युवा जनशक्तिको हस्तक्षेपकारी भूमिका

0
356

(सन्दर्भ : वैदेशिक रोजगारीमा पलायन नेपाली युवा)

प्रकाश थापा मगर 
हाल अन्तर्राष्ट्रिय नेपाली एकता समाजको महासचिव समेत रहनु भएका शोभाकान्त लामिछाने आफू विदेश लाग्नुका पछाडिको कारण यसरी उल्लेख गर्नु हुन्छ :
“हाम्रो आमा–बाबा र हामी पाँच दाजुभाइ, तीन दिदीबहिनीहरु गरी १० जनाको परिवार थियो, त्यति बेला जब म विदेशिएको थिएँ । बाबाको पेसा कृषि थियो, तर आफ्नो जमिन थिएन । अरूको खेत कमाउने गथ्र्यांै हामी । दिदीको विवाह भई सकेको थियो । बाँकी हामी नौ जनाको परिवार पालनपोषण गर्न बाबालाई धेरै नै दुःख थियो । म घरमा जेठो छोरो हुनाले मैले कमाउन थालेँ भने बाबालाई अलिकति भए पनि सहयोग हुन्थ्यो भन्ने मलाई लागी रहन्थ्यो । त्यो बेला सरकारी स्कुलमा पनि ६ कक्षाबाट मासिक शुल्क तिर्नु पर्दथ्यो । बाबाआमाले जसोतसो गरेर मलाई पढाइ खर्च जुटाई दिनु भएको थियो । त्यसका बाबजुद घरको दुःखका कारण त्यो बेला मैले सोचेँ– म लाहुर गई पैसा कमाएर अरू भाइबहिनीलाई पढाउनमा सहयोग गर्नु पर्छ । बाबा मात्रैको कमाइले खाना–बस्नको खर्च त जसोतसो चल्दथ्यो, तर पढाइको खर्च जुटाउन मैले कमाउन थालिनँ भने मेरो पढाइ के होला ? त्यसरी त भाइबहिनीहरुको पढाइ पनि हुन सक्दैन । यही सोचेर २०४९ सालतिर म विदेशिएको थिएँ ।”
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता राम प्रसाद गैरे ‘पाल्पाली’ आफ्नो परदेशतर्फको यात्राका बारेमा यसरी बयान गर्नु हुन्छ :
“मेरो घरमा दाजु, म र बहिनी गरी तीन जना थियौँ । बाबाको हामी सानै हुँदा निधन भई सकेको थियो । त्यतिखेर म १४ वर्षको थिएँ । घरको अवस्था निकै नाजुक थियो । घर हुँदा बारीमा कोदो, मकै र गहुँको खेती गरिन्थ्यो, तैपनि त्यसबाट मुश्किलले छ महिना खान पुग्दथ्यो । दाजुलाई २ कक्षाको दुई रूपैया फिस तिर्न धौ धौ भई रहेको थियो हामीलाई । त्यसले गर्दा उहाँको पढाइ छुट्यो । त्यति बेला विदेश जानु भनेको भारत नै बुझिन्थ्यो । घरको दुःखबाट पार पाउन दाजु भारत लागेपछि मेरो पनि त्यतै जाने बाटो खुल्यो । १९८६ मा ३ कक्षा पास गरेर म पनि भारततिर लागेँ ।
भारतमा बस्दा आइएसम्मको पढाइ जारी राखियो । पढाइ जारी राख्दै घर खर्च पठाउन थालियो । जमिनमा पर्याप्त सिँचाइ सुविधा थिएन । मौसम प्रतिकूल हुँदा खेती पनि राम्रो हुँदैनथ्यो । आमाले अरूको मेलापात गर्नु हुन्थ्यो । हाम्रो खेत थिएन । खालि बारीको उब्जनीले घर चलाउनु पर्दथ्यो ।
भारतका होटल, कोठीमा काम गर्दा गर्दै एक दिन कुनै अफिससरकहाँ काम गर्न पुगियो । घरमा काम, तलब अफिसबाट पाउने गर्दा गर्दै सात वर्षपछि अरूको जस्तै मेरो पनि जागिर पक्का भयो । त्यसपछि म पेन्सनको हकदार भएको थिए“ । यसैबीचमा दाजु, मेरो र बहिनीको घरजम भएको थियो ।
देशमा उद्योगधन्दाको विकास हुन वा देश अझैसम्म पनि अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थामा कायम रहनु नै हामी नेपालीहरुको विदेश पलायनको कारण हो । यसैले गर्दा नचाहँदा नचाहँदै पनि विदेश पसियो । २४ वर्षको जागिर गरेपछि हातखुट्टा ठिक छँदै स्वदेश फर्कनु पर्दछ भन्ने लागेर अहिले म स्वदेश फर्केको छु ।”
वैदेशिक रोजगारीका क्रममा ओमन पुग्नु भई ओमन नेपाली एकता समाजको अध्यक्ष बन्न पुग्नु भएका छविलाल बस्नेतको कथा बेग्लै छ । उहाँ यस सम्बन्धमा भन्नु हुन्छ :
“म सामान्य किसान परिवारसित सम्बन्धित हुँ । घर हुँदा मैले बेमौसमी खेती गर्दथेँ । हामीले उत्पादन गरेका तरकारी, फलफूलहरु बजार लैजाँदा खुला अर्थतन्त्रको कारणले होला, भारतबाट आयात गरिएका तरकारी, फलफूलसित प्रतिस्पर्धा गर्न सक्दैनथ्यौँ । लागत बढी पर्ने तर बजारमा सस्तोमा तरकारी, फलफूल दिनु हाम्रो बाध्यता थियो । त्यसमाथि पनि हामीले व्यापारीलाई उधारोमा सामान दिनु पर्दथ्यो । त्यसो गर्दा गर्दै ऋण चुलिदै गयो । व्यापारमा लगातार घाटा बढ्दै गएपछि, त्यसको परिणामस्वरूप ऋण चुलिँदा खेतबारी हाम्रो हातमा रहेन । त्यसपछि मेरा अगाडि विदेश पलायन हुनु पर्ने बाध्यता आई प¥यो ।”
पहिले आर्थिक समस्या परेर कतारमा चार वर्ष बिताई नेपाल फर्कनु भएका तर समस्याले गाँज्दा पुनः कतार पुग्नु भएका कतार नेपाली एकता समाज अन्तर्गत रक्तिम सांस्कृतिक अभियान, कतारका अध्यक्ष हुमाकान्त आचार्य भन्नु हुन्छ–
“म घरायसी समस्याले गर्दा पहिले पनि चार वर्ष कतारमा बिताएको थिएँ । त्यतिका वर्ष कतारमा बसेर फर्कदा पनि मसित व्यवसायमा लगानीयोग्य रकम जगेडा थिएन, तैपनि अब विदेश फर्किन्न भन्ने अठोट मनमा राखेर साथीभाइ, छरछिमेक, सहकारी संस्थाहरुसित ऋण सापटी मागेर तरकारी खेती सुरु गरेँ । त्यति बेला हामीलाई बजारभाउ थाहा थिएन र फलस्वरूप थोक व्यापारीले समेत हामीलाई फुटकर मूल्यमा सामान दिन्थे । पहिले नै मनग्ये मुनाफा सङ्कलन गरेर मोटाएका व्यापारीहरुले मेरो व्यापारलाई निरुत्साहित गर्न केही समयका लागि मूल्य अवमूल्यन गर्दथे । यस्तै प्रकारको परिस्थितिले गर्दा तरकारी खेतीबाट मेरो लगानी उठेन । घाटा लाखौँ नाघ्यो ।
बढ्दो घाटालाई नियन्त्रणमा ल्याउन मैले तरकारी खेती त्यागेर गाई फार्म खोलेँ । गाईले दूध राम्रै दिई रहेको थियो । तर बजारमा निश्चित गरिएको दूधको मूल्यले बढीमा गाईका लागि आवश्यक दानासम्मको खर्च उठ्न सक्दथ्यो । यस्तो अवस्थाले मेरो ऋण बढ्दै गएर दशौँ लाखसम्म पुग्यो । त्यसपछि म फेरि आठ वर्षपछि ऋणको भारीले थिचिएर पुनः कतार फर्किएँ ।”
विदेशिएका लाखौँ नेपालीहरुका आम, तर आंशिक प्रतिनिधि कारणहरु हुन् यी । यस क्षेत्रमा गहन तरिकाले काम गर्ने हो भने यस्ता कहालीलाग्दा धेरै कारणहरु सङ्कलन गर्न सकिन्छ, तैपनि माथि उल्लेख गरिएका चार वटा प्रतिनिधि उदाहरणले मात्र पनि कैयौँ गम्भीर तथ्यहरु सतहमा ल्याई दिन्छन् ।
माथि उल्लेखित प्रतिनिधि उदाहरणहरुबाट तीन वटा तथ्य प्रारम्भमा नै स्पष्ट हुन्छ : प्रथम, नेपालको कृषि क्षेत्र पिछडिएको छ । यसले गर्दा आज जनता तथा युुवाहरुको जीविकोपार्जनसित सम्बन्धित आवश्यकता विद्यमान कृषिले थेग्न सक्दैन । फलस्वरूप विदेश पलायन बाध्यता बन्न पुग्दछ । द्वितीय, केही सक्रिय युवाहरुले उद्योग–व्यवसायमा हात हाले पनि उनीहरु त्यसमा सफल हुन सक्दैनन् । परिस्थिति उनीहरुको पक्षमा तयार हुँदैन । फलस्वरूप चुलिँदो ऋण र जीविकोपार्जनका लागि वैदेशिक रोजगारी बाध्यात्मक विकल्प बन्न जान्छ । तृतीय, विदेशमा खतरनाक, कठिन र फोहोरी (थ्री डी) कामको अनुभवले उनीहरुमा स्वदेशमा नै फर्केर उद्योग–व्यवसायमा हात हाल्ने भावना उत्पन्न हुन्छ । यस्तो भावनाका साथ उनीहरु नेपाल फर्कन्छन् पनि । तर स्थिति त्यही प्रकारको हुन्न अथवा उनीहरुले स्वदेशभित्रै उद्योग–व्यवसायमा सफल बन्ने वातावरण निर्माण हुन्न । फलस्वरूप एक पटक अब म कहिल्यै विदेश पलायन हुन्न भनेर स्वदेश फर्केकाहरु पुनः विदेश पलायन हुन्छन् । त्यति मात्र होइन, जोसँग धेरै थोरै सम्पत्ति छ र जसले सानो पैमानामा लगानी परिचालन गरी रहेका हुन्छन्, त्यस आधारमा उनीहरु कहिल्यै विदेश नजाने अठोट गरेका हुन्छन्, तिनीहरु पनि अन्ततः विदेश पलायन हुन्छन् । देशको पछिल्लो स्थिति यही हो ।
यतिखेर ५० लाख जति नेपाली युवाहरु विदेश पलायन भएको अनुमान गरिएको छ । भारतमा रहेका नेपाली नागरिकहरुलाई यसमा सामेल गर्ने हो भने त्यो सङ्ख्या पुग–नपुग करोडको हाराहारीमा पुग्दछ । देशको कुल जनसङ्ख्यामध्ये युवा जनशक्तिको ठुलो भाग यिनै विदेश पलायन हुनेभित्र पर्दछ । आखिर युवा जनशक्तिको उल्लेखनीय हिस्सा किन विदेश पलायन हुन्छ ? त्यसको खालि सङ्केतात्मक चित्र माथि प्रस्तुत गरिएको छ । यस क्षेत्रको समग्र चित्र सङ्कलन गर्न खोज्ने हो भने स्थिति भयावह रूपमा अगाडि आउने छ ।
गत कालमा नेपाल तीव्र गतिमा राजनीतिक परिवर्तन भएका छन् । शाह वंशीय र राणाका जहानियाँ शासन काल लामा भए पनि त्यसपछि छिटो छिटो राजनीतिक परिवर्तन भएका छन् । पछिल्लो राजनीतिक परिवर्ननबाट गणतन्त्र स्थापित भएको छ । देश धर्म निरपेक्ष बनेको छ । राज्यको पुनसंरचना भएको छ, यद्यपि यस क्रममा सङ्घीयता जस्तो गम्भीर तर अनावश्यक सार्वभौम अधिकार विभाजन गर्ने शासन प्रणालीलाई भित्राइएको छ । यतिका परिवर्तन भई रहँदा देशको अर्थतन्त्रको क्षेत्रमा परिवर्तन भयो कि भएन ? यस्तो परिवर्तनले विपन्न वर्गको आर्थिक समस्यालाई सम्बोधन ग¥यो कि गरेन ? यस्ता गम्भीर प्रश्नहरु उब्जिन्छन् । माथिका उदाहरणले बताउँछन्– देशमा आम जनताले महशुस गर्ने हदसम्मको परिवर्तन भएको छैन । अझै अर्थतन्त्रको क्षेत्रमा त यस्तो परिवर्तन झनै भएको छैन ।
के त्यसको अर्थ अर्थतन्त्रको क्ष्ँेत्रमा सामान्य वा मात्रात्मक परिवर्तनसम्म पनि भएको छैन त ? अवश्य भएको छ । सबैभन्दा बढी दलाल पुँजीपतिको पक्षमा अनुकूल परिस्थिति निर्माण भएको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको नेपाली काङ्ग्रेसको एकमना सरकारले नव उदारवादी अर्थनीति अपनाएपछि दलाल पुँजीपतिहरुको पक्षमा यस्तो अनुकूल परिस्थिति निर्माण भएको हो । पछि नेपाल विश्व व्यापार सङ्गठनको सदस्य समेत बनेको छ । यो परिस्थितिमा खास गरी भारतीय दलाल पुँजीपतिहरु नेपालका सीमित राष्ट्रिय उद्योगहरु हात पार्न सफल भएका छन् । आज देशको राष्ट्रिय अर्थतन्त्र चौधरी, दुग्गड, गोल्छा, डाबर लगायतका दलाल पुँजीपतिको हातमा सङ्कुचित हुन पुगेको छ ।
देशको अर्थतन्त्रमा दलाल पुँजीपतिपछि नोकरशाही पुँजीपतिको दबदबा छ । राज्य सत्तासित निकट सम्बन्ध राख्ने, राज्यका ऐन–कानुनसित राम्ररी खेल्न सक्ने यी पुँजीपतिहरुको हातमा पनि अर्थतन्त्रको उल्लेखनीय नियन्त्रण छ । दलाल पुँजीपतिसित साँठगाँठ गर्ने चरित्र भएको नोकरशाही पुँजीपतिले पनि राष्ट्रिय उद्योगहरुमाथि बढीभन्दा बढी स्वामित्व प्राप्तिको सिलसिलामा छ । शिक्षा, स्वास्थ्य, व्यापार, कृषि फार्म लगायतका क्षेत्रमा उनीहरुको नियन्त्रण कायम भएको छ । त्यसै गरी, सामन्ती पृष्ठभूमि भएका राणा, ठकुरी पुँजीपतिहरु पनि छन्, जसले देशका होटल, उड्डयन, व्यापार, गुठी लगायतका क्षेत्रमा नियन्त्रण गर्ने प्रयासमा छन् ।
राज्यको भूमिका यिनै दलाल तथा नोकरशाही पुँजीपतिको हित साधनामा नै छ । २०४६ सालदेखि यता जति पनि सरकार बनेका छन्, जति पनि पार्टीहरु सरकारमा गएका छन्, उनीहरुको भूमिका राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र स्थापनाको पक्षमा देखिन्न । नेपाली काङ्ग्रेसले आफूलाई प्रष्ट रूपमा दलाल पुँजीपतिको पक्षमा उभ्याएको छ, यद्यपि उनीहरुको राजनीतिक घोषणामा सुदृढ ग्रामीण अर्थतन्त्रको परिकल्पनामा गरिएको छ, जसलाई उनीहरुले “प्रजातान्त्रिक समाजवाद” बताउने गर्दछन् । तर उनीहरुको अभिव्यक्तिको सत्यता परीक्षण राजनीतिक घोषणामा होइन, २०४६ सालपछि सत्तामा रहँदा उनीहरुको व्यवहारमा हेरिनु पर्दछ । यसरी हेर्दा नेपाली काङ्ग्रेस वर्गको रूपमा सामन्त र दलाल पुँजीपतिको पार्टी भएको स्पष्ट हुन्छ र त्यसका साथै काङ्ग्रेसले नोकरशाही पुँजीपति वर्गको पनि हित साधना गरेको पाइन्छ ।
नेकपा (एमाले) आवरणमा वामपन्थी पक्ष अवश्य हो । नेपाली काङ्ग्रेसको तुलनामा एमालेको राजनीति, अर्थनीति केही प्रगतिशील छ । एमालेभित्र देशभक्ति भावना पनि प्रशस्त पाउन सकिन्छ । तर राजनीतक घोषणामा होइन, राज्यसत्ताको सञ्चालक हुँदा उनीहरुको व्यवहारलाई हेर्दा त्यसले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रतर्फको दिशा इङ्गित गर्दैन । चौधरी, गोल्छा, दुग्गड जस्ता पुँजीपतिहरु एमालेका पार्टी सदस्य नै छन् । नोकरशाही पुँजीपतिहरु एमालेप्रति स्नेहभाव राख्दछन् । त्यति मात्र होइन, उनीहरु एमालेभित्रका ‘सुरक्षित क्रान्तिकारी’ नै हुन् । तुलनात्मक रूपमा एमालेको नीतिले नेपाली काङ्ग्रेसको तुलनामा देशभक्तिपूर्ण महत्व राख्दछ नै, त्यसका बाबजुद एमालेको नीतिको आधारमा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको आधारशीला सुदृढ हुन सक्ने देखिदैन । अन्तरवस्तुका आधारमा भन्न सकिन्छ– नेपाली काङ्ग्रेस र एमालेको अर्थनीतिका बीचमा आधारभूत र उल्लेखनीय भिन्नता छैन ।
यहाँ हामीले सत्तासिन सरकार र त्यस सम्बद्ध पार्टीको अर्थ राजनीतिबारे सङ्क्षिप्तमा चर्चा गरेका छौँ । व्यवहार हेर्दा अथवा उनीहरुले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको पक्षमा काम नगर्दाको अनिवार्य परिणति हो– विद्यमान देशको अर्थतन्त्र । देशमा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र कायम नहुनुको कारण हो– देशमा दलाल तथा नोकरशाही पुँजीपतिको वर्चस्व । यही कारणले गर्दा देश पराधीन छ, अर्थतन्त्रको क्षेत्रमा आत्मनिर्भरता छैन । राजनीति तथा अर्थतन्त्रको क्षेत्रमा पराधीन चरित्रका कारण देशको राष्ट्रिय सार्वभौमिकता नै स्वतन्त्र बन्न सकेको छैन ।
नेपाली राज्यसत्ताको यस प्रकारको पराधीन चरित्रको एउटा बाई–प्रोडक्ट हो– बेरोजगारी समस्या । यही बेरोजगारीको परिणाम हो– युवाहरुको विदेश पलायन । यस आधारमा पनि निस्कर्ष निकाल्न सकिन्छ– युवाहरुको विदेश पलायनका पछाडिको मुख्य कारण देशको पराधीन अर्थतन्त्र हो । निस्कर्षमा देशको पराधीन अवस्थामा आमूल परिवर्तन गरी राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र कायम नगर्दासम्म न बेरोजगारी समस्या समाधान गर्न सकिन्छ, न त बढ्दो विदेश पलायनलाई रोक्न नै सकिन्छ ।
विदेश पलायन गम्भीर समस्या हो । यो समस्या व्यक्तिगत स्वरूपमा जति गम्भीर समस्या हो, त्यत्ति नै राष्ट्रका लागि पनि गम्भीर समस्या हो । युवा शक्ति बिना देशको विकास सम्भव छैन । जुन देशका युवा शक्ति विदेश पलायनको भुमरीमा छन्, त्यस देशको उन्नत्ति नहुनु स्वाभाविक हो, । अर्कातिर, युवा शक्ति भनेका अठोटलाई आफै व्यावहारिक रूप दिन सक्ने तप्का हो । त्यस कारण यदि राज्यले राष्ट्रोन्नतिको भिजन प्रस्तुत गर्दछ भने त्यसलाई व्यावहारिक रूप दिन सक्ने क्षमता युवा तप्काले नै राख्दछ । जुन देशका युवा शक्ति नै विदेश पलायनको भुमरीमा छन्, त्यस देशले आफ्नो उन्नतिको जिम्मेवारी कसरी पुरा गर्न सक्छ ?
पछिल्लो समयमा देश गम्भीर असन्तुलनको स्थितितर्फ अगाडि बढी रहेको छ । देशका लाखौँ युवाहरु कामको खोजीमा विदेश भौतारिई रहेका छन्, यता स्वदेशमा श्रमशक्तिको कमी हुन थालेको छ । कृषि, निर्माण, लघु उद्योगहरुमा कामदार पाइन छाडेका छन् । तराईमा खेतीपातीका लागि भारतीय मजदुरहरुमाथि भर गर्नु पर्ने स्थिति छ । भौतिक पूर्वाधारयुक्त विकास निर्माणमा मजदुरको त्यत्तिकै अभाव छ । इँटाभट्टीमा पनि मजदुरको अभाव देखिएको छ । औद्योगिक नियमावलीमा नेपालका उद्योगहरुले स्वदेशकै कामदारलाई काममा लगाउनु पर्ने प्रावधान छ । तर स्वदेशमा त युवा जनशक्तिको आवश्यक सङ्ख्या नै छैन । खाद्यान्न, पशुपालन, फलफूल, तरकारी उत्पादनमा दक्ष जनशक्तिको अभाव छ । देशमा यस प्रकारको स्थितिका माझ युवाहरुको स्व–पहलकदमी निरुत्साहित हुन पुगेको छ (प्रस्तुतु लेखको प्रारम्भमा नै यस सम्बन्धमा प्रतिनिधि सामग्री प्रस्तुत गरी सकिएको छ) । यस प्रकार देशका युुवा जनशक्ति विदेश पलायन हुने, यता नेपालमा भारतीय श्रमशक्तिको प्रयोग दिनदिनै बढेर जाने—यस्तो असन्तुलनको परिणाम के हुने छ ? अझै त्यस समस्यालाई नागरिकता सम्बन्धी विद्यमान खुकुलो नीति र भारतको नेपाल नीति फिजीकरणसित जोडेर हेर्ने हो भने विकराल भविष्यको अनुमान लगाउन गाह«ो पर्दैन । त्यसबारे हामीले अहिलेदेखि नै ध्यान पु¥याउनु परेको छ ।
यदि यही प्रकारको असन्तुलन रही रह्यो भने त्यसको परणामस्वरूप हाम्रो राष्ट्रिय सार्वभौमिकतामाथि नै आँच आउन सक्ने छ । युवाहरुले पठाएका रेमिट्यान्स देशमा विद्यमान दलाल तथा नोकरशाही पुँजीपतिको वर्चस्वका कारण पुनः देशबाट बाहिरिई रहेको छ । त्यसै गरी आवश्यक श्रमशक्ति समेत विदेशबाट ल्याउनु पर्दा नेपाली अर्थतन्त्रको अवस्था ऋणात्मक हुने छ । यस्तो प्रकारको स्थितिका बारेमा आवश्यकता त सर्वप्रथम राज्यपक्षले नै ध्यान दिनु पर्ने थियो तर विडम्बना !, त्यस्तो हुन सकेको छैन ।
माथि नै उल्लेख गरी सकिएको छ– देशको उन्नतिका लागि सर्वप्रथम त युवा जनशक्तिलाई स्वदेशमा नै रोजगारी दिनु पर्दछ । उद्योग–व्यवसाय र बजारमा तिनै युवाहरुलाई प्रोत्साहन गरिनु पर्दछ । त्यस्तो व्यवस्था स्वाभाविक रूपले राज्य पक्षले नै मिलाउनु पर्दछ । तर राज्य पक्ष नै दलाल तथा नोकरशाही पुँजीपतिको पक्षमा भएको अवस्थामा के गर्ने ? त्यसबारे हामीले सोच्नु पर्दछ ।
राज्यसत्ता सामन्ती चरित्रको हुनु र अर्थतन्त्रमाथि दलाल तथा नोकरशाही पुँजीपतिको नियन्त्रण हुनु नै देशको पराधीन अवस्थाको कारण हो । अन्तिम निष्कर्षमा यस्तो स्थितिमा परिवर्तन ल्याउनका लागि नेपालमा राज्यक्रान्ति नै आवश्यक पर्दछ । त्यसका लागि दीर्घकालीन कार्यक्रमको आवश्यकता पर्दछ । यो अभिभारालाई सम्पन्न गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा राजनीतिक, साङ्गठनिक र सैन्य तयारीको आवश्यकता छँदै छ । यस दिशामा क्रान्तिकारी कम्युनिस्ट पार्टीले योजनाबद्ध प्रकारले काम गर्ने नै छ । त्यसका अतिरिक्त पनि हामीले केही पहलकदमी गर्नु वाञ्छनीय नै हुने छ । यस्तो गर्नु देशभक्त र क्रान्तिकारी शक्तिहरुका लागि स्वाभाविक पहलकदमी मानिने छ ।
राज्यसत्ताको चरित्रको विषयलाई एकछिन होल्ड गर्ने हो भने विदेश पलायनबाट युवाहरुलाई रोक्न यस्तो अठोट उत्पन्न गर्नु पर्ने आवश्यकता छ ।

– हामी नेपालभित्रै केही गर्न सक्छौँ ।

– नेपालभित्रै काम गर्न पाउनु हाम्रो अधिकार हो ।

– हाम्रो स्व–पहलकदमी विरुद्ध आई पर्ने हरेक बाधा–विरोधको प्रतिकार गर्नु हाम्रो अधिकार हो ।

– आफ्नो राष्ट्रिय हितको पक्षमा जुनसुकै हदसम्म जानु पनि हाम्रो अधिकार हो ।

– आफ्नो काममा हामी लगनशीलता, प्रतिबद्धताका साथै अटल भएर प्रस्तुत हुन सक्छौँ ।

– हामी आफ्नो परिवार, समाज र देशको विकासका लागि जस्तोसुकै काम गर्न हिच्किचाउने छैनौँ ।

– कामका दौरानमा आई पर्ने व्यक्तिगत खिसीट्युरी अपमान, घृणा भाव, निरुत्साहको हामीले पर्वाह गर्ने छैनौँ ।

– काममा हामी सामूहिक, सार्वजनिक तरिका अपनाउने छौँ । श्रममा सम्पूर्ण परिवारलाई सामेल गर्ने छौँ ।

– सबै प्रकार तडकभडक र फिजुलखर्चीलाई नियन्त्रण गर्दै हामी मितव्ययी, किफायती बन्ने छौँ ।

– अन्ततः हाम्रो पहलकदमीको सफलता निश्चित छ ।

देख्दा सामान्य जस्तो लाग्ने यी बुँदाहरु धेरै नै महत्वपूर्ण हुन सक्छन् ।
यो सत्य हो– हामीहरुमा श्रमप्रतिको अरुचि, हिचकिचाहट, कटिबद्धताको अभाव जस्ता निम्न पुँजीवादी प्रवृत्तिहरु प्रशस्त मात्रामा विद्यमान छन् । यही कारण हो– हामीहरु घरमा रहँदा सामान्य काम गर्न सक्दैनौँ, तर विदेशमा गएर थ्री डी काम पनि गर्न तयार हुन्छौँ । कतिपय युवाहरुको त वैदेशिक रोजगारीमा गएपछि मात्र गम्भीर श्रमसित सामना हुन्छ । एकातिर, श्रमप्रतिको अरुचि, हिचकिचाहट र कटिबद्धताको अभाव, अर्कातिर, तडकभडक र फिजुल खर्च—यी नै ती कारण हुन्, जसले गर्दा पनि युवाहरुको विदेश पलायन बढ्दै गई रहेको छ । भारतवेष्ठित पराधीन मुलुकको नागरिकमा देखा परेका यस्ता कमजोरी गम्भीर चिन्ताका विषय हुन् । युवा शक्तिमा देखा परेका यस्ता कमजोरीमाथि विजय प्राप्त नगरिकन देश स्वाधीन हुन सक्दैन ।
माथिको सङ्क्षिप्त चर्चाबाट यतिखेर देशका लागि हस्तक्षेपकारी भूमिकायुक्त युवा शक्तिको आवश्यकता तड्कारो रहेको निष्कर्ष निकाल्न सकिन्छ । यस्तो युवाशक्ति, जसले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने सपना पालेको छ र त्यही सपना पुरा हुँदा मात्र आफ्नो व्यक्तिगत समस्या पनि समाधान हुने विश्वास गर्दछ ! यस्तो युवाशक्ति, जोसित श्रमप्रति अरुचि, हिचकचाहट छैन ! यस्तो युवाशक्ति, जसले फिजुलखर्चीबाट आफूलाई टाढा राख्दछ ! यस्तो युवाशक्ति, जसले अटल भएर सृजनात्मक तरिकाले काममा जुट्छ र यस्तो युवाशक्ति, जसले नेपाललाई विश्वकै स्वर्णिम देशको रूपमा स्थापना गर्ने लक्ष्य राखेको छ—यस्तै युवाशक्तिको भर परेर मात्र देशलाई स्वाधीन बनाउन सकिन्छ । त्यसका लागि युवाहरुमा हस्तक्षेपकारी स्प्रिट हुनु आवश्यक छ ।
राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको पक्षमा युवाशक्तिको हस्तक्षेपकारी भूमिकामा उत्रनका लागि उनीहरुमा सर्वप्रथम त क्रान्तिकारी चेतना हुनु पर्दछ । आफ्नो लक्ष्य पूर्ति हेतु कठोर र निर्मम सङ्घर्ष गर्न तयार हुनु पर्दछ । त्यसका लागि क्रान्तिकारी जोशका साथ योजनाबद्ध प्रकारले अगाडि बढ्नु पर्दछ । सम्पूर्ण नेपाल हाम्रो हो, हामी नेपालका अधिकारसम्पन्न नागरिक हौँ भन्ने दृढ आत्मविश्वासका साथ देश र जनताको हित विपरीत जाने शक्तिहरुलाई ध्वस्त गर्ने क्रान्तिकारी जोश, आँट वा स्प्रिट युवाहरुमा हुनु पर्दछ । आफ्नो देशमा अरूको माइक्रो म्यानेजमेन्ट सहने वा आफ्नै देशमा दोस्रो दर्जाको नागरिकको रूपमा रहने दब्बु मानसिकतालाई आजैदेखि त्याग्नु पर्दछ । यदि यो देश हाम्रो हो र यो देशका हामी अधिकार सम्पन्न नागरिक हौँ भने नेपालको भाग्यरेखा कोर्ने क्षमता पनि हामी नै राख्छौँ—यस खालको दर्बिलो साहस हामीले पाल्नै पर्दछ । हामीले यस्तो साहस राख्ने मात्र होइन, त्यसलाई व्यवहारमा उतार्दै देशबाट सबै प्रकारका राष्ट्रघातीहरुलाई तहसनहस पार्ने आँट राख्नै पर्दछ । त्यस्तो शुभ कार्यको सुरुवात आजैबाट गर्नु पर्दछ ।
अन्तमा, युवाहरुसित आह्वान गरौँ– नेपाल नेपाली जनताको हो । नेपालमाथि शासन गर्न वा त्यसको भाग्यरेखा कोर्न युवाहरु सक्षम छन् । स्वाधीन, स्वतन्त्र र समृद्ध नेपाल निर्माणका लागि युवाहरुको हस्तक्षेपकारी भूमिकालाई पुरा गर्न उनीहरु सक्षम छन् । यस्तो भूमिकाका खातिर देशभित्र रहेका युवाहरु सक्रिय बनौँ । देशमा दलाल तथा नोकरशाही पुँजीपतिको दबदबा समाप्त पार्न विदेश पलायन भएका युवाहरु तत्कालै स्वदेश फर्काैँ । आफ्नै हातबाट समृद्ध नेपालका लागि निर्मम सङ्घर्ष गर्न तयारी गरौँ । त्यसका लागि भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद र त्यसका नेपाली प्रतिनिधि सामन्त तथा दलाल र नोकरशाही पुँजीपतिको सत्तालाई जरैदेखि उखेलर फ्याँकिदिऔँ—त्यसपछि मात्र हामी नेपालका वास्तविक धर्तिपुत्र सावित हुने छौँ ! त्यसपछि मात्र हामी नेपाल आमाका वास्तविक सन्तान सावित हुने छौँ ! त्यसपछि मात्र नेपाली माटो हाम्रो आफ्नै हुने छ† त्यसपछि मात्र आफ्नो उत्पादनको मूल्य निश्चित गर्ने अधिकार हाम्रो आफ्नै हुने छ र त्यसपछि मात्र सन्तान–दर–सन्तान विदेशी भूमिमा थ्री डी कामका लागि कौडीको मूल्यमा श्रमशक्ति बेच्ने परम्पराको अन्त हुने छ । के हामी नेपाली युवाशक्ति त्यसका लागि सक्षम छौँ ? इतिहासले हाम्रो भूमिका परीक्षण गर्न खोजी रहेको छ । के हामी त्यस्तो परीक्षणमा सौ आना शुद्ध सावित हुन तत्पर छौँ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here