विश्व दृष्टिकोण बारे मोहन विक्रम सिंह के भन्नु हुन्छ, पढ्नु होस्

0
224

………….
सर्वहारावर्गको पार्टी, तर सङ्गठनात्मक स्वरूप र चेतनाको प्रकृति निम्न–पुँजीवादी :

कम्युनिस्ट पार्टी सर्वहारावर्गको पार्टी हो, जुन वर्ग मानव जातिको इतिहासमा सबैभन्दा क्रान्तिकारी वर्ग हो । एकातिर, त्यो (सर्वहारावर्ग) उत्पादनका सबै साधनहरूबाट बञ्चित भएकाले यो अहिलेसम्म इतिहासमा देखापरेका सबै शोषित, उत्पीडित वर्गहरु मध्ये सबैभन्दा क्रान्तिकारी हुन्छ र स्वभावले नै त्यो अनुशासित हुन्छ । त्यो वर्ग (सर्वहारावर्ग) को पार्टी भएकाले नै कम्युनिष्ट पार्टीका लागि अरु सबै र पार्टीहरूलेभन्दा बढी क्रान्तिकारी भूमिका खेल्न सम्भव हुन्छ । तर सिद्धान्ततः त्यो कुरा सत्य भएर पनि हाम्रो पार्टीले न सर्वहारावर्गको पार्टीले झै क्रान्तिकारी भूमिका खेल्न सकिरहेको छ, न हाम्रो पार्टी सर्वहारावर्गको पार्टीजस्तै अनुशासित छ । किन त्यसो भएको छ ? हाम्रो पार्टीमा सर्वहारावर्गबाट आएको पार्टी सदस्यहरूको सङ्ख्या नगण्य छ । त्यति मात्र होइन, देशमा सर्वहारावर्गको विकास भएको छैन भने हुन्छ र पार्टीमा निम्न–पूँजीपतिवर्गबाट आएका सदस्यहरूको नै आधिपत्य छ । पार्टीको यस प्रकारको वर्गीय स्वरूप अनुसार नै पार्टीको चेतना पनि बनेको छ, जो निश्चितरूपले निम्न–पूँजीवादी छ । सर्वहारावर्गको पार्टी, तर सङ्गठनात्मक स्वरूप र चेतनाको प्रकृति निम्न पूँजीवादी । त्यस प्रकारको अन्तर्विरोधले नै हामीलाई आफ्नो जिम्मेवारी, सर्वहारावर्गको पार्टीको जिम्मेवारी पूरा गर्न असमर्थ बनाउ“छ र बनाएको पनि छ । यो कमजोरीको निराकरण सर्वहारावर्गको दृष्टिकोणको विकासपछि नै सम्भव हुन्छ ।

पार्टीभित्रको अवसरवादका विरुद्धको सङ्घर्ष नै निर्णयात्मक :

गत कालमा हाम्रो पार्टीले कम्युनिस्ट आन्दोलनमा अन्तर्राष्ट्रिय स्तरमा वा देशभित्र देखापरेका विभिन्न अवसरवादी धाराहरूका विरुद्ध लगातार सङ्घर्ष गर्दै आएको छ र हाम्रो पार्टीको त्यसप्रकारको लामो उज्ज्वल र गौरवपूर्ण इतिहास छ । आज हाम्रो पार्टीको क्रान्तिकारी चरित्र जे–जति बचेको छ, त्यसका पछाडि त्यसप्रकारको भूमिकाको पनि ठूलो योगदान रहेको छ । तर हामीले के कुरा राम्ररी बुझ्नुपर्दछ भने बाह्यरूपमा अवसरवादका विरुद्ध गरिने सङ्घर्ष अवसरवादका विरुद्धको सङ्घर्षको खाली गौण र पूरक पक्ष मात्र हो । दीर्घकालीन र वास्तविकरूपमा हाम्रो लागि पार्टीभित्रको अवसरवादको स्रोतका विरुद्धको सङ्घर्ष नै निर्णयात्मक महत्वको कुरा हो । पार्टीभित्र अवसरवादको मुख्य स्रोत पार्टी सदस्यहरूको गैर–सर्वहारा विश्वदृष्टिकोण नै हो र त्यसले लगातार नयाँ–नयाँ अवसरवादी प्रवृत्तिहरूलाई जन्म दिइरहन्छ । कुनै एउटा भड्काव वा गुटका विरुद्ध सङ्घर्ष सिद्धिएपछि पुनः अर्को भड्काव वा गुट पैदा हुन्छ र त्यो क्रम लगातार चलिरहन्छ । जुनबेला पार्टीमा एक वा अर्को रूपमा खुला रूपले भड्काव वा अबसरवाद अगाडि आएको हुन्न, त्यो बेलामा पनि गैर–सर्वहारा दृष्टिकोणका कारणले पार्टीमा विभिन्न रूपमा अवसरवादी प्रवृत्तिहरू पैदा भइरहन्छन्, जुन पार्टीमा सङ्गठन वा आन्दोलनसम्बन्धी विभिन्न क्रियाकलापहरूमा अभिव्यक्त हुने गर्दछन् । त्यो पृष्ठभूमिमा अवसरवादका स्रोतको विरुद्धको सङ्घर्ष निरन्तर चल्ने प्रक्रिया हो र हुनुपर्दछ । पार्टीका सदस्यहरूको चेतनास्तर र सैद्धान्तिक स्तरलाई माथि उठाएर वा उनीहरूको सर्वहाराकरण गरेर नै पार्टीभित्रको अवसरवादका विरुद्ध सशक्त प्रकारले सङ्घर्ष गर्न सकिन्छ र गर्नुपर्दछ ।

जीवन र व्यवहारसित जोडिएको प्रश्न :

वास्तवमा पार्टी सदस्यहरूको विश्वदृष्टिकोणको सर्वहाराकरणको प्रश्न विशुद्ध सैद्धान्तिक वा किताबी प्रश्न नभएर हाम्रो जीवन र व्यवहार वा पार्टीका सङ्गठनात्मक क्रियाकलापहरू वा राजनैतिक आन्दोलनसित घनिष्ट रूपले जोडिएको प्रश्न हो । हाम्रो दृष्टिकोण र सङ्गठनको गैर–सर्वहारा प्रवृत्तिले हाम्रो जीवन, व्यवहार वा आन्दोलनलाई कैयौं प्रकारले क्षति पुर्याइरहेको छ ।

नैतिक आँट, आत्मबल र जुझारूपनको कमी :

कम्युनिस्ट पार्टी मेहनतकश जनताको पार्टी मात्र होइन, मेहनतकश जनताका सबैभन्दा अगाडि बढेका अग्रिम तत्वहरूको राजनैतिक पार्टी हो र त्यस प्रकार सबै प्रतिक्रियावादी र अवसरवादीहरूका तुलनामा हाम्रो पार्टीका सदस्यहरूको सबै चीजहरूलाई हेर्ने दृष्टिकोण मैलिक रूपले बेग्लै र धेरै माथि हुनुपर्दछ । ती कारणहरूले गर्दा अन्य सबै प्रतिक्रियावादी र अवसरवादीहरूका तुलनामा हाम्रो स्तर धेरै माथि हुन्छ र हुनुपर्दछ । त्यसकारणले हामीमा आफूमाथि अगाध आत्मविश्वास हुनुपर्दछ । प्रतिक्रियावादी र अवसरवादीहरूको शक्ति जतिसुकै बढी भए पनि सिद्धान्त र राजनैतिक लाइनका पक्षमा दृढतापूर्वक जुध्ने हामीमा उच्चस्तरको नैतिक आँट र आत्मबल हुनुपर्दछ । तर त्यसको विपरीत हामीमा दुश्मन र विरोधीहरूप्रति प्रायशः पिछलग्गुपन वा आफूलाई एक्लो र कमजोर ठान्ने प्रवृत्तिहरू देखा पर्ने गर्दछन् । कुनै आन्दोलनमा अन्य अवसरवादीहरू पनि संयुक्त छन् वा त्यसकारणले सङ्घर्षको पक्षमा अनुकूल जनमत तैयार बन्दै गएको छ भने हामीमा त्यसप्रति (सङ्घर्षप्रति) उत्साह र जोश देखा पर्छ । तर हामीलाई एक्लै सङ्घर्षमा उत्रनुपरेको छ भने वा कतिपय अवस्थामा अन्य पक्षहरूले आन्दोलनमा धोका दिएकाले उनीहरूको भण्डाफोर गर्दै आन्दोलनलाई एक्लै पनि अगाडि बढाउनुपर्ने आवश्यकता हुन्छ भने हामीमा हिचकिचाहट देखापर्न थाल्दछ । त्यसप्रकारको सैद्धान्तिक स्पष्टता र जुझारूपनको अभावमा सिद्धान्त र राजनीतिको प्रश्नलाई गौण बनाएर पार्टी एकतामा जोड दिने, अवसरवादीहरूका दुश्मन शक्तिहरूका विरुद्धका प्रत्यक्ष वैचारिक वा राजनैतिक सङ्घर्षहरूबाट बच्न चाहने, सङ्घर्षहरूबाट भाग्ने, पार्टीभित्रका विभिन्न प्रकारका गलत प्रवृत्तिहरूसित सम्झौता गर्ने, विरोधीहरूका गलत र भ्रामक प्रचारहरूको दृढतापूर्वक मुकाविला गर्नुको सट्टा तिनीहरूका पछाडि बग्ने आदि प्रवृत्तिहरू पैदा हुन्छन् ।

गैर–सर्वहारा प्रवृत्तिहरू :

पार्टीमा विद्यमान गैर–सर्वहारा विश्वदृष्टिकोण व्यवहारमा अरू पनि कैयौं कमजोरीका रूपमा देखापर्दछ, जस्तै कि पार्टीको काममा पर्याप्त समय दिन वा सहयोग गर्न तयार नहुनु, पार्टी र आन्दोलनका कामका तुलनामा व्यक्तिगत र पारिवारिक स्वार्थहरूलाई प्राथमिकता दिनु वा ती (व्यक्तिगत वा पारिवारिक स्वार्थका कारणले) निष्क्रियता वा पलायनको बाटो समात्नु, अनुशासन र जिम्मेवारी पूरा गर्न पछाडि पर्नु, सैद्धान्तिक वा राजनैतिक पक्षहरूभन्दा व्यक्तिगत सम्बन्ध, मित्रता वा विरोधहरूलाई प्राथमिकता दिएर काम गर्नु, व्यक्तिगत पद, प्रतिष्ठा लाभ वा महत्वाकांक्षाद्वारा प्रेरित भएर काम गर्नु र तिनीहरूमा बाधा पुगेमा निराश वा निष्क्रिय बन्नु, दुश्मन वा विभिन्न प्रकारका अवसरवादी तत्वहरूसित समन्वयवादी दृष्टिकोण अपनाउनु वा उनीहरूको भण्डाफोरमा शिथिलता ल्याउनु, विभिन्न रूपमा इष्र्या, डाहको भावना देखा पर्नु, पार्टीप्रतिको आर्थिक जिम्मेवारीहरू पूरा गर्न पर्याप्त ध्यान नदिनु, जिम्मेवारी र कामहरूमा ढीला–सुस्ती देखाउनु, पार्टीसित सम्बन्ध वा सहयोगी जनवर्गीय सङ्गठनहरूमा काम गर्ने पार्टी सदस्य वा समर्थकहरूले नै ती सङ्गठनहरूमा पार्टीको नेतृत्वदायी भूमिकाबारे असन्तोष वा विरोध प्रकट गर्नु वा जनवर्गीय सङ्गठनहरूका तुलनामा पार्टीको कामलाई गौण बनाउनु पार्टीको सम्पूर्ण कामका तुलनामा इलाकीय काम वा हितहरूलाई प्राथमिकता दिनु आदि । पार्टीमा हामीले यसप्रकारका विभिन्न कमजोरीहरूप्रति बारम्बार छलफल गर्ने, आत्मालोचना वा आलोचना गर्ने र तिनीहरूलाई निराकरण गर्ने प्रयत्न गर्दै आएका छौं ।

तर हाम्रो सफलता अत्यन्त कम रहने गरेको छ । त्यसले बताउँछ कि हाम्रा कमजोरीहरूको स्रोत पत्ता लगाउने प्रश्नमा हामीमा कुनै गम्भीर कमजोरी रहेको छ । गत कालमा हामीले चिन्तन र दृष्टिकोणमा अन्तरनिहित दोषका कारणले पार्टीमा उक्त कमजोरीहरू उत्पन्न भएका हुन सक्दछन् । यो पक्षप्रति हाम्रो ध्यान जाने गरेको छैन र त्यो कोणबाट आफ्ना कमजोरीहरूको छानबीन वा तिनीहरूको निराकरणप्रति हामीले प्रायशः ध्यान दिने गरेका नै छैनौं भने हुन्छ । त्यसकारण हामीले हाम्रो राजनैतिक वा सङ्गठनात्मक कमजोरीहरूका कारण हाम्रो चिन्तन र दृष्टिकोणमा खोजेर तिनीहरूलाई समाधान वा निराकरण गर्न गम्भीरतापूर्वक प्रयत्न गर्नुपर्ने आवश्यकता छ । त्यसको अर्थ अन्य हाम्रा कमजोरीहरूका सम्भावित पक्षहरूमाथि ध्यान नदिने भन्ने होइन ।

क्रमशः…….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here