नी छोराछोरीहरूलाई हप्काउने, गालीगलौज गर्ने र कुट्ने उसको दैनिकी हुन्छ । कहिलेकाँही ऊ विरामी पनि पर्छ । ज्वरोको असह्य पीडाबाट जल्दै र आफ्नो जहानबच्चाहरूको दुःख सहन नसकी कहिलेकाँही उसले आफ्नी श्रीमतीलाई “मलाई अलिकता विष दे घ् मारिदे मलाई…” सम्म पनि भन्न पुग्छ । यसरी करिब ५० वर्ष जति यस्तो जीवन बिताइसकेपछि त्यो मान्छे मर्छ ।

यसरी पाभेल जन्मेको समाजमा प्रत्येक व्यक्तिको दैनिक जीवन यस्तै खालको दयनीय, दुःखद, घृणास्पद, पुराना बानीव्यहोरा, संस्कार र विचारहरूको गाँठोमा बाँधिएको हुन्छ । वर्षौंदेखि चल्दै आएको आफ्नो यो अभ्यास्त जीवन पद्धति बदल्ने इच्छा कसैमा हुँदैन । यसरी कहिल्यै नमेटिने गरी मान्छेको दिमागमा बसेको पुरानो जीवन पद्धतिको छापलाई मेटाउँदै पाभेलले कठिन तर गौरवपूर्ण यात्राको सुरुवात गर्दछ । कारखानाका अरू युवाहरूभन्दा ऊ बेग्लै हुन थाल्दछ । उसले रक्सी पिउँदैन । जुवातास खेलेर समय खेर फाल्दैन । ऊ धेरै कम बोल्ने र गम्भीर हुने गर्दछ । आफ्नो शरीर तथा लुगाको सफाइतिर बढी ध्यान दिन थाल्दछ । सधै आमालाई काममा मद्दत गर्ने कोशिस गर्छ । घरमा किताबहरू लिएर आउँछ । लुकीछिपी ऊ गैरकानुनी किताबहरू पढ्ने र लेख्ने गर्छ । जीवन र जगतको यथार्थ बुझ्न ज्यान छाडेर पढ्नु, लेख्नु पर्छ भन्ने भावनामा ऊ अगाडि बढ्छ नपढी, नलेखी न आफूले कुराकानी बुझ्न सकिन्छ, न अरूलाई बुझाउन सकिन्छ भन्ने सोच्दछ । त्यसैले उसले आफ्नी आमालाई भन्ने गर्दछ “सबैभन्दा पहिले त म आफै पढ्छु अनि अरूलाई पढाउन थाल्छु । हामी मजदुरहरूले पढ्नै पर्छ । किन हाम्रो जीवन यति विघ्न कठिनाइहरूले भरिएको छ भन्ने कुरा हामीले थाहा पाउनु पर्छ र बुझ्नु पर्छ ….। ज्ञानले मात्रै मानिसलाई मुक्ति दिन सक्छ ।”

यसरी पाभेल मजदुरहरूको माझमा चेतनाको संवाहक बनेर अगाडि बढ्न थाल्दछ । मजदुरहरूलाई मान्छे जस्तो भएर बाँच्नका लागि पेट भरेर मात्र पुग्दैन । पटे भर्ने काम त जनावरहरूले पनि गरिरहेकै हुन्छन् । मजदुर वर्गले त मान्छे जस्तै भएर बाँच्नको लागि सङ्घर्ष पनि गर्नै पर्छ भन्ने मान्यतालाई स्थापित गर्न पाभेल भन्ने गर्दछ– “हामी त बेबकुफ छौँ, न त जनावरहरूले जस्तै पेट मात्रै भरेर सन्तुष्ट हुन सक्छौँ । हामी मान्छे जस्तो बाँच्न चाहन्छौँ…. ।” 
यसरी रुसी क्रान्तिको तयारी कालमा कठिन सङ्घर्ष गर्दै मान्छे जस्तो भएर बाँच्न चाहने र पार्टीको फैसला मात्रै स्वीकार गर्दै, पार्टीलाई मजबुत बनाएर जारको निरङ्कुश शासनबाट रुसी जनतालाई मुक्त पार्नका लागि पाभेल एक्लैले होइन, कैयौँ रुसी नवयुवकहरूले ठूला ठूला जिम्मेवारीहरू बहन गरेका थिए । तिनै सम्पूर्ण नवयुवकहरूको प्रतिनिधि पात्रको रूपमा पाभेल भ्लासोभलाई आमा उपन्यासमा प्रस्तुत गरिएको छ । यस सम्बन्धमा म्याक्सिम गोर्की स्वयंले भनेका छन्,“…. पाभेल भ्लासोभ पनि कुनै दुर्लभ पात्र होइनन् । यस्तै नवयुवकहरूले बोल्सेभिक पार्टीको सिर्जना गरेका थिए ।”

उपन्यासमा नारी जातिको महानता अथवा आमाको भूमिका बेजोड ढङ्गले प्रस्तुत गरिएको छ । छोरा जेलमा परेको बेला पुलिसहरूका कडा निगरानीलाई पनि छकाउँदै आमाले फैक्ट्रीभित्र मजदुरहरूका बीचमा पर्चाहरू पुर्‍याएर मजदुर आन्दोलनको आधार बलियो बनाउने कार्य सम्पन्न गरेको रोचक प्रसङ्गले हरेक नारी आत्मामा क्रान्तिको जोश नउमाली रहन सक्दैन । एक दिन आमाको आँखामा वेदना र विवशताले बगेको आँसु देखेर एउटा पुलिस अफिसरले आमालाई तिरस्कार गर्दै, “महासया ? धेरै छिटो आँसु बगाउन थाल्नु भयो पछि तपाईलाई यस आँसुको अझ जरुरत पर्नेछ ।” भन्दै गर्दा आमाले उक्त पुलिस अफिसरलाई “आमाको आँखामा सधै आँसुको कमी रहँदैन । यदि तपाईकी आमा हुनु हुन्छ भने उहाँलाई यो कुरा थाहा हुनु पर्छ” भन्ने जवाफ फर्काएर आमाले त्यो पुलिस अफिसरलाई नतमस्तक बनाइदिन्छिन् । वर्गसङ्घर्षमा खारिँदै आमाले एकपछि अर्को गर्दै मानव जीवनको सच्चाइलाई झन् झन् उचाइमा बुझ्दै जान थाल्छिन् । आफूले बुझेको यो सच्चाइलाई आमाले यसरी अभिव्यक्त गर्छिन्– “मैले पनि तिमीहरूको सच्चाइ बुझ्न थालेको छु । जबसम्म धनी–गरिब हुनेछन्, तबसम्म आम जनताले कहिल्यै केही पाउन सक्ने छैनन्† न सुख नै पाउने छन्, न न्याय नै केही पाउने छैैनन् ….।” यही सच्चाइ बुझेकैले “हरेक आमाले आफ्ना छोराहरूलाई हाँसी हाँसी फाँसीको तख्तामा पठाउनु पर्छ । हरेक आमाहरूको त्यस्तो प्रेम हुनु पर्छ, जुन प्रेमी मान्छेका खुट्टा बाँध्ने सिक्री बन्नु हुन्न” भन्ने जस्ता पाभेलका कठोर र तिखो वचन समेत आमाले सहजै आत्मसात गर्छिन् ।

शोषकहरूले आफ्नो राज कायम राख्न शोषित वर्गलाई नै एक दोस्रोको विरुद्ध उभ्याइदिएका छन् । सबका हात–खुट्टा बाँधिदिएका छन् र निचोरी निचोरीकन रगत चुस्दैछन् । एकका विरुद्ध अर्कालाई प्रयोग गर्दै मिच्दैछन् र चुस्दैछन् । मानिसहरूलाई बन्दुक, डण्डा र पत्थर बनाइदिएका छन् र यसैलाई राज्यसत्ता भनेका छन् । शोषक वर्गले भन्ने गरेका यही राज्यसत्तालाई ढाल्नु पर्छ भन्ने छोरा पापभेलको अठोटलाई आमाले राम्ररी बुझ्दछिन् अर्थात् आमाले पाभेललाई जन्म मात्र दिँदैनिन । उनले त आफ्नी छोरालाई वैचारिक रूपमा पनि साथ दिन्छिन् । त्यसैले आमाले भन्छिन्, “हाम्रँे जिन्दगी नै हाम्रा बालबच्चाहरूका लागि हो । सारा संसार नै उनीहरूका लागि हो ।”

यसरी रुसी क्रान्तिको तयारी कालमा भूमिगत कार्यहरूमा सामेल भएर कहिले कारखानाका मजदुरहरूका बीचमा त कहिले दुरदराजमा बस्ने गाउँका किसानहरूका बीचमा तीर्थयात्रीको भेषधारण गरेर पर्चा, पुस्तकहरू पुर्‍याउने र यसरी क्रान्तिमा योगदान दिने कार्यमा पेलागिया निलोभ्ना नामकी आमा एक्लैले होइन, कैयौँ रुसी आमाहरूले ठूला ठूला जिम्मेवारीहरू वहन गरेका थिए । तिनै सम्पूर्ण आमाहरूको प्रतिनिधि पात्रको रूपमा पेलागिया निलोभ्ना नामकी आमालाई उपन्यासमा प्रस्तुत गरिएको छ । यस सम्बन्धमा गोर्कीले भनेका छन्– “के वास्तवमा पेलागिया निलोभ्नाको अस्तित्व थियो ? क्रान्तिको तयारी कालमा भूमिगत कार्यमा आमाहरूले पनि भाग लिएका थिए । पेलागिया निलोभ्ना नै प्योत्र जालोमोभकी आमाको प्रतिरूप हो । तिनी गोप्य कामहरू गर्थिन् । तिर्थयात्रीको भेषमा पर्चा, पुस्तकहरू पुर्‍याउँथिन ….तिनी अपवाद होइन ।”

क्रान्तिकारी जीवन सङ्घर्षको गाथा कोरिएको यो उपन्यासमा जातिवादका विरुद्ध पनि धारिलो हतियार प्रयोग गरिएको छ । वास्तवमा शोषक वर्गले आफ्नो निजी स्वार्थ पूर्ति गर्ने सवालमा कहिल्यै आफ्नो जात भन्दैन अर्थात् कुनै शोषकले आफ्नै जातका मजदुरमाथि पनि निर्मम दमन गरिरहन्छ । पाएसम्म त्यो शोषकले चाहे आफ्नो जातको होस्, चाहे अर्का जातिका, सबै मजदुरहरूको खुन र पसिना चुस्नमा उसले कुनै कसुर बाँकी राख्दैन । यदि उसले यसरी मजदुर वर्गको रगत र पसिना चुस्न पाएन भने पुलिस सेना वा अरू कुनै लठैत प्रयोग गरेर निर्मम दमन गरिदिन्छ र त्यो दमनले पनि भएन भने उसले मजदुर वर्गलाई मारेरै भए पनि चित्त बुझाउन पछि पर्दैन । त्यसैले उपन्यासमा आन्द्रेई नामको एउटा पात्रले भन्छ– “….भनिन्छ, हाम्रो पृथ्वीमा विभिन्न जनजातिहरू बस्छन् । जस्तै यहुदी र जर्मन, अङ्ग्रेज र तातार । तर म यो कुरा मान्दिनँ । संसारमा दुई थरिका अर्थात् दुई जातिका मात्रै मान्छेहरू छन्, जसका बीचमा कहिल्यै मेल हुन सक्दैन ः धनी र गरिब । धनीहरूको पहिरनै बेग्लै हुन्छ । भाषा नै अर्कै हुन्छ । जब हामी देख्छौँ, धनी फ्रेन्च, जर्मन अथवा अङ्ग्रेज आफ्ना मजदुरहरूसँग कस्तो व्यवहार गर्छन्, तब हामी बुझ्छौँ हामी मजदुरहरूका लागि सब धनीहरू एकै नासका हुन्छन्…. ।”

यसैगरी उपन्यासमा जातिको बारेमा मात्रै होइन, ईश्वर वा धर्मको सन्दर्भमा पनि खरो विरोध दर्शाइएको छ । उपन्यासमा भनिएको छ– “हामीलाई ईश्वरको प्रश्नमा पनि वेवकुफ बनाइदिएका छन् । खोइ कहाँ छन् ती कृपानिधान ईश्वर ? जसका लागि धनी र गरिबमा कुनै अन्तर छैन र जसका लागि हामी सबै प्रिय सन्तान छौँ ?”

वास्तवमा शोषित वर्गका निम्ति न कुनै राष्ट्रियता हुन्छ, न कुनै जातीय र धार्मिक सम्प्रदाय नै हुन्छ । मजदुरहरूका लागि कि त शत्रु छन्, कि त मित्र छन् । एउटा मजदुरको लागि संसारका सबै मजदुर उसका साथीहरू हुन्छन् र संसारका सबै धनी र सबै सरकारहरू उसका शत्रुहरू हुन्छन् । संसारका सबै मजदुरहरू हिजो पनि, आज पनि र भोलि पनि दाजुभाइकै नातामा रहिरहने वर्गीय चिन्तन उपन्यासभरि नै यत्रतत्र छरिएको पाउन सकिन्छ । यसैगरी मान्छेको जीवनमा यदि सुख भन्ने चीज आफै आउँछ भने त्यसुलाई अस्वीकार गर्न नसकिने तर हात फैलाएर सुखका लागि कहिल्यै भिख माग्न नहुने कुरालाई पनि उपन्यासमा बढो मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

उपन्यासमा सत्य र स्वतन्त्र जीवन बिताउने, हृदयमा द्वेष र इष्र्या नभएका समग्र मानव जातिका निम्ति निष्कपट बनेर गहिरो प्रेम र सेवाभाव प्रकट गरिरहने नयाँ वासिन्दाहरू भएका श्रेष्ठतम सौन्दर्यले हराभरा नयाँ विश्वको निर्माण गर्ने वा त्यस्तो उत्कृष्ट युग ल्याउनका लागि सच्चाइलाई जीवनभन्दा पनि प्यारो ठानेर आफ्नो लक्ष्यका लागि आफ्नो इच्छालाई पनि मारिरहेका अर्थात् आफ्नो हृदयको समेत बलिदान दिइरहेका उक्राइनी र आन्द्रेई जस्ता थुप्रै आदर्श पात्रहरूलाई पनि आमा उपन्यासको सुन्दरतम गहना बनाएर सजाइएको छ । जस्तो कि उपन्यासमा भनिएको छ– “यस्ता पनि मान्छेहरू हुन्छन्, जो मित्रता र शान्तिको वातावरणमा मिलेर बस्छन् । आपसमा कहिल्यै गाली गर्दैनन् र रक्सी पिएर मात्तिँदैनन् । एक टुक्रा रोटीका लागि झगडा गर्दैनन्…. त्यस अन्धकारपूर्ण जीवनका मान्छेहरू भन्दा विल्कुलै अर्कै तरिकाले बस्छन् ।”
उपन्यासमा समाजका यस्तै आदर्श मान्छेहरूलाई नै जनताले साथ दिनु पर्ने कुरा बताइएको छ । उपन्यासमा भनिएको छ– “….जनताले यस्तै मान्छेहरूसँग लाग्नु पर्छ । उनीहरू अलि अलि सफलतामा नै सन्तोष मानेर बस्दैनन् । जबसम्म उनीहरूले समस्त धोखेबाजी, लालसा र द्वेष जरैदेखि उखेलेर फाल्ने छैनन्, तबसम्म उनीहरू चुप लागेर बस्ने छैनन् । उनीहरू त्यस बेलासम्म आफ्नो हात बाँधेर बस्ने छैनन्, जबसम्म सारा जनता उठेर एकै आवाजमा भन्ने छैनन्– ‘म नै मालिक हुँ र म आफै त्यो कानुन बनाउँछु, जो सबैका निम्ति एक समान हुनेछ…. ।”

उपन्यासमा व्यक्तिगत सुख–समृद्धि वा पारिवारिक स्वार्थलाई भन्दा क्रान्ति र लक्ष्यलाई नै माथि राख्ने कुरालाई विशेष जोड दिइएको छ । यस सन्दर्भमा उपन्यासमा उल्लेख गरिएको छ– “पारिवारिक जीवनले क्रान्तिकारी शक्ति घटाउँछ । यसबाट उसलाई केही मद्दत हुँदैन । वालवच्चा, आर्थिक अभाव पेट भर्नका लागि धेरै काम गर्नु पर्ने बाध्यता आदि मात्रै थपिन्छन् । क्रान्तिकारीले आफ्नो शक्ति बढाउँदै लैजानु पर्दछ र यस शक्तिलाई अझ गहन र व्यापक तुल्याउँदै जानु पर्छ† किनभने हमी मजदुर हौँ र इतिहासले हामीलाई पुरानो संसार नष्ट पारेर नयाँ जीवन सुरु गर्ने अभिभारा सुम्पेको छ । यदि हामी पछि पर्‍यौँ भने थकाइ मार्न थाल्यौँ भने अथवा सानातिना विजयहरूमा सन्तोष मानेर बस्न थाल्यौँ भने धेरै नराम्रो हुने छ । यो भन्दै आफ्नो उद्देश्यप्रति गद्दारी ठहरिने छ । कुनै त्यस्तो व्यक्ति हुन सक्दैन, जसको साथ हिँड्दा हामी कुनै न कुनै मात्रामा आफ्नो उद्देश्यलाई हानी नपुर्‍याउला, तर सानातिना सफलताहरू होइन, पूर्ण विजय नै हाम्रो एक मात्र लक्ष्य हुनु पर्छ ….।”

यसरी व्यक्तिगत सुख समृद्धि वा पारिवारिक स्वार्थहरूभन्दा पार्टी, क्रान्ति र लक्ष्यलाई प्रमुख ठान्ने महान् मान्छेहरू मात्रै वास्तविक अर्थमा समाजवादी हुन सक्दछन् । यस्ता व्यक्तिहरू मात्रै मानिसहरूलाई विभाजित तुल्याउने र एक–अर्काबीच दुश्मनी फैलाउने, निजी स्वार्थका निम्ति मानिसहरूलाई ज्यानी बैरी बनाइदिने, निजी स्वार्थहरूलाई ढाकछोप गर्ने, दोषीलाई निर्दोष सावित गर्न असत्यको सहारा लिन सिकाउने, मानिसहरूलाई झुट, पाखण्ड र घृणाको संस्कारमार्फत् भ्रष्ट बनाइदिने जस्ता हजारौँ खराबीहरूको मुख्य स्रोत व्यक्तिगत सम्पत्तिको विरोधी हुन सक्दछ । यस्तो व्यक्तिगत सम्पत्तिको विरोध गर्ने समाजवादीहरूले मात्रै सधै अरू कसैको स्वार्थपूर्तिको साधन नबन्न सजक रहन्छन् र उनीहरू सधै क्रान्तिको पक्षमा अडिग रहन्छन् र यस्ता महान् मान्छेहरू त्यस बेलासम्म क्रान्तिमा लागिरहने अठोट बोक्दछन्, जुन बेलासम्म एकथरिले हुकुम मात्र चलाएर बस्नेछन् र अर्काथरिले काम मात्र गरेर जिउनु पर्नेछ अर्थात् श्रम समग्र मानिसहरूका निम्ति अनिवार्य हुने समानताको युग स्थापना नहुञ्जेल क्रान्तिकारीले आफ्नो क्रान्ति जारी राखिरहने छन् । यस्ता महान् क्रान्तिकारीका चेतनालाई रगतको धाराले दबाउन नसक्ने कुरा उपन्यासमा प्रकट गरिएको छ । 

यस प्रकारको विश्व प्रसिद्ध अजम्बरी उपन्यास ‘आमा’ विश्वभरका क्रान्तिकारीहरूको निम्ति समर्पित छ अर्थात् यो उपन्यास मजदुर वर्गका निम्ति लेखिएको छ । क्रान्तिको कठिन र जटिल, तर एक मात्र सही बाटो देखाएर नै यो उपन्यास अजम्वरी हुन सफल भएको छ । उपन्यासमा सच्चाइको खोजी गर्ने र सच्चाइको हिफाजत गर्ने कुरालाई सर्वाधिक महत्व दिइएको छ । उपन्यासमा भनिएको छ– “सच्चाइ हामीलाई दालभात भन्दा पनि प्यारो हुनु पर्छ । सच्चाई पृथ्वीमा लुकीछिपी हिँड्दैछ । घुस्साले सच्चाइलाई दबाउन सकिँदैन । सच्चाइको लडाइँ अन्यायी शान्तिभन्दा वेश हुन्छ । रगतको खोलाले पनि सच्चाइलाई डुबाउन सक्दैन…. ।”
यसरी मजदुर वर्गको पक्षमा लेखेर सच्चाइलाई सर्वाधिक महत्व दिइएको विश्व प्रसिद्ध अजम्वरी उपन्यास “आमा” लाई हामी सबैले नछुटाई पढ्न सके असल कम्युनिस्ट बनेर सच्चाइको मार्गमा अगाडि बढ्न हामी सबैलाई थप बल प्राप्त हुन्थ्यो कि !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here