विश्वास र संदेहबीचको द्वन्दात्मक सम्बन्ध

0
240

– समिर सिंह

विश्वास [beliefs] र संदेह [doubt] बीचको दोहोरो सम्बन्धलाई अमेरिकी दार्शनिक चाल्र्स पियर्सले निकै सहज तरिकाले प्रष्टाएका छन् । उनी आफ्नो पुस्तक Philosophy of recent times मा भन्छन्–‘हाम्रो लागि विश्वास यस प्रकारको हुनुपर्दछ कि त्यसले हाम्रा हरेक क्रियाकलापहरूको पथ पर्दशन गरून् । जसले हाम्रा इच्छाहरू पुरा गरून् ।’ त्यसका साथै उनी आफ्नो सोही पुस्तकमा यो पनि भन्छन्–‘संदेह जसलाई असन्तुष्टिको अवस्था भन्दछन्, को अवस्थाबाट नै हाम्रो क्रियाशीलताको प्रारम्भ हुन्छ र त्यसबाट मुक्त हुदै विश्वासको अवस्थासम्म पुग्ने हाम्रो लक्ष्य हुनुपर्दछ ।’

मानव जीवनको हरेक गतिविधिहरूमा विश्वास र संदेहबीच द्धन्दात्मक सम्बन्ध हुने गर्दछ । विश्वास भित्र संदेह लुकेको हुन्छ त्यसका साथै संदेहमाथि विश्वास पनि गर्न सक्नु पर्दछ । कसैप्रति अत्यन्तै विश्वास मात्र गर्नु अर्कोतिर एकहोरो प्रकारले संदेह मात्र गर्नु–यी दुवै पद्धतिहरू उपयुक्त हुदैन होला । यस प्रकारका दुवै अतिहरूबाट बच्दै एउटा सही प्रकारकको जीवन पद्धतितर्फ अग्रसर हुनु नै उचित हुन्छ होला ।

पश्चिमी दर्शनमा संदेहको दर्शनमाथि निकै नै चर्चा गरेको पाइन्छ । फ्रान्सका दार्शनिक रेने देकार्त, हरेक ज्ञानका विषयहरू संदेहात्मक हुने बताए । एउटा रस्सी देखेर सर्पको आभास हुन्छ, पानीमा एउटा लठ्ठी राख्ने हो भने बाङ्गोटिङ्गो देखिन्छ । यसरी इन्द्रिय ज्ञान सन्देहपूर्ण हुने उनको तर्क थियो । वैज्ञानिक ज्ञानभित्र पनि सन्देह अन्र्तनिहीत हुने उनको धारणा थियो । गणितीय ज्ञान, २ जोड २ को योगफल ४ हुन्छ, मा पनि सन्देह गर्न सकिने उनको धारणा थियो । यस सन्दर्भमा उनको के तर्क थियो भने, ‘‘यो पनि त हुन सक्दछ कि ईश्वरले हामीलाई सत्य ज्ञान प्राप्त गर्नको लागि बनाएको नै नहोस् ।” अन्तमा उनी भन्दछन् – cogito ergo sum[i doubt cannot be doubted] अर्थात् उनी के भन्दछन् भने हरेक कुराहरू माथि सन्देह गर्दै जाँदा यो कुरामा शंका गर्न सकिदैन कि ‘म संदेह गरिरहेको छु’ । ‘संदेह प्रक्रिया’ माथि संदेह गर्न नसकिने उनको तर्क थियो । उनको निष्कर्ष थियो– I think therefore I am । म सोच्दछु त्यसकारण मेरो अस्तित्व छ । यसरी उनको दर्शन संदेहबाट शुरू गर्दै असंदिग्ध ज्ञान तर्फ अग्रसर भएको हामी पाउँछौं । संदेहबाट शुरूवात् गरेर असंदिग्ध ज्ञानतर्फ अग्रसर हुने विषयमा चाल्र्स पियर्स र देकार्तको दर्शनमा मिल्दोजुल्दो धारणा रहेको पाउन सकिन्छ ।

पियर्स र देकार्त दुर्वजना माक्र्स, एंगेल्स जस्तो भौतिकवादी दार्शनिक होइनन् । तर पनि यस प्रकारका प्रत्ययवादी दार्शनिकहरूबाट पनि हामी केही कुरा सिक्न सक्छौं । उनीहरूको दर्शनमा हामीले चाहिने कुरा के छ ? त्यसको खोजी गरिनुपर्दछ । हाम्रो जीवन तथा दर्शनको लागि उपयोगी कुरा के छ ? त्यसको अध्ययन गरी आफूलाई मार्ग निर्देशन गर्ने प्रयत्न गर्नुपर्दछ ।

मानव जीवनमा विश्वासको अत्यन्तै ठूलो महत्व हुन्छ । मानवका हरेक क्रियाशीलताको लागि विश्वासले नै थप उर्जा तथा उत्साह प्रदान गरिरहेको हुन्छ । एउटा पहेलो वस्त्र लगाउने जोगीले आफ्नो जीवनलाई नै ईश्वर प्रति समर्पण गरेको हुन्छ । अलौकिक सत्ता प्रतिको विश्वास नै उनको जीवमा त्यस प्रकारको उत्साह आइरहेको हुन्छ । कुनै प्रेमि–प्रेमिकाबीचको सम्बन्धले त्यो अवस्थामा नै विवाहको रूप लिन सक्दछ र त्यो विवाह दिगो हुन सक्दछ जब उनीहरूको एक अर्का प्रतिको विश्वासले घनिष्ट रूप लिन सक्दछ । एउटा कम्युनिष्ट पार्टीमा लागेको मानिस आफ्नो जीवनलाई नै त्यसप्रति समर्पण गरेको हुन्छ, त्यो किन संभव भयो भने उसलाई सो पार्टीको नीति तथा कार्यक्रमप्रति दृढ विश्वास हुन्छ । यदि उसलाई पार्टीप्रति विश्वास घट्दै गयो भने उसको सक्रियता पनि कम हुँदै गइरहेको हुन्छ । पार्टीप्रतिको विश्वास घट्दै जानु भन्नुको अर्थ उसलाई पार्टीप्रति सन्देह उत्पन्न हुँदै जानु हो । र, जब विश्वासको मात्रा पूर्णतया समाप्त भएर जान्छ अनि सन्देहको अवस्था मात्र बाँकि हुन्छ, त्यो अवस्थामा उसको सम्बन्धित पार्टीसित सम्बन्ध समाप्त हुन पुग्दछ । त्यो अवस्थामा फेरि ऊ नयाँ सम्बन्धको खोजीमा हुन्छ ।

घनिष्ट सम्बन्धको आधार विश्वास हो । तर एकहोरो विश्वासले त्यस प्रकारको सम्बन्ध कायम हुन्छ भन्ने होइन । सन्देहको जगबाट नै विश्वासको आधार बलियो हुन सक्दछ । विश्वासको धरातललाई हरेक कोणबाट संदेह गरिरहनुपर्दछ । र, त्यसो हुँदा पनि विश्वासको धरातल डगमगाउदैन भने त्यो नै विश्वासको आधार हुन सक्दछ । त्यस प्रकारको विश्वासको स्वरूप फराकिलो तथा दृढ हुन सक्दछ ।

दर्शनशास्त्रको दुईवटा पक्ष–अध्यात्मवाद तथा भौतिकवाद, दुवैको आधार विश्वासमाथि टिकेको हुन्छ । उनीहरूको दर्शनमा विश्वास नहुँदो हो त कसैले पनि त्यो दर्शनलाई आत्मसात गर्ने नै थिएनन् । तर फरक के मात्र हो भने अध्यात्मवादी दर्शनमा सन्देहको अभाव हुन्छ । यसले ‘ईश्वरको अस्तित्व सार्वभौम छ’ त्यसमाथि प्रश्न गरिनुहुदैन भन्ने तर्क गर्दछ । जबकि भौतिकवादी दर्शन, सन्देहको जगबाट निर्माण भएको हुन्छ । भौतिकवादी दर्शनको के मान्यता छ भने जति संदेह गर्यो, जति विभिन्न कोणबाट प्रश्न ग¥यो त्यति नै कुनै पनि चीजको आधार मजबुत हुने गर्दछ । त्यसरी तयार भएको दार्शनिक सोंच नै बढी विश्वसनीय हुने भौतिकवादी दर्शनको मान्यता छ ।

पूर्वीय दर्शनमा गौतम बुद्धको यस्तै प्रकारको दार्शनिक मान्यता राख्दथे । विचारहरूमाथि विभिन्न प्रकारले तर्क–वितर्क गर्नुपर्ने र हरेक कोणबाट पुष्टि भएपछि मात्रै त्यसलाई स्वीकार गर्नुपर्ने उनको धारणा थियो । उनले आफ्ना शिष्यहरूलाई ‘स्वयं उनकै विचारहरू जस्ताको त्यस्तै स्वीकार गर्नै पर्दछ’ भनेर जोड गर्दैन्थे । ‘मेरा विचारहरूमाथि पनि तर्क वितर्क गर । यदि स्वीकार गर्न योग्य छ भने मात्रै स्वीकार गर’ भनेर उपदेश दिन्थे । उनले आफ्ना शिष्यहरूलाई पक्ष र विपक्षमा रहेर बहस गर्न लगाउथे र सही निष्कर्ष तर्फ पुग्न प्रयास गर्दथे ।

जीवन के हो ? भनेर प्रश्न गर्ने हो भने प्रायः यही जवाफ हुने गर्दछ– ‘जीवन एउटा सङ्घर्ष हो ।’ तर हामीले बुझ्नुपर्ने कुरा के पनि हो भने सङ्घर्ष त्यो अवस्थामा नै हुन्छ जब सन्देह हुन्छ । जब सङ्घर्षले विश्वाससम्मको यात्रा तय गर्दछ अर्थात् जब सङ्घर्षको जगबाट विश्वासको वातावरण तयार हुन्छ त्यो नै जीवनको बिसौनी हुन्छ । तर यात्रा त्यही समाप्त हुँदैन । फेरि त्यहाँ नयाँ प्रकारका सन्देहहरू देखा पर्न थाल्दछन् । फेरि नयाँ प्रकारको सङ्घर्षको स्थिति तयार हुन सक्दछ र यो प्रक्रिया निरन्तर तथा अझ उच्च रूपमा चलिरहेको हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here