यसरी आउँदै छ, मोहन विक्रम सिंहको “जलजला”

0
1187
– विद्यानाथ अधिकारी
‘मेरी प्यारी दिव्या कहाँ छौ ?’
नन्द बहादुरभित्र पसे। उनको आवाज काँपिरहेको थियो । उनका खुट्टा पनि काँपिरहेका थिए ।
‘उहाँहरू को हुनु हुन्छ ?’ नन्द बहादुरले आफ्नी पत्नीलाई सोध्यो ।
‘उहाँहरू भारतबाट आउनु भएको हो’ सुनन्दातिर देखाउँदै दिव्याले भनिन्– ‘उहाँको नाम सुनन्दा हो । उहाँले दिल्लीको जवाहरलाल युनिभर्सिटीबाट इतिहासमा पी.एचडी. गर्दै हुनु हुन्छ ।’
‘पी.एचडी. झ् त्यसो भए तपाइँ धेरै विद्वान मान्छे हुनु हुन्छ । तपाईलाई मेरो स्वागत छ । नेपालकातर्फबाट स्वागत छ । भूतपूर्व सी.डी.ओ. को स्वागत छ । म छिट्टै अञ्चलाधीश हुँदैछु । भावी अञ्चलाधीशकातर्फबाट पनि स्वागत छ । लालसलाम घ् होइन, होइन, जय देश जय नरेश ।’
यो संवाद मोहन विक्रम सिंहद्धारा लिखित उपन्यास ‘जलजला’ को हो।
उपन्यासको यो संवादका पात्र नन्द बहादुर कुनै बेला कम्युनिस्ट पार्टीका नेता थिए । पञ्चायती व्यवस्था विरुद्ध सङ्घर्ष गरेका नन्द बहादुरमा विस्तारै विचलन आयो र उनी पञ्चायतमा प्रवेश गरे । संवादका क्रममा उनी काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सी.डी.ओ.) छन् । अब अञ्चलाधीश बन्न उनले लबिङ गरिरहेको संवादबाट देखिन्छ ।
उपन्यासकी मुख्य पात्र सुनन्दा भारतीय विद्यार्थी हुन् । उनी जवाहरलाल नेहरू विश्व विद्यालयकी छात्रा हुन् र पी.एचडी. को थेसिस लेख्ने क्रममा नेपाल आएकी छिन् । सुनन्दाले ‘जलजला’ को खोजीमा पश्चिम नेपालको प्युठानदेखि कर्णाली अञ्चल, सुदूर पश्चिम सहित विभिन्न क्षेत्रको अध्ययन भ्रमण गरिरहेकी छन् ।
जलजला एउटी सङ्घर्षशील नेपाली महिला हुन् । उनी नेपालको वामपन्थी महिला आन्दोलनकी चर्चित नेत्री हुन् । सुनन्दाले भारतको जे.एन.यू. मै जलजलाको बारेमा सुनेकी हुन्छिन् र उनलाई भेट्न नेपाल र भारतका विभिन्न ठाउँमा घुम्छिन् । ती ठाउँका परिवेश, रहनसहन र संस्कृति अध्ययन गर्छिन् । तर उनको जलजलासँग भेट भने हुँदैन ।
सुनन्दा र जलजलाबीच उपन्यासभरि कहिँ पनि भेट हुँदैन तर उनीहरू नै उपन्यासका मुख्य पात्र हुन् । प्रकाशोन्मुख उपन्यास ‘जलजला’ यसरी नै अगाडि बढ्दै जान्छ ।
उपन्यासको विषयवस्तु
उपन्यासका लेखक मोहन विक्रम सिंहका अनुसार ‘जलजला’ ले तत्कालीन नेपाली समाज, पञ्चायती राजनीतिक व्यवस्था र त्यस विरुद्धको सङ्घर्ष सहित त्यतिबेलाको विश्व परिवेशलाई समेट्ने प्रयास गरेको छ ।
मोहन विक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनका शीर्ष ब्यक्तित्व त हुन् नै, प्रगतिशील साहित्य लेखनमा पनि उनको विशिष्ट योगदान छ । सिंहले आफ्नै जीवनका भोगाइ, अध्ययन र सङ्घर्षका अनुभवहरू समेटेर उपन्यासका रूपमा पाठकहरू माझ प्रस्तुत गर्ने तयारी गरेका हुन् ।
नेपालको राजनीतिक तथा कम्युनिस्ट आन्दोलनमा विशिष्ट स्थान बनाएका सिंहले आफ्नो जीवनमा गरेका अध्ययन र सङ्घर्षलाई समेटेर साहित्यिक कृतिका रूपमा प्रस्तुत गर्न लागेको यो उपन्यास निश्चय नै पठनीय र ज्ञानबद्र्धक हुनेछ ।
सिंहले ‘जलजला’ लेख्न सुरु गरेको १५ वर्ष भयो । तर उपन्यास अझै पाठकका हातमा आइपुगेको छैन । उपन्यास जलजला कहिले प्रकाशित हुन्छ ? उपन्यास लेखनमा किन यति ढिलाइ भइरहेको छ ? अनि जलजलाले के कस्ता विषयलाई समेटेको छ ? यी प्रश्नको उत्तर खोज्न हामी सिंहसँग भेट्न पुग्यौँ ।
‘जलजला प्रकाशनका लागि अहिले नै तयारी अवस्थामा छ’ सिंहले भने– ‘तर उपन्यासमा केही विषयबस्तु थप गर्दा अझ सान्दर्भिक हुने ठानेर ती विषय पनि समेट्न खोज्दा ढिलाइ भएको हो ।’
सिंहका अनुसार जलजला दुई खण्ड, छ भाग र एक सय ४० च्याप्टरमा विभाजित छ । उपन्यासमा थपिन बाँकी विषयबस्तुबारे सिंहले भने– ‘जर्मन सम्बन्धमा एकाध च्याप्टर र हिटलरका केही अध्यायहरू बाँकी छन्, बुटवलमा भेटिएको आदि मानव रामापिथेकसको दाँतबारेका केही तथ्यहरू थपेपछि उपन्यास पुरा हुनेछ ।’
८४ वर्षको उमेरमा समेत जोश–जाँगर सहित राजनीति र साहित्य क्षेत्रमा सक्रिय वयोबृद्ध नेता सिंहलाई व्यस्त दैनिकीबीच साहित्य लेखनका लागि समय छुट्याउन मुश्किल छ । सिंह विहान सबेरै उठिसक्छन्, ३ बजे नै । केहीबेर योगा गर्छन्, अनि लेखपढ सुरु गर्छन् । लेखपढ र भेटघाटका लागि निश्चित समय छुट्याउने गरेका सिंह समय राजनीतिक काममै धेरै ब्यस्त भएकाले साहित्य लेखनलाई चाहे जति समय दिन सकेका छैनन् ।
मोहन विक्रम लिखित भएकाले उपन्यास ‘जलजला’ प्रति आम रूपमा चासो छ । चासो यसकारण छ कि उपन्यासकी प्रमुख पात्र जलजला अर्थात् विद्या ढकालसँग सिंहको गहिरो प्रेम थियो । नेपालको वामपन्थी महिला आन्दोलनकी सशक्त नेत्री ढकालको २०३८ सालमा दिल्लीमा एउटा दुर्घटनामा मृत्यु हुन पुगेको थियो । तत्कालीन अवस्थामा सिंह र ढकालबीचको प्रेमले नेपालको कम्युनिस्ट आन्दोलनलाई नै प्रभावित पारेको थियो ।
दोस्रो, जलजला उपन्यास लेखनका क्रममा सिंहले गरेका अध्ययन र मिहिनेतबारे बेलाबेलामा सञ्चार माध्यममा चर्चा हुने गरेको छ । सिंहका रचनाहरू त्यसै पनि विशिष्ट प्रकृतिका हुन्छन् । त्यसमाथि ‘जलजला’ तयार पार्न उनले निकै मिहिनेत गरेका छन् ।
नेपालका विभिन्न स्थानसँगै भारतको दिल्लीदेखि धार्चुला हुँदै पेरिस कम्युन, रसियाको समाजवाद र जर्मनको फासीवाद समेतको अध्ययन गरेका कारण यो उपन्यास ज्ञानद्र्धक हुनेछ भन्नेमा राजनीतिक अध्ययन र साहित्यप्रति रुचि राख्नेहरूले आशा राखेका छन् ।
सिंहले जलजला उपन्यासकी एक पात्र ‘सुनन्दा’ को खोजीमा नेपाल र भारतका धेरै स्थानको भ्रमण गरेका छन् । त्यस क्रममा प्राप्त ज्ञानलाई उपन्यासमा समेट्ने प्रयास गरेका छन् ।
उपन्यासमा क्रान्तिकारी महिला जलजला पार्टी कामका सिलसिलामा रोल्पाको थवाङ पुगेकी छिन् । त्यस क्रममा थवाङकी एक युवतीसँग जलजलाको भेट हुन्छ । ती युवती भारतमा मजदुरी गर्ने आफ्नो बुबासँगै कुमाऊँ पुग्छिन् । कुमाउमा जे.एन.यू. की विद्यार्थी सुनन्दाले ती युवतीलाई भेट्छिन् र जलजलाका बारेमा थाहा पाउँछिन् । अनि, सुनन्दा जलजलाको खोजीमा पश्चिम नेपालको प्युठान, रोल्पा, कर्णाली प्रदेश हुँदै काठमाडौँ र भारतका कुमाउ, गढवाल लगायत धेरै ठाउँ पुग्छिन् ।
सिंहले आफ्नो अध्ययनलाई उपन्यासकी तिनै पात्र सुनन्दा मार्फत् प्रस्तुत गरेका छन् ।
पश्चिम नेपाल र भारतको कुमाऊँ गढवालको सेरोफेरोमा लेखिएको यो उपन्यासको कथा काठमाडौँ, दिल्ली हुँदै जर्मन, पेरिस र रूससम्म पुग्छ । उपन्यासले तत्कालीन नेपालको मात्रै नभई विश्व परिवेशकै चित्र उतार्ने प्रयास गरेको सिंहको भनाइ छ ।
तत्कालीन समयको नेपाली र भारतका विभिन्न परिवेश, नेपालमा भएका पञ्चायत विरुद्धको सङ्घर्ष, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अवस्था, पेरिसको राजतन्त्र विरुद्धको सङ्घर्ष, जर्मनीमा हिटलरको सामाजिक फासीवाद र रूसमा स्थापित समाजवाद लगायतका विषयलाई उपन्यासले जीवन्त उतार्ने प्रयास गरेको उनी बताउँछन् ।
सिंहका अनुसार उपन्यासमा जलजला र सुनन्दा दुई मुख्य पात्र छन् । तर सम्पूर्ण उपन्यासभरि यी दुवैको कहीँ पनि भेटघाट हुँदैन । कथा अनुसार कतिपय ठाउँमा वास्तविक पात्रहरू पनि छन् । जस्तै– प्युठानका खगुलाल गुरुङ, कम्युनिस्ट नेता चित्र बहादुर केसी, निर्मल लामा, संस्कृतिविद सत्य मोहन जोशी । तर उनीहरूको भूमिका पनि औपन्यासिक रूपमै रहेको सिंह बताउँछन् ।
उपन्यासले सङ्घर्षशील महिला योगमायालाई पनि स्थान दिएको छ । योगमाया ती नेपाली नारी हुन्, जसले आफ्नै जीवनमा कैयौँ दु:ख, पीडा भोगिन्, समाज सुधारका लागि निकै सङ्घर्ष गरिन् र अन्तमा उनीसहित ठुलो सङ्ख्यामा महिलाले आत्मदाह गरे । सिंहले योगमायाको प्रसङ्गबारे चर्चा गरे– ‘योगमायाको पाँच वर्षको उमेरमा विवाह हुन्छ । दुई वर्षपछि उनको श्रीमानको मृत्यु हुन्छ । योगमायाले पुनर्विवाह गर्छिन् । फेरि पनि श्रीमानको मृत्यु हुन्छ र तेस्रो विवाह पनि असफल हुन्छ । त्यसपछि उनी सन्यासी बन्छिन् र समाज सुधारमा लाग्छिन् । त्यस क्रममा उनले जुद्ध शमशेर राणालाई पनि भेट्छिन् । समाज सुधारको आवाज उठाए वापत् योगमाया गिरफ्तार हुन्छिन् । पछि योगमाया सहित ६८ जनाले अरूण नदीमा हाम फालेर सामूहिक रूपमा आत्महत्या गर्छन् ।’
तिनै योगमायाको योगदानको कदरस्वरूपले सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा योगमायाको नामबाट आयुर्वेदिक विश्व विद्यालय स्थापना गर्ने निर्णय पनि गरेको छ ।
लेखक सिंहको कुनै बेला जलजला (विद्या ढकाल)सँग गहिरो प्रेम थियो भन्ने कुरा आम रूपमा सार्वजनिक भएको विषय हो । त्यसकारण कतिपय मानिसहरू ‘जलजला’ उपन्यास पनि एउटा प्रेम प्रसङ्ग समेटिएको उपन्यास हो कि भन्ने ठान्छन् । यसबारेमा सिंह भन्छन्– ‘उपन्यासमा प्रेम प्रसङ्ग अत्यन्त नगण्य मात्रामा छ । यो उपन्यासले जीवनप्रतिको दृष्टिकोण अध्ययन गर्ने प्रयास गरेको छ । कसरी मानिसमा ब्यक्तिवादी प्रवृति हावी हुँदै जान्छ, समाज र राष्ट्रका लागि सङ्घर्ष गर्ने मानिस कसरी विस्तारै आफैलाईमाथि उठाउने भन्ने सोच्न थाल्छ, उपन्यासले यही विषयलाई उजागर गर्न खोजेको छ ।’
उपन्यास लेख्ने प्रेरणा
जलजला लेखनबारे सिंहको मार्मिक पृष्ठभूमि रहेछ । लामो समय जेल जीवन बिताएका सिंहले जेल बसाइँका क्रममा धेरै साहित्यिक रचना गरे। तर अधिकांश रचना हराए । त्यसले उनलाई जीवनभर पश्चाताप दिइरह्यो । खासगरी २०१८देखि चार वर्ष लगाएर लेखेको एउटा उपन्यास हराएपछि सिंहले जीवनमै सबैभन्दा धेरै पीडा महशुस गरे ।
विद्या ढकाल (का. जलजला) सँगको गहिरो प्रेम र बिछोडले पनि उनलाई उपन्यास लेख्न प्रेरित गरेको रहेछ । यस्तै, उनले आफ्नो विश्व विद्यालयको अध्ययनका क्रममा पी.एचडी. को तयारी गर्दागर्दै थेसिस पुरा गर्न नपाएर अधुरै छोड्नु परेको पनि पीडा पनि बाँकी रहेछ । ती सबै पीडा बिसाउने ठाउँ उपन्यास ‘जलजला’ बनेको रहेछ ।
सिंहले उपन्यास लेखनबारे यसरी सुनाए– ‘२०१८ सालमा म कपिलबस्तु जेलमा परेँ । त्यस क्रममा मैले चार वर्ष लगाएर एउटा उपन्यास लेखेको थिएँ । पछि भैरहवा जेल सार्ने क्रममा त्यो उपन्यास प्रहरीको हातमा नपरोस् भनेर मैले एक जना साथीलाई राख्न दिएको थिएँ । पछि जेलबाट छुट्दा ती साथीको मृत्यु भइसकेको रहेछ । त्यसपछि मेरो त्यो उपन्यास हरायो, जसले मलाई जीवनमै ठुलो पिडा दिएको छ । त्यो पीडा कम गर्न पनि मैले जलजला लेख्ने निर्णय गरेको हुँ ।’
सिंहले थपे– ‘मैले जे.एन.यू. मा अध्ययनरत छँदा ‘कुमाऊँ गढवाल र पश्चिम नेपालको इतिहासको तुलनात्मक अध्ययन’ विषयमा पी.एचडी. गर्ने तयारी गर्दै थिएँ । थेसिस लेखनका लागि धेरै क्षेत्रको भ्रमण गरेँ । कुमाऊँ गढवालसँगै पश्चिम नेपाल र दार्चुलासँग सीमा जोडिएको धार्चुलाको दार्मा दातु गाउँका बारेमा अध्ययन गरेको थिएँ । यस्तै, प्युठानको ओखरकोटको ऐतिहासिक अवस्था, अर्घा र गौमुखी गाउँको ऐतिहासिकता, काठमाडौँको सप्तमातृका, पशुपतिको वृद्धाश्रम, योगमायाको सङ्घर्ष लगायत रूसको लेनिनग्राम, पेरिसको राजतन्त्र विरुद्धको सङ्घर्ष र जर्मनमा हिटलरको उदय लगायतका विषयमा स्थलगत अध्ययन गरेको थिएँ । तर राजनीतिक कारणले पी.एचडी. को थेसिस पुरा हुनै पाएन । त्यतिबेला अध्ययन गरेका विषयलाई औपन्यासिक रूप दिने प्रयास गरेको हुँ ।’
यस्तै जलजलासँगको प्रेम प्रसङ्ग पनि उल्लेख गरे । ‘जलजलासँगको बिछोडले पनि मलाई निकै पीडा दियो । उनको विषयलाई पनि मैले उपन्यासमा समेटेको छु । उपन्यासमा प्रेम प्रसङ्ग कम छ, बरु उपन्यासले समाजको अध्ययन गरेको छ । क्रान्तिकारीहरू कसरी पलायन हुन्छन् भन्ने यथार्थ दृष्टिकोण प्रस्तुत गरेको छ ।’
दुर्गा भन्छिन.– मोहन विक्रमको खुशी नै मेरो खुशी
सिंहले यसै वर्ष जलजला उपन्यासलाई अन्तिम रूप दिँदैछन् । त्योसँगै करिब ३० खण्डको ‘मोहन विक्रम सिंहका रचनाहरू’, आत्मकथा ‘भूमिगत’ पनि यसै वर्ष आउने जानकारी पनि सिंहले दिए । सिंहको साहित्य लेखनमा महत्वपूर्ण सहयोग सिंह पत्नी दुर्गा पौडेलले गर्दै आएकी छन् । ८४ वर्षको उमेरमा पनि सिंहले समय व्यवस्थापन गर्दै राजनीतिक र साहित्यिक दुवै काम गर्न भ्याउनुमा पत्नी दुर्गा पौडेलको महत्वपूर्ण भूमिका छ ।
सिंहले कुनै बेला ‘जलजला’लाई प्रेम गर्थे । अहिले उनैका नाममा उपन्यास लेख्दैछन् । अनि उपन्यास लेखन र प्रकाशनमा सिंहकी पत्नी दुर्गाले सघाउँदै छिन् ।
अक्सर महिला आफ्ना पतिको अर्को महिलासँगको प्रेमप्रति इष्र्यालु हुन्छन्, चाहे त्यो प्रेम पहिले भएको होस् वा वर्तमानमा । सिंहले जलजलालाई गरेको प्रेम र उनकै नाममा उपन्यास नै तयार पारेपछि दुर्गाले कस्तो सोचिरहेकी होलिन् ? हामीले यसबारेमा प्रतिनिधि सभाको सदस्य समेत रहेकी पौडेलसँग प्रश्न गर्‍यौँ । पौडेलले भनिन्– ‘मलाई एम.बी. (मोहन विक्रम) जी को खुशी नै आफ्नो खुशी लाग्छ । उहाँले जलजला दिदीलाई प्रेम गर्नु हुन्थ्यो । तर दुर्भाग्य उहाँहरूको बिछोड भयो । यदि मोहन विक्रमजी र जलजला दिदीको विवाह भएको भए त्यो असाध्यै राम्रो हुन्थ्यो । तर अब उहाँले उपन्यासका रूपमा जलजलाको स्मरण गर्नु भएको छ । म खुशीसाथ उहाँलाई सघाई रहेकी छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here