वामपन्थी खेमाभित्र सेलिब्रेटी प्रथा

0
151
  • युवराज आचार्य

अहिले राजनीतिमा सेलिब्रेटी प्रथाले विश्वव्यापी रूपमै बजार लिई रहेको छ । आर्थिक तथा सामाजिक रूपमा समृद्ध राष्ट्रका प्रमुखहरु गरिब तथा विकासोन्मुख देशका राष्ट्र प्रमुखहरुलाई मुसा बराबरको हैसियत दिन पनि हिच्किच्याउँछन् । आफूलाई मिडियाकरण गरी आफ्नो हैसियतलाई विश्वसामु फैलाउन उनीहरु माहिर छन् । त्यस्तै परिदृश्य अहिले नेपालको राजनीतिमा पनि देखा परेको छ । केही समय अगाडि स्थानीय निकायको चुनावमा माओवादी–केन्द्रका एक जिम्मेवार नेताले प्युठानमा भाषण गर्दा नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहलाई तथानाम गालीगलौज गर्दा ताली पिट्नुस न भन्दै जनतालाई अह्राएका थिए । यो घटना उनीभित्रको अन्तरसिनहत शोख निस्केको होइन, यो एउटा नेपाली राजनीतिमा संस्कारको रूपमा स्थापित हुँदै गरेको पीत मानसिकताको उपज हो । यो कुरा ठुला दल, जसले अहिले नेपाल समाजवादउन्मुख छ भनेका छन्, तिनका माउ नेताहरुले आफ्ना कार्यकर्ता र जनतामाथि देखाउने सेलिब्रेटी प्रथाको कपी थियो । यस प्रकारको सेलिब्रेटी प्रथा पँुजीवादी र अवसरवादीहरुमा बढी मात्रामा देखिन्छ ।

खासमा यहाँनिर सेलिब्रेटी प्रथाको कुरा किन गरियो भने यस प्रथाले पार्टीका माउ नेताहरु उनीहरुका तल्लो लेबलका इमान्दार कार्यकर्ता र आम जनताको पहुँचबाट टाढा टाढा भई रहेको महशुस हुन्छ अर्थात् उनीहरुले जनतालाई अत्यन्तै तल्लो दर्जामा राखेर सत्ता र स्वार्थमा आफ्नो राज चलाउने उनीहरुको अभिप्राय झल्किन्छ । यो कुरा इमान्दार कम्युनिस्ट नेताका निम्ति कत्ति पनि मेल खादैन र सुहाउँदैन पनि । सारमा हेर्दा अहिले नेपालमा यही सेलिब्रेटी प्रथा मुख्यत: कम्युनिस्ट पार्टी भनाउँदामा व्यापक देखिन्छ । खास गरी अहिले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच पार्टी एकताको जुन चर्चा चली रहेको छ, यो चानेचुने विषय होइन । यो महत्वको विषय अवश्य हो ।

खासमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक दशक पहिला चितवनको शक्तिखोरमा सशस्त्र सङ्घर्षका लडाकुहरुलाई प्रशिक्षण दिँदा भनेका कुराहरुले माओवादी वृत्तमा सार्थकता पाउने सङ्केतहरु अहिलेको एकता बहसकै कारण देखिन्छन् । त्यतिबेलाको उनको भाषणको आसय, एमाले अथवा काङ्ग्रेस जोसुकैसित पनि मिलेर भए पनि आफूहरु भाले बन्ने रणनीति उनका लडाकुहरुलाई सुनाएका थिए । अहिलेको बहसले माओवादी केन्द्रका कार्यकर्ताहरुलाई केही आत्मसन्तुष्टि मिल्न सक्छ । त्यसो त माधव कुमार नेपाललाई हराएर आफू अध्यक्ष बनेका ओलीको पनि माओवादी तह लगाउने रणनीति अब केही हदसम्म पुरा हुन सक्ला । प्राय:जसो नेपालको संसदमा प्रचण्डप्रति ओली र ओलीप्रति प्रचण्डका कटाक्ष र विरोधाभाषपूर्ण टिप्पणीहरुले धेरैलाई चकित पारेका थिए । तर अहिलेको बहसले त्यो कुरालाई फलाममा सुनको जलप लगाई दिएको छ !

अहिले छ वटा बुँदाहरुमा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीका बीचमा अब हुने राष्ट्रिय र प्रदेश सभाका चुनाव पार्टी एकीकरण गर्ने उद्देश्यका साथ तीन पार्टी प्रमुखले असोज १७ गते सहमति पत्रमा हस्ताक्षर गरेका छन् । त्यसमा बँुदा नम्बर एकमा मुख्य रूपमा वैचारिक छलफल तथा बहसद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्दै लगिने भनिएको छ, जुन कुरा बुढापाकाले भने जस्तो “काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर” भन्ने उखानसित ठ्याक्कै मिल्दछ । किनकि जनताको बहुदलीय जनावादलाई अँगाल्दै संसदलाई पँुजीवादी तरिकाले उपभोग गर्ने रणनीतिलाई मूल मन्त्र बनाई अगाडि बढेको एमाले र एक्काइसौँ शताब्दीको जनवाद मार्फत् प्रचण्डपथलाई अगाडि बढाउने नीति अगाडि सारेको माओवादी केन्द्र तथा केही समय अगाडि मात्र माओवादीबाटै अलग्गिएका नेता बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नेपालको अहिलेको निकास आर्थिक विकास भन्ने नाराको फ्युजनले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अगाडि बढ्ने आशा राजनीति रुचाउने मानिसहरुले नगरे हुन्छ । यस अर्थमा यो सरासर झुट हो । कम्युनिस्ट आन्दोलनमा धोका हो । अर्को कुरा के छ भने दश वर्षे सशस्त्र युद्ध गरेर राजनीतिक जग बसालेको माओवादी र आफैले गरेको झापा विद्रोहलाई त्यो गलत थियो भन्ने एमालेको बीचमा राजनीतिक आधारशिलाको इतिहास र त्यसैको दिशानिर्देशलाई कुन लेभेलबाट फ्युजन गराउने भन्ने कुरामा सकस पर्ने निश्चित छ र अर्को झुट पनि यहीभित्र छ । किनकि यो वैचारिक मतभिन्नता सबैभन्दा ठुलो इस्यु बन्ने निश्चित छ र प्रष्ट समीक्षा बिना जबर्जस्त फ्युजन गरियो भने त्यो टिकाउ हुने छैन । सायद यो इस्यु पचाउने हाजमोलाको प्रतिपादन गर्ने क्षमता न त प्रचण्डसँग छ, न ओलीसँग नै । यदि प्रतिपादन गरे भने पनि त्यो नक्कली हुने छ । त्यसको साइड इफेक्टले अर्को रोग निम्त्याउने छ । त्यो उनीहरुको एकतालाई मात्र नभएर राष्ट्रका निम्ति पनि खतरनाक हुने छ । त्यस्तै, माओवादीले मान्ने गरेको माओवाद र यसको सृजनात्मक प्रयोग प्रचण्डपथ, माओवाद पुरै छोडेर माओवादीलाई हत्यारा, लुटेरा फासिवादी भन्ने एमालेजनको निम्ति निकै नौलो कुरो हुने छ । यसमा एमाले सैद्धान्तिक हिसाबले सहमति हुनै सक्दैन । यदि एमाले यो कुरामा सहमत भए भने त्यो कार्यकर्ताप्रतिको नेतृत्वको ठुलो बेइमानी हो र यसमाथि टेकेर गरिने एकता उनीहरुको अर्को झुट हो । यस्ता झुटहरुलाई सत्यमा बदल्ने एउटा मात्र चरित्र हुन सक्दछ, त्यही सेलिब्रेटी प्रथा, जसले उनीहरुको नीति सिद्धान्त, उनिहरुबीचका वैचारिक मतभेद तथा एउटा कम्युनिस्ट पार्टी र त्यसका कमरेडहरुमा हुनु पर्ने सम्पूर्ण गुणहरुलाई इग्नोर गर्ने आटको विकास गराउने । यो इग्नोरेन्सको लेभलले नै उनीहरुको पार्टी एकताको सपना र एकता पश्चात्को नयाँ पार्टीको राजनीतिक पथलाई तय गर्ने छ । यसमा वास्तिविकता यो हो कि उनीहरुका यी कागजी टिपोटहरु भन्दा व्यावहारिक रूपमा उनीहरुको चरित्र एकै प्रकारको छ कि उनीहरुले कम्युनिस्ट आदर्श, आफ्नो विचारप्रतिको निष्ठा, तिनीहरुको सम्मान सबैलाई इग्नोर गरी सकेका छन् । अहिले उनिहरुसँग बाँकी रहेको भनेको त्यही संसद हो, जसलाई उनीहरुले वेश्यालयकी नर्तकी महिलाको जवानीजसरी उपभोग गरी रहेका छन् । यस कुरामा उनीहरु एकमत छन् । यो उनीहरुले नै स्वीकार गरेको सत्य हो ।

एकता पक्षधर शक्तिहरुले नेपाल समाजवादउन्मुख भनी रहँदा, नेपालमा पँुजीवाद आई सक्यो भनी रहँदा, देशमा लोकतन्त्र, गणतन्त्र स्थापना भई सक्यो भनी रहँदा नेपाली दाजुभाइले आफ्नै देशमा झुठा भाडा माझ्न नपाएर अर्काको देशमा गुलाम बनेको किन बिर्सेका ? के हामी गुलाम नै हो ? आज नेपालमा जन्मिने बच्चाले हातमै पासपोर्ट बोकेर जन्मिने अवस्था आउँदा उनीहरु किन मुकदर्शक बनेका ? के हाम्रो नियति यही हो ?, आज सामान्य उध्रेको लुगा सिलाउने सियो किन्न विदेशी उद्योग ताक्नु पर्ने अवस्थामा उनीहरु के हेरेर बसेका ? के विदेशी सियोले सिलाउँदा बाहेक लुगा सिइदैन ? दैनिक रूपमा अत्यावश्यक खाद्यान्न तथा कृषिवालीहरुका निम्ति छिमेकीसँग निर्भर भई रहँदा उनीहरु के हेरेर बसेका ? के जनताको काम गरेर खाने क्षमता छैन ? यस्ता असामान्य विषयवस्तुप्रति उनीहरु पूर्ण रूपमा इग्नोर गरी रहेका छन् ! यसैबीचमा जनजिविकाका पक्षमा थुप्रै प्रश्नहरु जनताले उठाउन सक्छन् ! के उनीहरुले यी प्रश्नको जवाफ दिन सक्छन् त ? सामन्तवादको पालामा भन्दा त्यसको उन्मूलन भई सकेपछि नेपालमा कति वटा उद्योग स्थापना भए ? कति जना युवाहरुले भारतका गल्लीमा चौकीदारी काम गर्न छोडे ? कति युवाहरु खाडी मुलुक नगई नेपालमै आत्मनिर्भरताको बाटोमा छन् ? देशमा भौतिक संरचनाहरु कति बने ? बाटोघाटो कति बने र कुन स्तरका बने ? निर्माणको लाइससेन्स लिएर प्रोजेक्ट अलपत्र बनाउने कति जना ठेकदार कम्पनीहरुलाई कारवाहीको दाहेरामा ल्यायो ? आज भारतले तराईका विभिन्न ठाउँहरुमा सिमाना मिच्दा तिमीहरु किन चुप लाग्छौ ? अन्तत: उनीहरुले यी कुराहरुको जवाफ सक्दैनन् । त्यसो त उनीहरु जनताका आधारभूत आवश्यकताहरु शिक्षा र स्वास्थ्यप्रति उनीहरु यति गैर जिम्मेवार बने कि सम्पूर्ण शैक्षिक संस्थाहरु पूर्ण रूपमा निजीकरण भई सकेका छन् ! सम्पूर्ण स्वास्थ्य संस्थाहरु निजीकरण भई रहेका छन् । यी विषयहरु जनताका विषय होइनन र ?

हामीले जान्नु पर्ने कुरा के छ भने यी सम्पूर्ण कुराप्रति माओवादी र एमाले दुवैले उच्च लेभलको इग्नोर गरी सकेका छन् । यो कुरा कम्युनिस्ट पार्टीको तर्फदेखि हुने सक्दैन । किनकि उनीहरु सेलिब्रेटी प्रथाका हिमायती भई सकेका छन् । उनीहरु भ्रष्ट भई सकेका छन् । उनीहरुलाई घुस खान आनन्द आउँछ । उनीहरु दलाल भई सकेका छन् । अन्तत: उनीहरु दक्षिणपन्थी अवसरवादभित्रका नव सामन्तवादका नाइके भई सकेका छन् । त्यसैले यो एकता सम्भव भएको छ ।

यस प्रकारले देशको सम्पूर्ण जिम्मेवारी, एउटा कम्युनिस्ट आदर्श, चरित्र तथा जनजिविका र जनतन्त्रको सवालमा पूर्ण रूपमा गैर जिम्मेवार बनेर अवसरको खोजीमा लर्खराई रहेका उनीहरुको एकता जनताका लागि बेकम्मा इतिहास सावित नहोस् । उनीहरुको एकीकृत कम्युनिस्ट पार्टी बनाउने जुन कुरा छ, त्यो एउटा खालि सेलिब्रेटी प्रोपोगन्डा नबनोस् । उनीहरुको एकताले नेपाली जनता र कम्युनिस्ट आन्दोलनप्रतिको धोखा नहोस् । त्यसका लागि क्रान्तिकारी कम्युनिस्ट शक्तिहरुको सशक्त खबरदारी आवश्यक छ । पृथक् पृथक् रूपमा एमाले र माओवादी केन्द्रको जुन विरासत छ, यदि एकता भएको खण्डमा तिनै नकारात्मक परिघटनाको पुनरावृत्ति नहोस्, त्यसका लागि पनि क्रान्तिकारी कम्युनिस्टहरुको खबरदारीले ठुलो अर्थ लाग्दछ । हामी चाहान्छौँ, सामन्तवाद, साम्राज्यवादका विरुद्ध अधिकतम हदसम्म उनीहरुको एकताले काम गरोस्, त्यस हदसम्म क्रान्तिकारी कम्युनिस्ट र न्यायपूर्ण नेपाली जनताको उनीप्रति समर्थन रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here