युवाहरुमा विकासको हुटहुटी र वैचारिक संकट

0
244
  • रोशन राई ‘अनुराग’

नेपालमा राजा, राणा, पञ्चाय, बहुदल हुँदै, गणतन्त्र सम्म आईपुग्दा यहाँ धेरै राजनीतिक परिवर्तनहरु भएका छन्। राजनीतिक परिवर्तनसँगै नेपालका गरिब, किसान, मजदुर लगायत सम्पूर्ण शोषित, उत्पीडित वर्ग र समुदायले आफु माथि भईरहेको विभेदको अन्त्य गरि, देशमा रोजगार र विकासको अपेक्षा गरेका थिए, जुन अपेक्षा स्वाभाविक थियो। तर यहाँका सरकार र मुख्य राजनीतिक दलहरुले जन – अपेक्षा बमोजिम नै आफु र मुलुकलाई अगाडि बढाई रहेका छन् त? भनेर हामीले आफुलाई नै गम्भीर प्रश्न गर्ने बेला आएको छ। किनभने हिजोको पुरानो राजनीतिक व्यबस्थाद्धारा समाजमा विकास र उन्नति सम्भव छैन भनेर हामीले जनताको बलिदानीपूर्ण संघर्षद्धारा नयाँ राजनीतिक व्यबस्था गणतन्त्र ल्याएको पनि करिब डेढ दशक हुनै लागेको छ। झन् अहिले त केपी शर्मा अोलीको नेतृत्वमा दुई तिहाई बहुमत नजिकको केन्द्र सरकार छ भने, सात प्रदेश मध्ये छ प्रदेशमा पनि नेकपाकै सुविधाजनक सरकार कायम रहेको छ। किनकी हिजो सम्म हाम्रो प्रगतिको मुख्य बाधक अस्थिर राजनीति मान्दै आएका आम युवाहरुले स्थिर सरकार र दिगो विकासको निम्ति चुनावमा नेकपालाई प्रचण्ड बहुमत दिई अत्यधिक रुपमा विजय गराएका थिए र चुनावी नतिजापछि केपी शर्मा अोलीको नेतृत्वमा इतिहासकै पहिलोचोटी शक्तिशाली सरकार नेकपाले बनाउँदै गर्दा युवाहरुमा एक किसिमको उत्साह जागिरहेको थियो। तर त्यो उत्साह आज निराशामा परिणत हुने अवस्था स्वयंम सरकारको कारणले आईरहेको छ। आजपनि सत्ता माथिको खिचातानी उस्तै छ, पदको लडाँई झन् नग्न रुपमा देखिएको छ।

विधानमा “समाजवाद उन्मुख” लेखिएपनि नेताहरुको व्यबहार चाँहि उहिं पद, पैसा र प्रतिष्ठा उन्मुख नै देखिएको छ। फेरिएको व्यबस्थामा पनि पद प्राप्तिको लागि नेताहरु गणतन्त्र, संविधान र संसदीय व्यबस्थाको समेत आचरण विपरीत जस्तोसुकै हतकण्डा अपनाउँन तयार छन्। जसका कारण आम सर्वसाधारण जनताले हिजोको व्यबस्था र आजको व्यबस्था बीच तुलनात्मक रुपमा समेत फरक अनुभूत गर्न पाएका छैनन् ।

कुर्सीमा बसेका नेताहरुको गलत प्रवृत्ति र आचरणका कारण जनताको कठिन संघर्ष र बलिदानीबाट प्राप्त गणतन्त्र प्रति नै अहिले जनतामा वितृष्णा पैदा हुन थालेको छ। जसका कारण अहिलेसम्म प्राप्त गणतन्त्र, धर्मनिरपेक्ष लगायत जे – जति प्रगतिशील परिवर्तनहरु भएका छन्, त्यो नै गुम्ने खतरा देखिएको छ । यो हामी प्रगतिशील र गणतन्त्र पक्षधरहरुको निम्ति धेरै नै दुखद र चिन्ताको विषय हो। त्यसैले स्वार्थको लडाँई र पदको खिचातानीबाट आजित युवाहरुले अहिले “चाहे राजा आवोस्, चाहे कांग्रेस आवोस् वा कम्युनिस्ट आवोस्, हामीलाई केहि मतलब छैन, हामीलाई सिर्फ रोजगार र विकास भएपुग्छ” भन्न थालेका छन् ।

राज्यप्रति यो चाहाना राख्नु नागरिकको हकमा अस्वाभाविक होइन, तर एउटा सचेत नागरिकको हकमा भने यो निरर्थक चाहाना हो। त्यसैले विषेशगरि उर्जाशील युवाहरुमा राज्य सत्तालाई हेर्ने, समाजलाई बुझ्ने र आफ्नै जीवनलाई सार्थक र गतिशील प्रदान गर्न, एउटा स्पष्ट दृष्टिकोण हुन आवश्यक छ अर्थात निर्माण गर्न जरुरी छ। त्यसपछि मात्र हाम्रो सोंच, व्यबहार र अपेक्षाले अर्थात् विकास प्रतिको हुटहुटीले सार्थकता पाउँने सम्भावना रहन्छ। किनभने स्पष्ट विचारविहिनहरु अरुको फ्लोवर मात्र हुनसक्छ तर आफ्नो लक्ष्य र गन्तव्य, कहिल्यै ठम्याउँन सक्दैन ।

अहिलेका युवाहरु धेरै शिक्षित छन् तर एकदम थोरैमात्र सचेत छन्। शिक्षाले निरक्षरताबाट मुक्ति दिलाउँछ, तर सचेतनाले हरेक कुराको विवेचना गर्न सिकाउँछ। यहिं सचेतनाको कमिले अहिलेका युवाहरु शिक्षित भएपनि विभिन्न गलत प्रवृत्तिका शिकार भईरहेका छन् । जसको फाईदा कालान्तरमा मुठ्ठीभरका शासक वर्गहरुले नै आज – पर्यन्त लिदै आईरहेका छन् । अस्पष्ट दृष्टिकोणको सवालमा अहिलेका “चर्चित” भ्रष्टाचार विरोधी अभियन्ता भनेर चिनिने ज्ञानेन्द्र शाहिलाई नै उदाहरणको रुपमा लिन सकिन्छ। उनले धेरै युट्युब च्यानलहरु संगको आफ्नो अन्तरवार्तामा भन्ने गरेका छन् -“मलाई राजा आवोस्, राणा आवोस्, कांग्रेस, कम्युनिस्ट जोसुकै सत्तामा आवोस्, त्यो संग कुनै सरोकार छैन, मात्र विकास चाहियो।” तर यो निरपेक्ष विकासको कुरा हो। साँच्चै भन्नुपर्दा कहिल्यै विकासै नहुने भावनामा बगेर अन्ध – जोशमा गरिएको कुरा हो । यहाँ विकास हुनु नै सबै समस्याको समाधान होइन भन्नेकुरा पनि अहिलेका विकसित मानिएका राष्ट्रहरुलाई हेर्दा नै थाहा हुन्छ ।

यसरी ज्ञानेन्द्र शाही जस्ता पढेलेखेका र एउटा सामाजिक “पहिचान” बनाएका युवाले समेत राज्यको चरित्र र त्यसले अवलम्बन गरेका नीतिबारे मौन रहेर एकोहोरो निरपेक्ष विकासको मात्र माग गर्नु वा आशा गर्नु विचारकै समस्या हो। राज्यको चरित्र र आफ्नो उद्धेश्यबारे स्पष्ट नभई विकास र समृद्धिको मात्र कुरा गर्नु, काग कुहिरो भित्र हराएर कराउँनु जस्तो मात्रै हो। त्यसैले अहिले ज्ञानेन्द्र शाही र उनले व्यक्त गर्ने अस्पष्ट विचार धेरैजसो युवाहरूको एउटा प्रतिनिधि पात्र हुन्। अब हामी स्पष्ट हुन कहाँ जरुरी छ भने, कुनैपनि देशको वास्तविक विकास र समृद्धिको जग स्पष्ट विचारधारा र स्थाई सरकार नै हो। यसमा पनि कुन विचारधारा हो भन्नेबारे अर्कोचोटी छलफल गरौंला। त्यसैले जब हामी हिड्ने बाटो र पुग्ने गन्तव्य नै थाहा छैन भने, हामी कहिले पनि आफ्नो लक्ष्यमा पुग्न सक्दैनौं ।

तसर्थ अहिले युवाहरुमा पनि समस्या छ, त्यो समस्या भनेको वैचारिक संकट नै हो। जसको कारण आज इतिहासका निर्माता युवा शक्तिहरु दिशाविहिन बनेका छन्, कुहिरो भित्रको काग जस्तै बनेका छन्। चुनावमा पैसासंग आफ्नो अमुल्य मत साट्न थालेका छन्। अहिले पनि धेरै युवाहरूले “अब आउँने चुनावमा जसले पैसा दिन्छ, उसैलाई भोट दिने हो” भन्ने गरेको कुरा स्वयंम यो पंक्तिकारले प्रतक्ष्य सुन्दै आईरहेको छ। युवाहरुमा यो मनस्थिति अझै रहनु भनेको हाम्रो सुन्दर भविष्य अझै क्षितिजमै रहनु हो। त्यसैले अब कतिपनि विलम्ब नगरि, क्षितिजमा रहेको हाम्रो सुन्दर भविष्यको ढोका उघार्न, बन्द रहेको हाम्रो चेतनाको ढोका पहिला उघारौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here