राष्ट्रिय सभा निर्वाचनका लागि राजमोद्वारा उम्मेदवारहरु घोषणा

0
313

देशको राजनीतिमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल जनताको आशाको केन्द्र राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरु घोषणा गरेको छ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपाली प्रदेश नं. ५ बाट, पूर्व सचिव कृष्ण अधिकारी र अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन प्रदेश नं. ४ बाट राष्ट्रिय सभाका लागि राजमोको उम्मेदवार बन्नु हुने भएको छ । राजमोले सम्भव भएसम्म एमाले, माओवादी, माओवादी केन्द्रसहितको वाम गठबन्धनसँग तालमेल गरेर त्यो सम्भव नभएमा एकल रुपमै भए पनि प्रदेश ४ र ५ बाट राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने यस अघि नै सार्वजनिक गरेको थियो ।

राजमो अध्यक्ष चित्र बहादुर केसीद्वारा २०७४ माघ ९ गते जारी गरिएको प्रेस वक्तव्यमा कार्यकारी अध्यक्ष रश्मिराज नेपाली प्रदेश नं. ५ को अन्यबाट, पूर्व सचिव कृष्ण अधिकारी प्रदेश नं. ४ को अन्यबाट र अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन प्रदेश नं. ४ को महिलाबाट राजमोको उम्मेदवार बन्नु हुने उल्लेख गरिएको छ । राजमो केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार माघ १० मा हुन गई रहेको उम्मेदवारी मनोनयनका लागि राजमोका उम्मेदवारहरु ९ गते साँझ नै सम्बन्धित प्रदेशको कार्यालयमा पुगी सक्नु भएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा एक हजार पाँच सय छ र सात वटा प्रदेशका कुल पाँच सय ५० प्रदेश सांसद जम्मा गरी कुल दुई हजार ५६ जनाले मतदान गर्ने संवैधानिक व्यवस्था रहेको छ । उक्त संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय जनमोर्चाको प्रदेश नं. ५ मा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष पाँच जना र प्रदेश सांसद एक जना गरी कुल छ जना र प्रदेश नं. ४ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तीन जना र प्रदेश सांसद तीन जना गरी कुल छ जनाले मतदान गर्न पाउने छन् । प्रदेश नं. ५ मा उक्त संवैधानिक प्रावधान अनुसार राष्ट्रिय सभाका लागि मतदान गर्न पाउने मतदाता तीन सय पाँच रहेका छन् भने प्रदेश नं. ४ मा दुई सय ३० जना रहेका छन् । निर्वाचन आयोगले प्रकाशन गरेको नामावली अनुसार प्रदेश नं. १ मा तीन सय ६७ जना, प्रदेश नं. २ मा तीन सय ७९ जना, प्रदेश नं. ३ मा तीन सय ४८ जना, प्रदेश नं. ६ मा एक सय ९८ र प्रदेश नं. ७ मा दुई सय २९ जना मतदाता रहेका छन् । निर्वाचन आयोगको निर्वाचन तालिका अनुसार माघ १० गते उम्मेदवारहरुको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० गतेदेखि दिउँस ३ बजेसम्म मतदान हुने छ । मतदानका लागि आयोगले प्रदेश नं. १ को मोरङको विराटनगरमा, प्रदेश नंं २ को धनुषाको जनकपुरधाममा, प्रदेश नं. ३ को ललितपुरको पाटनमा, प्रदेश नं. ४ को कास्कीको पोखरामा, प्रदेश नं. ५ को दाङको घोराहीमा, प्रदेश नं. ६ को सुर्खेतको वीरेन्द्रनगरमा र प्रदेश नं. ७ को डोटीको दिपायलमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरेको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा एकल सङ्क्रमणीय निर्वाचन प्रणाली अपनाइने छ । नेपालको संविधान धारा ८६ अनुसार राष्ट्रिय सभाको निर्वाचनमा निर्वाचक मण्डलको मतभार फरक फरक हुनेछ । प्रदेश सभा सदस्यको मतभार ४८ हुने छ भने स्थानीय तहका पदाधिकारीको मतभार १८ हुने छ । प्रत्येक प्रदेशबाट ८ जना सांसद निर्वाचित हुनेछन्, जसमा, कम्तीमा तीन जना महिला, एक दलित एकजना अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्ति अनिवार्य हुनु पर्ने छ । सात प्रदेशबाट निर्वाचित भएर आउने ५६ जना र सरकारद्वारा मनोनित तीन जना गरी कुल ५९ जनाको राष्ट्रिय सभा गठन हुने छ । राष्ट्रिय सभाको पदावधि छ वर्षको हुने छ । तर यो संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाको माध्यमबाट एक–तिहाइको दुइ वर्ष, अर्को एक–तिहाइको चार वर्ष र बाँकी एक–तिहाइको छ वर्ष पदावधि कायम रहने छ ।

तालमेलको प्रयास जारी
राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले र माओवादी केन्द्र सहितको वाम गठबन्धनसँग तालमेल गर्ने प्रयत्न गर्ने भएको छ । राजमोले गत मङ्सिर १० गते र २१ मा सम्पन्न प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा बागलुङ र प्युठानमा वाम गठबन्धनसँग चुनावी तालमेल गरेको थियो । ती बाहेक गुल्मी, डडेल्धुरा र अर्घाखाँची जिल्लाका कतिपय निर्वाचन क्षेत्रमा समेत राजमोले काङ्ग्रेस उम्मेदवारलाई पराजित गर्नका लागि वाम गठबन्धनका उम्मेदवारहरुलाई सघाएको थियो । राष्ट्रिय सभा निर्वाचनमा पनि राजमोले वाम गठबन्धनसँगको चुनावी तालमेललाई कायम राख्ने प्रयत्न गर्ने जनाएको छ ।

“तालमेलका निम्ति हामीले प्रयास गरी रहेका छौँ” राजमो अध्यक्ष चित्र बहादुर केसीले भन्नु भयो– “एमाले र माओवादी–केन्द्र दुवैसँग कुराकानी भएको छ । तर अझै कुनै सहमति भएको छैन ।” तालमेलको प्रयत्न सफल नभएमा राजमोका घोषित उम्मेदवारहरुको उम्मेदवारी कायमै रहने पनि अध्यक्ष केसीले स्पष्ट पार्नु भयो । “एमाले–माओवादी केन्द्र सहितको वाम गठबन्धनसँग तालमेलको प्रयत्न हामीले जारी राखेका छौँ । तर उनीहरुबीचमै समस्या छ । उनीहरुलाई नै भाग पुगेको छैन । हामीसँग कति तालमेल हुने हो ? यो अहिल्यै भन्न सकिने अवस्था छैन” अध्यक्ष केसीले भन्नु भयो–“नेपाली काङ्ग्रेससँगको चुनावी तालमेललाई हामीले पहिल्यै बन्द गरी सकेका छौँ । अब वाम गठबन्धनसँग तालमेल हुन नसकेमा प्रदेश नं. ४ र ५ मा हाम्रो उम्मेदवारी कायम नै रहने छ ।”

गणतन्त्र र धर्म निरपेक्षता लगायतका संविधानका उपलब्धिहरुलाई रक्षा गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन वाम गठबन्धनलाई अझै दरिलो र कसिलो बनाउनु पर्ने आवश्यकता देखिन्छ । स्पष्ट विचार, स्वच्छ र क्रान्तिकारी धार बोकेको राष्ट्रिय जनमोर्चालाई पनि एमाले र माओवादी केन्द्रले साथमा लिन सकेमा वाम गठबन्धन झनै दरिलो र प्रभावकारी हुने निश्चित छ । त्यसैले एमाले र माओवादी केन्द्र सहितको वाम गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा राजमोलाई पनि साथमै लिएर अघि बढ्नु नै बुद्धिमत्तापूर्ण निर्णय हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here