यात्रा संस्मरण

0
413
सुन्दर धरान बजार नियाल्दा 
— जानु काम्बाङ्ग लिङ्देन (साहित्यकार)
नियाल्दै छु नजिकबाट परिबर्तित धरान बजारलाई
लाग्छ म भन्दा छिट्टो दौडी रहेछ ऊ, म तरुनी हुँदा
ऊ बच्चै थियो | अहिले ! म बुढी हुँदा ऊ मस्त तरुनी
भएको छ | हरेक साँझ उसलाई चुमेर निदाउने साँगुरी भन्ज्यांग, पन्चकन्या डाँडा र भेडेटार डाँडा लाग्छ उसैको पर्खाईमा अनेक रंग बदल्दै मस्त बसेका छन् | सर्दै सर्दै विजयपुर डाँडा बाञ्झोगर्हाको भित्तासम्म उसलाई चुम्न आईपुगेको छ, २०४६, ४७ सालतिर हामी सदन स्कुल पढ्दा त्यो जम्मै भित्ता एक्लै उक्लिन डर लाग्ने जंगल थियो | ओरिपरि बिदेशी डिजाईनमा बनेका रंगीचंगी घरै घरको सामु हामी पढेको सरकारी स्कुल उही पुरानो सईन बोर्ड श्री सिक्क्षा सदन मभ्यामिक बिध्यालायको परिचय बोकेर नयाँ नयाँ बिल्डिंग सामु आफ्नो पुरानो छानो टिनको पाताले लाज छोपेर बसेकोछ | कक्षा सुरु हुनु अघि हामी लाईन उभिएर त्योबेलाको रास्ट्रीय गित श्रीमान गम्बिर नेपाली, गाएको प्रांगण र कक्षा ९ को अगाडिको ओरालो झर्ने बरन्डा अझै उस्तै रहेछ | हेर्दा  लाग्छ, हामी बिध्यार्थिहरुलाई काखमा राखेर हात समाउदै क,खरा सिकाउदै परिबर्तनको उज्यालो बाटोतिर धकेल्दा धकेल्दै आफु आफैलाई परिबर्तन गर्न बिर्सिए जस्तो, उही रंग उक्किएको भित्ता र भत्किन लागेको झ्याल ढोका लिएर निरस निराश बसेको देखिन्छ |
उहिल्यै स्कुले जीवनमा साँझ बिहान ओहोर दोहोर  गर्ने गरेको देशी लाईन झिलिमिली छ | तर, हामीलाई चटपटे र आलुनिम्क्की बेचेर गुजारा चलाउने दारे भैया बेठेकान छ, उसको सम्झना बोकेर उसले ठेला बिसाउने गेट र सडक मात्र उस्तै छन्, त्यो बेला पैसा नभएर “एस एल सी” दिएर हिड्ने बेला उधारो खाएर नतिरेको पैसा आज भेटे त ब्याजको स्याज तिर्ने थिएँ | सडकका पेटी पेटी खुद्रा ब्यापार गरेर गुजारा चलाउनेहरुको ओईरो छ | ओरिपरिका हरिया डाँडा पाखाहरुलाई, टाउको उठाएर हेर्ने सम्म फुर्सद छैन मान्छेलाई बरु उल्टै डाँडा पाखाले शहरको  झिलिमिली नियालेर दिन काट्छन् | सिंगो देशि लाईनमा मेरो पालाको दोकान मात्र एउटा भेटें, पुरानो अम्मर फोटो स्टुडियो ! उसले पनि समयको अगाडी घुँडा टेक्न जानिसकेको रहेछ | उहिल्यै जस्तो फोटोको रिल पानीमा चोबेर फरर्र….झुन्द्याएर कहाँ  सुकाउदो रहेछ र ? बरु कम्प्युटरमा आधुनिक पाराको तार मोबाईलमा जोडेर नराम्रो मान्छेको फोटो पनि बिस्व सुन्दरी जस्तै निकाली दिन पो थालेको रहेछ | मानौ अम्मर फोटो स्टुडियो साँच्चि नै अम्मर बनेको छ | धरान उपत्यकालाई सुम्सुमाएर उध्ने ति ओरिपरिका सुन्दर डाँडा र खोलाहरु लिम्बुवानको पुरानो ऐतिहाँसिक पानामा नयाँ बिकासका धर्साहरु कोर्दै परिबर्तित नयाँ लिम्बुवानको सम्भाबना उचालेर सदियौं देखि आफु हुनुको परिचय दीइरहेका छन् |
बुढा सुब्बा बाजेले आफ्नो छेउछाउमा चुपचाप थुप्रै शहर बसाएपनि भताभुङ्गे राजाले चाँही आफ्नो दरबार अझै सम्हाल्न सकेको रहेनछ ! तल झर्दा कबि उपेन्द्र सुब्बाको भानु बाजे भानुचोकको धुलो खाँदै उस्तै उभिएको देखेँ | म उसैको छेउमा उभिएर पसिनाको कथा लेखिरहदा पनि सहानुभूति देखाएन, ऊ मुस्कुराई रह्यो लाग्यो उपेन्द्र सुब्बाले कट्टु बिनाको नाङ्ग्गो आकास देखाएर झनझन लठ्याएछ उसैको उपद्रो कबिता सम्झेर हासिरह्यो | उसैलाई समातेर ऊ उभिएको फलामको रेलिङ्ग्मा खुट्टा राखेर सिट अप र हेभिङ्ग गर्ने हजारौं लाखौँ युवाहरु लाहुरे लागेर उसकै आँखा अघि धरान शहर बद्लिसकेका छन् तर, ऊ उहि रामायण च्यापेर उभिएकोछ | कति टेम्पो, रिक्सा, गाडी, साईकल र मोटर साईकल आएर ठोक्किए, कतिले उसैको धर्म संस्कार बिरुद्दमा नारा लाउदै पर्चा टाँसे, ढुंगाले हाने आगोले झोसे तै पनि उसले आफ्नो धर्म छाडेन, उभिरह्यो,जस्तो उभ्नु भनियो उस्तै उभिरह्यो, उभिएरै युगलाई अघि ठेलिरह्यो…..ठेलिरह्यो |
भानू बाजेलाई त्यहिँ छाडेर म, मास्तिर घण्टा घर छेउ हुँदै सब्जी बजारतिर लागेँ | घाम चर्को थियो, झापामा नपाईने साईली साग र डल्ले खुर्सानी किनेर भारि बोकेंकी थिएँ | बेलायतले थिर्याएको मेरो गहुगोरो निधार घामको रापले तताएर आरनमा पोलेर कुट्न तयार गरिएको फलामको पाता झैं रंकिन्किएको छ | एकजना बुढी आमा सकिनसकी कुम्ल्लो बोकेर मेरै अगाडी हात पसारेर चिया खाऊ लाग्यो नानि मलाई १० रुपयाँ दिनुस न ? हेर्दा मंगोलियन अनुहार परेको, हुन पनि लिम्बुवानको सुन्दर शहर धरानमा मंगोलियन अनुहारनै हुन्छन् नि होइन र ? पिरको चुली सिरमा उभ्याएर पहाड हुँदै तराई ओर्लेझै देखिन्थ्यो ! ठ्याक्कै मेरो अनुमान भन्दा अलि पर निक्कै पर उसको ज्यिउने आशाको सानो त्यान्द्रोले म बाट १० रुपैया पाउने ठाउमा अलि धेरै मागिरहेको थियो | जब मैले ब्याग छामें, खुशी अनुहारमा हिम नदिझै बगेको देखेँ | चुपचाप २ सय झिकेर दिएँ, २ सय पाएपछिको उनको खुशी हेर्न सकिन, यति सुनें….मेरो आयु पनि नानीलाई लागोस् | त्यो आसिर्बाद म लिन सक्दिनथें तेसैले उसलाई त्यहि छाडेर बाटो लागेँ |
यो पालि समयको अभाबले हो या मेरो आत्माले  जाऊ ? नभनेर हो सदा झैँ मठ मन्दिर धाईएन, बरु आफ्ना आफन्त भित्रका सबै बुजुर्गहरुलाई भेटेर सकेसम्मको दक्क्षिना ( सेवा याङ्ग ) राख्दै ढोग्ने काम गरियो ! आसिर्बाद टन्नै पाईयो सबैले भने अझ धेरै प्रगति उन्नति होस् | आज म सोचिरहेछु, म मन्दिर गएर घन्टी बजाई बजाई भेटि चढाउउदै मुर्तिलाई ढोग्दा पनि ढुंगाको मूर्तिले यतिका आसिर्बाद दिने थिएन सायद ! धरानमा रहनु हुने काका ससुरा साईला र कान्छा अनि नन्द साईली र कान्छीलाई भेटि राखेर  हामी बाटो लाग्यौं | सबैले रोक्दै थिए, तर हतार भईकोले बस्न मन लाग्दा लाग्दै पनि हिड्नु पर्दा सारै दुख लाग्यो | किन किन धरान मलाई आत्मिय लाग्छ जति बसेपनि मन आघाउदैन, बेलायतबाट हिड्दा साथीहरु संग घुम्न भेडेटार जान्छु, दार्जिलिंग जान्छु तर,अन्त्यमा म कतै नगई सारा सपना अधुरै मनभित्र गुम्साएर समयको पछि पछि दौडी रहेंथे |
ईटहरी पुग्दा दिनको १.३० बजेको थियो, उहिल्यै तरारा र ईटहरी बिचमा खेतै खेत थियो | हरेक  मंसिरमा त्यहाँ लटरम्मै धान झुलेको अझै आँखामा झल्झली छ तर अहिले त्यहाँ शहर छ ठुल्ठुला बिल्डिंग र उधोग अनि मिलहरु छन् | ईटहरीको ब्यारेक अघि एकछिन रोक्कियौ | गीतकार तथा साहित्यकार गङ्गा राज मुकारुङ्ग जिसंग भेट्नु थियो | उहा भर्खर लेप्टेनन्न कर्नेल बाट फुल कर्नेल हुनु भएको थियो | २०४८ सालदेखि मैले गङ्गा जीलाई भेटेकी थिइन् | उहा त्यो बेला पाँचथर फिदिम मेरै बाबा भएको पल्टन श्री जंग गुल्ममा सेकेन्ड लेप्टेन हुनुहुन्थ्यो | त्यो बेला मलाई उहा गीतकार भन्ने थाहा थिएन | उहा ईलामै शहर चियाबारी राम्रो भन्ने गीतको गीतकार हुनुहुन्छ | आफुलाई मन परेको सर्जकसंग साक्षात्कार हुँदा एक अर्कै आनन्द लाग्यो | गंगा जी एकदम मिजासिलो, सलिन सरल ब्यक्तिप्त्व लाग्यो, अग्रजहरु संगको भेटले जहिले उर्जा थप्ने गर्छ | गंगा जिसंगको एकछिन भेटमा पनि मैले तेस्तै अनुभब गरें |
ईटहरी बाट हिडेको हामी २.२० तिर पथरी बजार पुगेका थियौं | बाईकमा कुददा कुद्ददा हैरान भएकोले एकछिन रोकेर २५ रुपैयामा एक बोतल पानी किनेर पियुदै ३ मुठा साईली साग ५० रुपैंया मुठाले किनेर बाटो लागेको हामी, बिर्तामोड पुग्दा ३.३० बजेको थियो | मेरो ज्याङ्ग्गो बलियो भाईको ज्याङ्ग्गो स्पिड्लाई नाई नास्ती नगरी पछाडी बसेर स्विकारेकोले चाँडो पुगेका थियौं बिर्तामोड | एकछिन बजारमा अल्मलिएर फेरि बुधबारे जेठा (तुम्बा ) बडा बाबुको तिर लाग्यौं ! बडालाई नभेटेको धेरै भएको थियो |
चार आली काटेर ईलामको फेदमा रहेको सुन्दर मनमोहक बजार बुधबारे उकालो लाग्दा लाग्थ्यो, बिस्तारै साँझले आफ्नो घुम्टो उघारेर मास्तिरको डाँडा पहाडहरुलाई धमाधम छोपिरहेकोछ | कतै नरोकी आँखा चिम्लेर हुक्याउदै हापेन चोक पुर्यायो भाईले | रमाईलो चिया बगान बिचमा कालो अलकत्रे बाटो | सानोमा हेरेको नेपाली चलचित्र सम्झनाको म तृप्ति कतै भुवन केसीलाई लुकेर भेट्न जाँदा जाँदै मेरो दाजु मुरलिधरले बाटैमा पक्डेर झापड हान्दै ल्याए जस्तो कल्पना गरें मैले आनन्द लाग्यो, साँच्ची मेरो पनि मनको भुवन केसी यहिकहि छ कि जस्तो लाग्यो, कतै चिया बगानको बीचबाट “पिरती आफै हुँदो रहेछ” भनेर गित गाउदै निस्कने पो होकी भनि आँखा  डुलाई रहें | तर त्यो सुन्दर बगानभित्र चियाका सुन्दर बुट्यान र कदमका अग्ला अग्ला रुख बाहेक केहि  थिएन | निकै वर चिया बगान टुंगिने बेलामा सानो एउटा किराना पसल र छेउछाउमा केहि प्रहरी भाईहरु  देखिन्थे तर ति सम्झना फ़िलमका पात्र थिएनन् ति त्यहीका सान्च्चिका प्रहरी थिए | तर, म कल्पनामै भएपनि धेरै रमाएँ, हुन पनि कल्पनामा जति यथार्थमा रमाउन नदकिँदो रहेछ, यो मेरो आफ्नै ठम्याई हो सबैको नहुन सक्छ | बिचरा मेरो भाई सकिनसकी थाकें पनि नभनी आफ्नो काखि बाट निस्किएको पसिनाको नमिठो गन्ध मलाई सुङ्घाउदै बाईक हाकिरहेको थियो | मोटाएर आफ्नो रुप डाल सन्नी देवोल जस्तै बनाएकोले, चिया बगानको मेरो सुन्दर कल्पनामा उसलाई मुरलिधरको रुपमा भिलेन बनाएर उभ्याउन सकिन | बरु उसैले कुदाएको मोटर साईकलमा, उकालीमा पछिपछि ओरालीमा अघिअघि गुनगुनाउदै गएँ, बाटो पनि उस्तै थियो मेरो कल्पनाको कथा र गितले मागे जस्तै उकालो ओरालो कहिँ कहिँ खाल्डो |
तुम्बा ( बडा बाबु) निकै पाको हुनु भएछ तर, उहिल्यै जस्तो अझै डोको, नाम्ल्लो बुन्नु छाड्नु भएको रहेनछ, एउटा डोको सकेर बिट मार्दै हुनुहुन्थ्यो |  आना माना नौनी घ्यु खाएर हुर्केको ज्यान सिस्नोको सुप पिएको आँखा अझ उस्तै तेजो रहेछ ! तेसो म भन्दिन बडा आफैले भन्नु हुन्थ्यो हामीलाई | मलाई देखेर सारै खुशी हुनु भो | अनुहार, बडी आमाले मन पराउदाको जस्तो जुन जस्तो उज्यालो नभए पनि, कंचनजंघा जस्तो कन्चन रहेछ झ्वाट्ट हेर्दै तिनघरे जेठा भनेर चिनिने, लिम्बुवान भूमिले आफु लिम्बुवान हुनुको ईतिहस सहित फकतान्ग्लुंग बोकेर अटल बसिरहे झैं बडा बाऊको टाउकोले पनि ढाका टोपी ढल्काएर लिम्बु हुनुको परिचय दिईरहेको थियो | हामीलाई देख्ने बित्तिक्कै लिम्बु कुरामै बोल्नु पर्ने बडाको अर्को सुन्दर बिशेषता उहिल्यैदेखिको अझैसम्म उस्तै रहेछ, मलाई देखेर भन्नु भो, कहिले आईस तँ मिक्फूला ? मिक्फूला भनेको लिम्बु भाषामा ( गोरा या खैरे ) म बेलायत बस्न थालेदेखि यहि नामले बोलाउनु हुन्छ | कति रमाईलो मेरो बडा बाऊ ! अहिले यहि कुभुलाको देशमा बसेर सम्झिरहेकी छु | कुभाकर्ण जस्तो चौडा र कडा छाती तराईको गर्मीले अलि खुकुलो युद्द रोकिएको मैदान जस्तै बनाएछ, त्यो उहाले लगाईरहेको सानो गान्ज्जी भित्रको थ्यल्थ्यलो छाती आफैले भनि रहेको थियो | मैले एकछिन आँखा झिमिक्क नगरी बडा बाऊको त्यो बेलाको मिलेको ज्यान र मेंछ्यायेम डाँडा जस्तो सेता सेता दन्तलहरहरु  खोजिरहें तर, कतै भेटिन तल माथि गरेर गन्दा ओढार जस्तो मुखभित्र जम्मा ३ ओटा अन्धकारमा अल्मलिएको चमेरा जस्तो अप्ठ्यारो गरि झुन्डिरहेको देखेँ | सोचें कठै हामी गरिब नेपाली जनता बुढा पाकाको लागि सरकारले केहि निसुल्क नगरिदिने देशको जनता ! नत्र बेलायतको बुढा बुढिः हरुले जस्तै मेरो बडाले पनि हस्पिटलबाट निसुल्क दांत हालेर हास्दै बस्थ्यो होला | त्यो बेला मैले बेलायतमा मैले काम गर्ने हस्पिटलको बिमारी ब्रिद्द ब्रिद्दाहरुलाई बेस्सरी सम्झेँ, उनीहरु बिहान सबेरै दाँत ब्रस गर्नुस प्लिज ? भनि ब्रस दियो भने, आफ्नो डर लाग्दो बनावटी दाँत खप्लक्क फ़ुकालेर दिन्छन् ! सुरुसुरुमा घिन लागेर कतिदिन भोकै बसेकोछु | दाँत लगाउदाको सुन्दर रुप दाँत फुकाल्दा अचेल सेल्फी खिच्न तयारी पारेको थुतुनो झैँ कुरुप देखेर हामी कति हास्थ्यौ | उहाको अनुहरभरिका ति जुन घाम जस्ता उज्याला जवानीहरु अचेल गोधूली साँझको डुब्न लागेको घाम जस्तै  भएछ | निधार र गालाका धर्साहरुमै अस्ताई गएछ  जवानी, बुढेसकालको छालाले आँखिभौ छेउको डिल सोहोरी झारेर आँखै छोप्न लागेछ | निकै बेर अल्मलिएछु बडा बाऊको अनुहारमा जवानी खोज्दा खोज्दै पछाडिबाट बुहारीले चिया पिउनु भित्र आउनुस न दिदि भन्दा मात्र टुट्यो मेरो तन्द्रा | मलाई मेरो बडा बाऊ देखेर मेरो गाउ र बाल्यकाल याद आयो | जुन बेला तुम्बा (बडा ) भर्खरको हुनुहुन्थ्यो अरु दाजु भाई कोहि लाहुरे कोहि स्कुले उहा मात्र गाउको भाषामा भन्नु पर्दा चाहुरे ( सिभिल ) बार्है माष घरै हुने ईमानी छोरा, हरेक चैत्रमा मकै छर्न उहा हलो जोत्नु हुन्थ्यो म सानी फुच्ची माटोको डल्लामा ठोकिएर लड्दै लड्दै मकै बियू झोलाभरि बोकेर सियो हाल्दै दगुर्थें | आमा बडी आमा मिलेर मकैको बिऊ मुखमा हालेर एउटा एउटा खनेको ठाउतिर फुत्त फुत्त थुकी झार्दै छेऊकुना कोदालोले खन्नु हुन्थ्यो | त्यो बेला गाउमा जसको बुहारी कोदाली खन्न बलियो र कामकारी हुन्थे तिनैको गुनगानमा भाका हालेर सासुआमाहरु गित गाउथे | आहा….कति रमाईला थिए ति दिनहरु | अचेल तुम्बाको जेठा छोरा कन्चन भाईको छोरी त्यो बेलाको म जस्ती दुरुस्तै भएकी रहिछे ! मलाई देखाएर बुहारीले, फुफु हो सेवारो गर भन्दा खम्बामा झुन्डिएर औला टोक्दै लुक्दा झन् आफ्नो छाँया उसको अनुहारमा देखें …एकछिन सम्म उसैलाई हेरेर आफ्नो बाल्यकाल टाढैबाट नियालिरहें | घरमा तुम्मा बितेपछि ३ भाई भाईहरु सब विदेश लागेछन् घरमा बडा (तुम्बा) बुहारी अनि सानी नानी मात्र रहेछन् | (तुम्बा ) बडा र बुहारीले आज बस्नुस भनेर अनेक बिन्ती गर्दा पनि, एकछिन बसेर खाजा खाईवरि जहाँ बाट हामी आएका थियौं त्यै बाटै बाटो बगानका चियाका बुट्यान र  रातमा उड्ने जुङ्किरिहरुसग लुकामारी खेल्दै फर्कियौं | घर पुग्दा खाना तयारी थियो खाएर एकछिन सदाझै टिभी हेर्दै गफ्फ गर्ने क्रम चल्यो भोलिपल्ट एउटा कार्यक्रमको निम्त्तो दमकमा थियो ! सबेरै उठ्न गार्हो होला कि ? भनेर आमा बाबालाई बडाले भने जस्तो ( मिक्फूला ) को भाषा अंग्रेजीमा गुड नाईट भनेर ओछ्यान पसें |
समाप्त
जानू काम्बाङ् लिङ्ग्देन
ताप्लेजुङ्ग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here