मोदीको भ्रमणबाट नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र राष्ट्रियहितमा गम्भीर खतरा: एमविसिंह

0
749

काठमाडौं, बैशाख २७ । २ नं. प्रदेशमा प्रधानमन्त्री मोदीको भव्य स्वागतको तयारी वास्तवमा नेपालको राष्ट्रिय स्वाभिमानका विरुद्धको भएको मसालले बताएको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले एक प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन्– “ अहिले मोदीको जसरी अस्वभाविक तरिकाले स्वागतको तयारी भइरहेको छ, त्यसले तराईमा बेग्लै प्रदेशहरु बनाउनुको उद्देश्य भारतीय विस्तारवादी रणनीतिलाई पूरा गराउनु थियो भन्ने कुरा बुझ्न गाह्रो पर्दैन ।”

भारतको व्यवहारबाट नै त्यो प्रदेशको निर्माण नेपालको राष्ट्रिय हितका पक्षमा नभएको कुरा प्रष्ट भएको जिकिर गर्दै महामन्त्री सिंहले लेखेका छन्– “२ नं. प्रदेशमा प्रधानमन्त्री मोदीको भव्य (?झ्) तयारी वास्तवमा नेपालको राष्ट्रिय स्वाभिमानका विरुद्धको नै कुरा हो । २ नंं. प्रदेशको निर्माण नै भारतीय विस्तारवादको योजना अनुसार नै गरिएको थियो । वास्तवमा भारतले तराईका सबै जिल्लालाई पहाडि भूभागबाट अलग गरेर बेग्लै प्रदेशहरु बनाउन खोजेको थियो । अन्यत्रता त्यो योजना सफल हुन सकेन । तर २ नं. प्रदेशको निर्माण त्यसरी नै गरिएको थियो । हाम्रो पार्टीले संविधानको निर्माणको क्रममा पनि २ नंं. प्रदेशको निर्माणको विरोध गरेको थियो र त्यस प्रकारको प्रावधानका विरुद्ध संशोधन प्रस्ताव राखेको थियो । अब व्यवहारबाट नै त्यो प्रदेशको निर्माण नेपालको राष्ट्रिय हितका पक्षमा नभएको कुरा प्रष्ट छ ।”

“भारतले तराईका बाँकी जिल्लाहरुलाई पनि पहाडि भूभागबाट अलग गरेर बेग्लै प्रदेशहरुको निर्माण गर्न चाहन्छ । त्यसका लागि नै मधेशवादीहरुले संविधानमा संशोधनको कुरा उठाइरहेको छ ।” सिंहले जोड दिएका छन् “मोदीको सुरक्षाका लागि नेपालमा ठूलो संख्यामा भारतीय सैनिकहरुको जसरी प्रयोग गरिएको छ, त्यसलाई पनि हाम्रो पार्टीले गलत भएको बताएको छ । मुक्तिनाथ जस्तो संवेदनशील क्षेत्रमा पनि मोदीको सुरक्षाका नाममा ठूलो संख्यामा भारतीय सैनिकहरुलाई पठाउने काम भइरहेको छ ।”

मोदीको नेपाल भ्रमणका बेलामा अरुण तेस्रोको शिलान्यास गर्ने कार्यक्रम निश्चित गरिएको छ, यो नेपालको जलसम्पाद माथि भारतीय विस्तारवादले बढाउँदै लगिरहेको अतिक्रमणको एउटा उदाहरण र राष्ट्रघाती कार्य भएको मसालले ठहर गरेको छ । “त्यसैले हाम्रो पार्टीले त्यो शिलान्यासलाई पनि राष्ट्रघाती कार्य ठान्दछ र विरोध गर्दछ ।”

विज्ञप्तीमा मसालले मोदी नेपालको मित्रशक्ति नभएको समेत बताएको छ– “मोदी सरकारले संविधानको निर्माणको क्रमदेखि नै नेपालप्रति जुनप्रकारको नीति अपनाउँदै आएको छ, त्यो अवस्थामा त्यसलाई नेपालको मित्रशक्ति भन्न सकिन्न ।”

मोदीको नेपाल भ्रमणको मुख्य उद्देश्य– “अहिले पनि मित्रताका आडमा नेपालप्रतिको आफ्नो विस्तारवादी नीति पूरा गर्न नै मोदीको नेपाल भ्रमणको मुख्य उद्देश्य रहेको छ । त्यस प्रकारको पृष्ठभूमिमा मोदीको भ्रमणबाट नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र राष्ट्रियहितमा गम्भीर खतरा पुग्ने जुन सम्भावना छ त्यसप्रति नेकपा (मसाल)ले सम्पूर्ण देशभक्त जनताको ध्यानआकर्षित गराउन चाहन्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here