युवक संघको परिषद बैठक सम्पन्न

0
464

काठमाडौँ । अखिल नेपाल युवक सङ्घको तेस्रो राष्ट्रिय परिषद बैठक २०७४ माघ २६ र २७ गते रूपन्देहीको बुटवलमा सम्पन्न भएको छ । बैठकले आगामी २०७५ वैशाख २८, २९ र ३० गते कास्कीको पोखरामा हुन गई रहेको सङ्घको सातौँ राष्ट्रिय सम्मेलनको मूल नारा “राष्ट्रिय स्वाधीनताका लागि आमूल परिवर्तन, युवा अधिकार र जनतन्त्रको पक्षमा सातौँ राष्ट्रिय सम्मेलन” तय गरेको छ । युवक सङ्घको सो राष्ट्रिय सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गर्नु हुने भएको छ ।

अखिल नेपाल युवक सङ्घका अध्यक्ष तिलक थापाले २०७४ माघ २७ गते साँझ एक प्रेस वक्तव्य जारी गर्दै तेस्रो राष्ट्रिय परिषद बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरु सार्वजनिक गर्नु भएको छ । अध्यक्ष थापाद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– “अखिल नेपाल युवक सङ्घ राष्ट्रिय परिषदको तेश्रो बैठक समितिका उपाध्यक्ष का. जितामित्र सुनारको अध्यक्षतामा २०७४ माघ २६ र २७ गते बुटवलमा ११ बुँदे राजनैतिक विशेष प्रस्ताव तथा सातौँ राष्ट्रिय सम्मेलन सम्बन्धी निर्णयहरु गर्दै सम्पन्न भएको छ । बैठकले गरेका राजनैतिक तथा साङ्गठनिक निर्णयहरु सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।


१. अखिल नेपाल युवक सङ्घको सातौँ राष्ट्रिय सम्मेलन २०७५ वैशाख २८, २९ र ३० गते “राष्ट्रिय स्वाधीनताका लागि आमूल परिवर्तन, युवा अधिकार र जनतन्त्रको पक्षमा साताँै राष्ट्रिय सम्मेलन” भन्ने मूल नाराका साथ पर्यटकीय शहर पोखरामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष का. चित्र बहादुर केसीले उद्घाटन गर्नु हुने छ ।

२. अखिल नेपाल युवक सङ्घको सातौँ राष्ट्रिय सम्मेलन सफल पार्न का. तिलक थापाको संयोजकत्वमा का. जितामित्र सुनार, का. अनिल किशोर घिमिरे, का. रमेश पौडेल, का. बाबुराम आचार्य, का. बालकृष्ण सुवेदी, का. योगेन्द्र पौडेल, का. भिमसेन वन, का. प्रशान्त थापा, का. लक्ष्मण पुन, का. कृष्ण क्षेत्री, का. विक्रम थापा, का. जयराम आचार्य रहनु भएको १३ सदस्यीय मूल व्यवस्थापन समिति, का. अनिल किशोर घिमिरेको संयोजकत्वमा ३०१ सदस्यीय प्रचार प्रसार समिति, का. बाबुराम आचार्यको संयोजकत्वमा का. रमेश पौडेल, का. लक्ष्मण पुन, का. प्रशान्त थापा र का. योगेन्द्र पौडेल रहनु भएको ५ सदस्यीय आर्थिक समिति र का. भिमसेन वन को संयोजकत्वमा, का. भक्त विक, का. कमल थापा, का. विरेन्द्र हमाल, का. हुमलाल नेपाली, का. आशिस जबेगु, का. लिल बहादुर पुन, का. विष्णु शर्मा र का. टोपलाल भुषाल ९ सदस्यीय सचिवालय रहेको ४१ सदस्यीय स्वयंसेवक समिति समिति गठन गरेको छ ।

३. ०७४ फागुन र चैत्र भित्र जिल्ला सम्मेलन सम्पन्न गर्ने मितिहरु तय गरिएका छन । सातौँ राष्ट्रिय सम्मेलनको प्रचार प्रसारका लागि वालपेन्टिङ, ब्यानर राख्ने, पर्चा, स्टिकर, पोस्टर प्रकाशन, पत्रकार भेटघाट गरी व्यापक प्रचार प्रसार र तयारीको लागि अपिल गर्दछौँ ।

तेश्रो राष्ट्रिय परिषद वैठकबाट पारित विशेष प्रस्तावहरु
१. नेपालमा रोजगारका अवसरहरु नहुँदा लाखौँ युवाहरु विदेशिनु परेको छ । राज्यले युवा लक्षित विशेष कार्यक्रमहरु सञ्चालन गरी युवाहरुलाई राष्ट्र विकासमा लगाउन जोडदार माग गर्दछौँ ।

२. वैदेशिक रोजगारीको सन्दर्भमा विदेशिएका कैयौँ युवाहरु विदेशी जेल, अस्पताल र विदेशी गल्लीहरुमा बेवारिसे अवस्थामा अत्यन्तै कष्टकर जीवन बिताउनु परेको तथा अनाहकमा मृत्युको शिकार समेत हुनु परेका घटनाहरु बारम्बार दोहोरिने गरेका छन् । त्यस प्रकारका घटनाहरु हुन नदिन तथा भएका घटनाहरुमा यथाशीघ्र उद्दार, रिहाइ तथा स्वदेश फिर्तीका लागि आवश्यक व्यवस्था गर्न हाम्रो सङ्गठन नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

३. कैयौँ स्थानीय तहमा भए गरेका अपारदर्शी तथा अनियमित कार्यहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जनताको विकासका लागि विनियोजित वजेटमा भएको त्यस खालका अनियमितता र भ्रष्टाचार जन्य कार्यहरुको तुरुन्त छानबिन गरी दोषी उपर कार्वाही गर्न माग गर्दै त्यस्ता कार्यहरु रोक्न खबरदारी समेत गर्दछौँ ।

४. भ्रष्टाचार र बलात्कार जस्ता जघन्य फौजदारी अपराधमा संलग्न अपराधीलाई कडा डण्ड–सजाय गरिनु पर्नेमा स्वयं राज्यको निकायबाटै संरक्षण प्रदान गर्दै अपराधीलाई प्रश्रय दिने कार्यहरु बढ्दै गई रहेका छन । त्यस खालका गलत कार्यहरु तुरुन्त रोकी अपराधीहरुलाई कडाभन्दा कडा कार्वाहीको माग गर्दछौँ ।

५. सङ्घीयताको कारण देशमा जटिल र विकराल समस्या देखा पर्दै गई रहेका छन् । जस्तै– प्रदेश राजधानी, स्थानीय सदरमुकाम र श्रोत–साधन बाडफाड जस्ता कुराहरुमा विवाद बढदै जाने र देशको राष्ट्रियता र अखण्डता समेत झन् कमजोर बन्दै गई रहेकाले सङ्घीयता खारेजीका लागि हामी जोडदार माग गर्दछाँै ।

६. एनसेलले राज्यलाई तिर्नु पर्ने लाभकर वापत्को अरबौ रकम विदेश लैजान सर्वोच्चले बाटो खोलेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । उक्त रकम तुरुन्त चुक्ता गर्न र गराउन जोडदार माग गर्दछौँ ।

७. निर्माण सामग्री लगायतका दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न जोडदार माग गर्दछौँ ।

८. आयल निगमद्वारा गरिएको मूल्यवृद्धि बिना शर्त फिर्ता गर्न माग गर्दछौँ ।

९. भारतले लगातार रूपमा सीमा अतिक्रमण गर्ने, दशगजा क्षेत्रमा पक्की संरचना बनाउने र सीमा क्षेत्रका नेपालीहरुलाई दु:ख दिदै आई रहेको छ । उक्त कार्यको घोर भत्र्सना गर्दै कूटनैतिक तवरले समाधानमा लाग्न सरकार समक्ष जोडदार माग गर्दछौँ ।

१०. ऐतिहासिक उजिरसिंह किल्ला रहेको बुटवलको फूलबारीमा भारतीय पेन्सन क्याम्प राखिएकोमा विरोध गर्दै अन्य उपयुक्त स्थानमा पेन्सन क्याम्प राखी सेवा उपलब्ध गराउन माग गर्दछौँ ।

११. नयाँ सरकारद्घारा नेपालप्रतिका आफ्ना विस्तारवादी नितिहरुलाई नयाँ प्रकारले लागु गर्ने वातावरण तयार पार्न र नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता विरुद्घ केन्द्रित भारतिय विदेश मन्त्री शुष्मा स्वराजको नेपाल भ्रमणप्रति आपत्ति व्यक्त गर्दछौँ ।

तेश्रो राष्ट्रिय परिषद बैठकको झलक
उद्घाटन कार्यक्रम :
२०७४ माघ २६ गते राष्ट्रिय जनमोर्चा क्षेत्रीय कार्यालय बुटवलको सभा हलमा समितिका उपाध्यक्ष का. जितामित्र सुनारको अध्यक्षता, महासचिव का. अनिल किशोर घिमिरेको सञ्चालन र केन्द्रीय सदस्य तथा ५ नं. प्रदेश संयोजक का. कुलराज खनालको स्वागत मन्तव्यबाट अगाडि बढेको परिषदको तेश्रो बैठक द्विप प्रज्वलन गरी समितिका अध्यक्ष का. तिलक थापाले उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहका विशिष्ट अतिथिहरु राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष का. बद्रे आलम, वामपन्थी नेता का. विमल शर्मा र राष्ट्रिय जनमोर्चाका पूर्व महासचिव का. सन्त बहादुर नेपालीले मन्तव्य राख्नु भएको थियो । अन्य अतिथिमा अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार का. विदुर मल्ल, रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय अध्यक्ष का. जीवन शर्मा, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय अध्यक्ष का. ढुण्डीराज पौडेल, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव का. राम बहादुर बुढा, अखिल छैठौँका केन्द्रीय उपाध्यक्ष का. रेशम कँडेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष का. कपिल खनाल, जातीय समता समाजका पूर्व अध्यक्ष का. राजेश विक, अखिल नेपाल वुद्धिजीवी सङ्घका केन्द्रीय सल्लाहकार का. दुर्गानाथ खरेलले शुभकामना मन्तव्य दिनु भएको थियो भने अखिल नेपाल युवक सङ्घका पूर्व उपाध्यक्ष का. भिमलाल न्यौपाने, राष्ट्रिय जनमोर्चा रूपन्देहीका सचिव का. दिपक पौडेलको आतिथ्यता रहेको थियो ।

बन्दशत्र :
का. जितामित्र सुनार अध्यक्ष, का. बालकृष्ण सुवेदी र निरू कोली सदस्य रहेको तीन सदस्यीय अध्यक्ष मण्डलबाट अगाडि बढेको बन्दशत्रमा १ नं. प्रदेश बाट का. बालकृष्ण सुवेदी, २ नं. प्रदेश बाट का. योगेन्द्र पौडेल, ३ नं. प्रदेशबाट का. भक्त विक, ४ नं. प्रदेशबाट का. लक्ष्मण पुन, ५ नं. प्रदेशबाट का. बाबुराम आचार्य, ६ नं. प्रदेशबाट का. जितामित्र सुनार र ७ नं. प्रदेशबाट का. प्रशान्त थापाले प्रदेश स्तरिय रिपोर्टिङ गर्नु भएको थियो । सङ्घका अध्यक्ष का. तिलक थापाबाट प्रस्तुत साङ्गठनिक प्रतिवेदन, महासचिव का. अनिल किशोर घिमिरेबाट प्रस्तुत सातौँ राष्ट्रिय सम्मेलन सम्बन्धी प्रस्ताव र कोषाध्यक्ष का. बाबुराम आचार्यबाट प्रस्तुत विशेष प्रश्ताव छलफल पश्चात आवश्यक सुझाव सहित पारित गरिएको थियो ।


रक्तदान कार्यक्रम :
०७४ माघ २७ गते बिहान सङ्घको सैतिसौँ स्थापना दिवशको अवसर पारेर बुटवलको चाँदवारी चोकमा रक्तदान कार्यक्रमको सङ्घका अध्यक्ष का. तिलक थापाले रक्तदाता महासचिव का. अनिल किशोर घिमिरेलाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव का. रमेश पौडेलले गर्नु भएको थियो ।

समापन समारोह :
०७४ माघ २७ गते उपाध्यक्ष का. जितामित्र सुनारको अध्यक्षता, बालकृष्ण सुवेदीको सञ्चालनमा अगाडि बढेको समापन समारोहमा सङ्घका अध्यक्ष का. तिलक थापा, अखिल नेपाल युवक सङ्घका पूर्व उपाध्यक्ष का. भिमलाल न्यौपाने, राष्ट्रिय जनमोर्चा रूपन्देहीका सचिव का. दिपक पौडेल, व्यवस्थापनको तर्फबाट का. टोपलाल भुसाल, सहभागीहरुको तर्फबाट का. कला राई र विष्णु शर्माले मन्तव्य राख्नु भएको थियो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here