म न्याय ओढ्न चाहन्छु (कविता)

0
153

सुमन थापा

म आकाश ओढ्न चाहन्छु
धर्ती ओछ्याउन चाहन्छु
बतासको बेगसङ्गै 
नृत्य गर्न चाहन्छु
मेरा पाइलाहरु मरुभूमिको 
तातो राप मा डामेर 
खोलिको निश्चलतामा 
च्वाँईय हुने गरि डुबाउन चाहन्छु
म भित्रको नारित्वमा सहनै पर्ने 
सामाजिक अपहेलनालाई 
ज्वालामुखिको लाभासङ्गै 
बगाउन चाहन्छु ।

एउटी नारी बिच चोकमा 
आफ्ना स्तनहरु खुला राखी 
मातृ वात्सल्य पिलाईरहेकी हुन्छिन् 
जीवन सिँची रहेकी हुन्छिन् 
उनी नाङ्गीनु न त रहर हो न त अपराध
फेरि पनि प्रश्न किन ? 
उनी नाङ्गीएकोमा…
गुँड फर्किन्छन चराहरु
रात ढल्किन्छ उजेलिन
समाज कोल्टे फेर्न फेरि पनि किन गार्हो ?

खेतका गरा अनि कान्लामा 
औंलाका डोबहरुले लेखिएको 
धानका बालाहरुसङ्गै 
लहराउन सकिएला..
फूलमा बासना सिँचेर 
मगमगाउँदो बनाउन सकिएला..
च्यात्तिएको पिढिमा रातो माटोले टालेर 
टिलिक्क टल्काउन सकिएला…
पातमा, फूलमा, रातमा, 
अनि जूनमा रमाउन सकिएला
तर …
च्यात्तिएको नारी अस्मिता सिलाउन
गाह्रो छ तिरस्कारलाई 
शिरमा सिउरिएर रहन

म ..
भुमरी भित्रको गहराईबाट 
फुत्किन चाहन्छु 
नारी हुनुको अन्यायबाट 
उम्किन चाहन्छु 
बन्द पट्टी भित्रको नयनका ज्योति बाट 
सत्य ओछ्याउन चाहन्छु 
खोटो सिक्का हुनबाट 
जोगिन चाहन्छु ।
हो म न्याय ओढ्न चाहन्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here