‘म अझै अर्ध-भुमिगत नै छू’- मोहनविक्रम सिंह

0
116

३० वर्ष भूमिगत/अर्धभूमिगत रहनुभयो, अहिले के परिस्थिति निर्माण भयो र पार्टीले तपाईंलाई सार्वजनिक हुने निर्णय गर्‍यो?

पार्टीले पहिले फोटो दिने निर्णय गरेको थियो। अहिले भिडियोमा जाने निर्णय भएको छ। हाम्रो के सोच हो भने भिडियोमा जाँदा हाम्रो आफ्नो विचार राजनीति बढीमा पुर्‍याउन सक्छौं। जनताको बीचमा जानका लागि त्यही सोचेर अहिलेको स्थितिमा अलि खुकुलो पार्नुपर्छ भन्ने निर्णय भएको हो। हामीहरूको राजनीतिक विचार बाहिर जानसक्छ भनेर खुला हुने निर्णय गरेको हो। सार्वजनिक सभाहरूमा जाने निर्णय भएको छैन। भिडियो अर्थात् दृश्य माध्यममा जाने भन्ने निर्णय भएको छ।

अब मोहनबिक्रम सिंह अर्धभूमिगत रहनुभएन भनेर बुझ्दा हुन्छ?

अर्धभूमिगतकै अवस्था हो। किनभने, सार्वजनिक सभाहरूमा अझै जाने गरेको छैन। त्यो भएको हुनाले अर्धभूमिगत अवस्था नै हो।

टिभी वा भिडियोमा देखिँदा बोल्दा मसालको राजनीतिक जीवनमा के फेरबदल हुन्छ भन्ने सोच्नुभयो?

टिभीको माध्यमद्वारा जनताको बीचमा अलि बढी पुग्न सक्छौँ भन्ने हो। पहिले लेख र अडियोद्वारा जाने गरेका थियौँ। जनताका बीचमा अब ठूलो स्केलमा जान सक्छौँ भन्ने सोचेर नै यो निर्णय गरेको हो।

तर, तपाईंकहाँ चाहेको बेला सजिलै पहुँच मिलिरहेको थियो त?

अर्धभूमिगत भए पनि पहुँच थियो। पञ्चायतकालमा हामी पूरै भूमिगत थियौं। हामी कतै सम्पर्क गर्ने कुरा सुरक्षाका दृष्टिकोणले सजग रहन्थ्यौं। बहुदल आएपछि हामीलाई त्यति सतर्क रहनुपर्ने अवस्था थिएन। तर, पार्टीको संगठनको मूल संरचना अहिले पनि भूमिगत नै छ। पार्टीका प्रवक्ताहरूबाहेक अरु कोही बाहिर देखिन्नन्। पार्टीमा को के छ भन्ने कसैलाई थाहा पनि हुन्न। पार्टी पूरै भूमिगत छ। अहिले मेरो विचार बाहिर जान्छ भनेर यो निर्णय भएको हो। सबै सभामा अहिले बाहिर जाने गरेका छैनौं। मूलरूपमा हामीले पार्टीको भूमिगत संरचनासँग तालमेल मिलाउनका लागि बेग्लाबेग्लै स्थिति अपनाएको हो।

पार्टीले निर्णय गरेको भन्नुभयो, पार्टीको मुखिया तपाईं नै भएकाले व्यक्तिगत इच्छा पनि त होला नि?

व्यक्तिगत इच्छा भन्ने हुँदैन। राजनीतिक दृष्टिकोणले के सही हुन्छ भन्ने हो। पार्टीबाट धेरै साथीहरूको जोड त आएकै थियो। सार्वजनिक रूपमा पनि खुला हुनुपर्छ भन्ने आएको थियो। त्यो हामीले अहिलेसम्म स्वीकार गरेका छैनौं। जो पार्टीको जो राय हो त्यसमा मेरो र अन्य साथीहरूको पनि राय हो। त्यो सहमतिको आधारमा नै अहिलेको निर्णय भएको हो।

प्रसंग बदलौं, उपसभामुख मसालले पाउने चर्चा चलिहरेको छ यो के हो?

हाम्रो पार्टीभित्र त्यसबारे कुनै चर्चा छैन। बाहिर जुन चर्चाहरू आएका छन् तीमात्रै सुनेका छौं। त्यसकारण कुनै छलफल र विचार पनि गरेका छैनौं।

केही नभइ बाहिर चर्चा त चलेन होला, मसाल र नेकपाबीच केही कुरा भएको थियो यसबारेमा?

छैन। उहाँहरूको बीचमा केही चर्चा चलेको थियो होला। त्यो हाम्रो जानकारीमा छैन। जहाँसम्म मसाल र नेकपाबीच वार्ताको कुरा हो फोनमा वा भेटमा पनि कुनै कुरा कसैसँग भएको छैन।

नेकपाकै नेताहरू सांसद दुर्गा पौडेललाई जनमोर्चाले उपसभामुख बनाउन चाहेको छ भनेर भन्ने गर्नुभएको छ?

कहिल्यै पनि र कसैसँग कुरा भएको छैन। त्यो झुटो हो। उहाँहरूका बीचमा के कुरा चलेको थियो भन्ने हामीलाई सोध्ने कुरा होइन। हामीसँग कुनै वार्ता वा कुराकानी केही भएको छैन।

नेकपाले तपाईंको पार्टीको सांसदलाई उपसभामुख बनाउने प्रस्ताव गर्‍यो भने के गर्नहुन्छ?

सामान्य रूपमा अहिलेको परिस्थितिमा हामी उपसभामुखमा जान हुन्न भन्ने सोचाइमा छौं। संसदमा दुई चारजना हाम्रा साथीहरू भए उपसभामुखमा कसैलाई पठाए पनि हुन्थ्यो। राम्रै पोर्टफोलियो हुन्थ्यो कि सम्मानको पद हो। तर अहिले हामीलाई के घाटा पर्छ भने त्यो गरेपछि पार्टीबाट राजीनामा गर्नुपर्छ र पार्टीका केही कुरा गर्नुहुन्न। राजनीतिक कुरा गर्नुहुन्न। संसदमा र बाहिर पनि केही बोल्न पाइन्न। त्यस्तो हुँदा जुन उद्देश्यले हामीले संसदमा भाग लिएका हौँ त्यसमा बाधा पुग्छ। त्यसैले त्यतातिर सोचेको छैनौँ। प्रस्ताव आयो भने पनि स्वीकार गर्दैनौँ। त्यसले राजनीतिक घाटा हुन्छ।

तपाईंको मूल्यांकनमा केपी शर्मा ओली नेतृत्वको सरकारका २२ महिना कस्ता रहे?

सरकारको समीक्षा गर्नु पहिला नेकपा र त्यसको विषयमा हामीले मूलभूत सोचाइ नै स्पष्ट गर्नुपर्ने हुन्छ। हाम्रो महाधिवेशनले नेकपालाई देशभक्त, वामपन्थी शक्ति भनेको छ। हाम्रो मित्रशक्ति भनेको छ। नेपाली कांग्रेस र राप्रपाहरूलाई प्रतिगामी शक्ति भनेको छ। त्यसैले पहिलो कुरा त नेकपालाई प्रतिगामी शक्ति मानेका छैनौं। नेकपा हाम्रो दुष्मन शक्ति होइन, मित्रशक्ति हो। वामपन्थी शक्ति हो। तर अत्यन्तै ढुलमुल र अवसरवादी सम्झौतापरस्त शक्ति हो। देशको सामन्तवाद दलाल पुँजीवादी वर्ग भारतीय विस्तारवादसँग सम्झौतापरस्त नीति अपनाउने गरेको छ। त्यसकारण सम्झौतापरस्त अवसरवादी शक्ति भनेका हौँ।

त्यो भए पनि हामीले दुष्मन र प्रतिगामी शक्ति मान्दैनौं। त्यसैले एकातर्फ समर्थन पनि छ अर्कोतर्फ विरोध पनि छ। जुन हदसम्म जनपक्षीय नीति अपनाउँछन् समर्थन गर्छौं र गलत कामहरूको विरोध गर्छौं। त्यसरी हेर्दाखेरि गणतन्त्र, धर्म निरपेक्षताका विषयमा राम्रा काम पनि गरेको छ। स्पष्ट अडान लिने गरेका छन्। हाम्रो समर्थनको मूल कारण पनि त्यो हो। संविधानको कुरा गर्दा राजपा फोरमहरू सरकारमा आउने संशोधनको सम्झौता गरेको थियो त्यसलाई हामीले कडा विरोध गरेका थियौं।

तर, ढाइ वर्षको समयमा राजपाले समर्थन फिर्ता लियो र उपेन्द्र यादव सरकारबाट हटे त्यसको अर्थ उनको जुन भूमिका रह्यो त्यसलाई हामीले सकारात्मक भनेका छौं। अहिलेको सन्दर्भमा कालापनीको पक्षमा अहिलेसम्म कुनै सरकारले बोल्न नसकेको कुरा कि कालापानी नेपालको हो भारतीय सेना हट्नुपर्छ भनेर ओली बोलेकाले हामीले समर्थन गरेका छौं। हाम्रो के सोचाइ छ भने यो सरकारको विघटन हुन्छ भने गणतन्त्र र धर्मनिरपेक्षतालाई पनि खतरा हुन्छ। त्यो भनेर हामीले विरोध गर्ने र समर्थन गर्ने गरेका छौं।

अर्कातिर यो सरकारका नीतीहरू सबैलाई हामी समर्थन गर्दैनौं। जस्तो प्रशासनिक कारबाही झनपछि झन् गलत हुँदैछन्। विकासका काम कुण्ठित हुँदै गइरहेका छन्। गोकर्ण रिसोर्टको विषयमा सम्झौता भयो त्यसलाई एकदम गलत मानेका छौं। सिन्डिकेटका मुद्दा लागु गर्न सकेन। समाजवाद उन्मूख नीति भनेर प्रतिबद्धता व्यक्त गरेको छ त्यसलाई हामीले समर्थन गरेका छौँ तर बजेट तथा नीति कार्यक्रम समाजवादी दिशामा कदम चाल्नुभन्दा यथास्थितिवादी छन्। यस्तालाई गलत भनेका छौं र विरोध गरेका छौं। कतिपय अवस्थामा हामीले सार्वजनिक रूपमा संघर्ष गरेका छौं। अहिले छिट्टै देशव्यापी रुपमा संघर्ष गर्ने योजना पनि बनाएका छौं।

मसालका आगामी कार्यक्रम तथा रणनीति के छन्?

हाम्रा रणनीति र कार्यनीतिमा अन्तर गर्नुपर्छ। हाम्रो दीर्घकालीन रणनीति भनेको अर्ध सामन्तवादी र अर्ध औपनिवेशिक व्यवस्था छ त्यसलाई समाप्त पार्नुपर्छ। तर एकैपटक हामीले अन्त्य गर्न सक्दैनौं। त्यसका लागि कार्यनीति बनाएर अंशअंशमा काम गर्नुपर्छ। अहिले हाम्रो पार्टीले धर्मनिरपेक्षता र गणतन्त्रको रक्षाका लागि देशभर संघर्ष गर्ने तयारी गरेको छ। गणतन्त्र र धर्मनिरिपेक्षताविरुद्ध केही शक्ति उठिरहेका छन्।

राष्ट्रियताविरुद्ध देशी विदेशी शक्ति उठिहरेका छन्। त्यसका विरुद्ध संघर्ष गर्नुपर्छ। हाम्रोमा नागरिकताको मुद्दा गम्भीर बनेको छ। कैयौं भारतीय नेपाल आइरहेका छन्। त्यसका विरुद्ध जनतालाई उजागर गर्नुपर्छ। भ्रष्टाचार र अपराध बढ्दै गइरहेको छ यसका विरुद्धमा देशव्यापी रूपमा आन्दोलन चलाउने भएका छौं। महिलाहरूमाथि बलात्कार हत्या हिंसाविरुद्ध हामीले देशव्यापी आन्दोलन गर्ने योजना छ। किसान जनजाति दलितका समस्यालाई लिएर संघर्ष गर्ने निर्णय गरेका छौं। त्यसैले संघर्षका कार्यक्रम बनिरहेका छन्। भर्खरै हाम्रो पार्टीको राष्ट्रिय परिषदको बैठक बस्यो त्यसले योजना बनाएको छ। पार्टीका युवा विद्यार्थी महिला जनजातीका संगठनले अभियान चलाइरहेका छन्। हामीले आगामी जेठसम्मका लागि कार्यक्रम बनाइसकेका छौँ।

ती कार्यक्रममा तपाईंलाई सार्वजनिक मञ्चमा भाषण गरेको देख्न पाइन्छ?

त्यो त पाइन्न। अहिले टिभीमा मात्रै देखिने निर्णय भएको हो। सार्वजनिक कार्यक्रममा जाने निर्णय भएको छैन।

योबीचमा तपाईं सार्वजनिक कार्यक्रममा जाने सम्भावना कत्तिको छ?

त्यो सम्भावना छैन। पार्टीमा छलफल नचलेको होइन तर अस्वीकृत हुँदै आए। त्यसकारण निकट भविष्यमा त्यस्तो निर्णय हुने सम्भावना छैन।

यति वर्षपछि भिडियोमा बोल्दा कत्तिको प्रभावकारी होलाजस्तो लागेको छ त?

जनताको बीचमा प्रत्यक्ष सम्पर्क भइरहेको छ। विचार सम्प्रेषण भइरहेको छ। ठूलो मासमा विचार पुर्‍याउन पाएकोमा प्रसन्नताको अनुभूति भइरहेको छ। जनताको बीचमा म बढी जान पाइरहेको छु। यसद्वारा पार्टीको राजनीतिलाई बढी सशक्त बनाउन योगदान दिन सक्छौँ भन्ने लागिरहेको छ।

(नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहसँग कान्तिपुरका लागि बबिता शर्माले मंगलबार गरेको कुराकानी  कान्तिपुरबाट साभार गरिएको हो ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here