रक्तिमको चौथो राष्ट्रिय सम्मेलनको तयारी तीव्र

0
302

काठमाडौं । प्रगतिशील सांस्कृतिक अभियानको अगुवा सङ्गठनका रूपमा परिचित रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ । चौथो राष्ट्रिय सम्मेलन भव्य र सभ्य रूपमा सम्पन्न गर्ने कार्ययोजना बनाउँदै रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको बैठक २०७५ माघ ३ गते रूपन्देहीको बुटवलमा सम्पन्न भएको छ । अध्यक्ष जीवन शर्माको अध्यक्षतामा सम्पन्न उक्त बैठकले चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माबाट गराउने निर्णय गरेको छ ।

रक्तिमको चौथो राष्ट्रिय सम्मेलनको तयारी तीव्र

रक्तिमका महासचिव नारायण योगीले दिनु भएको जानकारी अनुसार रक्तिम केन्द्रको उक्त बैठकले सम्मेलनमा सहभागी हुने प्रतिनिधि÷पर्यवेक्षकहरुका सम्बन्धमा ठोस मापदण्ड तय गरेको छ । जस अनुसार १० जना सदस्य भएका जिल्लाबाट १ प्रतिनिधि, ११ देखि २५ सदस्य सङ्ख्या भएका जिल्लाबाट २ प्रतिनिधि १ पर्यवेक्षक, २६ देखि ५० सदस्य भएका जिल्लाबाट ३ प्रतिनिधि, १ पर्यवेक्षक, ५१ देखि १०० सदस्य सङ्ख्या भएका जिल्लाबाट ५ प्रतिनिधि, २ पर्यवेक्षक र १०१ देखि माथि सदस्य सङ्ख्या भएका जिल्लाहरुबाट १० प्रतिनिधि ४ पर्यवेक्षक राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्व गर्न पाउनेछन् । सम्पूर्ण प्रतिनिधि सङ्ख्याको १५ प्रतिशत प्रतिनिधि केन्द्रीय कार्यालयले मनोनयन गर्न पाउने निर्णय समेत रक्तिमको सो बैठकले गरेको महासचिव योगीले बनाउनु भयो ।

चौथो राष्ट्रिय सम्मेलनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न रक्तिमको उक्त बैठकले विभिन्न उपसमितिहरु गठन गरेको समेत योगीले जानकारी दिनु भयो । “अहिलेको विद्यमान केन्द्रीय समिति नै चौथो राष्ट्रिय सम्मेलनको मूल आयोजक समिति हुने निर्णय यस अघिको हाम्रो बैठकले गरिसकेको थियो । अहिलेको बैठकले सम्मेलनलाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरेको छ” महासचिव योगीले भन्नु भयो– “साङ्गठनिक प्रतिवेदन तयारीको जिम्मा अध्यक्ष जीवन शर्मालाई, विधान मस्यौदा तयारीको जिम्मा महासचिव नारायण योगीलाई दिइएको छ । उपाध्यक्ष जीवन शाहीको संयोजकत्वमा ५१ सदस्यीय प्रचार प्रसार समिति बनाइएको छ । कोषाध्यक्ष भरत श्रेष्ठको संयोजकत्वमा छ सदस्यीय आर्थिक उपसमिति गठन गरिएको छ, जसमा दल बहादुर विक, लक्ष्मी रिजाल, डम्मर भण्डारी, गीता थापा र विष्णु केसी सदस्य रहनु भएको छ । सचिव दल बहादुर विकलाई सांस्कृतिक झाँकी र प्रस्तुतिहरुको संयोजन गर्ने जिम्मा दिइएको छ । सम्मेलनको सम्पूर्ण व्यवस्थापनका लागि केन्द्रीय सदस्य लक्ष्मी रिजालको संयोजकत्वमा नौ सदस्यीय सम्मेलन व्यवस्थापन उपसमिति गठन गरिएको छ, जसमा दल बहादुर विक, डम्मर भण्डारी, विमल पाण्डे, गीता थापा, विष्णु केसी, आकास गौतम, विक्रम थापा र जयराम आचार्य सदस्य रहनु भएको छ । त्यस्तै केन्द्रीय सदस्य समिर विकलाई स्वयंसेवक परिचालनको जिम्मा दिइएको छ ।”

जिल्लाहरुमा सदस्यता अभियान सञ्चालन गर्ने र यही माघ २५ गतेसम्म सम्भव सबै जिल्लाका जिल्ला भेला÷ सम्मेलनहरु गरिसक्ने निर्णय बैठकले गरेको पनि उहाँले बताउनु भयो । जिल्ला भेला, सम्मेलन र बैठकहरुका लागि अघिल्लो बैठकले केन्द्रीय पदाधिकारी एवं सदस्यहरुलाई दिएका जिम्मेवारीमा कुनै हेरफेर नगरिएको र उक्त जिम्मेवारी वाहेकका बाँकी अन्य क्षेत्र र जिल्लाहरुमा केन्द्रीय कार्यालयले आवश्यकताका आधारमा जिम्मेवारी दिने निर्णय भएको समेत महासचिव नारायण योगीले बताउनु भयो । सम्मेलन तयारीको अन्तिम समिक्षाका लागि सम्मेलन स्थल पोखरामा २०७५ माघ २७ गते केन्द्रीय समितिको बैठक बस्ने पनि उहाँले बताउनुभयो ।

रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलन २०७५ फागुन १,२ र ३ गते गण्डकी प्रदेशको सुन्दर नगरी पोखरामा आयोजना गरिएको छ । चौथो राष्ट्रिय सम्मेलनका लागि रक्तिमले मूल नारा “राष्ट्रियता र नौलो जनवादी क्रान्तिको पक्षमा हाम्रो आन्दोलन, जनवादी संस्कृतिको निर्माण र विकासका लागि चौथो राष्ट्रिय सम्मेलन !!” तय गरेको छ । रक्तिमको यस राष्ट्रिय सम्मेलनले सर्वहारा पक्षीय सांस्कृतिक यात्रालाई नयाँ उचाइमा लैजान ठोस योगदान दिने अपेक्षा जनसंस्कृतिप्रेमीहरुले गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here