राष्ट्रको शीर उँचो बनाउँदै १३ औं सागमा नेपाललाई ऐतिहासिक सफलता ५१ स्वर्ण सहित २०६ पदक

0
94

काठमाडौं । साग इतिहासमै सबैभन्दा बढी ५१ स्वर्णपदक जित्दै नेपालले १३ औं दक्षिण एशियाली खेलकुद (साग) को सुखद समापन गरेको छ । जसले एकपटक राष्ट्रको शीर उँचो बनाएको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ०७६ मंसिर २४ गते साँझ भव्य समारोहका बीच १३ औं सागको समापन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश मार्फत् सम्बोधन गर्दै १३ औं सागको समापन गर्नु भएको थियो ।

नेपाललाई ५१ स्वर्ण सहित २०६ पदक

नेपालले तेस्रो पटक आयोजना गरेको १३ औं सागमा विगतको इतिहासलाई सुधार गर्दै ५१ स्वर्ण सहित कुल २०६ पदक जितेको छ । समग्रमा नेपालले दोस्रो स्थान हासिल गरेको छ । स्मरण रहोस १३औं साग भन्दा पहिला सन् २००८ मा नेपाल दोस्रो पटक आयोजक बन्दा ३१ स्वर्ण पदक हासिल गरेको थियो । अहिलेसम्म सोही ३१ स्वर्ण नै नेपालले सर्वाधिक स्वर्ण पदक थियो, जुन यस पटक तोडिएको छ । सम्पन्न १३ औं सागमा भारत १७२ स्वर्ण, ९३ रजत ४५ कास्य सहित कुल ३१० पदक जित्दै पदक तालिकाको अग्रस्थानमा रहँदै सुखद अन्त्य गर्दै गर्दा नेपालले ५१ स्वर्ण, ६० रजत, ९५ कास्य सहित कुल २०६ पदक जित्दै दोस्रो स्थान हासिल गर्न सफल भयो । श्रींलका ४० स्वर्ण, ८२ रजत, १२८ कास्य सहित कुल २५० पदक, पाकिस्तान ३१ स्वर्ण, ४१ रजत, ५९ कास्य सहित कुल १३१ पदक, बंगलादेश १९ स्वर्ण, ३२ रजत, ८७ कास्यसँगै कुल १३८ पदक जित्न सफल भयो । यसैगरी माल्दिभ्सले ऐतिहासिक १ स्वर्णसँगै ३ कास्य गरी कुल ४ पदक जित्न सफल भयो । क्षेत्रफलमा दक्षिण एसियामा सबै भन्दा सानो देश माल्दिभ्सले ३५ वर्षे सागको इतिहासमा पहिलो पटक १०० मिटर दौडमा हसन साइदले देशका लागि स्वर्ण जितेको हुन् ।

स्वर्णविहीन भुटानले फुटबलमा ऐतिहासिक फाइनल यात्रा तय गरे पनि नेपाल सामू २–१ गोलले पराजित हुँदै ७ रजत, १३ कास्य सहित कुल २० पदकमा चित्त बुझाउँदै सागको अन्त्य गरेको छ । सागको अन्तिम खेलमाच नेपालले पुरुषतर्फको फुटबल फाइनलमा ऐतिहासिक प्रदर्शन गर्दै भुटानलाई २–१ गोलले पाखा लगाउँदै सागको उपाधि रक्षा गरेको हो । फुटबलको स्वर्णसँगै नेपालले यस संस्करणको खेलमा ५१ स्वर्ण पदक जित्दै सुखद अन्त्य गरेको छ । नेपालका लागि पहिलो हाफको १७ औं मिनेटमा अभिषेक रिजालले पहिलो गोल गर्दै अग्रता दिलाए ।
खेलको ३७औं मिनेटमा भुटानका लागि चेन्चो ग्याल्सेनले बराबरी गोल गर्दै खेलमा फर्काउने प्रयास गरे पनि दोस्रो हाफमा सुनिल बलले उत्कृष्ट हेड मार्फत गोल गरे पछि नेपालको अग्रता दोब्बर पार्दै जित सुनिश्चित गरे । १२ औं संस्करणको बिजेता नेपालले १३ औं संस्करणको पुरुष फुटबलमा उपाधि रक्षा गर्दै ५१ औं स्वर्ण पदक दिलाउन महत्वपूर्ण सहयोग ग¥यो ।

१३औं साग कीर्तिमानको श्रृंखलाः
१३औं सागमा पुराना कैयौ कीर्तिमानहरु भंग भए भने केही नयाँ कीर्तिमानहरु रचिएका छन । पौडि तर्फ नेपालकी खेलाडी गौरिका सिंहले जितेको चार स्वर्ण एउटै संस्करणमा एउटै खेलाडीले जितेको कीर्तिमानी स्वर्ण हो । कराँतेका मान्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एउटै संस्करणमा दुई स्वर्णको अर्को कीर्तिमान खडा गरेका छन् । ट्रायथलनमा सोनी गुरुङ्ग, १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ, गल्फमा सुवास तामाङ्ग साथै कुस्तीमा संगीता धामीले पहिलो स्वर्णको इतिहास रच्न सफल भए । नेपालले भलिबल र कबड्डीको महिलामा पहिलो पदक पदक जितेको हो ।

बक्सिङ्गमा पहिलो स्वर्ण
नेपाली खेलाडी मिनु गुरुङ्गले १३ औं सागको बक्सिङ्गमा २० बर्षै पछि स्वर्ण जित्दै बक्सिङ्गमा स्वर्ण जित्ने पहिलो महिला बन्न सफल भएकी छन । सन १९९९ मा भएके सागमा प्रकाश थापामगर र रामचन्द्र थापामगरले जितेको स्वर्ण पछि यो नै बक्सिङ्गमा नेपालले जितेको पहिलो स्वर्ण हो । फाइनलमा भारतीय खेलाडीलाई पारजित गर्दै स्वर्ण पदक जितेकी त्रिभुवन आर्मीमा कार्यरत गुरुङ्गले यो जीत शब्दमा व्याख्या गर्न नसक्ने प्रतिक्रिया दिइन् ।

१३औं सागमा….
गौरिकाको कीर्तिमानी पदक
गौरिका सिंहले आफ्नो अन्तिम इभेन्टसम्म आइपुग्दा देशलाई कीर्तिमानी चार स्वर्ण सहित ९ पदक दिलाउन सफल भइन् । गौरिकाले २०० मिटर फ्री स्टाइलमा पहिलो स्वर्ण, २०० मिटर ब्याकस्ट्रोमा दोस्रो स्वर्ण, ४०० मिटर फ्री स्टायलमा तेस्रो स्वर्ण, १०० मिटर फ्री स्टायलमा पनि स्वर्ण जित्दै कुल चार स्वर्णको कीर्तिमान बनाउने साग खेलको इतिहासमा उनी नै पहिलो खेलाडी बनेकी छन् । यो भन्दा पहिला म्याराथन धावक बैकुण्ठ मान्नधर र तेक्वान्दोका आयशा शाक्यले समान ३–३ स्वर्णको इतिहास बनाए पनि सिंहले सो इतिहासलाई भंग गर्दै सागको एउटै संस्करणमा ४ स्वर्ण आफ्नो नाममा दर्ता गर्न सफल भइन । उनी चार स्वर्णमा मात्रै सिमित रहिनन्, उनले महत्वपूर्ण नौ पदक नेपालको पक्षमा पारिन् ।

अंक तालिकामा नेपाल दोस्रो
भनिन्छ खेलाडीहरुका लागि पदक जित्ने वातावरण आवश्यक हुन्छ तर नेपाली खेलाडीहरुले १३ औ साग खेलमा विजय प्राप्त गरेका पदकहरुका लागि वातावरणको भन्दा खेलाडीहरुको समपर्ण नै अधिक रह्यो । राज्यको वेवास्ता, आवश्यक पूर्वाधारको अभावको बाबजुद नेपालले जितेको ५१औं स्वर्ण ऐतिहासिक नै हो । खेलाडीले तयारीका लागि मैदान नपाउनु, जुत्ता नपाउनु, उपयुक्त साइजको जुत्ता नपाउनु बास्तवमै विर्षन लायक विषयहरु हुन । यस्ता विडम्बनाको बीचबाट पनि नेपाली खेलाडीहरुले जुन स्तरको खेल प्रदर्शन गरेर देशलाई परिचित बनाएका छन सो कार्यका लागि उच्च सम्मान प्रकट नगरि हुदैन । नेपालको राष्ट्रिय खेल भलिबलमा महिला तर्फ फाइनलमा भारतसँग पराजित हुनु र पुरुष तर्फ समूह चरणबाटै बाहिरिनु लज्जास्पद छ । पुरुष फुटबलमा स्वर्ण जिते पनि महिला फुटबलमा सधैको बाधक भारतलाई हराउने धोको यस पालिको १३औैं सागमा पनि अपुरो रह्यो । धेरै नेपालीले आश गरेको महिला तथा पुरुष क्रिकेट तर्फ नेपालले अपेक्षाकृत प्रदर्शन गर्न सकेन । तेक्वान्दो र कराँतेमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै दर्जन बढी स्वर्ण जिताउदा अन्य खेलहरुको पदक संख्या निराशा जनक रह्यो । अहिलेकै अवस्थाको व्यवस्थापन र राज्यको खेल प्रतिको उदासिनताले खेलाडीलाई हतोत्साहित बनाउने र खेल जीवनबाट पर धकेलिरहेको सन्दर्भमा राज्यको खेललाई हेर्ने दृष्टिकोणमा परिवर्तन अनिवार्य छ । जे होस तेस्रो पटक आयोजक बनेको नेपालले १३औ साग भव्य एवम ऐतिहासिक रुपमा सम्पन्न गर्दै आफुलाई अब्बल साबित गरेको छ । निरन्तरताको शुभकामना ।

१३ औं सागलाई नियाल्दाः
फुटबल, क्रिकेट र भलिबल मध्ये नेपालले एक स्वर्ण जित्न सफल भयो । जसमा महिला फुटबल र भलिबलमा रजत जितेको नेपाल दुबै खेलमा चिरपरिचित देश भारतसँग पराजित हुन पुग्यो । क्रिकेटको महिला र पुरुष तर्फ कास्यमा चित्त बुझाउनु प¥यो । राष्ट्रिय खेल भलिबलको पुरुष तर्फ नेपाल पदक विहिन हुन दुखद हो । महिला फुटबलमा भारतसँग पराजित भएसँगै नेपाली टिमका प्रशिक्षकले राजीनामा समेत दिएका छन् । सागमा समावेश जम्मा २६ खेल मध्ये २५ खेलमा कुनै न कुनै पदक हात पारेको नेपालले सुटिङमा भने कुनै पनि पदक जित्न सकेन् । त्यसो त सुटिङ खेलाडीहरुको तयारी, उनीहरुको सम्भाव्यता नै बिर्षन लायक देखिन्थ्यो । ५१ स्वर्ण मध्ये मार्सल आर्टमा मात्रै नेपालले कुल ३२ स्वर्ण प्राप्त ग¥यो । जसमा तेक्वान्दोका १२, कराँतेका १०, उसुका ५, बक्सिङ्गका ३ र जुडोको २ स्वर्ण समाविष्ट छन् । नेपालले केही खेलहरुमा पहिलो पटक स्वर्ण जित्न सफल भयो । जसमा साइक्लिङ्ग, गल्फ, ट्रायथलन र कुस्तीमा नेपाल तेस्रो पटक आयोजक हुदा स्वर्ण जित्ने अवसर मिलेको हो भने भारोत्तोलनमा सन २००६ पछि पहिलो पटक स्वर्ण जितेको छ । आगामी १४ औ साग खेल पाकिस्तानमा हुने भएको छ । १३ औं सागको समापन कार्यक्रममा सागको झण्डा नेपालले पाकिस्तानलाई प्रदान गर्दै सो निर्धारण गरिएको हो । समापनमा नेपाली खेलाडीहरुको तर्फबाट पौडीमा ४ स्वर्ण पदक जित्न सफल गौरिका सिंहले नेपालको झण्डा बोकेकी थिइन । उनले एउटै संस्करणमा ४ स्वर्ण जित्ने खेलाडीको इतिहास रच्नुका साथै सर्वाधिक ४ स्वर्ण जित्ने तेक्वान्दोका दिपक विष्टको कीर्तिमान पनि बराबरी गरिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here