मोहनविक्रम सिंहका संकलित रचनाहरु प्रकाशित हुँदै

0
590

जेठ ३१, काठमाडौं । का. मोहनविक्रम सिंहका गत करिब ६५ वर्षका बीचमा प्रकाशित वा अप्रकाशित संकलित रचनाहरु प्रकाशित हुनेछ भएका छन् । संकलित रचनामा सिंहका विभिन्न पुस्तक, पुस्तिका दस्तावेज, लेख, कथा, अन्तरवार्ता, कविता, नाटक, निबन्ध आदिलाई समेटेर १० भाग र खण्ड २८ सम्म रहने सूची दिइएको छ ।

ती सबैलाई मिलाएर सिंहका सङ्कलित रचनाहरू प्रकाशित गर्ने योजना रहेको प्रकाशक दुर्गा पौडेलले जानकारी दिनुभएको छ । पौडेलले भन्नु भयो– “त्यसको तयारी गर्न हामीलाई करिब १ वर्ष जति समय लाग्ने छ ।”

तयारी अन्तर्गत सामाग्रीहरूको सङ्कलन, सम्पादन, टाइपिङ, प्रुफ रिडिङ, आर्थिक बन्दोवस्त आदि कार्यहरू आउने पौडेलले बताउनु भयो । “हामीले ती सबै रचनालाई क्रमश: १/१ खण्डमा प्रकाशित गर्नेभन्दा पूरै खण्डहरुलाई एकैपल्ट प्रकाशित गर्ने योजना बनाएका छौँ ।” प्रकाशक पौडेलकले भन्नु भयो– “त्यसका लागि केही बढी समय लाग्ने छ ।”

पौडेलका अनुसार संकलित रचनाहरूलाई निम्न भाग र खण्डहरूमा प्रकाशित गर्ने योजना रहेको छ । माथिको विवरणबाट प्रष्ट हुन्छ, ती सङ्कलित रचनाहरू १० भाग र २८ खण्डमा प्रकाशित गर्ने हाम्रो योजना रहेको प्रकाशकले बताउनु भयो ।

भाग १ – पुस्तक (१–३ खण्ड)
भाग २ – पुस्तिका (४–५ खण्ड)
भाग ३ – लेखहरू (६–१० खण्ड)
भाग ४ – दस्तावेज (११–१४ खण्ड)
भाग ५ – अन्तरवार्ता (१५–१६ खण्ड)
भाग ६ – सामाजिक निबन्ध (१७–१८ खण्ड)
भाग ७ – साहित्य र समालोचना (१९–२१ खण्ड)
भाग ८ – वक्तव्य (२२–२४ खण्ड)
भाग ९ – विविध (२४–२६ खण्ड)
भाग १० – परिशिष्ट (२७–२८ खण्ड)

त्यो बेलासम्म प्रकाशित कतिपय नयाँ लेख वा पुस्तकहरू पनि त्यसमा सामेल गर्नु पर्ने बताइएको छ । त्यसरी नयाँ लेखिएका लेख र पुस्तक सहित यो संग्रह शायद करिब ३० खण्डमा प्रकाशित हुनेछ । माथिका खण्डहरूमा ‘का. जलजला’ उपन्यास सामेल छैन ।

ती सङ्कलित मोहनविक्रम सिंहका संकलित रचना (विषय सूची) रचना प्रकाशित गर्दासम्म त्यो उपन्यास पनि प्रकाशित भइसक्ने समेत वहाँको निकट श्रोत बताएको छ । त्यो उपन्यास बेग्लै पुस्तकको रुपमा पनि प्रकाशित हुने समेत समाचार छ ।

प्रकाशक पौडेलका अनुसार साहित्य खण्डमा पनि त्यसलाई सामेल गरिने छ । “मोहनजीको आत्मकथा, “भूमिगत/अर्धभूमिगत” पनि त्यो बेलासम्म तयार भयो भने त्यसलाई पनि सङ्कलित रचनामा प्रकाशित गरिने छ ।”

सबै रचनाहरूलाई सम्मिलित रूपमा मितिका आधारमा दिनुभन्दा विषय अनुसार छुट्टाएर बेग्लाबेग्लै दिंदा पाठकहरूलाई पढ्न बढी सजिलो हुनेछ भन्ने सोंचेर रचनाहरूलाई विषय अनुसार भागहरूमा विभाजिन गरेर दिने पौडेलको भनाई छ ।

खासगरी संकलित रचनामा राजनीतिक आलोचना, चार दशक (भाग १ र २), रिम र माओवादीको कथित जनयुद्ध, साहित्य र समालोचना, साहित्य, जीवन र सौन्दर्य, दुई नाटक–दुई एकाङ्की, गणतन्त्र, राष्ट्रियता र सङ्घीयता आदि पूर्व प्रकाशित रचनाहरुलाई प्राथमिकता दिइने समेत पौडेल बताउनु भयो । “त्यसो गर्दा बेग्लाबेग्लै लेखहरु विभिन्न पुस्तकहरुमा दोहोरिएका पनि छन् ।” वहाँले भन्नु भयो– “हामीले युग नृत्य तथा दुई नाटक–दुई एकाङ्कीलाई छाडेर सबै रचनाहरूलाई सङ्ग्रहहरूबाट अलग गरेर बेग्लाबेग्लै लेखका रूपमा दिने छौँ ।”

“उहाँका कैयौँ रचनाहरू प्राप्त छैनन् वा हराएका छन् । यो सूचीमा दिइएका बाहेक अन्य कुनै रचना तपाईहरूसित भए वा कुनै पत्रपत्रिकामा प्रकाशित भएको फेला परेमा हामीलाई दिनका लागि अनुरोध गर्दछौँ ।” दुर्गा पौडेलले भन्नु भयो– “पछि सङ्कलित रचनाहरू प्रकाशित गर्दा हामीले तिनीहरूलाई पनि सामेल गर्ने छौँ ।”

ती सबै सङ्कलित रचनाहरू प्रकाशित गर्नका लागि करिब रु. ३० लाख लाग्ने अनुमान गरिएको छ । त्यसका लागि प्रकाशक पौडेलले सबै शुभेच्छुकहरूसित सहयोग गर्न विनम्र अनुरोध गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here