लक्ष्मीप्रसाद देवकोटा : वैचारिक पक्षको अध्ययन

0
280
– मोहनविक्रम सिंह

–च–

२००९ सालमा काठमाडौंमा दार्शनिक सङ्घबाट एउटा पत्रिकामा देवकोटाको “दर्शन” शीर्षकले एउटा लेख प्रकाशित भएको थियो । त्यो लेखमा नै दर्शनबारे देवकोटाका विचारहरू अन्य सबै लेखहरूमाभन्दा बढी व्यवस्थित रूपले प्रकट गरिएका थिए भनिन्छ । तर कतिपय पुस्तकमा प्रकाशित त्यो लेखका उद्धरणहरूबाट देवकोटाको त्यो लेखबारे केही जानकारी प्राप्त हुन्छ ।३२ त्यो लेखमा देवकोटाले दर्शनबारे प्रकट गरेका विचारहरूबाट दुईवटा कुराहरू प्रष्ट हुन्छन् : प्रथम, त्यो विषयमा उनको (देवकोटाको) जानकारी खालि उपरी प्रकारको थिएन र त्यसबारे उनले गम्भीर अध्ययन गरेका थिए । द्वितीय, “तरूण–तपस्वीको प्रदक्षीणा” लेखमा उनले लेखनाथमा द्वन्द्वात्मक भौतिकवादको “नाम निशान पनि देखिन्न” भनेर जुन विचार प्रकट गरेका थिए, त्यो खालि आकस्मिक र संयोगको कुरा थिएन र त्यो प्रश्नबारे उनीभित्र बन्दै गइरहेको प्रगतिशील दृष्टिकोणको नै अभिव्यक्ति थियो ।

दर्शनबारे उनले प्रकट गरेका विचारहरूको अध्ययनबाट उनको मुख्य आस्था अध्यात्मवाद वा ईश्वरवाद माथि नै भएको पाइन्छ । तर त्यसका साथै उनका विचारहरूले द्वन्द्वात्मक भौतिकवादी दिशा लिदै गएको कुरा पनि प्रष्ट हुन्छ । ईश्वर वा अध्यात्मवाद सम्बन्धी उनका विचारहरू थुप्रै रचनाहरूमा प्रकट भएका छन् । त्यसकारण हामी यहाँ तिनीहरूलाई उद्धृत वा प्रमाणित गर्नेतिर लाग्दैनौं । यहाँ दर्शन वा जीवनबारे उनले प्रकट गरेका द्वन्द्वात्मक भौतिकवाद वा प्रगतिशील विचारहरूको चर्चा गर्नेसम्म नै हामीले आफूलाई सीमित राख्ने छौं ।

“सुजामाता” काव्यमा “उपदेश दर्शन” शीर्षक दिएर देवकोटाले भौतिकवादी दर्शनबारे प्रकाश हाल्दै लेख्दछन् :

भौतिक दर्शन आत्माको चेतनाको दर्शन भनेमा
समस्त सारा देश छन् भौतिक आत्माको स्थानमा३३

अन्यत्र पनि उनले लेख्दछन् : “भौतिकवादीहरू चैतन्यको उत्पत्ति जडबाटै भएको ठान्दछन् । जड र चैतन्य एकै वस्तु हो भन्ने उनको भनाई छ ।”३४ (नेपाली भाषा)
त्यो भनाईले भौतिक दर्शनको राम्रो व्याख्या गर्दछ । त्यो लेखमा देवकोटाले यो पनि लेखेका छन् : “स्थानीय सामयिक सङ्कुचिततापूर्ण भावनाहरूबाट विश्वको चौडा समझ रखाउनु जीवनको पूर्ण स्वरूप सम्झाउनु दार्शनिकको सच्चा कत्र्तव्य देखिन्छ ।”३५ देवकोटाको यो भनाईले अत्यन्त ठूलो महत्त्व राख्दछ । जनसाधारण मात्र होइन, राजनैतिक दलका ठूला नेता माथिल्लो स्तरका बुद्धिजीविहरूले पनि बढी “स्थानीय” वा “सामयिक” दृष्टिले सोच्ने गर्दछन् । देवकोटाको विचारमा त्यो “सङ्कुचिततापूर्ण” दृष्टिकोण हो र त्यसलाई “चौडा” बनाइनुपर्ने आवश्यकता छ । वास्तवमा हामीले आफ्नो स्थानीय वा सामयिक चिन्तनबाट माथि उठेर “चौडा”, अर्थात् विषयहरू माथि व्यापक वा विश्वव्यापी दृष्टिले हेर्नुपर्दछ । हामीले कुनै चीजमाथि सामयिक रूपले मात्र नहेरेर त्यसित जोडिएका अतीत र भविष्यमाथि समेत विचार गर्नुपर्दछ । त्यही नै कुनै चीजलाई हेर्ने सही दार्शनिक दृष्टिकोण हो । देवकोटाको त्यो सोचाईले कुनै चीजलाई सङ्कीर्णतापूर्ण प्रकारले होइन त्यससित सम्बन्धित सबै चीजहरूका परिप्रेक्ष्यमा हेर्नुपर्ने द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणसित मेल खान्छ ।

देवकोटाले दर्शनबारे माथि प्रकट गरेका विचारहरूलाई खालि आकस्मिक रूपले प्रकट भएका विचारहरू मात्र भन्न सकिन्न । प्रकृति र जीवनबारे मात्र होइन, कला वा साहित्यबारे पनि उनले भौतिकवादी विचार प्रकट गरेको पाइन्छ । त्यसबारे उनको यो मात्र भनाई उद्धृत गर्नु पर्याप्त हुनेछ : “जीवन र प्रकृतिको दर्पण नै कला हो ।” तर “जीवन र प्रकृतिको चित्रण” मात्र “कला होइन” र त्यो “फोटोग्राफी मात्र हो” देवकोटाले लेख्दछन् : “सच्चा आँखादार”, अर्थात् जे देखिन्छ, त्यसैलाई कला मान्ने, “ठूला कलाकार हुँदैन” त्यो अवस्थामा उनले यो कुरामा जोड दिन्छन् : “मेरो विचारमा मनुष्यले कलामा अविदितसँगको आफ्नो परिचय झल्काउन चाहन्छ र विदितको दुनियाँमा अपरिचितको राज्य देखाउन खोज्दछ । कतिजनाले यस दुनियाँलाई देखे तर यसमा मिहीन सौन्दर्य र गूढ रहस्यहरू उनका आँखामा अन्धकारै बनेका थिए । प्रतिभाले त्यहाँ नबप्राप्ति गर्दछ, जहाँ अन्धसंसार चतुर आँखालाई कुनै खँदिलो सत्य हुँदैन ।”३६ देवकोटाको कला सम्बन्धी उक्त विचारहरूमा पनि साहित्य र कला सम्बन्धी माक्र्सवादी–लेनिनवादी दृष्टिकोणको राम्रो झलक मिल्दछ । त्यो लेखमा कला जीवनको दर्पण हो भन्ने विचार प्रकट गर्नुका साथै देवकोटाले यो पनि लेखेका छन् : “कला र जीवन छुट्टिन सक्दैनन्” कलालाई जीवनसित जोडेर हेर्ने त्यो दृष्टिकोण निश्चित रूपले भौतिकवादी सोंचाई हो । त्यसका साथसाथै विदितबाट अविदिततिर जाने सोंचाईले पनि ज्ञातबाट अज्ञाततिर जाने ज्ञानको प्रक्रिया सम्बन्धी माक्र्सवादी–लेनिनवादी दृष्टिकोणसित मेल खान्छ । साहित्य र कला वा प्रकृति, जीवन, सौन्दर्यको अन्र्तसम्बन्ध पनि दर्शनको क्षेत्रभित्र आउने विषयहरू हुन् । त्यस सम्बन्धी देवकोटाका विचारहरूको पनि विस्तारपूर्वक अध्ययनको आवश्यकता छ ।

देवकोटाका द्वन्द्वात्मक भौतिकवादी दर्शन सम्बन्धी विचारहरू उनका बेग्ला–बेग्लै कृतिहरूमा विभिन्न प्रकारले वा छरिएर देखापरेका छन् । द्वन्द्वात्मक भौतिकवादको एउटा आधारभूत सिद्धान्त हो : परस्परविरोधी तत्त्वहरूका बीचको सङ्घर्ष र एकता । प्रकृति, जीवन वा चेतनाको विकासमा त्यसले निर्णयात्मक महत्त्व राख्दछ । उनले आफ्ना विभिन्न कृतिहरूमा त्यसबारे बेग्ला–बेग्लै प्रकारले प्रकाश हालेका छन् । “सुलोचना” महाकाव्यमा देवकोटा लेख्दछन् :
विरोध नै जीवन हो मिसौट सब छ्यासस्मिसे ३७

विरोधका बीचबाट नै जीवनको उत्पत्ति र विकास हुन्छ । तर निश्चय नै द्वन्द्ववादले विरोधलाई मात्र होइन, परस्परविरोधी तत्त्वहरूका बीचको एकतामा पनि जोड दिन्छ र ती दुवैको एकताका बीचबाट नै प्रकृति वा जीवन गतिशील हुन्छ भन्ने कुरा मान्दछ । देवकोटाले पनि विरोधमाथि मात्र होइन, दुबैका बीचको एकतामा पनि जोड दिन्छन् । उनले “पाप” कवितामा लेख्दछन् :
विरोध द्वन्द्वले बन्द विश्व ३८
(छहरा)

देवकोटाको माथिको भनाईमाथि प्रकाश हाल्दै जगदीश घिमिरे लेख्दछन् :“देवकोटाको यो हरफ हेर्दा लेनिनद्वारा Law of unity and struggle of opposites (परस्पर विरोधी तत्वहरूका बीचको एकता र सङ्घर्षको नियम)को सिलसिलामा लेखिएको एक हरफ सम्झना हुन्छ : Development is the struggle of opposites (विकास परस्पर विरोधी तत्त्वहरूको सङ्घर्ष हो)”३९

“नर–नारी” निबन्धमा देवकोटाले लेख्दछन् : “दुई विरोधले एक जगत खडा हुन्छ ।” त्यो कुरालाई अझ स्पष्ट गर्दै देवकोटाले नरनारी निबन्धमा लेख्दछन् : “नर–नारी यी दुई शब्दमा एक विश्व छ । दुई विरोधले एक जगत् खडा हुन्छ । प्रकाश र अप्रकाश भनेपछि संसारमा अर्को वस्तु छैन । तर नर र नारी त्यति मात्रामा विपरीत छन् भन्न हामी सक्दैनौं । उही रगत छ, उही मासु छ, उनी अनुहार छ, उस्तै आत्मा छ । तर स्त्री र पुरूषमा एक जातीय भैकन पनि एक किसिमको जातिविरोध यस्तो अनन्ततया उच्चरित नै छ कि यी दुई शब्दमा हामी विपरीत द्वयको एक सम्पूर्ण संसार बसानउ सक्छौं ।”४० देवकोटाको यो भनाईमा सर्वप्रथम त “दुई विरोधले जगत खडा हुन्छ”भन्ने विचार महत्त्वपूर्ण छ । यो भनाईले परस्पर विरोधी तत्वहरूका बीचको सङ्घर्ष र एकताले नै “जगत खडा हुन्छ” भन्ने मान्यतालाई अगाडि ल्याउँछ । त्यो भनाईको अर्को महत्त्वपूर्ण पक्ष यो हो कि त्यसले स्त्री र पुरूष “एक जातीय भैकन” पनि “जातीय विरोध” उनीहरूका बीचमा “अनन्ततया उच्चरित” छ भन्ने कुरामा जोड दिन्छ । त्यो भनाईले कुनै पनि चीज बाहिरबाट हेर्दा एउटै जस्तो देखिएता पनि त्यसभित्र गम्भीर प्रकारको अन्तरविरोध विद्यमान हुन्छ र चलिरहन्छ भन्ने कुरा माथि प्रकाश हाल्दछ, जुन द्वन्द्वात्मक भौतिकवादको एउटा आधारभूत विशेषता हो । देवकोटाको त्यो निबन्धमा यो पनि लेखिएको छ : “हामी भन्न सक्तैनौंं किन ? तर संसार दुईटा विरोधले बनेको छ ।” यहाँ प्रकट गरिएका विचार, अर्थात् “संसार दुईटा विरोधले बनेको छ” भन्ने सोचाईले हेगेलको द्वन्द्ववादसित मेल खाएको कुरा एकदम स्पष्ट छ । त्यस सिलसिलामा देवकोटाको यो भनाई पनि अत्यन्त महत्त्वपूर्ण छ : “… म विरोधमा स्पन्दन पाएर तेस्रो तत्वमा साम्य लिन्छु”४१ यो भनाईले हेगेलको दुई विपरीत तत्वहरूका बीचमा द्वन्द्व भएर एउटा तेस्रो तत्वको जन्महुन्छ भन्ने द्वन्द्ववादी सोचाईसित मेल खान्छ । त्यो भनाईलाई उनले (हेगेलले बाघ–प्रतिवाद–सम्पादको)सूत्रको रूपमा प्रस्तुत गरेका छन् । यहाँ देवकोटाले “तेस्रो तत्वमा साम्य” को विचारले हेगेलको दुई तत्वको बीचको सङ्घर्षपछि पैदा हुने तेस्रो तत्व सम्वादसित मेल खान्छ ।
विश्वको उत्पत्ति र विकास कसरी भयो ? त्यसबारे पनि उनले भौतिकवादी प्रकारका विचारहरू प्रकट गरेको देखिन्छ । उनले आफ्ना निबन्धहरूमा डार्विनको विकासवादी सिद्धान्तको चर्चा गर्दै लेख्दछन् : विकासवादी सिद्धान्त अनुसार “कुनै जाति ओर्‍हालो लागिरहेछ कोही उकालो लागिरहेछ”४२ (भलादमी) उनीहरूले (विकासवादीहरूले) “मान्छे बाँदरबाट विकास भएको मान्दछन् ।”४३ (नर–नारी) निश्चय नै यहाँ प्रकट गरिएका विचारहरू देवकोटाका होइनन् र उनले विकासवादीहरूका विचारहरू नै प्रकट गरेका छन् । तर ती प्रश्नहरूमा उनले अन्यत्र प्रकट गरेका विचारहरूबाट त्यस प्रकारका विकासवादी विचारहरूप्रति सकारात्मक दृष्टिकोण अपनाएको देखिन्छ ।

देवकोटाको यो विचारले पनि उनको द्वन्द्ववादी दृष्टिकोणको परिचय दिन्छ : “नयाँ विचार र पुराना आदर्शहरू दुई लहरी भएर दुईतिरबाट जुधिरहेछन्”४४

(साधुको महात्म्य) पुराना र नयाँका बीचमा सङ्घर्षको नियम ऐतिहासिक भौतिकवादको एउटा आधारभूत नियम हो । पुराना र नयाँका बीचको सङ्घर्षमा वर्ग–सङ्घर्षले महत्त्वपूर्ण भूमिका खेल्दछ र त्यसले समाजको विकासलाई अगाडि बढाउन योगदान दिन्छ । त्यो सङ्घर्षको क्रममा पुरानाको हार र नयाँको विजय हुँदै जान्छ । त्यस सिलसिलामा देवकोटाले सुलोचनामा लेखेको यो विचार पनि उल्लेनीय छ : “उमेर साथ हकले ओह्रालो लिन्छ, बैंसले उकालो लिन्छ”४५ उक्त भनाइद्वारा देवकोटा द्वन्द्ववादी चिन्तनको धेरै नै नजिक पुगेको कुरालाई बताउँछ । ज्ञानको प्रश्नमा पनि देवकोटाले काफी हदसम्म माक्र्सवादी दृष्टिकोण अपनाएको देखिन्छ । “साहित्यमा शिवत्व” निबन्धमा उनले लेख्दछन् : “अप्रमाणितको त्याज्यताको आधारमा भौतिकवादी प्रगति चलेको देखिन्छ”४६ त्यो सोचाईबाट देवकोटाले जुन कुरा “अप्रमाणित” छ, त्यसलाई त्यागेर नै “भौतिकवादी प्रगति” हुने कुरामा जोड दिएको देखिन्छ । भौतिकवादले यो कुरामा जोड दिन्छ कि प्रयोग र तथ्यहरूद्वारा प्रमाणित भएको कुरा नै सत्य हुन्छ, जब कि अध्यात्मवादले सत्यको आधार चेतनालाई मान्दछ र प्रयोगद्वारा त्यो प्रमाणित हुनु आवश्यक ठान्दैन । ज्ञानको प्रश्नमा जब उनले यो विचार प्रकट गर्दछन्, उनी सच्चा भौतिकवादीरूपमा देखापर्नथालेको देखिन्छ : “जीवनसित नगासिएका कुराहरूहरू ज्ञानका सामग्री हुन सक्दैनन्”४७ (जुवा) वा यो भनाई ज्ञानको स्रोत भौतिक जगत जीवनभन्दा बाहिर आत्मा, चेतना वा ईश्वरलाई ठान्ने अध्यात्मवादी सोचाईका विरूद्ध भएको कुरा प्रष्ट छ ।

माक्र्सवादले यो कुरा मान्दछ कि नियमितता र आकस्मिकता दुवैका बीचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ । प्रकृति वा जीवनमा नियमितता हुन्छ, तर नियमितता भित्र आकस्मिकता पनि हुन्छ । त्यो कुरा स्पष्ट गर्दै देवकोटाले “निद्रा” निबन्धमा लेख्दछन् : “विश्वमा नियमको शासन देखिन्छ । हामीहरूलाई अनियत लागेका धेरै विषयमा पनि हाम्रो नजरले नियम नभेटेको हुन सक्दछ । जति मानिसले नियमको पत्तो लगाउँदै जान्छ, उति सच्चा विज्ञानको उन्नति हुँदै जाँदो छ ।”४८ त्यो भनाईले प्रकृति वा जीवनका नियमहरूको जति ज्ञान हुँदै जान्छ, त्यति नै रहस्यको उद्घाटन हुँदै र सत्यको ज्ञान हुँदै जाने कुरालाई बताउँछ । त्यो विचार पनि चेतन तत्वलाई नै ज्ञानको स्रोत मान्ने आध्यात्मवादी विचारका विरूद्ध भएको कुरा प्रष्ट छ । प्रकृति र जीवनमा जुन चीजहरू आकस्मिकरूपमा घटेका देखिन्छन्, तिनीहरूपनि वास्तविक अर्थमा आकस्मिक हुन्नन् । त्यो कुरा स्पष्ट गर्दै देवकोटाले लेख्दछन् : “हामी जति अचानक भन्छौं, त्यसमा पनि अशेष नियमहरूको सूक्ष्मता भएजस्तो विदित हुन्छ ।”४९ (आकार र अभिप्राय) त्यो भनाईले यो बताउँछ, जुन कुराहरू “अचानक” मा जस्तो देखिन्छन्, तिनीहरू पनि वास्तवमा नियमित रूपले नै घटिरहेका हुन्छन् र आकस्मिक रूपले होइन । त्यस सिलसिलामा देवकोटाले यो पनि लेख्दछन् : “हामीलाई अनियत लागेका धेरै विषयमा पनि हाम्रो नजरले नियम नभेटेको हुनसक्छ ।”५० (निद्रा) त्यसको अर्थ यो हुन्छ, हामीलाई “अनियत” लागेका कुराहरू पनि वास्तवमा त्यस्ता हुँदैनन्, तर “हाम्रो नजरले नियम नभेटेको”मात्र हुन्छ । त्यो भनाईले विश्वको सञ्चालन त्यसभन्दा बाहिरको कुनै अलौकिक वा ईश्वरीय शक्तिले होइन, त्यसभित्रका आफ्नै नियमहरूद्वारा नै हुन्छ भन्ने सिद्धान्तलाई पुष्टि गर्दछन् । देवकोटाको त्यो सोचाईले विश्वको सञ्चालन सम्बन्धी सोंचाईले द्वन्द्वात्मक भौतिकवादको नियमितता र आकस्मिकताको नियमसित मेल खान्छ ।

जीवन वा त्यसका विभिन पक्षहरूबारे पनि देवकोटाले काफी हदसम्म द्वन्द्वात्मक भौतिकवादी प्रकारका विचारहरू प्रकट गरेका छन् । देवकोटाले लेख्दछन् “जीवन विश्वको समष्टि रूपको केन्द्रीभूत चैतन्य हो ।”५१ (एउटी चरीको चिरिबिरी) यो भनाईलाई ठीकसित बुझ्नुपर्ने आवश्यकता छ । अध्यात्मवादले जीवनलाई यो संसारभन्दा बाहिर अलौकिक शक्ति, चेतना, आत्मा वा ईश्वरबाट पैदा भएको मान्दछ । तर यहाँ देवकोटाले जीवनलाई यही विश्वको परिणाम ठान्दछन् – विश्वको चैतन्य रूप । भौतिकवादले पनि त्यही प्रकारको विचार राख्दछ । मानव जीवन वा चेतना भौतिक संसारको नै उपज हुन्छ । अर्काशब्दमा, चेतना भौतिक जगतको सबैभन्दा उच्च विकसित वा परिमार्जित रूप हो । देवकोटाको माथिको भनाईले पनि त्यही कुरातिर सङ्केत गर्दछ । त्यही सिलसिलामा उनले यो पनि देख्दछन् : “जीवन भन्नु सर्व साधारण चेतको सांसारिक बोक्रेपन होइन ।”५२ (कला र जीवन) अध्यात्मवादीहरूले यो बताउँछन् कि जीवन आत्माको वाह्य वा भौतिक रूप, अर्थात् “सांसारिक बोक्रो” मात्र हो । देवकोटाको माथिको भनाईले त्यो अध्यात्मवादी सोचाईलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपले खण्डन गर्दछ । उनले यो कुरामा पनि जोड दिएका छन् : “नियमलाई नाघ्नेपना नै जीवन हो ।”५३ (जुवा) नियमहरू भौतिक अवस्था, सामाजिक परम्परा आदिसित जोडिएका हुन्छन् । तर मानिसहरूको चेतन पक्षले तिनीहरू माथि विजय प्राप्त गर्ने वा तिनीहरूबाट स्वतन्त्र भएर अगाडि बढने प्रयत्न गर्दछ । त्यसरी द्वान्द्वात्मक भौतिकवादको नियम अनुसार, हाम्रा अगाडि भएको प्राकृतिक नियमअनुसार जुन आवश्यकता हुन्छ, तिनीहरूबाट स्वतन्त्र हुने हाम्रो प्रयत्न हुन्छ र हुनुपर्दछ । हामीले जति त्यस प्रकारको स्वतन्त्रता प्राप्त गर्न सफल हुन्छौं त्यति नै हाम्रो उच्चस्तरमा विकास हुँदै जान्छ ।

देवकोटाले जीवनलाई अत्यन्त महत्त्वपूर्ण अर्थमा लिन्छन् । उनका निम्नलिखित दुई भनाईहरू उनको जीवन दर्शन बारे पर्याप्त छन् भनेपनि हुन्छ ।

१. “जीवन पनि एउटा लेख हो ।”५४ (जुवा)
२. “खतरा नभएको जीवनमा हामी ज्यून सक्दैनौं ।”५५ (जुवा)

देवकोटाको पहिलो भनाई माथि प्रकाश हाल्दै डा. दुर्गाप्रसाद अर्यालले लेख्दछन् : “जीवन रहस्यमय, कौतुकमय, आश्चर्यमय छ र यसमा अनन्त अज्ञेयता तथा असीमित सम्भावना पनि छन्”५६ देवकोटाको दोस्रो भनाईले उनले जीवनप्रति जुझारू दृष्टिकोण अपनाएको देखिन्छ । त्यो भनाईले “ज्वार भाटाका विरूद्ध जानु नै माक्र्सवादी–लेनिनवादी सिद्धान्त हो” भन्ने माओको प्रसिद्ध भनाईसित मेल खान्छ । वास्तवमा देवकोटाले आफ्ना निबन्धहरूमा जुन प्रकारका विचारहरू प्रकट गरेका छन्, तिनीहरूले उनको जीवन दर्शनमाथि राम्ररी प्रकाश हाल्दछन् । आफ्ना निबन्धहरूमा देवकोटाले प्रकट गरेका विचारहरूका आधारमा “लक्ष्मीप्रसादको जीवन दर्शन” शीर्षकले एउटा सिङ्गै पुस्तक तयार पार्न सकिन्छ । कुनै लेखकले त्यो विषयलाई लिएर काम गरे त्यो स्वागतयोग्य कुरा हुन्थ्यो ।
–छ–

लक्ष्मीप्रसाद देवकोटाको समय अन्तर्राष्ट्रिय स्तरमा र नेपालमा पनि महान उथल–पुथल वा क्रान्तिकारी परिवर्तनको काल थियो । मोदनाथ प्रश्रितले २०३५ मा प्रकाशित आफ्नो लेख “वैचारिक विकासको सन्दर्भमा लक्ष्मीप्रसाद देवकोटा”मा देवकोटाको कालको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति माथि राम्ररी प्रकाश हालेका छन् । उनले लेख्दछन् :

“देवकोटा जहिले जन्मे त्यो समय मानव–समाजको इतिहासमा ठुल्ठुला भुइँचाला र ज्वालामुखीको समय थियो । विश्व–पुँजीवाद साम्राज्यवादको चरम शिखरमा पुग्दैथियो । पुँजीवादको गर्भबाट जन्मेको सर्वहारा शक्तिले झन्नै आधा शताब्दी अगाडि नै ‘पेरिस कम्यून’ (वि.सं. १९२८) को शक्ति देखाइसकेको थियो । उनी जन्मेको पाँचै वर्षपछि प्रथम विश्वयुद्ध सुरू भयो र उनको आठ वर्षको उमेरमा विश्वको इतिहासमा पहिलो पटक रूसमा समाजवादी युग सुरू भयो । त्यसपछि विश्वमा राष्ट्रिय मुक्तियुद्धको तूफान झन् वेगवान् भयो र त्यसले हाम्रा छिमेकी देश चीन र भारतलाई पनि लपेट्दै लग्यो । देवकोटाको बत्तीसदेखि पैंतीसको उमेरमा संसार दोस्रो महायुद्धको लपेटामा पर्‍यो । त्यस युद्धले पूर्वी यूरोप र पूर्वी एशियामा माक्र्सवाद–लेनिनवादको विजयलाई माथिल्लो खुड्किलोमा पुर्‍याइदियो । चीन र भारतमा क्रान्तिकारी द्वन्द्व झन् अघि बढ्यो ।

यता नेपालमै पनि देवकोटाको ११–१२ वर्षको उमेरमा ‘गेहेन्द्र पर्व’ र ‘मकै पर्व’ घटिसकेका थिए । आर्यसमाजी विचारका प्रचारक माधवराज जोशी आदि अपमानित, लाञ्छित र दण्डित भइसकेका थिए । ती दिनहरूमा विश्वयुद्धको वीभत्स चरित्र देखेर फर्केका गोर्खाभर्तीका सैनिकहरू साम्राज्यवादी क्रुरताका जीवित कथत सुनाउँदै थिए । उनको २२ वर्षको उमेर अर्थात् वि. १९८८ मा ‘प्रचण्ड गोर्खा काण्ड’ घटेको थियो । उनी २७ वर्षका हुँदा प्रजापरिषद्को स्थापना भएको थियो र ३१ को उमेरमा वि. १९९७ को विख्यान् राजनीतिक हत्याकाण्ड भएको थियो ।”५७

विश्व र नेपालमा पनि भएका त्यस प्रकारका परिवर्तनहरूबाट देवकोटाको चिन्तनमा प्रशस्त असर परेको पाइन्छ । १९९७ मा प्रजापरिषद्का नेताहरूलाई मृत्युदण्ड दिएपछि उनमा राणाशासनप्रति आक्रोश देखापर्दछ, यद्यपि त्यो आक्रोश प्रच्छन्न र प्रतीकात्मक रूपमा नै बाहिर आउन सकेको थियो । १९९८ मा लेखिएको उनको कविता “कुन मन्दिरमा पुँजा गछौं, आउ”को जवाफमा “वीरहरूको बलिदान भएको ठाउँ” वा “अन्तकरणको स्वतन्त्रता यो ता छ अनमोल यहाँ” जस्ता अभिव्यक्तिहरूद्वारा राणाशासन प्रतिको उनको आक्रोश उच्च रूपमा प्रकट हुन्छ । देशमा जब राणा शासनका विरूद्ध जागरण र आन्दोलन सुरू हुन्छ उनी त्यो आन्दोलनमा सामेल हुनेका लागि वाराणसी पुग्दछन् र “पहाडी पुकार” जस्ता खण्डकाव्यहरू लिएर मैदानमा आउँछन् । विश्वमा र नेपालमा पनि समाजवादी आन्दोलनको लहर बढ्न थालेपछि उनको विस्फोट “पागल” कविताकारूपमा हुन्छ । “प्रमिथस”द्वारा उनी क्रान्तिमयरूपमा देखा पर्दछन् । “कृषिवाला” द्वारा उनी वर्ग–सङ्घर्ष र किसान आन्दोलनको आह्वान गर्न पुग्दछन् । “तरूण–तपस्वीको प्रदक्षिणा”द्वारा उनी खुलेर द्वन्द्वात्मक भौतिकवादको पक्षमा उभिन्छन् ।

देवकोटाले विभिन्न समयमा तात्कालिक राणा प्राइमिनिष्टर र राजाको प्रशंसा गरेर लेखेका कविता वा लेखहरूको पनि प्रायश: चर्चा गर्ने वा तिनीहरूबारे टिकाटिप्पणी गर्ने गरिन्छ । १९९८ सालमा उनी जुद्ध समशेरको शिकार वर्णनको डायरी लेख्न खटिएका थिए ।५८ २००१ सालमा नेपाल उद्योग प्रदर्शनीको उद्घाटनको अवसरमा लेखेको एउटा कवितामा उनले लेखेका थिए : “स्वागत हाम्रो भाग्य विधाता, स्वागत उन्नती मंगल दाता”५९ २००२ सालमा जुद्ध शमशेर सन्यासी भएर रिडीतिर हिंड्दा उनले (देवकोटाले) उनलाई “विशाल त्याग” गरेको बताउँदै उनको प्रशंसामा कविता रचेका थिए ।६० त्यही बेला “शारदा” मा प्रकाशित एउटा लेखमा जुद्ध शमसेरबारे उनले लेखका थिए : “यत्रो महापुरूष जन्मेको थिएन । शुरूदेखि नै श्री ३ जुद्ध प्रुभूमा एक विचित्र प्रतिभाको आभास पाइन्थ्यो… रिडीका छालमा धर्म छचल्किन्थ्यो । हामीले हाम्रा सबभन्दा उत्तम पुरूष त्यसतर्फ प्रस्थान गरेको देख्यौं ।”६१ राणाशाही शासनका विरूद्धको सङ्घर्षमा वाराणसी गएका देवकोटा “पारिवारीक सङ्कटले वाध्य भई… राणाशाहीसँग माफि” मागेर देशमा फर्के ।६२ राजा त्रिभूवन दिल्लीबाट फर्कदा उनको प्रशंसा गर्दै देवकोटाले उनलाई
(त्रिभुवन) प्रमिथससित तुलना गर्दै लेखेका थिए : “प्रजातन्त्रको अग्निका बीजदाता, भए एक राजा स्वदेश प्रजामा” त्रिभुवनबारे यो पनि लेखेका थिए : “विश्वजेता पिताका सुपुत्र, नयाँ देश नेपाल रच्ने विचित्र”६३ राजा महेन्द्रको राज्याभिशेषकको उपलक्ष्यमा उनले लेखेका थिए : “प्रकृतिको पर्वत मन्दिर सुनको गजुर जडाइ, हामी दिन्छौं महेन्द्रलाई हृदयले चढाइ”६४

अहिलेको राजनीतिक परिस्थितिमा देवकोटाले तात्कालिक राणा शासकहरू वा त्यसको अन्त पछि राजाहरूबारे प्रकट गरेका विचार वा कविताहरूलाई हेर्दा उनको सम्पूर्ण व्यक्तित्वसित मेल नखाने कुराजस्तो देखिन्छ । तर देवकोटालाई हामीले अहिलेको देशको राजनीतिक परिस्थिति वा चेतनाको आधारमा नै मूल्याङ्कन गर्नुपर्दछ । कुनै व्यक्तिको मूल्याङ्कन गर्दा कुन प्रकारको पद्दति अपनाउने त्यसबारे मोदनाथ प्रश्रितले लेखेका छन् :

“कुनै पनि विषयवस्तुलाई सुरूदेखि अन्त्यसम्म र भित्रदेखि बाहिरसम्म सबै पक्षबाट राम्ररी जाँची, पूर्वाग्रह र एकल्काँटे प्रवृत्ति छाडेर उसैको ऐतिहासिक सन्दर्भमा राखेर मूल्याङ्कन गर्नु नै यथार्थवादी–जनवादी समालोचना पद्धति हो ।”६५ त्यो भनाईमा एउटा अर्को कुरा पनि जोड्नु पर्दछ : कसैको मूल्याङ्कन गर्न उसको वैचारिक वा चेतनाकोस्तर माथि पनि विचार गर्नुपर्दछ । उनी कुनै दर्शन, सिद्धान्त, राजनीतिक लाइन वा राजनीतिक दलसित आवद्ध भएका थिएनन् । उनको विचारको विकासलाई कुनै खास सिद्धान्त वा दर्शनभन्दा पनि बेग्ला–बेग्लै समय, काल र परिस्थितिमा हुने परिवर्तनहरूले नै प्रभावित वा निर्धारण गर्ने गरेका छन् । त्यो अवस्थामा उनका त्यस प्रकारका सीमा र कमजोरीहरूका बाबजुद जति अगाडि बढ्दै वा उच्चस्तरका विचारहरूलाई अपनाउँदै गए त्यसले नै बढी महत्त्व राख्दछ । त्यो कुरालाई प्रश्रितले यसरी व्यक्त गरेका छन् : “आफ्नो जीवनमा यसरी कहीं, मत्थरिंदै, कहीं भूमरी पर्दै, कहीं छाँटिदै, कहीं छचच्किंदै सागरतिर बढिरहेको नदी झै देवकोटा पनि जनवादी र समाजवादी चेतनाको क्षेत्रतिर बढ्दै गएका थिए ।”६६

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here