युवतीमाथि एसिड प्रहार गर्नेलाई ८ वर्ष कैद, सवा करोड औषधि खर्च भराउने फैसला

0
42

हेटौंडा । युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिकलाई जिल्ला अदालत मकवानपुरले ८ वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको छ ।

अभियुक्तबाट उपचार खर्च एक करोड १४ लाख ८५ हजार रुपैया भराउन पनि अदालतले आदेश दिएको छ। अभियुक्तलाई सघाउने एक जनालाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवानाको फैसला सुनाएको छ।
जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलाशले भारत महाराजगञ्ज, अमरपूर्वन–६ का राज भन्ने दिलीपराज केशरीलाई उक्त फैसला सुनाएको हो। केशरीले हेटौडा उपमहानगर–२ की २० वर्षीया विन्दावासिनी कंसाकारको अनुहारमा एसिड प्रहार गरेका थिए।

केशरीलाई साविकको मुलुकी ऐन ज्यान सम्वन्धी महलको १५ नम्बर मुलुकी अपराधंसंहिता २०७४ दफा १८३ (२) अनुसार ८ वर्ष कैद र एक लाख रुपैया जरिवानासहित उपचार खर्च एक करोड १४ लाख ८५ हजार भराउने फैसला गरेको स्रेस्तेदार केशवराज कौशिकले बताए।

केशरी विदेशी नागरिक भएकाले उक्त रकम पीडितलाई उपलब्ध गराउन सरकारले पहल गर्ने र निजबाट भराउन नसकेमा सरकारले पीडितलाई मनासिब माफिक अर्थात् उचित उपचार खर्च उपलब्ध गराउन पनि अदालतले आदेश जारी गरेको छ। उक्त इजलाशले युवती कंसाकारमाथि एसिड प्रहार गरी मुख्य अभियुक्तलाई भगाउने काम गरेका सन्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवाना गर्ने फैसला गरेको छ।

हेटौंडा बजारको मुख्य चोकमा आफ्नै भाँडा पसलमा बसिरहेका बेला कंसाकारलाई एसिड आक्रमण गरेर भाग्ने क्रममा मुख्य अभियुक्त केशरीलाई मण्डलले मोटरसाइकलमा राखेर भगाएका थिए। प्रेम प्रस्ताव अस्वीकार गरेपछि २०७० साल वैशाख ९ मा कंसाकारको अनुहारमा एसिड प्रहार गरेर गरेका थिए।

एसिड प्रहार गर्ने केशरी हेटौंडामा व्यापार गर्थे। उनलाई ६ वर्षपछि बाराको जितपुर–सिमरा उपमहानगर–२३ भलोहीस्थितबाट गत कार्तिक १४ पक्राउ गरिएको थियो। त्यसको एक साता पछि सहयोगी मण्डललाई हेटौडाबाटै पक्राउ गरेको थियो।

सफल व्यवसायी र समाजसेवी बन्ने लक्ष्य लिएकी बिन्दावासिनीको एसिडबाट बनेको घाउमा क्रिम तथा औषधिमा मासिक करिब २० हजार खर्च हुने गरेको छ। उपचारका क्रममा हालसम्म करिब डेढकरोड रुपैयाँ खर्च भइसकेको पीडित परिवारले जनाएको छ। वाणिज्यमा स्नातक गरेकी विन्दवासिनीलाई सरकारले न्यायसँगै एसिड पीडितहरुका लागि समाजमा स्थापित हुन सहयोग गर्नु पर्ने माग गरेकी छिन्(प्रताप विष्टले तयार पारेकाे याे समाचार कान्तीपुरबाट लिएका हाैं)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here