विश्व कम्युनिस्ट आन्दोलनको घामछाया

0
907
  • टिकाराम उदासी

नेपाली समाजमा प्राज्ञिक अध्ययन, अनुसन्धान र विमर्शको न त त्यति लामो परम्परा छ, न त त्यसप्रति समर्पित बौद्धिक व्यक्तित्वहरुको लामो सूची नै । त्यसमा पनि विश्व राजनीतिक इतिहास र दर्शनका क्षेत्रमा बौद्धिक हस्तक्षेप गर्न सक्ने हैसियतका बुद्धिजीवीहरु त झन नगण्य नै रहेका छन् । पछिल्लो केही दशकयता भने नेपाली समाजमा पनि केही युवा हस्ताक्षरहरुले यसतर्फ गम्भीर चासो र समर्पण समेत देखाई रहेको पाइनु निश्चय नै स्वागतयोग्य कुरा हो । यस परिप्रेक्ष्यमा केही समयदेखि निरन्तर विश्व कम्युनिस्ट आन्दोलनको इतिहास सम्बन्धी खोज र लेखनमा सक्रिय रहेका एउटा प्राज्ञिक प्रतिभा हुन्, शशिधर भण्डारी । त्यसो त भण्डारी नेपालको प्रगतिशील साहित्यिक सांस्कृतिक आन्दोलन र जनपक्षीय पत्रकारिताका क्षेत्रका पनि एक स्थापित नाम हो । प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष र हाँक साप्ताहिकका सम्पादक समेत भएर काम गरी सकेका भण्डारीको जन्म प्युठान नगरपालिका ६, माझकोट, बडिचौरमा २०२४ सालमा भएको हो । विगत केही समय काठमाडौँमा बसेर वामपन्थी राजनीति, जनपक्षीय पत्रकारिता र प्रगतिशील आन्दोलनमा संलग्न रहेका भण्डारीको स्थायी निवास हाल घोराही उपमहानगरपालिका–३, कुइरेपानीमा रहेको छ । साथै पछिल्लो केही समयदेखि उनले दाङलाई नै आफ्नो साधना क्षेत्र बनाई रहेका देखिन्छन् । औपचारिक रूपमा त्रिभूवन विश्व विद्यालय, कीर्तिपुरबाट इतिहास विषयमा स्नातकोत्तर (एम.ए.) उत्तीर्ण गरेका लेखक भण्डारीका यस अघि विश्व कम्युनिस्ट आन्दोलनको इतिहास (खण्ड १), खस आर्य पहिचानको सन्दर्भ, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज : उद्भव र विकास, जलजलाको मौन निमन्त्रणा र हाम्रो रोल्पा भ्रमण, कम्युनिस्ट कूटनीति, दलित विमर्श गरी ६ वटा विविध विधाका कृतिहरु प्रकाशित भई सकेका छन् । तीमध्ये प्राय: सबै कृतिहरु इतिहास विधा र समाज शास्त्रसँग सम्बन्धित रहेका छन् । यसै क्रममा सातौँ कृतिका रूपमा उनको पछिल्लो पुस्तक विश्व कम्युनिस्ट आन्दोलनको इतिहास (भाग २) प्रकाशित हुन पुगेको छ । यसरी उनको रुचि र साधना क्षेत्रको केन्द्रभागमा इतिहास विधा नै रहेको स्पष्ट हुन्छ । उनी स्वयं इतिहासका विद्यार्थी भएका कारण लेखनको क्षेत्र नै इतिहास बनाउनुलाई स्वाभाविक र सान्दर्भिक नै मान्न सकिन्छ । त्यसमा पनि उनले वामपन्थी राजनीतिक इतिहासका आरोह–अवरोहबारे बढी चासो र चिन्ता राखेको पाइनुलाई पनि समकालीन लेखनवृत्तमा पृथक प्राज्ञिक पहिचानको मानकका रूपमा लिन सकिन्छ ।

विश्व नेपाली पुस्तक सदन, काठमाडौँले २०७४ सालमा सर्वप्रथम प्रकाशित गरेको लेखक शशिधर भण्डारीको समीक्षा विश्व कम्युनिस्ट आन्दोलनको इतिहास, भाग २, नामक कृति लेखकीय, भूमिका र विषयसूची बाहेक जम्मा ३२३ पृष्ठमा समेटिएको छ । सबै जोड्दा झण्डै साढे तीन सय पृष्ठको भीमकाय प्रस्तुत कृतिको आरम्भमा स्वयम् अभाव र सङ्कटका बीचमा बााचेर पनि लेखकलाई शिक्षाको प्रकाश दिने आफ्ना बुबा घनश्याम भण्डारीलाई समर्पण गरिएको छ । त्यसपछि कृतिमा लेखकीय मन्तव्य, अनि त्रिभुवन विश्व विद्यालय, इतिहास केन्द्रीय विभागका वरिष्ठ प्राध्यापक एवं राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीको गहन भूमिका समावेश गरिएको छ । त्यसपछि क्रमागत रूपमा विषय सूची समावेश भएको छ । साथै पछिल्ला पृष्ठहरुमा विषयसूचीको क्रम अनुसार विभिन्न शीर्षक र उपशीर्षक अन्तर्गत विययवस्तुबारे उदाहरण सहित प्रकाश पारिएको छ । यस कृतिमा जम्मा २६ अध्यायहरु रहेका छन् । साथै कृतिको अन्त्यमा उपसंहार र सन्दर्भ सूची समेत राखिएको छ । यसैले लेखक भण्डारीको यो कृति ठुलो परिश्रमको प्रतिफल मात्र नभएर एउटा गहन अनुसन्धान र विश्लेषणको परिणतिका रूपमा सार्वजनिक भएको देखिन्छ । पुुछारमा राखिएको सन्दर्भ सूचीले कृतिको प्रमाणिकता र आधिकारिकता दुबैलाई एकैसाथ पुष्टि गरेको छ ।

भण्डारीको प्रस्तुत कृतिको अध्याय एकमा एसियामा कम्युनिस्ट आन्दोलनको उद्भव शीर्षक अन्तर्गत भारतीय कम्युनिस्ट आन्दोलनको परिचय, भारतमा कम्युनिस्ट पार्टीको स्थापना, त्यसको परिचयात्मक इतिहास र समयक्रममा देखिएका विविध साङ्गठनिक र वैचारिक विभाजनहरुको चर्चा/परिचर्चा समेत गरिएको छ । साथै यस अध्यायमा भारतीय कम्युनिस्ट आन्दोलनका महत्वपूर्ण व्यक्तित्वहरु मानवेन्द्र नाथ राय, मुजफ्फर अहमद, बालचन्द्र त्रिम्वाक रणदिवे, पुरन चन्द जोशी, चारू मजुम्दार, ज्योति बसु, कानु सान्यालहरुको चिनारी र भारतीय कम्युनिस्ट आन्दोलनमा उनीहरुले खेलेको भूमिकामाथि पनि प्रकाश पारिएको छ । अध्याय दुईमा नक्सलवाडी विद्रोह र भारतको उत्तरवर्ती कम्युनिस्ट आन्दोलन शीर्षक अन्तर्गन भारतमा नक्सलवाडी आन्दोलनको उठान, सशस्त्र विद्रोह, विभिन्न क्षेत्रमा त्यसको प्रभाव र विसर्जनका बारेमा विश्लेषण गरिएको छ  । त्यस्तै, अध्याय तीनमा पाकिस्तानको कम्युनिस्ट आन्दोलनमाथि प्रकाश पारिएको छ । भारत र पाकिस्तान अलग हुनु अघि एउटै कम्युनिस्ट पार्टीभित्र रहेका कम्युनिस्ट नेता र कार्यकर्ताहरु देश अलग भएपछि छुट्टिदाको मार्मिक प्रसङ्ग सहित लेखकले यस अध्यायमा सैन्य विद्रोहको योजना, आम निर्वाचनको षडयन्त्र, जातीय नाराको नकारात्मक परिणाम, अयुव खाँ र भुट्टोकरणले पार्टीमा गरेको गम्भीर क्षति अनि इस्लामीकरणले त्यहाँको कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको गम्भीर धक्का जस्ता कुराहरुबारे जानकारी दिइएको छ । अध्याय चारमा बङ्गलादेशको लाल बङ्गालको नारा शीर्षकभित्र त्यहाँ भएको मुक्तियुद्ध, राज्यआतङ्क र त्यसले गरेको क्षति, अनि साम्राज्यवादीहरुले गरेको एनजिओकरणमा फसेको आन्दोलनबारे चर्चा भएको देखिन्छ भने अध्याय पाँचमा श्रीलङ्काका कम्युनिस्ट आन्दोलनबारे प्रकाश पारिएको छ । यसमा श्रीलङ्काको सशस्त्र युद्ध, त्यसपछिका आरोह–अवरोह, उग्र वामपन्थी भड्काव र राज्यआतङ्कबारे चर्चा भएको छ । यस कृतिको अध्याय छ मा आएर नेपालको कम्युनिस्ट आन्दोलनका बारेमा चर्चा गरिएको छ । यसभित्र नेपालमा कम्युनिस्ट पार्टीको स्थापना, त्यसमा देखिएका प्रमुख मोड र धार अनि आन्दोलनमा संलग्न पुष्पलाल श्रेष्ठदेखि निर्मल लामा, मोहन विक्रम सिंह हुँदै मदन भण्डरी र पुष्पकमल दाहाल प्रचण्डको भूमिकाका बारेमा लेखकले आफ्ना विचारहरु प्रस्तुत गरेका छन् । त्यस्तै, कृतिको अध्याय सातमा नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास, विभिन्न प्रकृति र नामका देखिएको विभाजन, तिनले जन्माएका विविध धारहरुका बारेमा व्याख्या भएको छ । साथै यसमा २००७ सालदेखि आजसम्म भएका विभिन्न क्रान्ति र आन्दोलनमा नेपालका वामपन्थी पार्टीहरुले खेलेका भूमिका र आगामी कार्यभारमाथि पनि चर्चा भएको देखिन्छ । यस क्रममा लेखकले माओवादी जनयुद्ध, त्यसका प्रभाव र विसर्जनमाथि पनि आफ्ना टिप्पणीहरु प्रस्तुत गरेका छन् । उनको यो संश्लेषणले नेपाली कम्युनिस्ट आन्दोलनको आगामी दिशा र भविष्यका बारेमा पनि केही गम्भीर प्रश्नहरु उठाएको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनका बारेका अहिलेसम्म धरैले आफ्ना आलेख, अनुभवपरक संस्मरण र टिप्पणीहरु सार्वजनिक गरेका भए तापनि इतिहासकै रूपमा भने भीम रावलको नेपालमा साम्यवादी आन्दोलन : उद्भव र विकास (२०४८), डा. सुरेन्द्र केसीको नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास, भाग १ (२०५६) र भाग २ (२०६०), दीर्घ प्रसाद पाण्डेको नेपाली कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास (२०६७) जस्ता केही कृतिहरु नै बढी आधिकारिक र चर्चामा रहेका छन् । यस सन्दर्भमा लेखक भण्डारीका नेपाली कम्युनिस्ट आन्दोलनबारेका यस कृतिमा प्रस्तुत कतिपय तथ्यहरु विचारणीय र दृष्टिकोणहरु विचारोत्तेजक समेत रहेका छन् ।

त्यस्तै, अध्याय आठमा भियतनामको राष्ट्रिय मुक्ति तथा कम्युनिस्ट आन्दोलन शीर्षकमा हो ची मिन्हको परिचय, त्यहाँको मुक्ति सङ्घर्षमा उनले खेलेको ऐतिहासिक भूमिका, कम्युनिस्ट पार्टीको स्थापना, जनवादी गणतन्त्रको स्थापना तथा फ्रान्सको प्रभुत्वका विरुद्धमा भएको राष्ट्रिय मुक्ति आन्दोलनका बारेमा पनि चर्चा भएको छ । अध्याय नौमा अमेरिकी र कम्युनिस्ट भियतनाम युद्ध शीर्षकभित्र अमेरिकी साम्राज्यवादको हस्तक्षेपका विरुद्ध भियतनामी जनताले गरेको सशक्त प्रतिरोध र ऐतिहासिक विजयका बारेमा जानकारी दिइएको छ । अध्याय दशमा कम्बोडियाको कम्युनिस्ट आन्दोलनका बारेमा चर्चा गरिएको छ भने अध्याय एघारमा कम्बोडियामा भएको समाजवादी बर्बादीको योजना अन्तर्गत भियतनाम र कम्बोडियाबीच भएको खराब युद्धमाथि प्रकाश पारिएको छ । यस्तै, कृतिको अध्याय बाह्रमा लेखकले मङ्गोलियाको जनगणतन्त्रका बारेमा, अध्याय तेह्रमा कोरिया प्रायद्वीपमा कम्युनिस्ट आन्दोलनभित्र किम इल सुङको भूमिका, सोभियत रुसको अभिभावकत्व, जापानी साम्राज्यवादका विरुद्ध विद्रोह, उत्तर कोरियामा व्यवस्थित कम्युनिस्ट सरकार, आजको उत्तर कोरिया जस्ता विभिन्न सन्दर्भहरु प्रस्तुत गरिएको छ । अध्याय चौधमा इन्डोनेसियाको कम्युनिस्ट आन्दोलन र त्यसमाथि साम्राज्यवादीहरुको गिद्धेदृष्टि, कम्युनिस्टहरुको संहार तथा त्यहाँको पछिल्लो स्थितिबारे जानकारी छ । यस्तै, अध्याय पन्ध्रमा फिलिपिन्सको कम्युनिस्ट आन्दोलनका बारेमा चर्चा भएको छ । त्यस्तै, अध्याय सोह्रमा ल्याटिन अमेरिकामा कम्युनिस्ट आन्दोलनको उद्भव अन्तर्गत फिडेल क्यास्ट्रो, अर्नेस्टो चे ग्वेभाराले त्यहाँको आन्दोलनमा खेलेको भूमिका अनि उनीहरुको लोकप्रियताका बारेमा विमर्श गरिएको छ । साथै यसमा क्युबाको कम्युनिस्ट आन्दोलन, त्यहाँको क्रान्ति, विश्व कम्युनिस्ट आन्दोलनमा चे ग्वेभाराको विवाद तथा क्वुबा मोडेलको समाजवादबारे पनि जानकारी दिने काम भएको छ । अध्याय सत्रमा पेरूको कम्युनिस्ट आन्दोलनका विविध आरोह–अवरोहबारे चर्चा भएको छ । साथै यसमा पेरूको कम्युनिस्ट पार्टीले गरेको युद्ध, अमेरिकी हस्तक्षेप, पार्टी अध्यक्ष गोन्जालोको गिरफ्तारी र त्यहाँको कम्युनिस्ट पार्टीले खाएको स्याड ब्याक आदिबारे परिचर्चा गरिएको छ । अध्याय अठारमा चिलीको कम्युनिस्ट आन्दोलन, जनविद्रोह, अमेरिकी साम्राज्यवादको षडयन्त्र र कम्युनिस्टहरुको संहारबारे जानकारी गराइएको छ । यस्तै, अध्याय उन्नाइसमा ब्राजिलको कम्युनिस्ट आन्दोलन, अध्याय बिसमा अर्जेन्टिनाको कम्युनिस्ट आन्दोलन, अध्याय एक्काइसमा मेक्सिकोको कम्युनिस्ट आन्दोलन, अध्याय बाइसमा भेनेजुयलाको कम्युनिस्ट आन्दोलन, अध्याय तेइसमा कोलम्बियाको कम्युनिस्ट आन्दोलन र अध्याय चौबिसमा अस्ट्ेरलियाको कम्युनिस्ट आन्दोलनबारेमा महफ्वपूर्ण जानकारीहरु उल्लेख भएको देखिन्छ । लेखकले माथि उल्लेखित सबै देशमा भए/गरेका न्यायपूर्ण आन्दोलन, विद्रोह र सशस्त्र सङ्घर्ष, सबैजसो कम्युनिस्ट देशहरुमा भएको साम्राज्यवादी घुसपैठ, हस्तक्षेप र त्यसका परिणतिहरुका बारेमा विश्लेषण गरेका छन् । उनले ती सबै ऐतिहासिक घटना, तथ्य र परिणामहरुका माध्यमबाट विश्व कम्युनिस्ट आन्दोलनका विविध उज्याला र आध्यारा आयामहरुलाई उजागर गरी दिएका छन् । यस्तै, अध्याय पच्चिसमा विश्व कम्युनिस्ट आन्दोलनमा एकताको प्रयत्न शीर्षक अन्तर्गत रिमको स्थापना, त्यसका गतिविधि र त्यसभित्र देखिएको माओवादबारेको विवादमाथि प्रकाश पारिएको छ भने अध्याय छब्बिसमा विश्व कम्युनिस्ट आन्दोलनमा एकताको अर्को प्रयत्न शीर्षकमा आइकोरको गठन, त्यसको संरचनागत स्वरूप र त्यसले गरेका गतिविधिका बारेमा समेत सङ्क्षेपमा चिनारी गराइएको छ । यसैभित्र नव उपनिवेशवादलाई विश्व कम्युनिस्ट आन्दोलनको चुनौतीका रूपमा व्याख्या गरिएको छ । बहुराष्ट्रिय निगम, आर्थिक सहायता, सैनिक हस्तक्षेप, राजनीतिक हस्तक्षेप, एक धु्रवीय विश्व र वहुध्रुवीय एसियाका विचार आदि विभिन्न नाममा आज नव उपनिवेशवाद संसारभरि फैली रहेको तथा त्यसको बहुआयामिक प्रभावहरुलाई पराजित गरी अगाडि बढ्नु नै आजको विश्व कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती भएको लेखकको निष्कर्ष देखिन्छ । समग्रमा भारत, पाकिस्तान, बङ्गलालेश, श्रीलङ्का, नेपाल जस्ता दक्षिण एसियाली देशहरुदेखि यस कृतिमा भियतनाम, कम्बोडिया जस्ता दक्षिण–पूर्वी एसिया, त्यस्तै मङ्गोलिया, कोरिया, इन्डोनेसिया, फिलिपिन्स, अस्ट्रेलिया जस्ता देशको कम्युनिस्ट आन्दोलन, तिनका सफलता र असफलताबारे चर्चा भएको छ । यस्तै, क्युबा, पेरू, चिली, ब्राजिल, मेक्सिको जस्ता ल्याटिन अमेरिकी देश अनि त्यहाँका केही चर्चित कम्युनिस्ट योद्धाहरुको साहसलाई पनि लेखकले समेटेका छन् । यसरी मूलत: दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र ल्याटिन अमेरिकी देशको कम्युनिस्ट आन्दोलनका ऐतिहासिक आरोह–अवरोह तथा आजको विश्व कम्युनिस्ट आन्दोलनको स्थितिबारेको विमर्श समेतलाई लेखकले यस कृतिमा उल्लेख गरेका छन् । समकालीन विश्व कम्युनिस्ट आन्दोलनका चुतौतीहरुका बारेमा चर्चा गर्दा लेखकले बाह्य चुनौतीहरुका बारेमा त उल्लेख गरेको देखिन्छ तर स्वयम् कम्युनिस्ट आन्दोलनभित्र बारम्बार देखा पर्ने गलत चरित्र र प्रवृत्ति तथा घरेलु राजनीतिमा विद्यमान परम्परागत राजनीतिको प्रभाव र पुरातन प्रवृत्तिहरु जस्ता सन्दर्भ आदिलाई पनि चुनौतीका रूपमा थोरै भए पनि व्याख्या गरेको भए अझ राम्रो हुने थियो ।

इतिहास विगतका घटना र तथ्यहरुको सूची मात्र नभएर त्यसको गति र परिणामको समग्र दस्तावेज पनि हो । साथै इतिहास कुनै विद्वानको शास्त्रीय ज्ञान वा जिज्ञासुको कण्ठाग्र गर्ने विषय नभएर समाजलाई अगाडि बढाउने महफ्वपूर्ण शिक्षा पनि हो । इतिहास विगत यात्राको गम्भीर समीक्षा गर्ने महफ्वपूर्ण सन्दर्भ सामग्री र गतिलो भविष्य निर्माण गर्नका लागि चाहिने बलियो आधारभूमि दुबै हो । यस परिप्रेक्ष्यमा शशिधर भण्डारीको प्रस्तुत कृतिले विश्व कम्युनिस्ट आन्दोलनको इतिहास र त्यसभित्रका बहुविध उज्याल–अँध्यारा आयामहरुलाई नेपाली पाठकहरु समक्ष प्रस्तुत गरेका मात्र छैन, यसले नेपाली कम्युनिस्ट आन्दोलनको समग्र यात्राक्रम, समकालीन गति र आगामी दिशाबारे गम्भीर समीक्षाको पनि निमन्त्रणा गरेको छ । नेपाली राजनीतिमा देखिएको कम्युनिस्ट चिन्तनको प्रभाव र गतिलाई बुझ्न चाहने कम्युनिस्ट र गैर कम्युनिस्ट दुबै थरिका पाठकहरुका लागि यो कृति पठनीय छ । यसले निश्चय नै धेरै नेपाली पाठकहरुको विश्व कम्युनिस्ट आन्दोलनबारेका महफ्वपूर्ण जिज्ञासाहरुलाई समाधान गरी दिने छ । साथै समकालीन विश्व कम्युनिस्ट आन्दोलनका प्रमुख चुनौतीहरुका बारेमा पनि प्रकाश पारिएकाले त्यसले नेपालका कतिपय कम्युनिस्ट पार्टी, नेता र कार्यकर्ताहरु समेतलाई अगाडि बढ्न मार्गनिर्देशन पनि गर्ने छ । यसरी प्रस्तुत कृति विश्व कम्युनिस्ट आन्दोलनको दस्तावेज मात्र नभएर दोस्रो विश्वयुद्धपछिको विश्व राजनीतिक इतिहासकै एक चर्चायोग्य पृष्ठहरुले भरिएको पुस्तक हो । मूलत: यसले दोस्रो विश्वयुद्धपछिको विश्व राजनीति र त्यसमा कम्युनिस्टहरुको उपस्थितिलाई यसले प्रतिबिम्बित गरेको छ । शायद यही नै लेखक शशिधर भण्डारीको प्रस्तुत कृतिको सबैभन्दा ठुलो प्राप्ति हो । यस अर्थमा नै उनको यो मिहिनेत र प्रयास सार्थक बन्न पुगेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here