युरोप यात्राको क्रममा मैले देखेका नेपालीका कथा व्यथा

0
606

युरोपका धेरै देशमध्य नेपालीको विशेषः रोजाइमा पर्ने देश युके, डेनमार्क, नर्वे, स्विडेन, बेल्जियम, लक्जमबर्ग, पोर्तुगल र स्पेन हुन् । हुन त नेपालीहरू फ्रान्स, जर्मन, स्विटजरल्यान्ड, इटली, नेदरल्यान्ड र फिनल्यान्डमा पनि छन् । यी देशहरू कमै रोजाइमा पर्ने रहेछन् ।

युद्धकालका बेला शरणार्थी भएर आएकाबाहेक ३ प्रकारका नेपाली युरोप छिर्ने रहेछन् : १. अध्ययन गर्न स्टुडेन्ड भिसामा आउनेहरू, २. दलालको माध्यमबाट पोल्यान्ड, माल्टा, लिथ्वानिया, चेक रिपब्लिक आदि मुलकहरूको वर्किङ भिसा बनाएर आउनेहरू, ३. भिजिटिङ भिसामा आउनेहरू ।

यसरी युरोप छिर्नेमध्ये २०/२५ वर्षदेखि यहाँ रहेकाको जीवनस्तर उच्चतहको छ, १०/१५ वर्षदेखिको मध्यमखालको छ र नयाँ आउनेहरू ८/१० वर्षसम्मको जीवन स्तर धेरै कष्टकर र दुःखदायी छ । विद्यार्थी भएर युरोप नै रहनेगरी र मुख्य उद्देश्य काम गर्ने र पैसा कमाउने सोच राख्ने विद्यार्थी, प्रायः युके, डेनमार्क, जर्मन, नर्वे छिरेका हुने रहेछन् र आफ्नो २ वा ३ वर्षे अध्ययन छञ्जेल सम्बन्धित देशमा तोकेको घण्टा काम गर्दासम्म पनि कमाइ ठिकै ठिकै हुने रहेछ ।

उनीहरूको पढाइ सकिएपछि स्टुडेन्ट भिसाको अवधि पनि सकिएको हुन्छ र मुश्किलले एकाधबाहेक त्यहाँ बस्नु पाउने होइनछन् । त्यसपछि उनीहरू युरोपमा भिसा कागज नभए पनि बस्न पाउने देश खोज्ने रहेछन् । त्यस्ता देशमा युरोपभरिमा भिसा कागज नहुँदा पनि बस्न पाइने देश पोर्तुगल र स्पेन रहेछन् । सम्बन्धित देशको भिसा नसकिँदै धेरै विद्यार्थी यहाँ आएर इन्ट्री गर्ने रहेछन् । केही आफै मिलाएर, केही टुरिस्ट भिसामा आएका र यहाँ लुकेर बस्न चाहने र दलाल मार्फत् टुरको कार्यक्रम मिलाएर ल्याउनेहरू पनि अन्तिममा आएर टेक्किने देश केही केहीको बाहेक धेरैजसोको पोर्तुगल रहेछ ।

युरोपमा इन्ट्री पाउनेगरि दलाल मार्फत् पोल्यान्ड वा अन्य देशको वर्किङ भिसामा आउनेहरूको पनि अन्तिम गन्तब्य पोर्तुगल नै रहेछ । यसरी पोर्तुगल नेपालीका लागि युरोपको डम्पिङ एरिया नै रहेछ । पहिला धेरै नबुझेरै पुग्दछन् युरोप निम्न वर्गका विद्यार्थीले विदेश पढाइको कल्पना गर्नै सक्दैन । अलि आर्थिक रूपले सम्पन्न मध्यम वर्गीय परिवारका छोराछोरीले नै विदेश पढ्न जाने सपना बोकेका हुन्छन् । त्यसमा हाम्रा सामाजिक मान्यता र बर्गेल्ती खोलिएका एजुकेसन कन्सल्ट्यान्सीका नामका शैक्षिक माफियाले गर्ने विज्ञापनको प्रभावले गर्दा पनि धेरैजसो अव्वल पढाइका विद्यार्थी विदेश जान लालायित हुन्छन् । उनीहरू नेपालका जस्तै सामान्य दैनिकी सोचेका हुन्छन् र त्यहाँ पुग्दासाथ सुखी भविष्य हुन्छ भन्ने भ्रममा हुन्छन् ।

पछिल्ला समयमा विदेशमा गएका विद्यार्थीका बिचल्लीका घटनाले केही मात्रामा सचेत त बनाएको छ, तर धेरै अञ्जानमै पुग्दछन् विदेश । अलि उच्चतहको अनुसन्धान कार्य वा इन्जिनियरिङ, नर्सिङ र डाक्टरजस्ता प्राविधिक विषयको पढाइ वा निश्चित कुनै विषयमा विद्यावारिधि गर्न गएकाबाहेक अरू पढ्ने निहुँले जाने यहाँका अव्वल मानिएका विद्यार्थी कोही पनि त्यहाँ गएर राम्रो पढाइ गर्दैन । युरोपमा विद्यार्थीका लागि बढी राम्रो मानिएको देश डेनमार्क हो । यहाँ धेरै विद्यार्थी पढ्ने निहुँले आएका हुन्छन् र पढाइमा कम र काममा बढी पेलानमा हुन्छन् ।

स्टुडेन्टमा जानेहरूले डेनमार्कमा महिनामा जम्मा ८० घण्टा काम गर्न पाउँदा रहेछन् । यो बैध काम हो । डिपेन्डेन्टमा जानेहरूले काम त जति पनि गर्न पाउँदा रहेछन् । तर ३६ प्रतिशत सरकारलाई ट्याक्स (कर) तिर्नुपर्ने हुँदा बैध कामले त्यति फाइदा नहुने हुँदा त्यति रुचि राख्दा रहेनछन् । यसरी बैधानिक प्रकारले कमाएको रकमले बढी कमाउन सक्ने सम्भावना हुने रहेनछ । अतः दिनमा ३/४ घण्टाका दरले अवैध काम गर्ने मौका मिल्यो भने केही पैसा बचाउने रहेछन् ।

वैध कामको पैसामा करकट्टी गरेर सिधै श्रमिकले बैङ्क खाता मार्फत् बुझ्दो रहेछ । अवैध कामको पैसा सिधै मालिक मार्फत् पाउँछ, जसमा करकट्टी हुँदैन । अवैध काम लगाउनेहरू चेकिङमा परे भने ठुलो रकम जरिवाना तिर्नुपर्ने भएको हुँदा अवैध काम कम पैसामा कजाउने रहेछन् । रैथाने बस्दै आएका नेपालीमा त्यति दौडधुप देखिँदैन । जति विद्यार्थी भिसामा जाने केटाकेटीमा देखिन्छ ।

जम्मा ३ वर्षको भिसा अवधिमा जति सक्यो, घोट्टिएर काम गरे भने जाँदाको खर्च, कलेज शुल्क आदि कटाएर पनि ३०/४० लाख मिहिनती जोडीले कमाउने रहेछन् । प्रायः स्नातक पढाइका लागि पुग्दछन्, विद्यार्थी डेनमार्क । विवाहितमध्ये केटा वा केटी, जसको विद्यार्थी भिसा लागे पनि दुवैजना डेनमार्क पुगे भने मात्र सजिलो र कमाइ पनि हुन्छ । एक्लैमा कमाइ खास बच्दैन ।

कतिपय स्नातक पढाइ पूरा नगरी भाग्ने पनि रहेछन् स्पेन, पोर्तुगलतिर । जहाँ भिसा सकिए पनि टी.आर. (अस्थायी दर्ता) गराएर बस्न सकिन्छ । धेरैजसो ३ वर्षे भिसा छञ्जेल काम गर्न पाउने भएकाले पैसा जम्मा गरेर पुग्दछन्, पोर्तुगल । यहाँ स्नातक गरेर स्नातकोत्तर पढाइको अवसरको त कसैले आस नै गर्दैन । स्नातकोत्तर गरे पनि नेपालीका लागि शैक्षिक योग्यतानुसारको जागिर असम्भव प्रायः देखे मैले यहाँ । ग्रिनकार्ड पाएर गएका थुप्रै साथीहरू भेटेँ मैले डेनमार्कमा । उनीहरू यहाँ नेपालमा कोही प्राध्यापक थिए, कोही साइन्स, म्याथका अव्वल मास्टर र कोही सरकारी जागिरे पनि ।

डेनमार्कको ग्रिनकार्ड भनेपछि हुत्तिइहाले युरोप । मैले उनीहरूलाई “के काम गर्दछौँ” भनेर सोधेँ । प्रायःजसो होस्टलका क्यान्टिनहरूमा कतिपय होटल र कोही दुकानमा काम गर्नेहरूबाहेक अलि उच्चस्तरको जागिर खाएका कसैलाई भेटिनँ मैले त्यहाँ । तर पनि उनीहरू सुखी र सम्माननीय जीवन भने बिताएको पाएँ । काम ठुलो वा सानोका आधारमा त्यहाँ कसैलाई कुनै भेदभाव हेलाँहोचो हुने रहेनछ । राज्य सबैका लागि परोपकारी राज्य भएर त महिरत्ते गर्ने रहेछन् त्यहाँ पुग्न ।

विद्यार्थी भएर वा अन्य कुनै माध्यमबाट जानेहरू भने त्यहाँ आफ्नो भिसा अवधि नसकिने बेलासम्म बाहेक बस्न पाउँदैन । डेनमार्क होस् वा नर्वे, युके, बेल्जियम अथवा अन्य युरोपका कमाइ हुने देशहरू त्यहाँ रैथाने भएर बस्न पाउने हुनका लागि पोर्तुगल देश सबैका लागि सजिलो रहेछ । पोर्तुगलमा ७/८ वर्ष बिताएपछि केही निश्चित शर्त पूरा गरेर रातो पासपोर्ट पाउँदा रहेछन् । त्यो भएपछि बल्ल युरोपका जुनसुकै देशमा गएर बसोबास गर्न र काम गर्न सकिने रहेछ ।

अतः विद्यार्थी भिसामा गएका हुन् वा वर्किङ भिसा लिएर युरोप छिरेका वा टुरिस्ट भिसा बनाएर लुक्ने उद्देश्यले गएका हुन सबैका लागि पोर्तुगल रातो पासपोर्ट बनाउने गन्तव्य क्षेत्र रहेछ । पोर्तुगल छिरेपछि अब सुरु हुन्छ, पोर्तुगलको ८/१० वर्षको कष्टकर बसाइँ । २/३ वर्ष अस्थायी कार्ड बनाउन लाग्दछ । यो भयो भने आफ्ना देश आउने–जाने गर्न पाइयो । कमाइका आधारमा जहान–केटाकेटी लैजान पनि पाइयो । विद्यार्थी भिसामा युरोप आएका जोडीले बल्ल यहाँ आएपछि त्यहाँ जम्मा गरेको पैसाले खर्च पु-याएर बच्चाबच्ची जन्माउन सुरु गर्दा रहेछन् ।

बस्न पाए पनि युरोपभरिमा सबभन्दा कम ज्याला पोर्तुगलमा रहेछ । सुरुसुरुमा त १२/१३ घण्टा काममा जोत्तिएर पाउने तलब जम्मा ५/६ सय हुँदो रहेछ । अस्थायी कार्डसम्म बनेपछि बल्ल मुश्किलले ८/१० सय हुने रहेछ । श्रीमान/श्रीमतीले काम गर्न पाए भने १७/१८ सय । अन्य ठाउँको तुलनामा रहनसहन यहाँ सस्तो पर्ने हुँदा धेरै कमाइ गर्न नसके पनि यहाँ टिक्न भने सजिलै सकिने रहेछ । दुःख नगरेका र दुःख गर्न नसक्नेलाई भने यहाँ बस्न त्यति सजिलो छैन ।

लिस्बनमा नयाँ आएका गाउँका धेरैलाई भेट्न खोजेँ मैले । तर फुर्सद नै नमिल्ने उनीहरूलाई । एकाधलाई भेट्न म कोठामै पुगेँ । राती ११ बजे उनी आइपुगे बल्ल कोठामा । अलि पुरानो घर, एउटा फ्ल्याटमा ३/४ वटा कोठा लिए पनि बस्न भने २/३ जनाले कोठा बाँडेर बस्दा रहेछन् र चुलो भने सबैको एउटै हुँदो रहेछ । प्रत्येकको आ–आफ्नै फ्रिज । त्यही फ्रिजमा अघिल्लो दिन वा बिहान पकाएको खाना । राती ११/१२ बजे कोठामा आएर त्यही खाना तताएर खायो अनि घप्लक्कै सुत्यो ।

केही यस्तै जीवनयापनका कोठाहरूको पाहुना बनेर म पोर्तुगज र स्पेनमा १२/१५ दिनको यहाँको बसाइँमा । स्थायी बसोबास नहुनेहरूको जीवनकथा यस्तै पाएँ मैले यहाँ । न्यूनतम ८ वा १० वर्ष पोर्तुगलमा कष्टकर भोगाइ गुजारेपछि धेरैले रातो पासपोर्ट गराउन सक्दा रहेछन् । अनि बल्ल सुरु हुन्छ, युरोपको स्थायी बसोबासको प्रक्रिया ।

रातो पासपोर्ट बनेपछि धेरैको रोजाइ हुन्छ लन्डन । त्यसपछि आफूलाई सहज लाग्ने र धेरै कमाइ हुने देशहरू डेनमार्क, नर्वे, बेल्जियम आदि । काम पाउन र जहाँ पनि स्थायी बसोबास गर्न सकिन्छ रातो पासपोर्ट भएपछि युरोपका देशहरूमा । पोर्तुगलमै पनि स्थायी बसोबास गर्ने नेपालीहरूको अवस्था राम्रै छ । तर धेरैजसो रातो पासपोर्ट भएपछि यहाँ बस्न रुचि राख्दैनन् । त्यसैले फेरि नयाँ गन्तव्य देशमा गएर सुरु हुन्छ, नेपालीहरूको नयाँ जीवन ।

थप बच्चाबच्ची जन्माउने, राम्रो जागिर खाने, घर किन्ने, गाडी किन्ने दिन बल्ल सुरु हुन्छन् । यसका लागि पनि ५/७ वर्ष त लागिहाल्छ । यसरी युरोप छिरेको १५/१६ वर्षपछि (भाग्यले साथ दियो भने…..!?) बल्ल सुरु हुन्छ सुखको दिन । अतः हामीले सोचेजस्तो सजिलो रहेनछ युरोप ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here