मीटु अभियान : चरित्रहीनहरुको औचित्यहीन तमासा

0
248

लक्ष्मी बेलबासे

आज संसारभर मीटु अभियान चलेको छ । यसले धेरै शक्तिशाली पुरुषहरुलाई नैतिकताको फन्दामा पारेको छ । कैयौं शक्तिशाली पुरुषहरुले आफ्नो पदबाट राजीनामा दिएका छन् । नेपालमा पनि केही मान्छेहरु डामिन सुरु भएको छ । तीन नम्बर प्रदेशका सांसद केशव स्थापित र त्रिभुवन विश्वविद्यालयका दुईजना प्राध्यापकहरु मीटुको तारोमा परेका छन् । सम्भवतः अझै धेरै पर्न सक्नेछन् ।

वर्गीय समाजमा महिला र पुरुष दुवै पीडित हुन्छन् । हिंसा उनीहरु दुबैमाथि हुन्छ । नेपाली समाजमा महिलाहरु बढी पीडित छन् । महिला आन्दोलन निरन्तर चलिरहेको छ । यदि पुरुषहरुले साथ नदिएको भए महिला आन्दोलनले यति ठूलो गति लिने थिएन । त्यसैले महिला आन्दोलन केवल महिलाहरुको मात्रै हो भन्नु सम्पूर्ण रुपमा गलत हुनेछ ।

महिला आन्दोलन वर्गीय आन्दोलनकै एउटा स्वरुप हो र त्यसमा पुरुषहरुको साथ आवश्यक रहन्छ । तर, महिला मुक्ति आन्दोलनलाई अन्यत्रै मोड्नका लागि अहिले मी टु अभियान सञ्चालन गरिएको छ । मीटु कुनै वर्गीय आन्दोलन होइन । अँध्यारो कुनामा बसेर फेसबुक र ट्वीटरबाट कसैको बदनाम गर्दैमा महिला आन्दोलन अगाडि बढ्न सक्दैन ।

के मीटु अभियान सही छ ?

कैयौं महिलाहरुले शक्तिशाली पुरुषहरुको आडमा धेरै फाइदा लिने प्रयत्न गर्ने गर्दछन् । बढुवा हुने, तलब बढाउने प्रयत्न गर्दछन् । उनीहरुले कैयौं सुविधा वा आर्थिक फाइदा लिनका लागि ती पुरुषहरुसँग कैयौं सम्बन्ध नै कायम गरिसकेका हुन्छन् ।

जब पुरुषहरुका लागि सधैंभरि उनीहरुको इच्छाआकांक्षा पूरा गर्न सम्भव हुन्न, जब उनीहरुको आकांक्षामा ठेस लाग्छ, तब उनीहरुले ती पुरुषहरुमाथि अनेक लान्छना लगाउँछन् । यथार्थमा तिनीहरु आफ्नो फाइदाका लागि नै शक्तिशाली पुरुषहरुका पछि लागिरहेका हुन्छन् । आफ्नो उद्देश्य पूरा नभएपछि त्यसरी लाञ्छना लगाउने गरिन्छ ।

कुनै कार्यालय वा अन्यत्र त्यस्तो अवस्था आउनुमा दुवै दोषी हुन् । कुनै एक पक्षलाई मात्रै दोषी किटान गर्नु हुँदैन । दुवैले आफ्नो फाइदाका लागि नै सबथोक गरिरहेका हुन्छन् । आफ्नो फाइदामा ठेस लागेपछि कुनै एक पक्षले बदनाम गर्ने तरिका अपनाउनु अर्काे पक्षमाथि गरिएको अपराध हो । अहिले बजारमा हल्ला पिटेको मी टु अभियान त्यसैको स्वरुप हो ।

कुनै पनि कानुनी हैसियत नभएको मीटुले पुरुषहरुलाई बदनाम गर्नेबाहेक अरु केही गर्दैन । पीडित भनिएका महिलाहरुले कुनै पनि न्याय प्राप्त गर्दैनन् ।
वास्तविक पीडित महिलाहरुले यस्ता मीटु, सीटु केही जानेकै हुँदैनन् । अहिले पीडित महिलाहरुले कानुनी उपचार खोज्ने, प्रहरी, अदालत जाने जुन साहस देखाएका छन्, वास्तवमा त्यसले नै महिलाहरुलाई न्याय प्रदान हुँदै गएको छ । भेट हुँदा टेढा आँखाले हेर्‍यो, लन्च खान बोलायो, बारम्बार फोन गर्‍यो जस्ता कुराहरु गलत हुन् । यदि उसले गलत गर्दैछ भन्ने लाग्छ भने उतिबेला नै प्रतिकार गरिनुपर्दछ वा त्यस्तो अवस्थाको सिर्जना हुन दिनुहुँदैन । तर, आफ्नो सम्बन्ध बिग्रिएपछि, कुनै स्वार्थ पूरा नभएपछि, घटना घटेको हो वा होइन, २०–३० वर्षपछि यस्तो भएको थियो र उस्तो भएको थियो भनेर बदनाम गर्नु चरित्रहीन महिलाहरुको चर्तिकला मात्रै हो ।

यसै हप्ता बर्दियाको एउटा कहालीलाग्दो समाचार बाहिरिएको छ । चालु आर्थिक वर्षमा त्यहाँ प्रतिशोध साँध्नका लागि बलात्कारको झुट्टा मुद्दा दायर गर्ने ६ जनालाई जेल चलान गरिएको छ । अर्थात् बलात्कार जस्तो जघन्य अपराधलाई झुट्टा मुद्दा हालेर फसाउन खोज्नु अर्काे ठूलो अपराध हो । महिलाहरुलाई कानुनले शक्तिशाली बनाएको छ । त्यो महिलाहरुले न्याय प्राप्त गर्नका लागि हो । झुट्टा मुद्दा हालेर कुनै पनि पुरुषलाई फसाउनका लागि होइन ।

कुनै पुरुषले युवा उमेरमा कुनै महिलासंग प्रेम सम्बन्ध कायम गरेको हुन सक्छ । उनीहरुबीच खटपट गरेर उक्त प्रेम सम्बन्ध टुटेको हुन सक्छ । तर, कैयौं वर्षपछि महिलाले यति वर्ष पहिले मलाई उसले बलात्कार गरेको थियो भन्न मिल्छ कि मिल्दैन ?

प्रेम आपसी आकर्षण र समझदारीबाट अगाडि बढ्ने हो । उनीहरुबीच असमझदारी बढेपछि उक्त प्रेम टुट्छ । मानौं आज त्यसरी प्रेम सम्बन्ध टुटेका व्यक्तिहरु सांसद्, मन्त्री, हाकिम, बैंकर वा जुनसुकै पदमा रहेका हुन सक्छन् । अब तिनीहरु सबैलाई मी टु लगाइदिएर तिनीहरुको इज्जत प्रतिष्ठा सबै लिलाम गरिदिने ? अहिलेसम्म समाज त्यो स्तरमा गिरेको त छैन, तर त्यो अवस्था नआउला भन्न पनि सकिँदैन ।

चरित्रहीन भएपछि के जान्छ र ? भनिदियो, छोडिदियो । बेइज्जत हुनेको भइसक्छ । प्रमाण जुटाउन परेन, केही परेन । यो एक प्रकारको तमासाको प्रदर्शन हो । देशभरि बलात्कार जस्ता गम्भीर मुद्दामा दर्जनौं झुट्टा मुद्दा दायर भइरहेका छन् भने अँध्यारो कुनामा बसेर फेसबुक र ट्वीटरबाट मी टु त सजिलै हुन सक्छ ।

चर्चित हास्य कलाकार मनोज गजुरेलको उनकी श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको छ । उनले मनोज गजुरेलसँगबाट लिनुपर्ने सबै सम्पत्ति लिएर छुट्टिसकेकी छिन् । तर, उनले सम्बन्धविच्छेदको एनीभर्सरी मनाउने क्रममा मनोज गजुरेलमाथि कैयौं गम्भीर आरोप लगाएकी छिन् । उनले मनोजले जबर्जस्ती यौन सम्बन्ध राख्ने गरेको, महिनावारी भएको बेलासमेत जबर्जस्ती यौन सम्बन्ध राख्ने गरेको बताएकी छिन् । जबर्जस्ती यौनसम्बन्ध बलात्कार नै हो । यदि मनोज गजुरेलले बलात्कार गरेको भए उनले कानुनी उपचार खोज्नुपर्दथ्यो । उनले त्यो केही गरेको देखिएन । तर, सारा सम्पत्ति लिएर छुट्टिएपछि सार्वजनिकरुपमा बलात्कारको आरोप लगाउनु अर्काे अपराध हो ।

समाजमा प्रायः धेरै महिला कुनै न कुनै हिंसामा परेका हुन्छन् । त्यस्तै पुरुष पनि कुनै न कुनै हिंसामा परेका छन् । धेरैजसो श्रीमतीले सुनका गहना, महंगा कपडा किनिदिनका लागि श्रीमानलाई बाध्य पारेकै हुन्छन् । श्रीमानको आर्थिक हैसियत नभए पनि श्रीमतीहरुका आवश्यकता पूर्ति गर्नका लागि उनीहरुले मानसिक तनाव झेलिरहेका हुन्छन् । यो हिंसा हो कि होइन ?

छिमेकी महिलाहरुको देखासिकी गरेर त्यस्तै पुर्‍याउन नसक्दा धेरै पुरुषहरु मानसिक हिंसाको शिकार बनेका छन् । नामर्द, स्वास्नीलाई यत्ति पनि किनिदिन नसक्ने, बिहे गरेको यतिका वर्ष भयो, एउटा गतिलो साडी किनिदिएको छैन । यस्तै यस्तै ।

आफू चरित्रवान, अरु सबै चरित्रहीन, आफू निर्दोष, अरु सबै दोषी भन्ने मानसिकता भएका चरित्रहीन महिलाहरुले आज समाजलाई कुनै न कुनैरुपमा भाँडिरहेका छन् ।
बिहेपछि महिलाका सबै माग, इच्छा र आकांक्षाहरु पुरुषहरुले पूरा गरिदिनुपर्ने सामन्ती मान्यताका कारण पुरुषहरु पनि पीडित छन् । यसको अर्थ यो होइन कि श्रीमानहरुले श्रीमतीहरुलाई कुनै पनि हिंसा गर्दैनन् । उनीहरुले पनि मानसिकरुपमा कैयौं हिंसा गरिरहेका हुन्छन् ।

मूलतः श्रीमानलाई घरपरिवारबाट टाढा राख्नका लागि, घरका बुबाआमासँग सम्बन्ध नराख्नका लागि धेरै श्रीमतीहरुले अनावश्यक दबाव दिइरहेका हुन्छन् । श्रीमानहरु एकातिर श्रीमतीको दबाव र अर्काेतिर आफूलाई जन्म दिने आमाबुबालाई छोड्न नसक्ने स्थिति भए पनि उनीहरु आमाबुबाबाट कुनै न कुनै रुपमा टाढा रहन श्रीमतीहरुले बाध्य बनाएका कैयौं घटना समाजमा छन् ।

कुनै शक्तिशाली पुरुषहरुसँग रीस उठ्यो भने उसको सामाजिक रुपमा बदनाम गरिदिने जुन अस्त्र महिलाको आवरणमा केही चरित्रहीन महिलाहरुले प्रदर्शन गरेका छन्, यसले समाजलाई सही बाटोतिर होइन, गलत बाटोतिर लैजान्छ । कुनै प्रमाण पेश गर्नु नपर्ने, सही गलत छुट्याउन नपर्ने, प्रहरी, प्रशासन, अदालत कहीँ कतै जान नपर्ने । एउटा अँध्यारो कोठामा बसेर फेसबुक वा ट्वीटरबाट बदनाम गर्न सकिने भएपछि उनीहरुले त्यही अस्त्र प्रयोग गरिरहेका छन् ।

यो समाजमा रहेका सबै पुरुषहरु हाम्रा दाजुभाइ, बुवा, मामालगायत यस्तै नातागोता हुन् । व्यक्तिगतरुपमा उनीहरुले गल्ती वा कमजोरी गरेका छन् भने उनीहरुले गरेको कमजोरी अनुसारको सजायँको भागिदार बन्नुपर्दछ । ती गल्ती वा अपराधअनुसारका सजायँका लागि नेपालको कानुनले पर्याप्त व्यवस्था गरेको छ । तर, कानुन भन्दा बाहिर गएर, अँध्यारो कुनामा बसेर कुनै शक्तिशाली पुरुषहरुलाई बद्नाम गर्ने तरिका सर्वथा गलत छ । सचेत महिलाहरुले यो कुरा बुझ्नुपर्दछ ।

पुरुषहरु पदमा पुगेका छन् र उनीहरुको बदनाम गर्न सजिलो भएको छ । आज महिलाहरु पनि पदमा पुगेका छन् । उनीहरु पनि शक्तिशाली बन्दै गएका छन् । कुनै बदमास पुरुषले ती महिलाहरुलाई त्यसैगरी बदनाम गर्न थाल्यो भने हामीलाई सैह्य हुन सक्छ ? महिलाहरुले पुरुषहरुमाथि गर्ने हिंसा पनि बढिरहेका छन् । तर, ती पनि व्यक्तिगतरुपमै समाधान हुनुपर्छ ।

आज लाखौं युवाहरु विदेश गएका छन् । उनीहरु विदेश गएपछि केही महिलाहरुले बदमासी गरेका छन् । श्रीमानले पठाएको पैसा हिनामिना गरेका छन् । तर, यसबाट अन्य महिलाहरुले पनि बदनाम हुनुपरेको छ । कोही कसैको श्रीमानमा विदेश छ भने बजारमा बस्ने श्रीमतीलाई हेर्ने नजर फरक हुने गरेको छ । यसरी सबै महिलाहरुप्रति खराब नजर निर्माण हुनुमा यो समाज नै बढी दोषी छ ।

आफू चरित्रवान, अरु सबै चरित्रहीन, आफू निर्दोष, अरु सबै दोषी भन्ने मानसिकता भएका चरित्रहीन महिलाहरुले आज समाजलाई कुनै न कुनैरुपमा भाँडिरहेका छन् । त्यस्ता कुराहरुलाई प्रश्रय दिनुहुँदैन ।

मीटुले के गर्छ ?

कुनै पनि कानुनी हैसियत नभएको मीटुले पुरुषहरुलाई बदनाम गर्नेबाहेक अरु केही गर्दैन । पीडित भनिएका महिलाहरुले कुनै पनि न्याय प्राप्त गर्दैनन् । कुनै पुरुषहरुको बदनाम हुनु भनेको महिलाहरुले न्याय पाउनु होइन । कथित मीटु अभियानलाई नेपालको कुनै पनि कानुनले चिन्दैन । बरु अहिले निर्माण भएको संहिताअनुसार मिटु अभियानकर्ताहरु नै अपराधी हुन् । सार्वजनिकरुपमा कसैलाई पनि गाली, बेइज्जती, चरित्रहत्या जस्ता कार्य गर्नु कानुनअनुसार दण्डनीय अपराध हो । कानुनले कुनै पनि व्यक्तिको नैतिक चरित्रमा धावा बोल्ने अधिकार दिँदैन ।

यदि मिटुबाट पीडित पुरुषहरुले कानुनअनुसार अदालतमा निवेदन दिने हो भने उनीहरुले नै न्याय पाउने देखिन्छ । कुनै पुरुषले महिलामाथि हिंसा गरेको छ भने कानूनले उनीहरुलाई न्याय दिलाउने बाटो पनि खोलिदिएको छ । कानुनी बाटो नै रोज्नुपर्दछ । आज महिला हिंसा प्रहरी प्रशासनको प्राथमिकताको विषय बनेको छ । यसलाई अझै सशक्त र प्रभावकारी बनाउनुपर्दछ । समुदायले पनि उत्तिकै साथ र सहयोग गर्नुपर्दछ । तर, मी टु अभियानवाला महिलाहरुले कतै प्रहरी वा अदालतमा उजुरी गरेका छैनन् । उनीहरुसित देखाउन सक्ने कुनै प्रमाण, संकेत, केही पनि छैन ।

आज जेलमा हजारौं मान्छेहरु रहेका छन् । ती कुनै न कुनै कसुर प्रमाणित भएर जेल परेका हुन्छन् । तर, जेलभित्र अथवा त्यहाँ रहेका कसैले पनि उक्त व्यक्तिलाई तँ बलात्कारी, तँ हत्यारो भनेर सार्वजनिक रुपमा भन्न मिल्दैन । उनीहरुको कसुर प्रमाणित भएको कारणले नै जेलमा रहेका छन् । उसलाई कानुनले नै हत्यारा वा बलात्कारी भनिसकेको छ । त्यही कारणले नै सजायँ भोग्नुपरेको हो ।

कुनै पनि अभियोग प्रमाणित नभएसम्म उ दोषी रहन्न भन्ने कानुनी मान्यता रहेको छ । तर, समाजमा त्यो बुझाइ रहेको छैन । आरोप लगाइएपछि समाजमा उसलाई नै अपराधीको जस्तै व्यवहार गर्ने गरिन्छ ।

कुनै व्यक्तिले बलात्कार गर्छ, हत्या नै गर्छ र अदालतले सजाय दिन्छ । उसले अदालतले दिएको सजाय काटेर बाहिर निस्कन्छ । यथार्थमा उ बलात्कारी र हत्यारा भएको ठहर भइसक्यो । तर, उक्त व्यक्तिलाई बाटोमा अथवा जहाँ पायो, त्यहीँ बलात्कारी, हत्यारा भन्दै हिँड्न मिल्दैन । ऊ बलात्कारी र हत्यारा भए पनि सजायँ भुक्तान गरिसकेपछि उसको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार रहन्छ । उसले सजायँ पाइसकेको हुनाले उसलाई थप शारीरिक वा मानसिक पीडा दिन मिल्दैन ।

धेरै मान्छेहरुले सजाय भुक्तान गरेर जेलबाट छुटेर आफ्नो जीवनयापन गरिरहेका छन् । तर, उनीहरुमाथि थप हिंसा हुनुहुँदैन ।

समाजलाई उन्नत र हिंसारहित बनाउनका लागि महिलामुक्ति आन्दोलन, सबै प्रकारका हिंसाका विरुद्ध सशक्त आवाज उठाउनुपर्दछ । सांस्कृतिक, आर्थिक, सामाजिक, राजनीतिक रुपमा समान सहभागिता महिलाहरुका प्राथमिकता रहनुपर्दछ । कुनै कुनामा बसेर रीस उठेका पुरुषहरुकाविरुद्ध फेसबुक र ट्वीटरमा मीटु अभियान चलाएर महिला मुक्ति हुने र महिला हिंसा घट्ने छैन । (बेलबासे अखिल छैठौंकी केन्द्रीय सदस्य हुन्)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here