प्यूठान । सरुमारनी गाउँपालिकाले ‘किसानसँग गाउँ सरकार’ कार्यक्रमको नाम दिएर कृषिमा व्यवसायिकरणको पहल थालेको छ । निर्वाहमुखी कृषिलाई व्यवसायिकता दिने उद्धेश्ले गाउँपालिकाले यस्तो उदाहरणीय कार्यको थालनी गरेको हो ।
‘किसानसँग गाउँ सरकार’ कार्यक्रमको पहिलो वर्ष बाख्रापालन, मौरीपालन, केराखेती, धान खेती र अदुवा खेतीका लागि किसानहरुलाई अनुदान रकम दिन लागेको गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए ।
कार्यक्रम सञ्चालनका लागि पहिलो वर्षका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । ‘गाउँपालिकाको समृद्धि, किसान र कृषि क्षेत्रको समृद्धिसँग जोडिएको छ,’ अध्यक्ष विश्वकर्माले भने, ‘उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने योजना बनाएका छौं ।’
सामूहिक बाख्रा पालनका लागि दुईवटा समूहलाई ६ लाख ५० हजारका दरले, १८ जना किसानलाई ५० हजारका दरले, खोर सुधारका लागि ३० विपन्न किसानलाई १५ हजारका दरले, अनुदान दिइने बताइएको छ । त्यस्तै केरा खेतीका लागि ३ लाख, मौरी पालनका लागि ४ लाख, धान खेती गर्ने किसानका लागि १ लाख ५० हजार रुपैयाँ र अदुवा खेतीका लागि २ लाख ५० हजार विनियोजन गरिएको छ ।
अदुवा खेती पकेट क्षेत्रमा गाउँपालिकाले कम लगानी भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । यो सुरुवाती अभियान भएको बताउँदै अध्यक्ष विश्वकर्माले यसलाई आगामी वर्ष सच्याउने उल्लेख गरेका छन् ।
अनुदान रकम सदुपयोगका लागि अनुगमन संयन्त्र बनाइएको पनि गाउपालिकाले जनाएको छ । ‘अनुदान रकम लिने काम नगर्ने परिपार्टीप्रति हामी सचेत छौं,’ उनले भने, ‘सम्झौतामै कम्तिमा दुई वर्ष जे कामका लागि अनुदान लिएको हो, त्यो गर्नैपर्ने सर्त राखेका छौं ।’
विहिबारको राजधानी दैनिकबाट