युवक संघको राष्ट्रिय सम्मेलन व्यापक तयारीमा 

0
497
काठमाडौँ । अखिल नेपाल युवक सङ्घको आगामी २०७५ वैशाख २८–३० गते पोखरामा हुने सातौँ राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ । युवक सङ्घले अहिलेसम्म गरेको तयारी र प्रचार प्रसार हेर्दा राष्ट्रिय सम्मेलन भव्य र ऐतिहासिक हुने देखिएको छ ।
सम्मेलनलाई थप भव्य र ऐतिहासिक बनाउनका लागि हालै केन्द्रीय सचिवालयको बैठक बसेको छ । चितवनको नारायणघाटमा यही वैशाख १ गते बसेको बैठकले जिल्लाका गतिविधिहरुलाई तिव्रता दिने निर्णय गरेको छ । देशव्यापी रूपमा सदस्यता वितरण, प्रचार प्रसार, सम्मेलन र भेलाका कार्यक्रम पनि सम्पन्न भइरहेको युवक सङ्घका महासचिव तथा सम्मेलन प्रचार प्रसार संयोजक अनिल किशोर घिमिरेले बताउनु भयो ।
देशभरिबाट आएका करिब दुई हजार जनाको विशेष मार्चपास सहित पृथ्वीचोक पोखराबाट जुलुस सुरु हुने र चिप्लेढुङ्गामा उद्घाटन सभाको कार्यक्रम सम्पन्न हुने बताइएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले उद्घाटन गर्ने सम्मेलनमा विभिन्न भाइचारा सङ्घ/सङगठनका नेताहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
युवक सङ्घका अध्यक्ष तिलक थापा सम्मेलन स्थल पोखरामा थप तयारीका लागि हिडिसक्नु भएको छ । अध्यक्ष थापाका अनुसार सम्मेलनले साङ्गठनिक प्रतिवेदन, घोषणा पत्र, विधान संशोधन गर्ने र आगामी आन्दोलन र सङ्गठनका योजनाहरु बनाउने बताइएको छ ।

युवक सङ्घ बागलुङको सम्मेलन

यसैबीच, २०७४ चैत ३० गते अखिल नेपाल युवक सङ्घ बागलुङको दशौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट भिमसेन वन सर्वसम्मत रूपमा जिल्ला अध्यक्ष चुनिनु भएको छ । बागलुङको जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरामा सम्पन्न सम्मेलनबाट वन अध्यक्ष चुनिएका हुन् । सङ्घको उपाध्यक्षमा बिमल बुढा, सचिवमा विरेन्द्र थापा, सहसचिवमा अनिल गिरी र कोषाध्यक्षमा वसन्त सापकोटा चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा सञ्जाल शर्मा, खगेन्द्र थापा, श्री प्रसाद थापा, ओमकार श्रीस, युवराज महत, विरेन्द्र घर्ती, दुर्गा थापा, जुन विक्रम शाही, पवित्रा बुढा मगर र प्रदिप पुन रहनु भएको छ । त्यस्तै, वैकल्पिक सदस्यहरुमा कृष्ण सुवेदी, जीवन घर्ती मगर, भीष्म छन्त्याल र पिताम्बर सापकोटा रहनु भएको छ ।
सम्मेलनमा बोल्दै युवक सङ्घका महासचिव अनिल किशोर घिमिरेले सरकार युवाहरुको रेमिट्यान्समा रमाए पनि युवाहरुको सुरक्षाबारे कुनै पनि चासो नदिएको आरोप लगाउनु भयो । ‘लाखौँ युवाले विदेशमा कष्टकर जीवन बिताउनु पर्ने बाध्यता छ’ घिमिरेले भन्नुभयो– ‘रेमिट्यान्समा रमाउने सरकार उनीहरुको बारेमा खासै चासो राख्दैन ।’ घिमिरेले अहिलेको वाम पक्षीय सरकार भए पनि जनताको पक्षमा काम गर्न नसक्ने ठोकुवा गर्नु भयो । आफ्नो पदीय स्वार्थका कारण सरकारको विभिन्न पदमा आसिन व्यक्तिहरुले जनताको काम गर्न नसक्ने बताउँदै उहाँले वाम पक्षीय सरकारले कम्युनिस्टहरुको बदनाम मात्र गर्ने उहाँको आरोप थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य कृष्ण थापा र टेक बहादुर घर्ती, राजमोका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, राजमोका अध्यक्ष अमर थापा लगायतले मन्तव्य राख्नु भएको थियो । रक्तिम सांस्कृतिक अभियानका कलाकारद्वारा गीत र नृत्य प्रस्तुुत गरिएको सो कार्यक्रममा अध्यक्षता युवक सङ्घका जिल्ला अध्यक्ष भिमसेन वनको र सञ्चालन लक्ष्मण पुनको रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here