वर्गसंघर्ष र ने.क.पा.(मसाल)

0
456
गिरीप्रसाद बुढामगर

वर्गीय समाजमा रहेका हरेक मान्छेका भावनाभित्र शोषक र शाषित दुवै भावको अस्तित्व अनिवार्य रुपमा प्रतिबिम्बित भइरहेको हुन्छ । आफु भन्दा गरिबसँग कस्तो प्रकारको वर्गीय सम्बन्ध वा व्यवहार अपनाउने र आफुभन्दा धनीहरुसंग कस्तो प्रकारको वर्गीय सम्बन्ध वा व्यवहार अपनाउने ? भन्ने कुरा हाम्रो जीवनको अति नै महत्वपूर्ण विषय हो । यो विषयलाई उपयुक्त ढंगले लिन सकेनौ भने शोषक र शाषित वर्ग बीच चलिरहेको वर्गसंघर्षको प्रक्रियामा हाम्रो भूमिका पनि उपयुक्त प्रकारको हुनेछैन । वास्तवमा आफुभन्दा गरिब वा आफुभन्दा धनीहरुसँग हामीले अपनाउने व्यवहारहरु कति सही र गलत हुन सक्छन् भन्ने कुरा हामीमा भएको चेतना वा दृष्टिकोण कति सही वा गलत रुपमा विकशित भइरहेका छन् भन्ने कुरामा नै निर्भर भइरहेको हुन्छन् ।

वर्तमानको वर्गीय समाजमा शोषक वर्गभन्दा शोषित वर्ग कयौं गुणा बलियो छ । तै पनि मुठिभर शोषक वर्गले बहुसंख्यक शोषित वर्गमाथि युगौदेखि आफ्नो हैकम चलाइनै रहेको अवस्था छ । वास्तवमा युगौंदेखि नै शोषक र शोषित वर्ग बीचको संघर्ष निरन्तर जारी छ । यसै क्रममा कयौं चोटी शोषक र शोषित वर्ग बीचको त्रासदपूर्ण युद्धहरु पनि हुने गरेका छन् । कयौं चोटी कयौं ठाउँमा शोषित वर्गले शोषक वर्गको लुटको स्वर्ग भत्काइ दिएका छन् । जसलाई हामी क्रान्ति भनेर चिन्दै आएका छौ । यति मात्रै होइन शोषक वर्गले पनि कयौं पटक आफ्नो भट्केको लुटको संसारलाई पुननिर्माण गर्न सफल भएको छ । जसलाई हामी प्रतिक्रान्ति भनेर भन्दै आएका छौं । यसरी वर्गसंघर्षको प्रक्रियामा देखा पर्दै आएका क्रान्ति र प्रतिक्रान्तिका क्रमसँगै अझै पनि हाम्रा सामु शोषकहरुकै राज छ । शोषिक वर्गहरु दिन रात चुसिएकै छन्, दबाइएकै छन् । आखिर किन यस्तो भइरहेको छ ? शोषित वर्ग शोषक वर्गभन्दा कयौं गुणा बलियो भएर पनि किन शोषित वर्गले शोषक वर्गको राज ढलाउन सकिरहेको छैन । यसको कारण हामीले क्रान्तिकै बाटोहरुमा पहिल्याउनु पर्छ । गतिको नियमहरुमा बुझ्नु पर्छ । वास्तवमा क्रान्ति वा गतिको नियम बमोजिम अगाडि बढिरहेको वर्ग संघर्षमा ढिलो वा चाडो शोषक वर्गको पराजय र शोषित वर्गको विजय भएको सुनौलो दिन विश्वमा आएरै छाड्ने छ । आज त्यो सुनौलो दिन ल्याउनको लागि शोषित वर्गले शोषक वर्गको विरुद्ध सधै नै इमान्दार लडाई लडिरहेको छ । उसले न्याय र समानताको लागि लड्छ भनाइको अर्थ शोषक वर्गलाई पराजित गरे पनि उ माथि अत्याचार नगर्ने शोषित वर्गको उच्च प्रकारको मानवीय सर्त हुन्छ । बरु शोषक वर्गलाई पनि आफु बराबरको अंशमा लिएर व्यवस्थित गर्ने उसको योजना हुन्छ । ताकि उ अरुलाई शोषण गरेर बाच्ने शोषक कहिल्यै नबनोस । यसरी शोषित वर्गले न्यायपूर्ण लडाई लडेर वर्गविहिन समाज खडा गर्न चाहान्छ । वर्ग संघर्षको माध्यमबाट शोषित वर्गले खडा गर्न चाहेको यही वर्गविहिन समाजलाई नै हामी साम्यवादी समाज भन्दै आएका छौ । यसप्रकारको सुन्दर र न्यायपूर्ण लडाईमा रहेको शोषित वर्गको अगाडि आफ्नो लुटको स्वर्गलाई रक्षा गर्न शोषक वर्गले शोषित वर्गको विरुद्धमा कुरुप र अन्यायपूर्ण लडाई थुपारी रहेको हुन्छ । शोषक वर्ग यति खराब वर्ग हो कि कहिले काही उसले शोषित वर्गलाई रक्तपातपूर्ण लडाई लड्न बाध्य बनाउँछ । साम, दाम, दण्ड, भेद, शोषक वर्गका प्रचलित युद्ध अस्त्रहरु हुन् । वर्गीय समाज अन्यायपूर्ण समाजको बलियो आधार हो । शोषक वर्गले यही अन्यायपूर्ण समाजलाई टिकाइरहन चाहन्छ । भने शोषत वर्गले यसप्रकारको अन्यायपूर्ण समाजलाई बदलेर न्यायपूर्ण समाजको सिर्जना गर्न चाहन्छ । त्यो न्यायपूर्ण समाज भने वर्गबिहिन समाज हो । यसप्रकारको अन्यायपूर्ण समाजलाई यथास्थितिमा टिकाइ राख्ने कार्यभन्दा न्यायपूर्ण समाज सिर्जना गर्ने कार्य कयौं गुणा कठिन वा कष्टपूर्ण हुने गर्दछ । वर्ग संघर्षमा शोषित वर्गलाई यही कष्टपूर्ण कार्यमा होमिनु परेको छ ।

न्यायपूर्ण समाज स्थापना गर्ने कार्य जतिसुकै कष्टपूर्ण भएतापनि शोषित वर्ग सधै अगाडि बढेर वर्ग संघर्षको आँधी सिर्जना गरिरहेका हुन्छन् । यही वर्ग संघर्षको आँधीबाट आफ्नो सुखको स्वर्गलाई जोगाउन शोषक वर्गले लाखौं प्रयत्न गरिरहेको हुन्छ । परिणाम स्वरुप शोषक वर्गले हाम्रो मस्तिष्कमा उसैको विचार, धर्म, विस्वास र मान्यताहरुको छाप पार्न सफल भएको छ । त्यही शोषक वर्गको धर्म, विस्वास, मान्यता र विचारहरु आत्मसात गरेर जान अन्जानमा हामी सबै आफुभन्दा गरिबलाई हेप्ने, दमन गर्ने शोषकी प्रबृत्ति बोकिरहेका हुन्छौं । अथवा हामी पनि केही न केही रुपमा शोषक बनिरहेका हुन्छौ वा शोषककै सेवा गरिरहेका हुन्छौ । शोषक वर्गको यो महाजालमा व्यक्ति, कार्यकर्ता, नेता, बुद्धिजिवी मात्रै होइन सिंगो कम्युनिष्ट पार्टी समेत फसिरहेका कयौं उदाहरणहरु हाम्रो सामु जगजाहेर छन् । सत्ता, पद, सम्पत्ति, नयाँ–नयाँ प्रकारका आकर्षक प्रचारहरु, पत्रपत्रिका भुमण्डीकरण, भोगविलास जस्ता व्यक्तिगत स्वार्थलाई मलजल गर्ने कयौं कुराहरु वर्तमान अवस्थामा शोषक वर्गले बुनेका आधुनिक जालहरु हन् । यिनै जालहरुमा फसेर कयौं व्यक्ति बुद्धिजिवी, कार्यकर्ता वा नेताहरुको क्रान्तिकारी दवि धरापमा परेको छ र उनीहरु केवल नाममात्रको क्रान्तिकारी बनेका छन् । यसरी कुनै मानिसले आफुलाई जतिसुकै क्रान्तिकारी हुँ भनि दावी गरेतापनि वा कम्युनिष्ट हुँ भनि बताएता पनि त्यस्ता कयौं मानिसहरुलाई क्रान्तिकारीकै नामबाट वा कम्युष्टकै नामबाट शोषक वर्गले आफ्नो हितमा कसरी गाटी जस्तै पारेर प्रयोग गरिरहेको छ भन्ने कुराको दारुण चित्र हाम्रो आँखा अगाडि बाचिरहेको छ । यो अवस्थामा हामीले हाम्रो दिमागलाई शोषक वर्गका हरेक प्रभाव र संस्कारहरुबाट मुक्त गर्न निरन्तर संघर्ष गरिरहनु पर्दछ । शोषक वर्गको महाजालबाट हाम्रो जीवनलाई पूर्णरुपले मुक्त नगरेसम्म हामी क्रान्तिकारी वा कम्युष्ट हुन सक्दैनौं । वर्गीय समाजमा हामी आफुलाई क्रान्तिकारी वा कम्युनिष्ट बनाउन सक्यौ भने यो हाम्र जीवनको सबैभन्दा ठूलो उपलब्धि हुनेछ । यसको लागि हामीले हाम्रो पिछिडीएको रुढीग्रस्त दृष्टिकोणमा कायापलट ल्याउनु जरुरी छ । भनाइको अर्थ हामीले हाम्रो हामीले हाम्रो मस्तिष्कलाई माक्र्सवादी लेनिनवादी विश्व दृष्टिकोणले लैस बनाउनु पर्छ भन्ने नै हो । यसरी हामीले हाम्रो जीवनमा सही दृष्टिकोणको विकास गर्न सक्यौ भने मात्रै हामीभन्दा गरिब वा हामीभन्दा धनीहरुसँग हामीले अपनाउने हाम्रा व्यवहारहरु वास्तविक रुपमा सही हुन सक्नेछ । त्यति मात्रै होइन विश्वलाई बदल्ने हम्रो लागत शक्तिशाली भएर अगाडि आउन सक्नेछ । यसरी युगौंदेखि चल्दै आएको शोषक वर्गको लुटको राज कहिल्यै उठ्न नसक्ने गरी ध्वस्त पार्न सक्नेछौं । यो कार्य सम्पन्न गुर्न भनेको सबैभन्दा कष्टपूर्ण र सबैभन्दा महान कार्य हो । नेपालको सन्दर्भमा यो महान अभिभारा पुरा गर्ने जिम्मेवारी ने.क.पा. (मसाल) काँधमा रहेको छ । ने.क.पा. (मसाल) ले आफ्नो जन्मकालदेखि नै हाम्रो देशको वर्गीय संघर्षमा महत्वपूर्ण योगदान दिँदै आएको छ । नेपालमा वर्गीय विभेद धेरै वर्ष पहिलेदेखि रहदै आएको भएतापनि जब राणा शासनको बेला देशका अधिकांश जमिन शाह, राणा, जमिन्दार र अन्य सामन्तहरुले कब्जा गरे त्यसपछि नेपाली जनतामा तमाम प्रकारका क, बेठबेगारी, अन्याय अत्याचार, पराधिनता, दासता जस्ता कयौं प्रकारका अमानविय शोषण शुरु भयो र सामन्त वर्गले किसान वर्गलाई नराम्ररी चुस्न थाले । यसरी सामन्त वर्गले किसान वर्गलाई शोषण गर्ने कार्य जति जति बढ्न थाल्यो त्यति नै किसान वर्ग र सामन्त वर्ग बीचको संघर्ष तिब्र हुन थाल्यो । यसरी नेपालको सन्दर्भमा सामन्त वर्ग र किसान वर्ग बीचको संघर्ष नै वर्ग संघर्षको स्पष्ट रुप बन्न पुग्यो । आज हाम्रो देशमा किसान संघर्ष निरन्तर रुपमा जारी रहेको छ । जाली फटाहा विरोधी आन्दोलनहरु, अनिकाल विरोधी आन्दोलन, सुकुम्बासी आन्दोलन सामन्त र जाली फटाहाविरोधी कुटपिट आन्दोलन मौलिक अधिकारको सुरक्षा, काला कानुनको विरोध, पञ्चायती विरोधी आन्दोलन, राजतन्त्र विरोधी आन्दोलन जस्ता असंख्या नाममा नेपालको वर्ग संघर्ष अभिव्यक्त हुदैआइरहेको छ । यी तमाम खालका शोषक विरोधी संघर्षहरुमा शोषित वर्गलाई नेतृत्व गर्ने उद्देश्यले जब २००६ सालमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भयो त्यसपछि जारी वर्ग संघर्षको कयौं मोडहरुबाट कम्युनिष्ट पार्टीभित्रका कयौं नेताहरु शोषक वर्गको गाटि बनेर गद्धार सावित भए भने कयौं याद्धाहरु बलिदान दिएर अमर सहिद पनि भए । वर्ग संघर्षको कयौं अग्नि परिक्षाहरुमा कहिले भूमिगत रुपमा त कहिले खुला रुपमा संघर्षको नेतृत्व गर्दै अगाडि बढ्ने क्रममा २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी विखण्डीत भएर अनेक नामका कम्युनिष्ट पार्टीको रुपमा देखा पर्न थाले । यी मध्ये अधिकांश पार्टीहरु त नाम मात्रकै कम्युनिष्ट बने । माथि उल्लेखित गरिए झै सत्ता, पद, सम्पत्ति जस्ता शोषक वर्गको महाजालमा फसेर कयौं कम्युनिष्ट पार्टीहरु कम्युनिष्ट मूल्य, मान्यता र आदर्शबाट बाहिरिरकेका छन् । अथावा ती ‘कम्युनिष्ट’ हरुलाई शोषक वर्गले कम्युनिष्टकै नामबाट आफ्नो गोटी बनाउन सफल भइरहेको छ । यो अवस्थामा वर्ग संघर्षप्रति स्पष्ट दृष्टिकोण अंगालेर केवल एक मात्र कम्युनिष्ट पार्टी ने.क.पा. (मसाल) ले निरन्तर रुपमा आशाको दियो बाल्दै आइरहेको छ । माक्र्सवाद, लेनिनवाद, माओविचारधारालाई आफ्नो पथप्रदर्शक सिद्धान्त बनाएर अगाडि बढिरहेको ने.क.पा. (मसाल) सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने राजनैतिक पार्टी हो । यसले राष्ट्रियता, जनतन्त्र तथा जनजिवीका जस्ता जनताका तमाम विषयहरु वा वर्ग संघर्षका हरेक क्रियाकलापहरुमा सम्झौताहिन संघर्ष गर्दै अगाडि बढिरहेको छ । यति हुँदा हुँदै पनि सातौ महाधिवेसनमा पारित उसको दस्तावेजमा माथि उल्लेखित जनताको विषयहरु वा वर्ग संघर्षमा पार्टीले उल्लेखनीय भूमिका खेल्न नसकेको कुरा प्रस्ट पारेको छ । यस्तो हुनुको मुल कारण ने.क.पा.(मसाल) को संगठनात्मक स्वरुप निम्न पूँजीवादी प्रकारको हुनु नै हो । र यसका प्राय नेता तथा कार्यकर्ताहरु पनि निम्न पूँजीवादी चिन्तनले ग्रसित हुनु नै हो । यो निम्न पूँजीवाद भनेको पनि शोषक वर्गीय सस्कारकै एउटा छाप हो । त्यसैले त ने.क.पा. (मसाल) भित्रको संगठन र कार्यकर्ताहरुमा बेला बेलामा अनुशासन विहिनता, अराजकता, निस्क्रियता, पलायनता, सत्तालोलुप र फुटपरस्त जस्ता कयौं प्रकारका खराब प्रबत्तिहरु देखा पर्दै आएका छन् । त्यस प्रकारको खराब प्रबृत्ति र त्यो भित्र रहेको असल र क्रान्तिकारी प्रवृत्तिका बीचको अन्तरद्वन्द्वमा असल र क्रान्तिकारी प्रवृत्तिको विजयद्वारा ने.क.पा. (मसाल) सदा जिवन्त बन्दै आइरहेको छ । यसरी आफुभित्रको खराब प्रवृत्ति माथि विजय प्राप्त गर्न सकेकै कारण ने.क.पा.(मसाल) ले वर्ग संघर्षको प्रक्रियामा शोषित वर्गलाई कहिल्यै धोका दिएको इतिहास छैन । उसले आफ्नो संगठन तथा कार्यकर्ताहरुमा भएको निन्न पूँजीवादी छापलाई पखाल्न अथक प्रयत्न गर्दै आएको छ । यसरी सही माक्र्सवादी लेनिनवादी संगठनात्मक प्रणाली विकास गर्दै र सर्वहारा वर्गीय विश्व दृष्टिकोणको आधारमा नेता, कार्यकर्ता, जनता आदि सबै पंक्तिलाई सचेत संगठित र जुझारु बनाउँदै ने.क.पा. (मसाल) ले शोषक वर्ग विरुद्धको संघर्षलाई नयाँ जनवादी क्रान्तिको दिशामा अगाडि बढाउने अठोट लिएको छ । वास्तवमा यही दिशामा अगाडि बढ्ने कुरा नै वर्तमान नेपाली समाजको लागि वर्ग संघर्षको सही रुप हुन सक्ने कुरा निश्चित छ । किनकी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नको लागि संचालन हुने वर्ग संघर्षमा ने.क.पा. (मसाल) ले आफ्नो वर्गीय मित्रहरु र वर्गीय शत्रुहरुको स्पष्टरुपमा पहिचान गरेर अगाडि बढिरहेको छ । जसअनुसार एकातिर क्रान्तिका दुष्मन शक्तिहरु अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद, देशीय सामन्त, दलाल र नोकरशाही पूँजीपति वर्ग र अर्कोतर्फ क्रान्तिको एकमात्र नेतृत्वदायी शक्ति सर्वहारावर्ग, क्रान्तिको आधार शक्ति खेत मजदुर, सुकुम्वासी तथा गरिब किसान वर्ग र क्रान्तिको मित्रशक्तिहरु राष्ट्रिय पूँजीपति वर्ग, धनी र मध्यम किसान, निम्न पूँजीपति वर्ग, दस्तकार र अन्य देशभक्त तथा जनतान्त्रिक शक्ति गरी वर्ग संघर्षका दुई परस्परविरोधी शक्तिहरुको कित्ताबन्दीलाई स्पष्ट पारेको छ । साथै अर्धसामन्ती र अर्धऔपनिवेसिक प्रकारको सामाजिक अवस्था रहेको नेपालमा ने.क.पा.(मसाल) ले वर्ग संघर्षको तिब्र अभिव्यक्तिको रुपमा किसान क्रान्तिलाई अगाडि बढाउने र उक्त किसान क्रान्ति पुरा गर्नको लागि दिर्घकालिन शसस्त्र युद्धको तरिका अपनाउने, स्वस्त मार्गचित्र कोरेको छ । यसको साथै ने.क.पा. (मसाल) ले आफ्नो पार्टीमा प्रतिबद्ध पार्टी सदस्यहरुलाई वर्ग संघर्षको यही मार्गमा अगाडि बढ्नको लागि प्रशिक्षित गरिरहेको छ । आफ्नो विधानमा आफ्नो पार्टी सदस्यहरुको कयौं काम र कर्तव्यहरु उल्लेखित गर्ने क्रममा धारा २ को (ग) (ज) (ठ) (थ) जस्ता बुँदाहरुमा वर्ग संघर्षप्रति निरन्तर प्रतिबद्ध रहनको लागि मार्ग प्रशस्त गरेको छ । ती बुँदाहरुमा भनिएको छ:– वर्ग संघर्ष र जनताको हितमा हुने कुनै पन संघर्षमा अग्रपंक्तिमा रहनु, जनताको सेवामा लागिरहनु (ग), वर्ग संघर्षमा विजय प्राप्त गर्नु, पुरानो समाजमा रहेको भाग्यवाद, अन्धविश्वास, छुवाछुत, पुरुष अहंकारवाद जस्ता रुढिवाद र गलत विचारधाराहरुलाई हटाउनु, मनोगतवाद र उदादवादको विरोध गर्नु, निरुंकश र उश्रृंखल आलोचनाबाट बच्नु(ज) विश्व सर्वहारा वर्गको क्रन्तिकारी ध्येयप्रति निष्ठावान हुनु आदि । आज ने.क.पा. (मसाल) का प्रत्येक पार्टी सदस्यहरुले आफ्नो विधानमा उल्लेखित ती कयौं प्रकारका काम र कर्तव्यहरु पुरा गर्न कर्तव्यबोधका साथ लागि परिरहेका देखिनछन् । यी बाहेक ने.क.पा. (मसाल) ले वर्ग संघर्षलाई अगाडि बढाउन कैयौं प्रकारका नीति तथा कार्यक्रमहरु तर्जुमा गरेर जनताको बीचमा निरन्तर रुपमा जरा हाल्ने र झाड्डिने प्रयत्न गरिरहेको छ । आफ्नो जन्मकालदेखि नै ने.क.पा. (मसाल) ले क्रान्तिको लागि अथक प्रयत्न गर्दै आएको छ । त्यही पनि हाम्रो देशमा अझै वास्तविक क्रान्ति हुन सकेको छैन । र मुठिभर शोषकहरु कै बोलवाल चलिरहेकै छ । कम्युनिष्ट पार्टी स्थापना भएको पनि कैयौं वर्ष भइसक्यो । शोषक वर्गको विरुद्ध शाषित वर्गले लड्न थालेको पनि यूगौं बितिसक्यो तै पनि क्रान्ति हनु नसकेपछि वा शोषित वर्गले मुक्ति नपाए पछि यसबाट अत्तिएर कतिपय व्यक्ति तथा शक्तिहरुले बेला न कुबेला बन्दुक उठाएर रगतको खोला लगाएका छन् र सहिदको खेती गरेका छन् । त्यसरी पनि क्रान्ति नभएपछि, शोषित वर्गले मुक्ति नपाएपछि घुमिफेरी त्यही शोषक वर्गको महाजालमा फसेर ती बन्दुक उठाएका शक्तिहरु नराम्ररी पतन भइसकेका छन् । यहीनेर हामीले बुझ्नु परेको छ कि क्रान्ति वा मुक्ति कुनै व्यक्ति विशेषले चाहाना गर्दैमा हुने कुरा पनि होइन । न त यो कुनै दल वा शक्ति विशेषको इच्छा वमोजिम नै पुरा हुने चिज हो । यो त केवल वर्ग संघर्षको नियमित प्रक्रियाद्वारा अघि बढ्दै जाने कुरा हो । शोषित वर्गले मुक्ति प्राप्त गर्नको लागि वा क्रान्ति पुरा हुनको लागि यसका सम्पूर्ण पद्धतिहरु गतिको नियम बमोजिम चलिरहेका हुन्छन् । यही गतिको सार्वभौम नियमलाई पालना गर्दै ने.क.पा.(मसाल) वर्ग संघर्षको महायात्रामा निरन्तर अगाडि बढिरहेको छ र बढिरहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here