रगतमै देख्ने कस्तो बिभेद ?

0
304
  • गोबिन्द राज पोखरेल

हिन्दु बर्णाश्रममा अनौठो चलन आयो । मान्छेले मान्छेलाई नै मान्छेको रुपमा देखेन । धन दौलत र बिलाशितामा रमाउने प्राणीले श्रम , सीप र मिहेनत गर्ने बर्ग माथि एउटा बलियो डण्डा चलायो । उसका थुकका छिटाहरु पनि किम्मती बने तर पसिनाका धाराहरु कौडिको बन्न पुग्यो । श्रम , सीप जाँगरलाई आफनो अनुकुल बनाउँदै लगे । जसले थुक बेच्छ उ अभिजात बर्ग बन्यो । श्रम र पसिना बगाउने , सीप चलाउने तल्लो बर्ग बन्न पुग्यो । रगत सबैको रातो हुन्छ । सबैको रगतले सबैलाई बचाउन सक्छ । उपचारको हकमा , सहयोगको रुपमा कसैको रगत पनि तल्लो उपल्लो हुँदैन सबैको रगतले बराबरी काम गर्दछ ।

हाम्रो परम्परा र सोंच कतिसम्म पुरातन वादी छ भने बस्तु राम्रो मानिन्छ तर पेशा घृणित छ । पेशालाई घृणित मान्नेले बस्तुको पनि अस्विकार्यता हुनु पर्ने हो । जुत्ता राम्रो मान्छौ , गहना राम्रो मान्छौ , गाग्री राम्रो मान्छौ तर जुत्ता सिलाउने सार्की , गहना बनाउने सुनार , हँसिया बनाउने कामी , भाँडा बनाउने टमटा , लुगा सिलाउने दमाइलाई दोस्रो दर्जाको मान्छे सम्झन्छौ । उ बन मान्छे पनि होइन , उ चिम्पान्जी पनि होइन तर पनि उसलाई किन मान्छेको रुप देखेन । कुनै ब्राहमणले छुवाछुतका व्यक्तिलाई गर्भिणी बनायो उनको गर्भमा रहेको रगत पनि बिभेदमा परयो । धर्मका आधारमा जात र जातका अधारमा पेशा अनि पेशाकै कारणले छुवाछुतको व्यबस्था गर्नु मानब जीवनको कलङ्कीत अबस्था हो । गर्भमै मान्छेलाई अछुतको बिल्ला भिराउने र जीवनभर उ माथि गरिने अन्नयाय पुर्ण व्यबहार कहाली लाग्दो नै छ । गरिवीको आहालबाट बाहिर निस्कन हात दिएकाहरुलाई आहालबाट बाहिर निकाल्नुको सट्टा झन आहाल भित्रै गाडने प्रबृतिले मानवियता माथि नै प्रहार गरेको देखिन्छ । दलित आफै भएका होइनन कसैले बनाएर भएका हुन । नेपालमा किरातकाल पछिका २०० बर्षसम्म पनि यस प्रकारको छुवाछुतको अबस्था देखिदैन तर त्यस पछि झाँगिएको यो अबस्था जति पीडादायी छ त्यसलाई सामान्यायीकरण गर्न त्यति कै कठीन बनाइएको छ । युरोप , अमेरिका वा बिकसित मुकुकमा जन्मिएको कालो , गोरो छाला भएको गाइ , सुँगुर , कुकुर , बिरालोको मासु खाने व्यक्ति अथितिको रुपमा डाइनिङ टेवलमा बसेर ब्रेक फास्ट , डिनर र लन्च गर्दछन तर छिमेकमा भएको , मर्दा पर्दा सधै सहयोगी बन्ने व्यक्ति दैलोको छेउबाट सम्बोधन गर्न पनि डर छ । उसले टेकेको जमिन नै बिशुद्ध हुन्छ । टेकेको जमिनलाई पनि जौं तिल कुशले शुद्ध बनाउन खोजिन्छ , सुन पानी छर्कन्छ । यो भन्दा बिडम्बना के हुन सक्छ ? गर्भको रगतमै बिभेद , पशु भन्दा पनि तल , रगतमै बिभेद , जीवनमै बिभेद , मृत्युमै बिभेद कस्तो अचम्म ।

लोकतन्त्रमा जनतालाई बाँध्नमात्र कानुन निर्माण गरिदैन । कानुन बलियो बनाए पछि सरकार बलियो बन्छ , सरकार बलियो बनेपछि राज्य बलियो बन्छ भन्ने मानसिक्ता अहिले पनि त्यतिकै रहेको छ । कानुनको दम्भमात्र प्रयोग गर्नाले प्रजातन्त्रलाई भन्दा निरङकुशतालाई बल पुग्छ । मुलुकले अहिलेसम्म पनि राजनितिक स्थिरता प्राप्त गर्न नसक्कनु यो पनि यौटा यथार्थ हो । समाजमा कानुनी बल भन्दा नैतिक बल नै माथि हुन्छ । माक्सले परिकल्पना गरेको कानुन बिहिन र राज्य बिहिनको अबधारणा त्यसैलाई आधार बनाएर गरेका होलान । सरकारमा बस्नेहरु पनि भ्रस्ट , स्वेच्छाचारी , अपारदर्षी हुन्छन । न्यायिक स्वतन्त्रताले मुर्तरुप लिनबाट बञ्चित गर्दछन । अभिमत वा जनमत जे भने पनि सत्तामा बस्नेलाई भौतिक सुख सुबिधा प्राप्त गर्न वा निरङकुशतामा ढाल्नको लागी अबश्य होइन मुलुकमा थिति बसोस , बिकास र समृद्धि बर्सोस , आम नागरिकले शान्ती सुरक्षा र अमन चयन कायम भएको महशुष गरुन भन्ने हो । कानुनले नागरिकलाई मात्र होइन सरकारलाई पनि बाँध्छ भन्ने सिद्धान्त हो तर त्यसको कार्यान्वयन नभएकै कारण स्वेच्छाचारी तवरबाट आम नागरिक माथि कानुन लादने गरिन्छ । सत्तामा बस्नेलाई छुँदैन । दलित मन्त्रि बन्दा , हाकिम बन्दा पनि समस्या ज्युँका त्युँ छ । सत्तामा बस्ने जोसुकै होस उसकै स्वेच्छाचारिताले बर्णाश्रम व्यबस्थाबाट छुवाछुत प्रणालीलाई याहासम्म ल्याएको हो । यो बिभेदै बिभेदको गुथुरो कसेर जीवन जिउन कष्ट गरिरहेका यि प्राणीहरुलाई केही नेपाल कानुनले न्याय गर्न खोजेको तपशिलको व्यबस्थालाई हेर्न सकिन्छ ।

बर्तमान अबस्थामा नेपालको संबिधान २०७२ को धारा १७ (च) को (१) मा व्यबस्था भए बमोजिम खण्ड (क) को कुनै कुराले जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने व्यबस्था छ यस्तै उक्त संबिधानको धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हकमा छुवाछूत वा भेदभाव गरिने छैन भन्ने व्यबस्था छ । उत्पादन वा वितरणमा , उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा , जातीय आधारमा छुवाछूत गरी वा नगरी कार्यस्थलमा कुनै प्रकारको भेदभाव र र संबिधानमा सबै प्रकारको छुवाछुत तथा भेदभावजन्य कार्य सामाजिक अपराधको रुपमा मानिने र कानुन बमोजिम दण्डनीय हुने कार्य हुनुका साथै क्षतिपुर्ति पाउने हक हुने व्यबस्था छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १६० मा भेदभावपुर्ण व्यबहार गर्न नहुने व्यबस्था गरेको छ । जसमा कानुनको प्रयोग गर्ने अधिकारीले भेदभावपुर्ण तरिकाले वा जातजाती , धर्म , बर्ण , को कारणले भेदभाव गर्न नपाउने व्यबस्था गरेको छ । त्यस्तै दफा १६१ ले कुनै बस्तु सेवा खरिद गरी बिक्रि बितरण गर्ने सवालमा पनि कुनै निश्चित जातजातीलाई मात्र गर्न पाउने गरी गर्न नपाइने व्यबस्था गरेको छ ।

जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय ) ऐन , २०६८ पनि लागु गरेको छ तर पनि कतिपय स्थानमा अहिले पनि पेशालाई निचो बनाउँदा उचो भएकाहरुले राज गरिरहेका छन । शाहेद यसै भएर होला नेपालले २५ बर्षसम्मको लागी जातीय आधारमा पछाडि पारिएका व्यक्तिहरुलाई समावेशी बनाउन र राज्यको नीतिगत तहमा माथि पुराउन आरक्षण समेतको व्यबस्था गरेको् देखिन्छ भने त्यसको कार्यान्वयन अनुगमन तथा सुपरीवेक्षणको लागी दलित आयोगको व्यबस्था गरेको हो ।

कानुनमा भएका र संबिधानमा कोरिएका शव्दहरुले छुवाछुत र भेदभावलाई अन्त्य गर्दैन । जति सभ्य समाजको निर्माण गर्दछौ त्यति नै हाम्रा बिभेदहरु अन्त्य हुँदै जाने हो । समाजमा सम्मान पुर्वक जीवन यापन गर्ने ; धार्मिक , साँस्कृतिक बिभेदको पुर्ण अन्त्य गर्न नैतिक बल स्थापना गर्न जरुरी देखिएको छ । नेपालले अन्तराष्ट्रिय स्तरमा हस्ताक्षर एवं अनुमोदन गरिएका महासन्धिहरुलाई कार्यान्वयन गर्न जरुरी देखिएको छ । यसरी उल्लेख भएका धेरै कानुन यत्रतत्र भेटिन्छ । कानुनको जोरजामले मानवीयताको सम्बोधन कति भयो होला ?

कानुन , सन्धि महासन्धिहरुलाई सरसरी केलाएर हेर्ने हो भने पनि मानब समुदाय प्रति गरिएको बिभेदको लागी न्याय गर्न कोरिएका शब्द हुन । मान्छेको थरले उसको रगतलाई बिटलो बनाउने त्यो अबस्थालाई कसरी सम्बोधन भयो ? आरक्षणले ? समावेशीले ? अभावमा पाएको खुशियालीले ? गरिवीको वीचबाट उठेको धरातलले जीवन भर अपहेलनामा रुमल्लीएको र पीडै पिडामा रहेको ति समुदायलाई कानुनमा कोरिएका शब्दले न्याय दिन्छ कि दिंदैन ? अर्को प्रस्न खडा भएको छ । मान्छेको व्यबहारले सदविचारले मान्छेलाई हेर्ने हो । एउटा मान्छेले अर्को मान्छेलाई मान्छेकै रुपमा किन हरेन ? मान्छेकै कोटीलाई अर्को अर्थमा किन हेरीरहयो ? रगतमै देखिने बिभेदको अन्त्य कसरी होला ? समाजवाद उन्मुख भनेर संबिधानमा लेख्दैमा हुन्छ र ? अछुत भनेर जेल सजाय वा क्षती पुर्ति दिएर यसको निसाफ हुन्छर ? सरकार ! रगतमै देखिने बिभेद अदालती व्यबहारले मात्रै गर्लाकी अन्य पाटो पनि छ ।

pokharel.govind@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here