मेरो डिग्री

0
391

हेमलाल गौतम, हाल जापान

मेरो बाबाले तालुको कपाल खुईलाएर
कमाएको पैसाले मैले डिग्री पढें
प्रमाण पत्र लिएँ ,र झोलामा बोकेर हिडें
ज़ागिर पाउने नाममा
गल्ली गल्ली चाहारे,
अफिस अफिस धाएँ
कहिं कतै मेरो डिग्रीले सम्मान पाएन
अनि बिवश भएर त्यो प्रमाण पत्रलाई
बाकसमा थन्क्याएँ
र बिदेशी भूमिमा रवाना भएँ ।
बिदेशको यात्रा ,परिवारको चाहना
मेरो मनमा परेको चोट
अनि पारिवारिक बिछोड
भाषाको समस्या
कामको समस्या
बासको समस्या
आदि आदि थुप्रै चुनौती लड्दै छ
मेरो डिग्री,मेरो नियती ।
मैले दुस्ख गरेर पढेको डिग्रीले त
आज बिदेशी भूमिमा भाँडा माझ्दै छ
नान बनाउँदै छ ,सलाद काट्दै छ
अरबको गर्मीमा भेडा चराउदै छ
ईजरायलमा कृषि फाराममा काम गर्दै छ
अफ़ग़ानिस्तान र सिरियामा
ईरान र ईराकमा युद्धको सन्त्रास भित्र
जिवन बाँच्दै छ ।
अमेरिका होस् या युरोप,
अफ्रिका ,एसिया या जहाँ सुकै किन नहोस्
मेरो डिग्रीले हड्डी घोटीरहेछ
पसिना बगाई रहेछ
धन बटुलीरहेछ ।
मेरो डिग्रीलाई के थाहा
मेरो परिवार ,मेरो गाउँ र समाज
जताततै बाट धपिएको ,हेपिएको ।
१२,१४ घण्टा यो या त्यो काम गर्दैछ
पाखुरीमा बल छउन्जेल
बिदेशी भूमिमा पसिना बगाएर
त्यही साहुको रिण तिर्नै नसकिने
परिवारको नाना चाचा गर्न नसकिने
भोको पेट भराउन नसकिने
मैले कस्तो डिग्री पढें ।
राज्यले कस्तो पाठ्यक्रम बनायो
जसलाई पाएर पनि काम नपाउने
त्यसलाई प्रयोग गर्न नपाउने
अनि ती बाबा आमाको
लगानीको मूल्य खोई
तिनका सपनाको पहिचान खोई ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here