राजनीतिक क्रान्ति र सांस्कृतिक क्रान्ति

0
389
Photo File
– दुर्गानाथ खरेल

राजनीति राज्यसत्ता आफ्नो वर्गले कब्जा गरेर विरोधी वर्गमाथि आफ्नो वर्गीय अधिनायकत्व लागु गर्ने सङ्गठित प्रयत्न हो । राजनीतिक क्रान्तिपछि वा राजनीति क्रान्ति अघि अथवा दुबै सँगसँगै चलाउनु पर्ने अर्को महत्त्वपूर्ण क्रान्ति सांस्कृतिक क्रान्ति हो । सांस्कृतिक क्रान्ति बिनाको राजनीतिक क्रान्ति कि त क्रान्ति नै हुन्न अथवा भए पनि टिकाउ हुन्न । राजनीतिलाई गतिशील बनाउन दीर्घजीवी बनाउन र सफलता प्राप्त गर्न संस्कृतिले महत्त्वपूर्ण योगदान दिन्छ । सांस्कृतिक क्रान्ति पनि राजनीतिक क्रान्तिकै अभिन्न अङ्ग हो र दुबैले संयुक्त रूपमा राजनीतिक स्थायित्व कायम गर्न सक्छन् । सांस्कृतिक क्रान्ति भनेको मान्छेले निर्माण गरेको छुट्टै प्रकृति, जसमा अघि बढेका सचेत बौद्धिक व्यक्तिहरुले पत्ता लगाएका उच्च सैद्धान्तिक विषयवस्तुहरुलाई सर्वसाधारण जनताको व्यवहारमा आमूल परिवर्तन हुने गरी लागु गर्ने हो । आफ्ना रचनाहरुको उच्चतम स्वरूपलाई जनताका बीचमा व्यावहारिक रूप दिने काम हो । प्रयोग गर्न सक्ने अवस्थामा लैजाने काम हो । आफ्नो उच्चतम संस्कृतिको उत्पादनलाई आफूभित्र, आफ्नो सङ्गठनभित्र प्रयोगमा ल्याएर जनताबीच प्रसार गर्न नसकेका कारणले धेरै कम्युनिस्ट पार्टीहरुले संशोधनवादमा र विसर्जनवादमा पुग्ने अवस्थाबाट अघि बढ्ने गरेका छन् । बोल्सेभिक पार्टीले प्रतिक्रान्ति ब्यहोर्नु पर्‍यो भने चिनियाँ कम्युनिस्ट पार्टीले राजनीतिक क्रान्तिपछि सञ्चालन गरेको महान् सर्वहारा सांस्कृतिक क्रान्तिले पनि राजनीतिक क्रान्तिको उद्देश्यलाई स्थायित्व दिन सकेन । संसारका विभिन्न देशहरुमा गठन भएको कम्युनिस्ट पार्टीहरुको नाम मात्रैका हुने कारण पनि तिनिहरुको सांस्कृतिक स्तर निम्न हुनुले नै त्यस्तो परिणाम आएको हो । संस्कृतिको वर्गीय स्वरूपलाई व्यवहारमा प्रयोग गर्नुको सट्टा एउटा वर्गको पार्टीमा त्यसको विरोधी वर्गको संस्कृति हावी गराउने कारणले नाम र काममा एकरूपताको सट्टा नाम एउटा वर्गको काम अर्को वर्गको भई विसर्जनको स्थिति सृजना हुन्छ । त्यसैले वर्गीय नेतृत्वको कसी वर्गीय संस्कृतिका आधारमा मूल्याङ्कन गर्न सुरु नगर्दासम्म सधैँ अनुयायीलाई धोका र नेतृत्वले अवसरको खोजी गर्ने काम समाप्त हुने छैन । त्यस कारण संस्कृति र सांस्कृतिक क्रान्तिको अत्यन्त्त उच्च महत्त्व छ ।

वर्तमान समाजमा वुर्जुवा पँुजीवादी संस्कृति हावी छ । राजनैतिक सत्ता पँुजीवादीहरुको हातमा भएको हुनाले उनीहरुकै संस्कृतिको प्रचार प्रसार र प्रभावकारिता सबैभन्दा बढी छ । जनवादी र समाजवादी संस्कृति शोषित, उत्पीडित वर्गको आफ्नै संस्कृति भए पनि त्यसको प्रचार वर्गीय पहुँचभन्दा टाढा रहेको हुनाले निम्न पँुजीवादीहरुको घेराबाट बाहिर निस्कन सकेको छैन । मात्रात्मक परिर्वतन निरन्तर भई रहेको भए पनि गुणात्मक फडको मारेर उत्पीडित वर्गको नेतृत्व र अधिनायकत्वमा प्रचार प्रसार र व्यावहारिक प्रयोग हुन सकेको छैन । पेरिस कम्युनको समयमा समाजवादी राजनैतिक शक्तिले सत्ता कब्जा गरेको भए पनि सङ्गठन र सांस्कृतिक स्तर मौलिक, व्यावहारिक र साङ्गठनिक रूपमा उच्च स्तरको थिएन । राजनीति स्वयं व्यावहारिक रूपले परिपक्वता हासिल गन सिक्दै गर्ने अवस्थामा थियो । राजनीतिक सत्तामा प्रतिगमन भएपछि सांस्कृतिक नेतृत्व पनि त्यसको छायामा पर्न गयो । अक्टोबर समाजवादी क्रान्ति सफल भई रुसमा बोल्सेभिक पार्टीले सत्ता कब्जा गरेपछि सर्वहारा संस्कृतिको सृजना, विकास र प्रचारमा उच्चतम प्रयत्न भयो । चालिस वर्षसम्म सत्ता सञ्चालन गर्ने अवसर पनि प्राप्त भयो । त्यस अवधिमा सामूहिकताको व्यावहारिक प्रयोग र सर्वहारा संस्कृतिको प्रचार अत्यन्तै उच्च स्तरमा संसारभर आफै केन्द्रमा रहेर नेतृत्व गर्‍यो । १९५६ मा राज्यसत्तामा प्रतिगमन भई संशोधनवादीहरुको सत्ता आएपछि चीनले आफ्नो देशमा कम्युनिस्टहरुको सत्ता रहेको समयमा सर्वहारा संस्कृतिको विकास र स्थायित्वका लागि घोषित रूपमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिका नामले आन्दोलनको योजना र कार्यान्वयन गर्‍यो । १९७६ सम्म सञ्चालन भएको त्यो सांस्कृतिक क्रान्ति संसारभरका क्रान्तिकारीहरुका लागि प्रेरणाको श्रोत बन्यो । तर पनि सधैँका लागि र संसारभर अभियानका रूपमा सञ्चालन हुन सकेन । चीनमा सर्वहारा सांस्कृतिक क्रान्ति मात्र नभई समाजवादी राज्य सत्तामा समेत प्रतिगमन भई संशोधनवादी राज्यसत्ता सत्ता कायम भयो । कुनै पनि देशमा समाजवादी व्यवस्था नभए पनि प्रतिपक्षको रूपमा धेरै देशमा क्रान्तिकारीहरुले सर्वहारा संस्कृतिको पक्षमा सङ्गठित रूपमा प्रचार गर्ने अभियान सञ्चालन गरी रहेको अवस्था छ । सांस्कृतिक क्रान्तिको प्रेरणाको श्रोत महान् सर्वहारा सांस्कृतिक क्रान्ति, जुन एक दशकसम्म चीनमा सञ्चालन भएको थियो, त्यसबारे जानकारी लिनु प्रासङ्गिक नै हुने छ ।

अगस्त १९६६ देखि माओत्सेतुङको नेतृत्व र निर्देशनमा चीनमा सुरु गरिएको महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई ६ अक्टोबर १९७६ के चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार स्थगन गरिएको थियो । त्यो महान् सर्वहारा सांस्कृतिक क्रान्ति “केन्द्रमा बम वर्षाऊ” भन्ने नाराका साथ कम्युनिस्ट केन्द्रमा रहेका उच्च स्तरका नेता र कर्मचारीहरुलाई सत्ता र शक्तिबाट हटाई तल्लो स्तरका नेतृत्वमा रहेका क्रान्तिकारी कार्यकर्ताहरुले त्यो स्थान ग्रहण गर्ने, गराउने स्पष्ट उद्देश्यका साथ सुरु गरिएको थियो । किनभने केन्द्रका बहुसङ्ख्यक नेताहरुले पँुजीवादी सिद्धान्त अनुसार आफ्ना गतिविधि सञ्चालन गर्ने गरेका थिए । केन्द्रमा रहेका र पँुजीवादी बाटो समातेकाहरुको हातबाट समाजवादी समाज स्थापना गर्ने उद्देश्य सहीत आफ्ना गतिविधि सञ्चालन गरेका कार्यकर्ताहरुलाई केन्द्रीय सत्ता सुम्पने घोषित उद्देश्य सहीत सांस्कृतिक क्रान्ति सञ्चालन गरिएको थियो । त्यो क्रान्ति संसारभरिका क्रान्तिकारीहरुको प्रेरणाको श्रोत थियो । त्यो क्रान्ति १९१७ मा रुसमा सम्पन्न भएको समाजवादी क्रान्तिको निरन्तरता थियो । साम्राज्यवाद र सामाजिक साम्राज्यवाद दुबैको सामना गरेर दुबैका विरुद्ध गरिएको मुक्ति सङ्घर्षलाई सहयोग गर्दै शोषण र उत्पीडनबाट मुक्त नयाँ समाज निर्माणमा सम्पूर्ण विश्वका लागि नयाँ र ऐतिहासिक क्रान्ति थियो । अर्को कुरा त्यो क्रान्ति चीनको राज्यसत्ता नियन्त्रण र सञ्चालन गर्नका लागि भएको सङ्घर्ष थियो । त्यसको अर्थ यो पनि हो कि चिनियाँ समाजमा भएको परस्पर विरोधी वर्गीय हितको टकरावको अभिव्यक्ति महान् सर्वहारा सांस्कृतिक क्रान्ति थियो । विश्वमा वर्गीय सत्ताका लागि सङ्घर्ष गरी रहेका शक्तिशाली मजदुरहरुले युद्धको मैदानबाटै समस्याको समाधान गरेका कारण चिनियाँ क्रान्तिकारीहरुले पनि तिनै समस्याहरु सांस्कृतिक क्रान्तिबाट समाधान गर्न चाहन्थ्ये । १९४९ मा सम्पन्न भएको क्रान्ति समाजवादी क्रान्ति थिएन । सर्वहारा क्रान्तिकारी मजदुर वर्गको नेतृत्वमा सम्पन्न भएको जनवादी पँुजीवादी क्रान्ति थियो । त्यो क्रान्तिको विजयले सामान्य पँुजीवादी विकासको बाटो मात्र खोलेको थियो । आर्थिक वृद्धि भएको थियो । समाजवादी क्रान्तिमा अर्थव्यवस्थाको सामूहिकीकरण पहिलो कदम मात्र हुन्छ । समाजवाद स्वयं नयाँ जनवादी किसिमको पँुजीवाद र साम्यवादबीचको सङ्क्रमण कालीन व्यवस्था भएकाले चिनियाँ समाजमा भएका अन्तरविरोधहरु तुरुन्तै हट्ने किसिमका थिएनन् । समाजवादको अवधिमा समेत वर्ग सङ्घर्ष जारी रहन्छ । वर्गको अस्तित्व रहेसम्म वर्ग पैदा भई रहने र वर्ग सङ्घर्ष पनि भई रहने हुन्छ । त्यस कारणले चिनियाँ समाजको पँुजीवादी बाटोको विरुद्ध समाजवादी बाटो हिँड्नका लागि फैसला गर्ने क्रान्ति महान् सर्वहारा सांस्कृतिक क्रान्ति नै थियो । आफूलाई मुक्त गर्ने सिलसिलामा मजदुर वर्गले उत्पादनका साधनमा निजी स्वमित्वलाई अन्त्य गर्न र जनताको विचारलाई रूपान्तरित गर्दै पँुजीवादको पुनस्थापनालाई रोक्न सक्नु पर्छ । त्यसै सिलसिलाको विजय सुनिश्चित गर्ने र पराजय रोक्ने क्रान्ति सर्वहारा सांस्कृतिक क्रान्ति थियो ।

कम्युनिस्ट पार्टीले सत्ता कब्जा गरेपछि व्यक्तिगत सम्पत्ति जफत गरेर उद्योगमा र सहकारीहरुमा सेयर पाएर ब्याज पाउने मालिक वर्ग पँुजीपति र जमिन्दारका परिवारहरुबाट बुर्जुवा शिक्षा प्राप्त बुद्धिजीवीहरु, जो सरकारी कर्मचारी र बौद्धिक व्यवसायमा पेसेवर थिए । विश्व दृष्टिकोणमा सर्वहाराकरण नभइकन मुक्ति युद्धमा सहभागी समेत भएका थिए । तिनीहरुको बुर्जुवा दृष्टिकोणलाई किसानको जनाधारले समर्थन गर्दथ्यो । व्यक्तिगत र पारिवारिक सम्पन्नताको बाटोमा लागेका थिए । समाजवादी आन्दोलनमा लागेका धेरै व्यक्ति साच्चै समाजवादी राज्य सत्ता स्थापना भएपछि समाजवादी समाज निर्माण गर्न हच्किएर पँुजीवादी बाटोमा समर्थन जुटाउन पनि सुरु गरे । तिनै तीन थरि व्यक्तिहरु पँुजीवादी बाटो पक्रेका कम्युनिस्ट केन्द्रमा रहेकाहरुको विरुद्ध बम बर्षाउन महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरिएको थियो । वास्तवमा चिनियाँँ जनता समाजवादी बाटोबाट अघि बढन चाहन्थे र पँुजीवादी बाटोमा लागेहरु मुट्ठीभर भन्न सक्ने गरेर थोरै सङ्ख्यामा थिए । सांस्कृतिक क्रान्तिको समयमा क्रान्तिको मुख्य प्रहार मुट्ठीभर बुर्जुवाहरुमाथि गर्न र बहुसङ्ख्यक कार्यकर्ता र जनतालाई आफूसँग एकजुट पार्न माओलाई सफलता प्राप्त भयो । समाजवादको प्रश्न आधुनिक प्रविधि र प्रचूर मात्रामा उत्पादन बढाउने मात्र नभई सबै प्रकारको मानव सम्बन्ध, मानिसको प्रेरणा र मानव चेतनालाई आमूल रूपमा रूपान्तरण गर्ने हो भन्ने माओको भनाइ र प्रविधिलाई राजनीतिलाई भन्दा पहिलो प्राथमिकता दिने ल्यूसाओ चीबीचको अन्तरविरोधी धारणा सांस्कृतिक क्रान्तिको दौरानमा देखिएको थियो । कुनै पनि व्यक्ति क्रान्तिकारी सर्वहारा राजनीतिबाट लैस हुँदैन भने उसको राजनीति प्रतिकृयावादी पँुजीवादी राजनीति हो । त्यसैले पँुजीवादी विशेषताहरुलाई सर्वहारा क्रान्तिकारीहरुमा रूपान्तरण गर्न र सर्वहारा क्रान्तिकारीहरुलाई विशेषज्ञ बनाउन सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरिएको थियो । समाजवाद र पँुजीवाद परस्पर विरोधी राजनीति भए जस्तै पँुजीवादी शिक्षा र समाजवादी शिक्षा त्यही स्तरका विरोधी शिक्षा हुन् । त्यस्तै प्रविधिलाई कमान्डमा राख्ने सेना हुनु भनेको पनि माक्र्सवाद, लेनिनवाद र माओ विचारधारामा लेस नभएका सेना तैयार पार्नु हो । त्यसैले राजनीतिलाई कमान्डमा राख्ने सांस्कृतिक क्रान्तिको व्यावहारिक प्रयोग थियो ।

राज्यसत्ता कब्जा गर्नु र त्यसलाई सम्हालेर सुदृढीकरण गर्नु एउटै कुरा होइन । चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्ति केही हदसम्म व्यावहारिक क्रान्तिकारी र जडसूत्रवादी क्रान्तिकारीहरुको टकराव पनि थियो । फेरि सर्वहारा सांस्कृतिक क्रान्तिको उद्देश्य अनुसारको उपलब्धिमा पुराना धनि र उच्च मध्यम किसानहरुको वर्ग विरोधका बाबजुद क्रान्तिकारी वर्ग शक्तिहरु भूतपूर्व गरिब र निम्न मध्यम किसानहरुलाई एकजुट पार्ने, अध्ययन र परस्पर आलोचना आत्मालोचनाको माध्यमबाट सङ्कीर्ण स्वार्थबाट मुक्ति पाउने तथा सामूहिक स्वामित्व, सामूहिक उत्पादन र सामूहिक सामाजिक सेवालाई बलियो बनाएर मिलीजुली अगाडि बढ्नमा सफलता मिलेको थियो । मानिसहरुको चिन्तालाई क्रान्तिकारी बनाउने कुरामा मुख्य ध्यान दिने र चेतनाले नै मेसिनीकरण र आधुनिकीकरण बनाउने कामलाई नियन्त्रित र प्रोत्साहित गर्ने भन्ने कुरामा सर्वहारा क्रान्तिका अगुवाहरु दृढ थिए । चिनियाँ जनताले विश्वभरिका जनताको क्रान्तिकारी शक्तिहरुलाई साम्राज्यवादको विरुद्ध राष्ट्रिय मुक्ति र समाजवादका लागि महान् सर्वहारा सांस्कृतिक क्रान्तिको माध्यमबाट प्रेरणा र समर्थन दिई रहेका थिए । सांस्कृतिक क्रान्तिको दौरानमा माओत्सेतुङले र उहाँका समर्थकहरुले जन आन्दोलनलाई अगाडि बढाएर पँुजीवादी पुनस्र्थापनाको एउटा ठुलो लहरसँग मुकाबिला गरे । पँुजीवादी तानाशाहीबाट मजदुर वर्गले सत्ता खोस्ने काम धेरै ठुलो र कष्टदायक भए पनि त्यो क्रान्तिकारी प्रकृयाको एउटा लामो दौरानको पहिलो कदम मात्र हो । सत्ता कब्जापछिको कदमको तुलनामा त्यो धेरै सजिलो काम हो । समाजवादी रूपान्तरणको लामो समयमा दुई लाइनबीचको सङ्घर्षमा दीर्घकालीन, पेचिलो र तिखो सङ्घर्षको अवस्थालाई सामना गर्नु पर्छ । यस्तो सङ्घर्षको कठिन कामलाई विजयको अवस्थामा पुर्‍याउन उच्च स्तरको चेतना भएको उच्च स्तरको अनुशासन भएको मजदुर वर्गको सङ्गठित र परिपक्व पार्टीले मात्र सक्छ । महान् सर्वहारा सांस्कृतिक क्रान्तिले दिएको महत्त्वपूर्ण शिक्षा यो पनि थियो । त्यो शिक्षालाई विद्रोहिले र क्रान्तिकारीहरुले आत्मसात गर्न जरुरी छ । महान् सर्वहारा सांस्कृतिक क्रान्तिले सिकाएको एउटा पाठ धेरै विद्यार्थीहरु अति वामपन्थी आन्दोलनबाट प्रेरित हुन्छन् । त्यसैले परिपक्व र व्यावहारिक क्रान्तिकारीहरुले उनीहरुलाई सम्हालेर सही दिशामा निर्देशित गर्न सक्नु पर्छ भन्ने पनि हो । उत्पादन कार्यमा सामूहिकता विकास भएको भए पनि राजनीतिक उच्च तहको पँुजीवादी चेतनाका कारणले चीनमा प्रतिक्रान्तिलाई नजिक ल्याएको थियो । आधार उत्पादन प्रणाली समाजवादतिर र उपरी संरचना राजनीति पँुजीवादतिर भएको प्रतिक्रान्तिकारी स्थितिलाई आधार र उपरी संरचना दुबैलाई सामूहिकताको समाजवादी क्रान्तिकारी बाटोमा लैजान पनि महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरिएको थियो ।

पुरानो विचार, पुरानो संस्कृित, पुरानो चलनचल्ती र पुरानो स्वभाव चार वटै पक्षमा परिर्वतन गरेर नयाँपनको विकास गर्न महान् सर्वहारा सांस्कृतिक क्रान्तिको आन्दोलन सुरु गरिएको थियो । यी पुराना चिजहरुलाई बदलेर समाजवादी सिद्धान्त र नीति अनुरूप समाजलाई परिर्वतन र रूपान्तरण गर्ने उद्देश्य लिएको थियो । जनताले नेता/कार्यकर्ताहरुको व्यवहारबाट राजनीति सिक्ने हुनाले बढीभन्दा बढी जनतालाई आन्दोलनमा सहभागी बनाएर व्यवहारबाटै राजनीतिक चेतना स्तर उच्च बनाउने काम क्रान्तिले गरेको थियो । चीनमा राज्यसत्ता कब्जा गर्ने समयमा कम्युनिस्ट पार्टीका सदस्यहरुको चेतना स्तरका हिसाबले तीन किसिमका थिए । पहिलो श्रेणीका सदस्यहरुले समाजवादी व्यवस्था स्थापित गराउने नै सोच्दथे । दोश्रो थरिका सदस्यहरुले व्यवस्था पँुजीवादी भए पनि उत्पादन बढाएर जीवन स्तर माथि बनाउनु पर्छ भन्ने सोच्दथे र तेश्रो स्तरकाहरुले व्यवस्था राजतन्त्रै भए पनि अहिलेभन्दा जनताका लागि अधिकार बढी बनाउने सोचाइ गर्दथे । क्रान्ति सम्पन्न भएर राज्यसत्ता कब्जा भएपछि पछिल्ला दुई थरिका सदस्यहरुको एकता भई समाजवादी व्यवस्था स्थापना मात्र होइन, सुदुढ पार्नु पर्छ भन्ने चेतनाको स्तर उकास्ने प्रयत्न सहितको उद्देश्य सफल पार्न महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन नगरी नहुने अवस्था सामना गरिएको थियो । चिनियाँ समाजमा राज्यसत्ता कब्जा गरेपछिको अवस्थामा प्रतिक्रान्ति रोक्नका लागि सांस्कृतिक क्रान्ति सञ्चालन गर्नु परेको अवस्था थियो । समाजवादी क्रान्ति सम्पन्न हुनुभन्दा पहिलो अथवा राज्यसत्तामा मजदुर वर्गको कब्जा हुनुभन्दा पहिले आफ्नो क्रान्तिकारी आन्दोलनलाई जनतामा स्थापित गर्न र राज्यसत्ता कब्जा गर्न सक्ने गरी विकास गर्ने क्रममा पनि सांस्कृतिक क्रान्ति अत्यावश्यक हुन जान्छ । धेरै देशका कम्युनिस्ट पार्टीहरुले सत्ता कब्जा नगर्दा आफ्नो कम्युनिस्ट पार्टीले संशोधनवादी बाटो पक्रेको उदाहरण पाइन्छन् । त्यस्तो अवस्थामा समेत सांस्कृतिक क्रान्तिको उच्च महत्त्व हुन्छ । लामो समयसम्म पँुजीवादी व्यक्तिगत सम्पत्ति प्रथाको अभ्यास समाजमा भएको हुनाले त्यो संस्कृतिमा आमूल परिर्वतन गरेर सामूहिकताको विकास गराउने काम सजिलो हुन्न । धेरै पटक सांस्कृतिक क्रान्ति सञ्चालन गर्दा पनि समाजमा आमूल परिवर्तनको पक्षपातिहरुको विजय सुनिश्चित हुन अप्ठेरो पर्छ । वर्गविहीन र शोषणविहीन समाज स्थापना गर्न राज्यसत्ता कब्जापछि वा प्रतिगमन हुनबाट रोक्न धेरै पटक सांस्कृतिक क्रान्तिको आवश्यकता पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here