माल्दिव्सको राष्ट्रपतिमा विपक्षी नेता मोहमद सोलिह निर्वाचित

0
198

माले । विपक्षी नेता इब्राहिम मोहमद सोलिह माल्दिव्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । चुनावमा धााधलीको आशङ्का गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामिन आश्चर्यजनक रुपमा पराजित भए । निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको चुनावी मत परिणाम अनुसार इब्राहिमले ५८.३ प्रतिशत मत प्राप्त गरेका छन् ।

निर्वाचनको नतिजा सार्वजनिक भए लगत्तै सोलिहको माल्दिभियन डेमोक्रेटिक पार्टी (एम.डी.पी.) का समर्थकहरुले सडकमा खुशीयाली मनाउँदै नाचगान सुरु गरेका छन् । चुनावी नतिजाप्रति राष्ट्रपति यामिनले कुनै प्रतिक्रिया दिएका छैनन् । सोलिहको पक्षमा विपक्षीहरुले गठबन्धन निर्माण गरी चुनावी प्रचारमा उत्रिएका थिए । राष्ट्रपति यामिनले सञ्चार माध्यममाथि लगाएका प्रतिबन्धहरुले चुनावमा धााधली हुने आशङ्का व्यक्त गरिएको थियो ।

आइतबार सम्पन्न चुनावमा धेरैजसो विपक्षी नेताहरु जेलमा वा निर्वासनमा रहेका कारण सोलिह वाहेक अन्य विपक्षी नेताहरु चुनावी मैदानमा थिएनन् । निर्वाचनमा विजयी घोषित नवनिर्वाचित राष्ट्रपति सोलिहले एक टेलिभिजन अन्तर्वार्तामा भने– ‘म जनताको इच्छालाई सम्मान गर्न राष्ट्रपति यामिनसँग आग्रह गर्दछु र सत्ताको शान्तिपूर्ण, सहज हस्तान्तरणका हुने अपेक्षा गर्दछु ।’ उनले राजनीतिक बन्दीहरुलाई तत्काल जेलमुक्त गर्न पनि आग्रह गरे ।

चुनाव हुनु अघि एम.डी.पी. समेत विपक्षी दलहरुका कार्यालयमा प्रहरीले छापा मारेको थियो, तर कसैलाई पक्राउ गरिएको थिएन । पूर्व राष्ट्रपति समेत रहेका एम.डी.पी. का अध्यक्ष मोहमद नसीदले यो मतदानले मुलुकलाई लोकतान्त्रिक मार्गमा पुन: ल्याउने विश्वास व्यक्त गरे । राष्ट्रपति यामिनले हार स्वीकार्नु वाहेक अर्को विकल्प नरहेको पनि उनले बताए । मोहमद नसीद हाल निर्वासनमा छन् ।

यो निर्वाचनलाई चीन र भारतले महफ्वका साथ हेरिरहेका छन् । अमेरिका र युरोपेली युनियनले चुनाव स्वतन्त्र र स्वच्छ रुपमा सम्पन्न नभए आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।

माल्दिव्सको यस चुनावमा दुई लाख ६२ हजार मतदाता रहेका थिए । माल्दिव्सको आन्तरिक मामिलामा विगतमा निकै प्रभावी रहेको भारतले १९८८ मा सम्भावित सत्ताविद्रोह दबाउन सेना र युद्धपोत पठाएको थियो । भारतले चुनावी नतिजाले लोकतान्त्रिक मूल्य–मान्यतालाई पुनर्बहाली गर्ने विश्वास लिएको छ । पछिल्ला वर्षमा राष्ट्रपति यामिनमाथि चीनसँग नजिकिएको आरोप लाग्दै आएको थियो । (एपी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here