विश्व दृष्टिकोण बारे मोहन विक्रम सिंह के भन्नु हुन्छ, पढ्नु होस्

0
463

एउटा गम्भीर समस्या :

पार्टीको आजसम्मको स्थिति, समस्या र कमजोरीहरूको मूल्याङ्कन गरिसकेपछि पार्टीका क्रान्तिकारी जिम्मेवारी पूरा गर्न तथा सशक्त सङ्गठन र आन्दोलनको निर्माण गर्न हामीहरू धेरै नै पछाडि परेको कुरामा कुनै शङ्का रहन्न । गतकालमा पार्टीका बेग्लाबेग्लै समस्या र कमजोरीहरूलाई हटाउन हामीले बारम्बार प्रयत्न गरेका छौँ । त्यो दिशामा हामी पूरै असफल भएका छौँ भन्ने होइन । त्यसो भएको भए आज हामीले जुन अवस्था र रूपमा पार्टी र क्रान्तिकारी आन्दोलनलाई बचाउन र अगाडि बढाउन सकिरहेका छौँ, त्यो पनि सम्भव हुने थिएन । तर आजको आवश्यकताको तुलनामा हाम्रा उपलब्धिहरू अत्यन्त कम र अपर्याप्त छन् । त्यो कमीलाई पूरा गर्न पार्टीको सङ्गठन र आन्दोलनलाई गुणात्मक रूपले माथि उठाउन हामीले कामको गतिलाई कैयौँ गुना माथि उठाउनु पर्ने आवश्यकता छ । त्यसो गर्नका लागि जुन प्रश्नले सबैभन्दा बढी महत्व राख्दछ, त्यो हो – विश्व दृष्टिकोणको प्रश्न अर्थात् सर्वहारा वर्गीय विश्व दृष्टिकोणको प्रश्न । तर त्यो प्रश्न यति धेरै महत्वपूर्ण भएर पनि त्यसप्रति हामीले अत्यन्त उपेक्षाको दृष्टिकोण अपनाउने गरेका छौँ । वास्तवमा आजको पार्टीको स्थिति, काम, कमजोरीहरू आदिप्रति समग्र रूपमा विचार गर्‍यौं भने हामीले पाउने छौँ कि आज विश्व दष्टिकोणको प्रश्न नै हाम्रा लागि सबैभन्दा ठूलो समस्या बनेको छ र आज हामी यस्तो अवस्थामा आएर उभिएका छौँ, जहाँ या त हामीले विश्वदृष्टिकोणको समस्यालाई मूलत: हल गर्नुपर्दछ या पार्टी ह्रास र पतनको दिशामा बढ्दै जानेछ – या त यो वैचारिक रूपले एउटा संशोधनवादी र बुर्जुवा पार्टीमा बद्लिनेछ या सङ्गठनात्मक प्रकार विसर्जनको अवस्थामा पुग्नेछ । एउटा सच्चा बोल्शेविक पार्टीको हैसियतले हामीले वास्तविकतालाई इमान्दार र शाहसका साथ स्वीकार गर्न तयार र त्यसपछि त्यसलाई बदल्न प्रयत्नशील हुनुपर्दछ । वास्तवमा विश्वदृष्टिकोणको प्रश्न पार्टीको क्रान्तिकारी भविष्य र अस्तित्वको लागि पनि अत्यन्त गम्भीर प्रश्न भएकोले र त्यसप्रति अहिलेसम्म अत्यन्त उपेक्षाको नीति अपनाएकाले यसबारे हामीले केही विस्तृत विचार गर्नुपरेको छ ।

द्वन्द्वात्मक भौतिकवादको विकासको प्रक्रिया :

विश्वदृष्टिकोणको सर्वहाराकरणको कार्य खालि सैद्धान्तिक प्रश्न मात्र होइन, यो हाम्रो व्यवहारसित धनिष्ट रूपले जोडिएको प्रश्न हो । व्यवहारसित हाम्रो विश्वदृष्टिकोणको सम्बन्धको प्रकृति दोहोरो हुन्छ । प्रथम, जनङ्घर्ष, मुख्यत: वर्ग–सङ्घर्षका दौरानमा नै हाम्रो विश्व दृष्टिकोण स्पष्ट हुँदै जान्छ, द्वितीय, हाम्रो विश्वदृष्टिकोण सही र क्रान्तिकारी बन्दै गएपछि हाम्रो व्यवहारले पनि सही र क्रान्तिकारी रूप लिन सक्दछ । त्यसको अर्को पक्ष यो हो कि हाम्रो विश्वदृष्टिकोण प्रश्न हाम्रो दार्शनिक समझदारीसित पनि घनिष्ट रूपले जोडिएको हुन्छ । त्यसका लागि सामान्यत: माक्र्सवादी–लेनिनवादी दर्शन, विशेषत: द्वन्द्वात्मक भौतिकवादप्रतिको हाम्रो समझदारी साफ हुनुपर्दछ । त्यसपछि नै हामीले कुनै विषयलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले हेर्न सक्नेछौँ र अधिभूतवादी चिन्तनबाट बच्न सक्दछौँ । यस सिलसिलामा सर्वप्रथम कुनै चीजलाई द्वन्द्वात्मक दृष्टिकोणका कारणले बुझ्ने कुराले अत्यन्त ठूलो महत्व राख्दछ । द्वन्द्वात्मक भौतिकवादबारे माक्र्सवादी–लेनिनवादी समझदारी समाज विज्ञान र वर्ग–सङ्घर्षका दौरानमा क्रमश: विकसित हुँदै आएको छ । त्यसरी माक्र्स–एङ्गेल्सको द्वन्द्वात्मक भौतिकवादी चिन्तनलाई क्रमश: लेनिन, स्तालिन र माओ–त्सेतुङले परिमार्जित र विकसित गर्दै आएका छन् । द्वन्द्ववाद र भौतिकवाद दुवैका पक्षमा उक्त कुरा सत्य हो । माक्र्स–एङ्गेल्सले आफ्नो समयमा भौतिकवादबारे जुन प्रकारका विचारहरू प्रकट गरेका थिए, भौतिक पदार्थको स्वरूपबारे मानिसहरूको ज्ञानमा वृद्धि भएपछि भौतिकशास्त्रको क्षेत्रमा उत्पन्न ‘सङ्कट’को पृष्ठभूमिमा लेनिनले भौतिकवादबारे माक्र्सवादी दर्शनलाई अरू परिमार्जित गरे । द्वन्द्ववादबारे पनि माक्र्सवादी–लेनिनवादी चिन्तनमा लगातार विकास हँुदै आएको छ । एङ्गेल्सले द्वन्द्ववादका तीनवटा नियमहरू बताएका थिए । लेनिनले द्वन्द्ववादसम्बन्धी समझदारीलाई परिमार्जित गर्दै परस्परविरोधी तत्वहरूका बीचको एकतालाई “सङ्क्षिप्तमा” द्वन्द्ववादको “सारतत्व” भन्न सकिन्छ भनेका थिए । यद्यपि त्यसका साथै उनले त्यो दिशामा अरू व्याख्या र विकासको आवश्यकता भएको कुरा बताएका थिए । तर त्यसप्रकारको विचार प्रकट गर्ने बेलामा उनले द्वन्द्ववादका अन्य नियम वा विशेषताहरूलाई अस्वीकार गरेको थिएनन् । माओले अन्तर्विरोधलाई द्वन्द्ववादको आधारभूत नियम बताए । द्वन्द्ववादको विकासमा माओ–त्सेतुङले गरेको यो अत्यन्त महत्वपूर्ण योगदान हो । तर यो नै द्वन्द्ववादको अन्तिम रूप होइन, समाज र मानव ज्ञानका विकासका साथै द्वन्द्ववादले अरू उच्चस्तरमा विकास गर्दै जाने कुरा निश्चित छ र, लेनिनले भने झै, त्यसमा (द्वन्द्ववादको विकासमा माओले प्रतिपादन गरेका सिद्धान्तहरूमा) पनि अरू व्याख्या र विकासको आवश्यकता भएको कुरा स्पष्ट छ ।

सर्वहारावर्गको पार्टी, तर सङ्गठनात्मक स्वरूप र चेतनाको प्रकृति निम्न–पूँजीवादी :

कम्युनिस्ट पार्टी सर्वहारावर्गको पार्टी हो, जुन वर्ग मानव जातिको इतिहासमा सबैभन्दा क्रान्तिकारी वर्ग हो । एकातिर, त्यो (सर्वहारावर्ग) उत्पादनका सबै साधनहरूबाट बञ्चित भएकाले यो अहिलेसम्म इतिहासमा देखापरेका सबै शोषित, उत्पीडित वर्गहरु मध्ये सबैभन्दा क्रान्तिकारी हुन्छ र स्वभावले नै त्यो अनुशासित हुन्छ । त्यो वर्ग (सर्वहारावर्ग) को पार्टी भएकाले नै कम्युनिष्ट पार्टीका लागि अरु सबै र पार्टीहरूलेभन्दा बढी क्रान्तिकारी भूमिका खेल्न सम्भव हुन्छ । तर सिद्धान्तत: त्यो कुरा सत्य भएर पनि हाम्रो पार्टीले न सर्वहारावर्गको पार्टीले झै क्रान्तिकारी भूमिका खेल्न सकिरहेको छ, न हाम्रो पार्टी सर्वहारावर्गको पार्टीजस्तै अनुशासित छ । किन त्यसो भएको छ ? हाम्रो पार्टीमा सर्वहारावर्गबाट आएको पार्टी सदस्यहरूको सङ्ख्या नगण्य छ । त्यति मात्र होइन, देशमा सर्वहारावर्गको विकास भएको छैन भने हुन्छ र पार्टीमा निम्न–पूँजीपतिवर्गबाट आएका सदस्यहरूको नै आधिपत्य छ । पार्टीको यस प्रकारको वर्गीय स्वरूप अनुसार नै पार्टीको चेतना पनि बनेको छ, जो निश्चितरूपले निम्न–पूँजीवादी छ । सर्वहारावर्गको पार्टी, तर सङ्गठनात्मक स्वरूप र चेतनाको प्रकृति निम्न पूँजीवादी । त्यस प्रकारको अन्तर्विरोधले नै हामीलाई आफ्नो जिम्मेवारी, सर्वहारावर्गको पार्टीको जिम्मेवारी पूरा गर्न असमर्थ बनाउँछ र बनाएको पनि छ । यो कमजोरीको निराकरण सर्वहारावर्गको दृष्टिकोणको विकासपछि नै सम्भव हुन्छ ।
क्रमश:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here