वर्तमान सन्दर्भमा उत्पादक शक्ति

0
399
– राम बहादुर बुढा

मार्क्सवादी दर्शनको दुई वटा पक्ष छन्– द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादमा रहेका अनुपयुक्त र गलत पक्षहरुलाई हटाई ती दुवै दर्शनका सही तत्वहरुलाई मिश्रण गरी त्यसलाई अझ विकसित तुल्याएर कार्ल माक्र्सले द्वन्द्वात्मक भौतिकवादको प्रतिपादन गरेका थिए । द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको आधारमा मानव समाज विकासको विश्लेषण गर्दा ऐतिहासिक भौतिकवाद निर्माण भएको हो । अर्थात् यसो भन्न सकिन्छ ऐतिहासिक भौतिकवाद भनेको मानव समाजको इतिहासमा द्वन्द्वात्मक भौतिकवादको प्रयोग हो । ऐतिहासिक भौतिकवाद दर्शनको क्षेत्रमा कार्ल माक्र्सको मौलिक देन हो ।

मानव समाजको अध्ययन गर्ने विभिन्न सामाजिक विज्ञानहरु छन्– इतिहास, राजनीति शास्त्र, अर्थशास्त्र, न्याय शास्त्र, भाषाशास्त्र लगायत । यी शास्त्रहरुले एउटा–एउटा पक्षको मात्र अध्ययन गर्दछन् । ऐतिहासिक भौतिकवादले समग्र मानव समाजको विकासको अध्ययन गर्दछ । ऐतिहासिक भौतिकवादले मानव समाज विकासको मुख्य कारक तत्व उत्पादन प्रणालीलाई मान्दछ । विषयवस्तुको प्रष्टताका लागि यहाँ सम्बन्धित विषयसँग जोडिएका केही शब्दहरुका अर्थ राखिएको छ ।

० उत्पादनका वस्तु– नदी, ताल, भूमि, वन, पर्वत,
कच्चा पदार्थ जस्ता प्राकृतिक वस्तुहरुलाई उत्पादनका वस्तुहरु भनिन्छ ।
० उत्पादनका औजार –हलो, कोदालो, गैंटी, यन्त्र, उपकरण लगायत मानव निर्मित औजारहरुलाई उत्पादनका औजार भनिन्छ ।
० उत्पादनको साधन– उत्पादनका वस्तु र उत्पादनका औजारहरुलाई समष्टिगतरुपमा उत्पादनको साधन भनिन्छ ।
० उत्पादक शक्ति– उत्पादनको साधन र मानवीय श्रम, सीप, अनुभवलाई समष्टिगतरुपमा उत्पादक शक्ति भनिन्छ ।
० उत्पादन सम्बन्ध –उत्पादन कार्य एउटा सामाजिक कार्य हो । उत्पादन कार्यमा वा श्रममा भाग लिंदा मानिसहरु सामुहिक रुपमा क्रियाशील हुन्छन् ।

त्यसरी सामुहिकरुपले मानिसहरु उत्पादन कार्यमा भाग लिंदा समाजका मानिसहरुका बीचमा जुन सम्बन्ध कायम हुन्छ त्यसलाई उत्पादन सम्बन्ध भनिन्छ ।

उत्पादनको कार्यमा भाग लिंदा मानिसहरु बीचमा उत्पादनका साधनप्रतिको स्वामित्वको अवस्था जस्तो हुन्छ, त्यसबाट मानिसहरुका बीचको सामाजिक सम्बन्ध पनि निर्धारण भएको हुन्छ । त्यसकारण उत्पादन सम्बन्ध मानव इतिहासमा दुई प्रकारका हुन्छन्– शोषणमूलक सामाजिक सम्बन्ध र शोषणविहिन सामाजिक सम्बन्ध । आदिम साम्यवादी युगमा उत्पादनका साधनमाथि सामूहिक स्वामित्व हुन्छ र उत्पादन कार्यबाट उत्पादित वस्तुहरुमाथि पनि सामूहिक स्वामित्व नै हुन्छ । शोषणविहिन समाजमा मानिसहरुका बीचमा उत्पादन सम्बन्ध परस्पर सहयोग र सहकार्य अनुसारको हुन्छ । उत्पादनका साधन र उत्पादित वस्तुहरुमाथि निजी स्वामित्व शुरु भएपछि मानिसहरु परस्पर विरोधी वर्गमा विभक्त भए । उत्पादनका शासनप्रति स्वामित्व कायम गरेकाहरु मालिक र शोषक वर्ग बने । उत्पादनका साधन माथि स्वामित्व नभएकाहरु शोषित वर्ग बने । शोषणमूलक समाज व्यवस्था दास, सामन्ती र पुँजीवादी समाजमा शोषक र शोषित वर्गका बीचमा एकता र संघर्षको सम्बन्ध कायम रहेको हुन्छ । शोषणविहिन साम्यवादी समाज निर्माण भए पछि उत्पादन सम्बन्ध पारस्परिक सहयोग र सहकार्यकै हुनेछ ।

० उत्पादन प्रणाली – उत्पादक शक्ति र उत्पादन सम्बन्धलाई समष्टिगतरुपमा उत्पादन प्रणाली भनिन्छ ।

निश्चित युगमा निश्चित उत्पादन सम्बन्ध स्थापना भएको हुन्छ । उत्पादक शक्तिको विकासले उत्पादन सम्बन्धलाई परिवर्तन गरिदिन्छ र समाजमा नयाँ उत्पादन सम्बन्ध कायम हुन पुग्छ । जसले गर्दा समाज एउटा युगबाट अर्को नयाँ युगमा प्रवेश गर्दछ । जस्तो कि दास युगमा दासहरुको श्रम, सीप, अनुभव, तिनले प्रयोग गर्ने उत्पादनका औजार आदिलाई समष्टिगत रुपमा त्यस युगको उत्पादक शक्ति बनेको हुन्छ । दासहरुको श्रम, शक्ति, सीप, क्षमतामा विकास, उनीहरुको संगठित शक्ति बलियो बन्दै जानु, उत्पादनका औजारहरु परिष्कृत बन्दै जानु आदिले उत्पादक शक्तिको विकास हुन पुग्दछ । उत्पादक शक्ति र उत्पादन सम्बन्धका बीचमा अन्तर्विरोध बढ्दै जान्छ । अझ सिधा हिसाबले भन्दा दास र दास मालिकका बीचमा अन्तविरोध चर्किंदै जान्छ र दास मालिकहरु दासहरुका सामु पराजित हुन्छन् । समाज सामन्ती युगमा प्रवेश गर्दछ । उत्पादन सम्बन्ध फेरिन्छ । नयाँ सम्बन्ध स्थापना हुन्छ– जमिन्दार र किसानहरुको सम्बन्ध । सामन्ती व्यवस्थामा हाते औजारको सट्टा औद्योगिक मेसिनहरुको विकास, किसानहरुको चेतनाको विकास, यातायात र संचारको विकासले उत्पादक शक्ति बलियो बन्दै जान्छ । सामन्ती युगमा उत्पादक शक्ति र उत्पादन सम्बन्ध बीचको अन्तर्विरोध बढ्दै जाादा पुरानो उत्पादन सम्बन्धको अन्त्य हुन्छ र नयाँ उत्पादन सम्बन्ध कायम हुन पुग्दछ– पुँजीपति र मजदुरवर्गबीचको सम्बन्ध । समाजले पुँजीवादी युगमा प्रवेश गर्दछ । पुँजीवादी युगमा मजदुरहरुको श्रमशक्ति, उनीहरुको क्षमता र अनुभव, उनीहरुको एकता, नयाँ आधुनिक मेसिनहरु आदिबाट उत्पादक शक्ति बनेको छ । त्यो उत्पादक शक्तिको विकासले उत्पादन सम्बन्धसित अन्तर्विरोध बढाउँदै लगेको छ । यसप्रकारको अन्तर्विरोधबाट हालको उत्पादन सम्बन्ध अन्त्य हुन र नयाँ उत्पादन सम्बन्ध कायम हुनु अनिवार्य छ । पुँजीवादको गर्भबाट समाजवादको जन्म हुनु अनिवार्य छ ।

उत्पादन शक्ति र उत्पादन सम्बन्धको अन्तर्विरोधबाट उत्पादन प्रणालीमा निरन्तर परिवर्तन हुँदै आएको छ । उत्पादन प्रणालीमा आउने परिवर्तनले सम्पूर्ण सामाजिक संरचनामा परिवर्तन ल्याउँदछ । उत्पादन प्रणाली आधार हो भने समाजका राजनीतिक, शैक्षिक, प्रशासनिक, सांस्कृति संरचनाहरु उत्पादन प्रणाली माथि अडेका माथिल्ला संरचनाहरु हुन् । नेपालमा यी माथिल्लो संरचनाहरुलाई हिन्दी भाषाबाट ल्याइएको “उपरीसंरचना” वा “अधिरचना” आदि शब्दहरु लाई नै प्राय: प्रयोग गर्ने गरिएका छन् । तर अंग्रेजी भाषामा एउटै शब्द प्रयोगमा रहेको छ– सुपरस्ट्रक्चर । आधार भन्दा सुपरस्ट्रक्चर ढिलो विकास हुन्छ । त्यसले गर्दा व्यवस्थामा पनि प्रतिगमन हुने खतरा रहन्छ । त्यसैले सर्वहारावर्गले राजनीतिक सत्ता प्राप्त गरेपछि आधार अनुसारको सुपरस्ट्रक्चर निर्माण गर्न जोड दिनुपर्ने हुन्छ ।

उत्पादक शक्ति ऐतिहासिक भौतिकवादको एउटा महत्वपूर्ण प्रवर्ग हो । एृेतिहासिक प्रक्रियामा यो एउटा निर्णायक पक्ष नै हो । कम्युनिस्ट आन्दोलनमा उत्पादक शक्तिलाई हेर्ने दृष्टिकोणमा मतभिन्नताहरु रहादै आएको छ । निश्चितरुपमा मानवीय श्रम र उत्पादनको साधन समष्टिगतरुपमा उत्पादक शक्ति हो । तर उत्पादक शक्तिमा पनि मानव, मानवीय श्रम प्रधान हो वा उत्पादनका साधन प्रधान हो भन्ने विवादमा उत्पादनका साधनलाई प्रधान ठान्ने गलत दृष्टिकोण पनि कम्युनिस्ट आन्दोलनमा देखिंदै आएको छ । मानव श्रमलाई उत्पादक शक्तिको प्रधानपक्ष ठान्ने कार्लमाक्र्सको विचारलाई दोस्रो अन्तर्राष्ट्रिय कालमा बर्नस्टिनले विज्ञान, प्रविधिको विकास (उत्पादनका औजारको विकास) धेरै अगाडि बढिसकेकाले पुरानो भइसकेको विचार बताए । र भने, “वर्ग संघर्षको विचार पुरानो भयो । वर्ग संघर्षबाट हैन संसदीय चुनावको माध्यमबाट समाजवादमा जानु पर्दछ ।” लेनिनहरुले वर्नस्टिनको त्यसप्रकारको संशोधनवादी विचारको उतिबेलै खण्डन गरेका थिए । उत्पादक शक्तिमा पनि कुन शक्ति वास्तविक प्रगतिशील र क्रान्तिकारी हो भन्ने कुरामा पनि कम्युनिस्ट आन्दोलनमा विवाद रहादै आएको छ । रुसमा नरोदवादीहरुले किसानहरुलाई उत्पादक शक्तिमा निर्णायक र मुख्य शक्ति ठान्दथे । लेनिनहरुले पुँजीवादी व्यवस्थाको उत्पादन मजदुरवर्ग सबभन्दा प्रगतिशील र क्रान्तिकारी शक्ति हो, किसानहरु त्यसका सहयोगी शक्तिहरु हुन् भन्ने धारणा राखे । चीनमा किसानहरुले भरिएको देश भए पनि माओले वैचारिक हिसाबले मजदुरसर्वहारा वर्गको दृष्टिकोणबाटै क्रान्तिकारी आन्दोलन अगाडि बढाउनु पर्दछ भन्ने मान्यतालाई आत्मसाथ गरे ।

नेपालमा एमालेहरुले लामो समयदेखि विज्ञान, प्रविधि, उत्पादनका साधनहरुको विकास, युद्ध अस्त्रहरुको विकास धेरै अगाडि गइसकेकाले वर्गसंघर्षको औचित्य छैन भन्ने कुरा राख्दै आएका छन् । आफ्ना दस्तावेजहरुमा यी कुराहरुलाई शब्दस: नराखे पनि उनीहरुको वर्गसंघर्षको औचित्यहिनता पृष्टि गर्न यी कुराहरुलाई आफ्ना प्रशिक्षण र विभिन्न मञ्चहरुमा राख्दै आएका छन् । उनीहरुको त्यसप्रकारको विचार मानिसलाई उत्पादक शक्ति मध्यको मुख्य उत्पादक शक्ति नमान्ने गैरमाक्र्सवादी विचार हो । उदाहरणको निम्ति ०७१ सालको एमालेको नवौं महाधिवेशनबाट पारित दस्तावेजमा उनीहरुले कहि कतै पनि सर्वहारावर्ग यस युगको सबभन्दा प्रगतिशील वर्ग हो भन्न सकेको छैनन् । बरु दस्तावेजमै पुँजीपति र मजदुरवर्गका बीचमा सहकार्य र एकतामा जोड दिएका छन् ।उत्पादक शक्तिको क्रान्तिकारी वर्गलाई सही ढंगले पहिचान गर्न नसक्दा कम्युनिस्ट आन्दोलन गलत दिशामा भ्रष्ट हुन्छ । चीनमा नयाँ जनवादी क्रान्ति भएपछि ल्यूसाओची र माओका बीचमा यही उत्पादक शक्तिका विषयलाई लिएर अन्तर्विरोध भएको थियो । ल्यू शाओचि पिछडिएको उत्पादक शक्ति र अगाडि बढेको सामाजिक अवस्था बीचको अन्तर्विरोध चीनको प्रमुख अन्तर्विरोध हो भन्दथे । यसको अर्थ राजनीतिक सत्ता कम्युनिस्ट पार्टीको हातमा आएको भए पनि पुँजीको विकास नभएकाले पुँजीपतिलाई अझै बलियो बनाउनु पर्छ भन्ने उनको दृष्टिकोण थियो । तर माओले शोषक र शोषित वर्ग अर्थात् पुँजीपति र मजदुर वर्गको बीचको वर्ग संघर्ष प्रमुख कार्य हो भन्ने ठान्दथे ।

एमालेले आजको युगको उत्पादक शक्ति अन्तर्गतको मुख्य क्रान्तिकारी वर्ग सर्वहारावर्गलाई बिर्सिसकेको कुरामाथि नै उल्लेख भइसकेको छ । एमाओवादी पनि एमालेमा समाहित भइसकेपछि अबको उसको उत्पादक शक्ति प्रतिको दृष्टिकोण सोही नै हो भन्ने कुरा स्वत: स्पष्ट छ । लेटिन अमेरिकाका आफूलाई समाजवादी भन्ने पार्टीहरुले पनि उत्पादक शक्ति अन्तर्गतको मानवीय श्रमलाई भन्दा उत्पादनका औजार (आधुनिक यन्त्र, उपकरण, औजार) लाई निकै प्राथमिकतामा राखेका छन् । त्यस सन्दर्भमा लेटिन अमेरिकी लेखिका मार्ता हार्नेकरको “वामपन्थको पुनर्निर्माण” उल्लेखनीय छ । नेपालमा एउटा सानो अध्ययन समूह “माक्र्सवाद अध्ययन अनुसन्धान प्रतिष्ठान” लेटिन अमेरिकालीहरुको त्यो विचारधाराबाट धेरै प्रभावित भएको देखिन्छ । त्यो प्रतिष्ठानका व्यक्तिहरुले खुलेरै विज्ञान–प्रविधिलाई मुख्य उत्पादक शक्ति मान्दै मानवीय श्रमलाई गौण उत्पादक शक्ति मानेका छन् । ने.क.पा.(विप्लव) समूह पनि त्यो विचारबाट प्रभावित भएको देखिन्छ । निश्चित रुपमा सर्वहारावर्ग संख्यात्मक रुपले न्यून भए पनि विचारको हिसावले त्यो वर्ग नै आजको युगको सबभन्दा क्रान्तिकारी वर्ग हो । त्यसकारण सर्वहारा वर्गको दृष्टिकोण अनुसार नै सच्चा कम्युनिस्ट आन्दोलन संगठित गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here